शोषणविरुद्ध तामाङहरूले यसरी गरेका थिए खनियाबास विद्रोह
खनियाबासमा २०१६ सालमा ठूलो विद्रोह मच्चियो। करीब डेढ वर्ष चलेको विद्रोहमा स्थानीय तामाङहरू त्यहाँका धनी वर्ग मानिएका क्षेत्री–बाहुनको शोषणविरुद्ध उत्रिएका थिए। यसले बीपी कोइराला नेतृत्वको तत्कालीन सरकार नै हल्लिएको थियो।
विद्रोहको शुरूआत २५ पुस २०१६ मा भएको थियो। खनियाबासका पाँचदेखि ६ हजार जना नेपाली कांग्रेसको झण्डा बोकेर ‘क्षेत्री–बाहुन मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद’ नारा लगाउँदै प्रदर्शनमा उत्रिए। उनीहरूले साहूसँगका तमसुक कब्जा गरेर च्याते र नगद तथा जिन्सी पनि लुटे।
खनियाबास (कतै खनायोवास पनि) पहिले धादिङ जिल्लाको साबिकको सत्यदेवी गाविसमा पथ्र्यो। त्यसअघि पश्चिम १ नम्बर अन्तर्गत नुवाकोट जिल्लामा पथ्र्यो। अहिले धादिङकै एउटा गाउँपालिकाको नाम खनियाबास राखिएको छ। यहाँ गोम्वाङजोङ, ङारचेतजोङ जस्ता पुराना दरबार तथा गढी छन्। यो ठाउँले तामाङहरूको ऐतिहासिक बिरासतको परिचय दिन्छ।
तत्कालीन दलहरू नेपाली कांग्रेस र गोरखा परिषद् तथा राजा महेन्द्रले खनियाबास विद्रोहलाई राजनीतिक फाइदाका लागि प्रयोग गर्ने प्रयास गरेका थिए। विद्रोहमा संलग्न कतिपय जेल परे। कतिपय मारिए। कतिपय आन्तरिक शरणार्थीका रूपमा काठमाडौंमा विस्थापित भए। यो विद्रोह ‘खनियाबास काण्ड’ का नामले चिनिन्छ।
त्यस वेलाको राजनीतिक विभाजन अनुसार यो ठाउँ पश्चिम १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत पथ्र्यो। यसकारण खनियाबास नुवाकोट जिल्लामा पथ्र्यो। विद्रोहको नेतृत्व दामन पाख्रिन र सेक्के तामाङले गरेका थिए। नेपाली कांग्रेस सम्बद्ध कतिपय नेता, कार्यकर्ता पनि यसमा पोलिएका थिए।
त्यस वेला नेपाली कांग्रेसकै सरकार थियो। विद्रोह साम्य बनाउन तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायको दौडाहा टोली घटनास्थलमा पुगेपछि केही व्यक्ति पक्राउ परे। पक्राउ परेकामध्ये केहीलाई चाँडै मुक्त गरियो। तर, लुटपाट रोकिएन।
त्यस वेला नेपाली कांग्रेसकै सरकार थियो। विद्रोह साम्य बनाउन तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायको दौडाहा टोली घटनास्थलमा पुगेपछि केही व्यक्ति पक्राउ परे। पक्राउ परेकामध्ये केहीलाई चाँडै मुक्त गरियो। तर, लुटपाट रोकिएन।
गृहमन्त्री उपाध्याय फर्किएलगत्तै खनियाबास, धादिङ, थामाङ, कराखे, चिसापानी, खराङ, सिलेङ, सिलाधुनी, महाकाल, टोड्के, सिदामखोले, रुपाराख, घुस्साबगर, दार्खा, थगोरचोक, सल्यान, बोर्लाङ, मार्पाक, पोलचेत आदि ठाउँका सयौँ घरमा लुटपाट मच्चियो। त्यसपछि काफलटार, थरीगाउँ, जोगीगाउँ, छेवाङ, छापडाँडा रिचोकहारतर्फ पनि लुटपाट मच्चिन थाल्यो।
यो क्रम पश्चिम १ नम्बरमा मात्र सीमित रहेन, पश्चिम २ नम्बर, पश्चिम ३ नम्बरमा पनि सर्दै गयो। केही ठाउँमा प्रहरी इन्स्पेक्टरले पिटाइ खाए। घटना निरीक्षण र शान्ति स्थापनाका लागि १० माघमा तत्कालीन गृह सहायक मन्त्री दिवानसिंह राई विद्रोह भएको ठाउँमा पुगे। तर, उनी फर्कनासाथ घटनाले फेरि उग्र रूप लियो। (गृष्मबहादुर देवकोटा, ‘नेपालको राजनीतिक दर्पण’ दोस्रो भाग–२०३६, पृ. ३२६)
उक्त क्षेत्रबाट २०१६ सालको प्रतिनिधि सभाको चुनावमा नेपाल राष्ट्रिय गोर्खा परिषद्का उम्मेदवार ललितबहादुर (ललितमान) घले विजयी भएका थिए। पश्चिम १ नम्बरमा अशान्ति मच्चाएको आरोपमा उनलाई १२ फागुनमा पक्राउ गरी डिल्लीबजार खोरमा राखियो। (देवकोटा, उही, पृ. ३२७)
सांसद घलेलाई पक्राउ गर्न खटिने उनकै छोरा डीबी लामा (पछि प्रहरी महानिरीक्षक) थिए। आफू प्रहरी कर्मचारी भएकाले आफ्नै बुवालाई पक्राउ गरी कर्तव्यप्रतिको निष्ठा निभाउनुपरेको उनले आफ्नो पुस्तक ‘संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू’ मा उल्लेख गरेका छन्। (पृ. ७३)
राजनीतिक आरोप–प्रत्यारोप
विद्रोहले उग्र रूप लिँदै जाँदा दुईतिहाइ मत पाएर सरकार चलाइरहेको नेपाली कांग्रेस र भरतशमशेर नेतृत्वको प्रमुख विपक्षी दल नेपाल राष्ट्रिय गोरखा परिषद्बीच आरोप–प्रत्यारोप चल्न थाल्यो। कांग्रेसका तत्कालीन महामन्त्री श्रीभद्र शर्माले ४ फागुनमा ‘गाउँका गरीब सर्वहारा वर्ग सामन्तीको शोषणबाट छटपटिएर त्राही भएको वेला उनीहरूको जोशलाई गैरकानूनी रूपमा अगाडि बढाउन गोरखा परिषद् नै जिम्मेवार रहेको, सांसद ललितबहादुर घले त्यस ठाउँमा पुगेर प्रोत्साहित गरेको’ आरोप लगाए।
विद्रोहले व्यापक रूप लिइरहेको वेला गृह मन्त्रालयले ती क्षेत्रमा तीन महीनासम्म निषेधाज्ञा लगायो। यो विद्रोहबारे पत्रपत्रिकालाई समाचार तथा लेखहरू लेख्न प्रतिबन्ध लगाइएको थियो। घटनाका दोषीलाई कारबाही गर्न विशेष अदालत गठन गर्ने घोषणा भयो।
गोरखा परिषद्ले १२ चैतमा आफ्नो भनाइ सार्वजनिक गर्दै ‘ललितबहादुर घलेउपर जुन लुटको आक्षेप लगाइएको छ, घरभित्र पसेर लुट भएको होइन, अनाज रहेको धनसार लुट भएको हो, घलेजीलाई सुरक्षा कानुन अन्तर्गत गिरफ्तार गर्नु र त्यसपछि पश्चिम १ नम्बरमा जान रोक लगाउनुको कारण नेपाली कांग्रेसले त्यस लहरलाई सत्ताको बलबाट जनभावना आफूतिर तान्न खोजेको’ बतायो। (देवकोटा, उही, ३२७–३२८)
विद्रोहले व्यापक रूप लिइरहेको वेला गृह मन्त्रालयले ती क्षेत्रमा तीन महीनासम्म निषेधाज्ञा लगायो। यो विद्रोहबारे पत्रपत्रिकालाई समाचार तथा लेखहरू लेख्न प्रतिबन्ध लगाइएको थियो। घटनाका दोषीलाई कारबाही गर्न विशेष अदालत गठन गर्ने घोषणा भयो। जिल्लामा बडाहाकिम र प्रहरी प्रमुखहरूको फेरबदल भयो।
त्यहाँबाट विस्थापितहरू आन्तरिक शरणार्थीका रूपमा काठमाडौं आइपुगे। ती शरणार्थीले सडकमा भीख मागेर गुजारा गर्नुपरेको थियो। उनीहरूले राजाका सचिवहरूलाई गुहार मागेका थिए। १६ साउन २०१७ मा उनीहरूमध्ये करीब ५०० जति राजदरबारको ढोकामा जम्मा भएर आफूहरूलाई पीरमर्का परेको भन्दै कात्तिक २०१६ देखि साउन २०१७ सम्म भएको हानि नोक्सानीको विवरण पेश गरे। उनीहरूले फिराद गरे अनुसार विभिन्न शीर्षकमा एक हजार १६८ घरमा लुट हुँदा भएको क्षति यस्तो छः
सुन, चाँदी र नगद गरी रू.१३,३४,१७९.१/-
च्यातेको तमसुक रू.१०,००,८२२/-
नोक्सान गरिएको बालीनाली रू.३,९८,८०२.५०/-
जलाएको घरगोठ रू.९०,०८५/-
उनीहरूले घटनाको मुख्य दोषीमा जगतप्रकाशजंग शाह, मोहनविक्रमध्वज, चन्द्रबहादुर श्रेष्ठ, चतुरमान डंगोल, भरतबहादुर पाण्डे, गोपालचन्द्र लगायत कांग्रेसी कार्यकर्ताहरूको नाम पेश गरे। अन्य दोषीमा दामन पाख्रिन, काजीमान तामाङ, सेक्के तामाङ, उर्वा तामाङ, लालसिंह तामाङ, तुलाबहादुर तामाङ, तारलाल तामाङ, बहादुर तामाङ, बमबहादुर तामाङ लगायत रहेको फिराद पनि गरे। (देवकोटा, उही, ३२९–३३२)
६ जना विद्रोहीको ‘बलिदान’
करीब तीन हजार जनाको समूहले १६ कात्तिक २०१७ मा पश्चिम १ नम्बर जमुनी डाँडामा माहिला पाठकको पसलमा चारतारे झण्डा गाडी लुटपाट गरे। त्यसपछि गाउँमा पनि लुटपाट गरे। यसक्रममा सात जना घाइते भए। १२ मंसीरमा पश्चिम १ नम्बर धादिङको कल्लेरी, आमडाँडा, भोले, इर्जु आदि गाउँमा पनि लुटपाट भयो। खेतको मात्र नभई घरमा भित्र्याइएको धान पनि लुटियो।
कल्याणपुरमा लुटपाटले उग्र रूप लिएपछि बडाहाकिम केशवराज कार्की प्रहरीसहित त्यहाँ पुगे। प्रहरीलाई विद्रोह दमनका लागि खटाएर बडाहाकिम कार्की नुवाकोट फर्के। धर्मसिंह तामाङ लगायतले प्रहरीको हतियार खोसेपछि गोली चल्यो। गोलीबाट औले तामाङसहित ६ जनाको मृत्यु भयो। विद्रोहीहरूले प्रहरीका तीन नाल बन्दुक खोसे। उनीहरूले प्रहरीलाई सख्त घाइते हुने गरी पिटे। (देवकोटा, उही, पृ. ३३७–३४२)
सरकारले विद्रोहका अगुवाहरूलाई जेलमा हाल्यो। केहीको हत्या भयो। दमन गरेरै सरकारले विद्रोह दबायो। विद्रोहको न्याय निरूपणका लागि सरकारले न्यायाधीश पशुपति कोइरालाको अध्यक्षतामा तीन सदस्यीय विशेष अदालत गठन गर्यो। विशेष अदालतले १५ वैशाख २०१९ मा सुनुवाइ ग¥यो। यो विद्रोहमा चार हजार ४३५ जनामाथि मुद्दा चलाइएको थियो। (गोपाल फ्युबा, युट्युब प्रस्तुति, ‘नलेखिएको इतिहास खनियाबास विद्रोह’ एलएमसी डिजिटल मिडिया)
त्यसैबीच १ पुस २०१७ मा राजा महेन्द्रले सत्ता हातमा लिए। २ पुसमा कांग्रेस नेता जगतप्रकाशजंग शाह लगायत केही नुवाकोटमा थुनिए। उनी त्यस वेला कांग्रेसका पश्चिम १ नम्बरका सभापति थिए। पछि जगतप्रकाशजंग भरतपुर काण्डमा मारिए। उनी सुवर्णशमशेरका ज्वाइँ तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति नवीनप्रकाशजंग शाहका बुवा हुन्।
विद्रोहको कारण
यो विद्रोहको खास नेतृत्व दामन पाख्रिन र सेक्के तामाङले गरे पनि त्यस क्षेत्रका तत्कालीन सांसद ललितबहादुर घले (तामाङ) को समेत ठूलो भूमिका थियो। यो विद्रोहमा संलग्न भएको अभियोगमा घले ६ वर्ष नख्खु जेलमा थुनिए।
वास्तवमा यहाँका तामाङहरूले चरम आर्थिक शोषण भोगेका थिए। कति त घरबासविहीन हुनुपरेको थियो। नेपाल प्रहरीको महानिरीक्षक भई सहायक मन्त्रीसमेत भएका डीबी लामाले आत्मवृत्तान्तमा यो विद्रोहबारे व्यक्त गरेको धारणा निकै महत्त्वपूर्ण छ। उनले लेखेका छन्ः
तामाङहरूले अँध्यारोबाट मुक्ति पाउन वनका सल्लाको रुखका ठुटोबाट दियालो ल्याउँदा पनि यातना भोग्नुपथ्र्यो। सल्लाको बोटलाई तामाङको मृत्यु संस्कारमा अनिवार्य मानिन्छ। तर, त्यसको प्रयोगबाट उनीहरू वञ्चित थिए।
“... तामाङको घरमा भएको कुखुराको चल्लामध्ये सिंखडा बाजेहरूले एउटा पोथी चल्लालाई पेवा देऊ, म पनि बेलाबखत काम लाग्ने मान्छे हुँ भनेपछि खुसीसाथ तामाङले चल्ला दिँदो रहेछ। सिंखडा आफू बाहुन भएको हुनाले कुखुराको चल्ला आफूले पाल्न नहुने हुँदा तिमीले नै पाल्नू भन्दा रहेछन्। क्रमशः चल्लाहरू हुर्किएपछि तामाङले आफ्ना चल्लाहरू विभिन्न कार्यमा काटमार गरी भ्याइसक्दा रहेछन्। तर, बाँकी रहेको त्यही बाहुनहरूको चल्लाले फुल पारी अरू चल्लाहरू बढी उत्पादन गर्दै जाँदा बाजेका चल्ला ठूलो भएपछि के गर्ने भनी सोध्दा बाहुनले भन्दा रहेछन्, ‘हामीले मासु खानु हुँदैन, भाले जति गाउँमा चलेको भाउमा तिमीले नै चलाऊ, तर पोथी तिमीले नमास्नू।’ यसरी भालेजति आफ्नो घर कार्यमा मास्ने, पोथीले उत्पादन बढाउँदै जाने गर्दो रहेछ। यही रीतले तीन चार वर्षको अवधिमा बाजेले हिसाब किताब गरौं भनी सम्पूर्ण कुखुराको एक एक हिसाब गर्दा रहेछन्। अनि माघे संक्रान्तिको भाखा भनी साँवा र ब्याजको तमसुक बनाउँदा रहेछन्। माघे संक्रान्तिको भाखामा तामाङले रकम तिर्न नसकेपछि बाहुनको ऋण खाई नर्कमा पर्नुभन्दा यही जुनीमा तिर्छु भनी घरखेत राजीनामा गरी बाहुनलाई ऋण तिर्दा रहेछन्।” (लामा, उही, पृ. ७३–७४)
यस क्षेत्रमा तामाङहरूले यस्ता धेरै शोषण भोगेका थिए। डीबी लामाको आत्मवृत्तान्तको यो कथनले पनि शोषणको रूप बुझ्न सकिन्छ।
तामाङहरूले अँध्यारोबाट मुक्ति पाउन वनका सल्लाको रुखका ठुटोबाट दियालो ल्याउँदा पनि यातना भोग्नुपथ्र्यो। सल्लाको बोटलाई तामाङको मृत्यु संस्कारमा अनिवार्य मानिन्छ। तर, त्यसको प्रयोगबाट उनीहरू वञ्चित थिए।
उनीहरूमाथि चोरीको आरोप लगाइन्थ्यो। अनेक मुद्दा लगाउने, मुद्दामा तोकिएको रकम तिर्न नसके जबरजस्ती तमसुक गराउने, तामाङको बारीबाट फलेको अन्न जबरजस्ती लुटपाट गर्न पनि हुन थाल्यो। सेक्के तामाङ र दामन पाख्रिनलाई पनि लुटपाट कसुरमा थुनियो। उनीहरूलाई छुटाउन भन्दै काजीमान तामाङ र छेजु तामाङ तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई भेट्न पुगे। उनीहरूले कांग्रेसको सदस्यता लिए मात्र छाड्ने कोइरालाले बताए। तर, उनीहरूले शर्त मानेनन्। विद्रोहको समयमा लुटपाटमा परेको भन्दै क्षतिपूर्ति बापत रिजालहरूले चितवनमा जग्गा पाए। (बाबुराम फ्युबा, ‘स्यालगार’ मासिक वर्ष १ अंक ६, असार, २०७१ असार, पृ. १९–२०)
विद्रोहबारे दामन पाख्रिनको अडियो
यो विद्रोहमा संलग्न सेक्के तामाङ र दामन पाख्रिनको मृत्यु भइसकेको छ। दामन पाख्रिन २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा धादिङबाट निर्वाचित पनि भएका थिए। उनका छोरा दिलमान पाख्रिन सांसद तथा मन्त्री भएका छन्।
दामनको एउटा अडियो रेकर्ड एक अनलाइनबाट सार्वजनिक भएको छ, जसमा खनियाबासमा तामाङहरूले गरेको विद्रोह र उनको संलग्नताबारे बोलिएको छ। विद्रोहअघि उनी आसाम राइफल्सका लाहुरे थिए। घरको ऋणले टुप्पी मात्र डुब्न बाँकी रहँदा त्यहाँबाट फर्की भैरहवा आइपुगेपछि मलायाको लाहुरे बन्ने इच्छा गरेका रहेछन्। उनको अडियो रेकर्डमा घटनालाई यसरी वर्णन गरिएको छः
म त हिँडिरहेकोले ‘दामन, दामन’ भन्नुभयो। दामनको गुरु त यहाँ छ। मान्छेहरू चिन्दैन यसलाई। यो को हो, विषय के हो? नाम, फोटो दामनकै गुरु (सेक्के तामाङ) हो, यो। यो गुरुको घटना के भएको हो, के थियो त्यो बखत? २०१२ सालमा हाम्रा साहूहरूले सात दिनसम्म पिटे र जाँतो झुन्ड्याएर लात्ताले पिटेपछि सिस्नुले हाने। यो मेरो आँखाले देखेको छ। यसको सब शरीर चिरा चिरा भएको छ। यहीँ खनायोबासमा, २०१२ सालमा। म ठिटो थिएँ, हेर्न जाँदाखेरि यो लाश पडिरहेको थियो। त्यो देखेर मात्रै एक वर्षपछि म लाहुरे हुन गएँ। म किन लाहुरे भएँ? म मेरो आफ्नो जीवनको कुरा गर्छु।
मूलखर्क, तामाङखर्कसँगै हिड्यौँ। त्यस वेलामा मेरो विषय थियो, बोल्ने खाली। म लाहुरे हुन किन गएको? म सानो बच्चा थिएँ। मेरा बाबुआमा हुनुहुन्थ्यो। मेरा दाजुहरू पनि लाहुरे हुनुहुन्थ्यो। मेरा काकाहरू पनि। म सानो बच्चामा, मेरो बाबुको पालामा तीन ठाउँ सरेको रहेछ, त्यो पाखामा बस्दा। त्यो पाखामा एउटै घर थिएन, जङ्गल थियो। अहिले त्यो जङ्गल केही पनि छैन सबै बारी भयो। त्यहाँ पुगेर म हुर्किंदै गएपछि मेरो काम के भयो भने (अहिले यहीँ आको छ मेरो बहिनी) म सानो, बाबुआमा साहूको काममा जानपर्ने। म चाहिँ बहिनीलाई खेलाएर बस्थेँ।
बहिनीलाई झर्को केही पनि छैन। म चाहिँ भोक लागेर (घरमा) केही पनि हुँदैनथ्यो। सानैदेखि सताएको जीवन थियो। अहिलेसम्म खान्छु भनेको चिज पेटभरि केही पनि हुँदैनथ्यो। पेटभरि मासु कति खान सकिँदो रहेछ भन्ने लाग्थ्यो। खानुभन्दा अहिले त खान पनि मन लाग्दैन। त्यस्तो अवस्थामा हुर्किंदै आयौँ। म अलि अल्छी पनि थिएँ, साहूले भनेको सित्तैमा गर्न पनि पर्ने, खाजा पनि नदिने। यो गरा जोतिसक्दा १० आना दिन्छ भन्दै घोक्र्याई घोक्र्याई काममा लगाउने। मलाई त एक दिन मेलोमा गएँ भने अत्यास लाग्थ्यो। बाबु भने साहूको मेलोमा कहाँ–कहाँ जाने। राति अगुल्टो हल्लाएर आउने। आधा रातसम्म (मा) हामी केटाकेटी त्यत्तिकै सुत्थ्यौँ। बाबुआमाले ज्याला ल्याउने होइन, फेरि। यसरी हुर्किंदै आएपछि मलाई घरमा साह्रै नै असन्तुष्टि भयो। आक्रोश भयो कि म कहाँ जाऊँ, कहाँ जाऊँ? उपाय केही नभएपछि बल्लबल्ल लाहुरे भएँ।
लाहुरे हुँदाहुँदै मेरा बाबुले चार हजार ८०० रूपैयाँमा जग्गा किन्नुभएको थियो। कोही साहू पैसा हालिदिने, कोही साहू राजीनामा पास गरिदिने। राजीनामा पास गरिदिने बित्तिकै २५ घरे खनायोबास उठेर आइगयो। यसले बेचेर दिन्छ, मेरो जग्गा हो (भन्ने कुरा गरे)। हुँदै गएपछि म लाहुरे भएर बसिराखेको छु, नागाको पहाडतिर लुगा नलगाउने ठाउँमा। म तीन वर्षसम्म त्यस्तो ठाउँमा बसेँ। यस्तो ठाउँमा मेरा दाजुहरूले चिठी पठाउँथे। जति नोकरी गरे पनि हाम्रो केही लागेन। ऋणको कारण २०/२२ मुद्दा लाग्ने भयो। अनि मलाई अत्यास लाग्यो।
जेसुकै होस, म त आसाम राइफलको लाहुरे। मैले आसाममा थुप्रै टुक्रे जग्गा देखेको थिएँ। मेरो परिवार सबै उतै लगेर राख्ने विचार गरेँ। जति कमायो खान पाउँथ्यो। यतै ल्याउँछु भनेर सोचेँ। मैले तीन पटक झगडा गरेर पनि छुट्टी पाएको थिइनँ। मेरो कमान्डरलाई बेलुका मैले भनेँ, ‘तीन पटक भयो छुट्टी पाऊँ भनेर रिपोर्ट गरेको। मेरो घरको त्यत्रो समस्या छ, अब यसपालि छुट्टी दिइएन भने कहिले पनि छुट्टी जान्नँ।’
'किन छुट्टी जान्नस्?' भनेर अरू कमान्डरले सोधे। ‘फलानो सुबेदार साबले कहिल्यै छुट्टी पाउँदैन भनेको छ, त्यसकारणले जान्नँ भन्छु,’ भनेँ। त्यसपछि हत्त न पत्त सुबेदारले बिदा मिलाए। म त्यही सुबेदारको अर्दली बसेको थिएँ। छुट्टी पाएँ।
रक्सौलदेखि यता आउनुपर्ने मान्छे, म फेरि गएँ मलायाको लाहुरे हुन्छु भनेर, भैरहवा। १४ दिन रहेछ भर्ती खुल्नु। मेरो कान्छा बाबु त्यहाँ देखेँ। ‘कहाँबाट आएको हँ?’ सोधे। ‘म त मलाया भर्ती भिड्न आएको’ भन्दा उनले ‘भर्ती खुलेको भए त म मिलाइदिन्थेँ, अहिले भर्ती खुलेको छैन। एकै चोटि ठूलो भाग खोज्न हुँदैन छोरा, जाऊ कान्छा’ भन्ने कुरा गरेपछि कान्छा बाबुको कुरा सुनेर म आएँ।
२०१६ सालको कात्तिक १४ गते म घर आएँ। १५ गते बुझ्छु त १८ हजार रूपैयाँ ऋण भएछ। जग्गा लगेर, छैन। अब मैले के गर्ने? अनि म रातभरि रोएँ। कसैले फकाएको मानिनँ।
ठूलो विद्रोह भयो। किनभने जग्गा जमीन पनि केही छैन, त्यत्रो परिवार काममा लगे। दिउँसो ऋणले समात्छ। बिरालोले भाग्ने प्वाल देखेन भने त्यहीँ झुन्डिन्छ।
अनि मैले रातभरि के सोचेँ भने ‘तँ हिन्दुस्तानमा गएर दुस्मन मार्छु, जुन किसिमको बन्दुक स्वीकारेर ज्यान पनि चढाउँछु, खुन चढाउँछु, अघि बढ्छु, गोली चलाउँछु’ भन्दै चण्डीको पुस्तक टाउकोमा चढाएर कसम खाएको थिएँ।
मलाई झट्टै यो कुरा याद आयो। मेरो दुस्मन त यहीँ रहेछ, पुस्तौं पुस्तादेखि। अब यहाँ ज्यान फाल्ने। अब म घरबाट निस्केपछि मैले सबैभन्दा पहिले अहिले चितवनमा गएको त्यही पण्डितलाई भेटेँ, बाटैमा। त्यहीँ ठटाइदिएँ। टाढा भेटे ढुङ्गाले हिर्काउने, नजिक भेटे जेले पनि चिथोर्ने। अब म निस्फिक्री। मलाई पनि पिटे। ‘अहिले नै ज्यान लिइदेऊ, तिमीहरू धनी छौ, सक्छौ भने १५ /२० हजार खर्च गर। अब म दिनेवाला होइन’ भनेँ। यो कुरा हो, २०१६ साल मंसीर १८ गतेको।
हुँदै गएपछि सबै साहूले दबाएर राखेको। साहूको आवाज सुन्ने बित्तिकै चिढिन्थेँ। म त ज्यान फालेको मान्छे। बाहिरको अनाज लुट्न थालेँ। खेतमा धानबारीको कोदो छ, गाउँले हो, यो त खाइदिनुपर्यो। पुलिस आएपछि ठटाइदिएँ। कसैको कुरा सुनिएन। मलाई पार्टी झण्डा केही छैन। म आफैं। हामीलाई कसैले भनेको होइन। हात छैन।
फकाउन आए, ‘तिमीले भनेको मानिदिन पर्यो।’ यो खनायोबास र डाकामा आइमाई केटाकेटीमाथि हात हाल्ने सिङ्गै म छु। जोगाएँ। म आफैं सुरक्षा गरेर हिँड्थे। पछि घरसमेत लुट्न पुग्यो। असार (९) महीनासम्म लुट्न जाँदा त सुन चाँदी रूपैयाँ पैसा त के पिउने पानीसमेत थिएन। मलाई त्यस वेलासम्म पार्टी भन्ने, सरकार भन्ने कसैले पनि सम्झाउँदा मानिनँ। कानूनी कारबाही गर्नुपर्छ भन्ने पनि कैयौँ आए।
मेरा बाबुबाजे र साहू यहीँ जन्मेको। उनीहरू चाहिँ लेखापढी गर्ने। वादी प्रतिवादी जे पनि लेख्ने। हाम्रा बाबुबाजे चाहिँ जहिले पनि ल्याप्चे लगाउने। त्यस्ता मान्छे झगडा गर्यो, आयो। जित्ने कहिल्यै होइन। कानूनी कारबाहीतिरभन्दा विद्रोहतिर ध्यान गयो। (गोपाल फ्युबा ‘खोल्दै छ खनियाबास विद्रोह’ तामाङभ्वाइस डटकम, २५ जुलाई २०१६ को अडियो)
दामन पाख्रिन जेल परे। त्यहाँबाट निस्कँदा कांग्रेस समर्थक भए। खनियाबास विद्रोहबारे त्यहीँ बसेर अध्ययन अनुसन्धानमा समर्पित गोपाल फ्युबाको भनाइमा २०४६ को राजनीतिक परिवर्तन लगत्तै धादिङका विभिन्न ठाउँमा सम्बोधन गर्दै जाँदा उनको भाषण उनकै भतिजा (भाइका छोरा) शमशेरबहादुर पाख्रिनले क्यासेटमा रेकर्ड गरेर सुरक्षित राखेका थिए। अहिले यो भाषण इतिहासको एउटा महङ्खवपूर्ण स्रोत हुन पुगेको छ। (लेखकसँग अनुसन्धानकर्ता फ्युबाले गरेको कुराकानी)
सेक्के तामाङ : विद्रोहका नेता
सेक्के तामाङ (१९९०–२०५७) खनियाबास विद्रोहको बिर्सनै नहुने नाम हो। उनी र दामन पाख्रिन यो विद्रोहका नेता थिए। सेक्केले बँधुवा मजदूर रहँदा चोरीको आरोपमा निर्मम यातना भोगेका थिए। दामनको अडियो रेकर्डमा पनि सेक्के तामाङले साहू वर्गबाट ठूलो यातना भोगेको प्रमाण मिल्छ। उनले २०१२ सालमा त्यस्तो यातना भोगेका थिए।
सेक्के तामाङ जुन घरमा बँधुवा मजदूर थिए, त्यो घरबाट रु.३०० चोरी भएको थियो। खोजी गर्दा त्यो रकम पत्ता लाग्न सकेन। घरपरिवारले सेक्केमाथि चोरीको शंका गर्यो। उनलाई चोरको आरोप लगाएर किलामा बाँधी मरणासन्न पिटियो। तर, उनले चोरीको आरोप स्वीकार गर्नु त के, एक शब्द पनि नबोली यातना सहे।
फेरि चोरीको आरोप स्वीकार गराउन काँधमा डोरीले बाँधेर खड्कुलोमा उमालेको पानीमा सिस्नु चोबेर कुटियो। यति यातना पाउँदा पनि सेक्केले चोरी गरेको स्वीकारेनन्। यतिले पनि नपुगेपछि उनको कान काट्नका लागि तरबार निकाल्दा एक जना खकले नामका बूढाले रोके। त्यसपछि सेक्केले ‘बचे केही गरौँला’ भन्ने सोची आफू र गाउँका चार मुखियाहरूले चोरेको पैसा बाँडेको बताए।
भोगटेनी, आर्चेत, ठूलो आर्चेत र पर गोन्वाङका चार मुखिया रिसले रन्किएर आई अर्धचेत अवस्थाका सेक्केलाई गालामा झाप्पु लगाए। उनले सासैसासले मुखियाहरूलाई भने, ‘मुखिया साब, चार म पनि होइन, तपाई पनि होइन। तीन दिनसम्म मलाई कसैले हेर्न नआउँदा यति भनेको हुँ। माफ पाऊँ।’ (गोपाल फ्युबा तामाङ, ‘क्रान्तिकारी सेक्के तामाङ खनियाबास विद्रोहका अगुवा’ २०७४, पृ.१५)
माथि दामन पाख्रिनले ‘बिरालोले भाग्ने प्वाल देखेन भने त्यहीँ झुन्डिन्छ’ भने जस्तै सेक्के तामाङले दामनको साथ पाएपछि खनियाबास विद्रोहको नेतृत्व लिए। त्यसको परिणाम दुवैले जेलनेल भोगे।