४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक जोशीलाई थुनामुक्त गर्न आदेश
भारतको कोलकाता उच्च अदालतले ट्रायलविना नै ४० वर्षदेखि जेलमा थुनिएका नेपाली नागरिक दीपक जोशीलाई छाड्न आदेश दिएको छ।
उक्त मुद्दाको सुनुवाइ सोमबार सकिएपछि मंगलबार अदालतले दीपकलाई छाड्ने आदेश गरेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका कन्सुलर जनरल ईश्वर पौडेलले जानकारी दिए। अदालतले दीपकलाई उनका भाइ प्रकाशको जिम्मा लगाउन आदेश दिएको छ।
पछिल्लो १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा रहेका दीपकको परिवार इलामको माई नगरपालिका वडा नं. १० को लुम्बाक गाउँमा बस्दै आएकाे छ। दीपक भारतका विभिन्न जेलमा ट्रायलविना नै कैदी जीवन बिताउँदै आएको समाचार हिमालखबरमा सार्वजनिक भएपछि भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासले उद्धारको पहल गरेका थिए।
इलाममा दीपकको परिवारसँग सम्पर्क भएपछि उनका परिवारका तीन सदस्य उद्धारको पहल गर्न कोलकाता पुगेका थिए।