‘नेपालमा एकै छानामुनि ५ हजार इन्जिनियरले काम गर्ने कम्पनी खोल्ने सपना छ’
अमेरिकामा सूचना–प्रविधिसम्बन्धी कम्पनी स्थापना गरी सफल भएका व्यवसायी हुन्, रुद्रराज पाण्डे। दुई दशकअघि डीटुहाकआई कम्पनीबाट व्यावसायिक यात्रा शुरू गरी डियरवाक खोलेका उनले एउटा तहको सफलता हासिल गरेर त्यसलाई पनि बिक्री गरी पछिल्लो समय डियरहोल्ड कम्पनी चलाइरहेका छन्। यो कम्पनीको जापानका साथै नेपालमा पनि शाखा कार्यालय छ। सूचना–प्रविधि व्यवसायको सम्भावना र चुनौती, नेपालमा वैदेशिक लगानी भित्र्याउँदाका कठिनाइलगायत विषयमा डियरहोल्ड लिमिटेडका संस्थापक पाण्डेसँग हिमालखबरका रमेश कुमारले गरेको संवादः
नेपालमा सूचना–प्रविधि व्यवसायको विस्तार कस्तो छ?
बितेका दुई दशकमा नेपालमा सूचना–प्रविधि व्यवसायले फड्को मारेको छ। २० वर्षअघि हामीले डीटुहाकआई नामको कम्पनी शुरू गर्दा नेपालमा सूचना–प्रविधिका एकाध मात्रै कम्पनी थिए। अहिले काठमाडौंमा कम्तीमा पनि एक सयभन्दा धेरै कम्पनी छन्। सयौं युवाले सूचना–प्रविधिका क्षेत्रमा काम गरिरहेका छन्।
विदेशका ठूला कम्पनीहरूका लागि नेपाली युवाले यहीँ बसेर सफ्टवेयर उत्पादनको काम गरिरहेका छन्। उनीहरूको आम्दानी पनि राम्रो छ। कैयौंले साथी मार्फत अनौपचारिक रूपमा त कतिपयले फ्रिलान्सरका रूपमा काम गरिरहेका छन्। यो आशालाग्दो कुरा हो।
सूचना–प्रविधि प्रयोगका हिसाबले उन्नत देशको तुलनामा हाम्रो समाज कहाँ छ?
विकसित देशमा सूचना–प्रविधिको प्रयोगले घरका कामदेखि व्यावसायिक कामसम्म स्वचालित बनाउने अभ्यास छ। हाम्रोमा यसका लागि आधारभूत पूर्वाधार नै छैन। हामीकहाँ दैनन्दिन जीवनसहितका थुप्रै स्थानमा सूचना–प्रविधिको उपयोग गर्न बाँकी छ। जस्तै, सरकारले दिने सेवा प्रवाह, ब्यांकिङ आदि क्षेत्रमा कैयौं काम हुन सकेका छैनन्। फेसबूक, ट्वीटर र टिकटक प्रयोग गर्दैमा हाम्रो समाजले सूचना–प्रविधिको पर्याप्त उपयोग गरेको छ भन्न मिल्दैन। सूचना–प्रविधिको प्रयोगबाट मानिसहरूको जीवन सजिलो बनाउन र आम्दानी बढाउन धेरै सम्भावनाको खोजी गर्न सकिन्छ।
नेपालमा सूचना–प्रविधिकाे विस्तारका लागि पृष्ठभूमि तयार भएकै छैन। यहाँ शैक्षिक संस्थाहरूबाट सूचना–प्रविधिका दक्ष जनशक्तिको उत्पादन नै थोरै छ, भएकामा पनि गुणस्तर राम्रो छैन। सूचना–प्रविधिमा स्नातक जनशक्तिको अंग्रेजीमा सञ्चार गर्ने सीप कमजोर छ। प्रमुख रूपमा, नेपालमा शैक्षिक गुणस्तर कमजोर छ। सार्वजनिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण धेरै विद्यार्थीले शुद्ध एक अनुच्छेद लेख्न नै सक्दैनन्। उनीहरूको सञ्चार क्षमता कमजोर छ। यस्ता कुरामा सुधार नहुन्जेल नेपालमा बिलियन डलरकाे कम्पनी कसरी स्थापना हुन्छ? तत्काल नेपालमा ५ हजार सफ्टवेयर इन्जिनियरलाई काम दिन्छु भने पनि न पूर्वाधार छ न त दक्ष जनशक्ति।
ठूला कम्पनीहरूले जहिले पनि अर्थतन्त्रको, बजारको, उपलब्ध स्रोतसाधनको आकार हेर्छन्। जुन सानो भएपछि स्वाभाविक रूपमा ठूला लगानीकर्ता आउँदैनन्। सूचना–प्रविधि क्षेत्रमा उत्पादन पनि सानो छ, उत्पादित जनशक्ति पनि गुणस्तरका छैनन्। मेरो विचारमा, सूचना–प्रविधि क्षेत्रका लागि पनि सबैभन्दा ठूलो पूर्वाधार शिक्षा हो। सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार नगरी र दक्ष जनशक्ति उत्पादन नगरी सूचना–प्रविधि क्षेत्रमा व्यापक लाभ लिन सकिँदैन।
नेपालमा सूचना–प्रविधिको क्षेत्रमा ठूलो सम्भावना छ भनेर पछिल्ला वर्षहरूमा सुनिँदै आएको छ, त्यो कस्तो सम्भावना हो?
नेपालमा सूचना–प्रविधिको व्यवसायमा क्रान्ति ल्याउन भारतसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य बनाउन सक्नुपर्छ। भारतले यसबाट कसरी लाभ लियो र हामीले किन सकेनौं भनेर विश्लेषण गर्दा त्यहाँ भएका र यहाँ नभएका कुरा तुलना गरेर हेर्नुपर्छ। सुधारका लागि काम शुरू गर्दा त्यसको प्रस्थानबिन्दु सरकारी अनुदार नीति र प्रक्रियागत झन्झटको सरलीकरणबाट हुनसक्छ।
साँचो कुरा भन्ने हो भने, नेपालले सूचना–प्रविधिमा तत्कालै छलाङ मार्ने अवसर समात्न सक्दैन। किनभने, त्यस्तो अवसर छोप्नका लागि आवश्यक पूर्वाधार नै छैन। सूचना–प्रविधिको व्यवसाय सुरक्षा, सडक, खानेपानी, विद्युत्जस्ता साधारण पूर्वाधार तथा देशको लगानीको वातावरण जस्ता कुरासँग जोडिएको हुन्छ। त्यसैले, सूचना–प्रविधिको व्यवसायबाट तत्काल अर्थतन्त्रको कायापलट गर्ने सपना देख्नुभन्दा बरु यसको प्रयोगबाट फोहोरमैला व्यवस्थापन, बिग्रिएको सडकबारे जनताको गुनासोको सुनुवाइ गर्ने जस्ता काम गर्न सकिन्छ। सरकार समक्ष जनताका कुरा पुर्याउने र सरकारलाई जवाफदेही बनाउने काममा सूचना–प्रविधिको उपयोग गर्न सकिन्छ। कतिपयले भारतको बैङ्लोरसँग तुलना गर्दै नेपालमा सूचना–प्रविधिको सम्भावनाको कुरा गर्छन्, तर त्यो सजिलो कुरा होइन। किनभने, विदेशबाट लगानी भित्र्याउनदेखि कम्पनी र उद्योग दर्तासम्म, करदेखि कम्पनी सञ्चालनसम्ममा अनेकौं झमेला छन्।
तपाईंका विचारमा सूचना-प्रविधि व्यवसायबाट लाभ लिन कस्तो रणनीति वा योजना हुनुपर्छ?
सूचना–प्रविधि सधैं उच्च प्रतिस्पर्धात्मक व्यवसाय हो। नेपालमा सूचना–प्रविधिको व्यवसायमा क्रान्ति ल्याउन भारतसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य बनाउन सक्नुपर्छ। भारतले यसबाट कसरी लाभ लियो र हामीले किन सकेनौं भनेर विश्लेषण गर्दा त्यहाँ भएका र यहाँ नभएका कुरा तुलना गरेर हेर्नुपर्छ।
सुधारका लागि काम शुरू गर्दा त्यसको प्रस्थानबिन्दु सरकारी अनुदार नीति र प्रक्रियागत झन्झटको सरलीकरणबाट हुनसक्छ। जस्तै, नेपालमा सूचना–प्रविधिको व्यवसाय शुरू गर्दा पाँच वर्ष आयकर तिर्नुपर्दैन भनेर सरकारले उदारता देखाउन सक्नुपर्छ। किनभने, अन्यत्रभन्दा आकर्षण नदेखाई लगानीकर्ता आउँदैनन्। मेरो विचारमा, नेपालमा वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न भारतको भन्दा आयकरको दर कम राख्न सक्नुपर्छ, र व्यवसाय गर्न झन्झट हटाइदिनुपर्छ।
व्यवसायीले उद्योग, कम्पनी वा करका कार्यालय महीनौं धाएर हिँड्नुपर्ने वातावरण नसुधारी लगानी भित्रिन सक्दैन। सरकारी कार्यालय नै नपुगी सूचना–प्रविधिको प्रयोगमार्फत तत्काल व्यवसाय दर्ता गर्न सकिने व्यवस्था किन लागू भइरहेको छैन भनेर म सधैं चकित पर्छु। अहिले पनि नेपालमा व्यवसाय शुरू गर्दा अनेकौं कागजात देखाउनुपर्ने, फारम भर्नुपर्ने वा व्यावसायिक योजना देखाउनुपर्ने झन्झट छ। लगानीकर्ता वा व्यवसायीलाई सरकारले विश्वास गरिरहेको छैन, मानौं उनीहरू ठगी गर्ने उद्देश्यले आइरहेका हुन्।
तपाईंले केही समयअघि नेपालमा वैदेशिक लगानी भित्र्याउन अवरोध भएको, उद्योग स्थापना गर्नै कठिन भएको कुरा सामाजिक सञ्जालमा लेख्नुभयो। लगानी विस्तारका लागि हाम्रो नीतिगत अड्चन के छन् भन्नेबारे आफूले देखेका र भोगेका कुरा भनिदिनुहुन्छ कि?
नेपालमा प्रशासनिक पूर्वाधार असाध्यै कमजोर र निर्णय प्रक्रिया असाध्यै सुस्त छ। एउटा उद्योग दर्ता र लगानी स्वीकृत गर्न करीब ६ महीना लाग्ने समयसीमा तोकिएको छ। यो त क्षणभरमा हुनुपर्ने कुरा होइन? मेरो पुरानो कम्पनी डियरवाकलाई पूँजी बढाउन खोज्दा ६ महीना लाग्छ भन्ने जवाफ पायौं। आजको भोलि निर्णय गर्नुपर्ने सूचना–प्रविधिको कम्पनीले पूँजी बढाउन पनि ६ महीना कुर्नुपर्ने ?
नेपालमा प्रशासनिक पूर्वाधार असाध्यै कमजोर र निर्णय प्रक्रिया असाध्यै सुस्त छ। एउटा उद्योग दर्ता र लगानी स्वीकृत गर्न करीब ६ महीना लाग्ने समयसीमा तोकिएको छ। यो त क्षणभरमा हुनुपर्ने कुरा होइन? मेरो पुरानो कम्पनी डियरवाकलाई पूँजी बढाउन खोज्दा ६ महीना लाग्छ भन्ने जवाफ पायौं। आजको भोलि निर्णय गर्नुपर्ने सूचना–प्रविधिको कम्पनीले पूँजी बढाउन पनि ६ महीना कुर्नुपर्ने?
जापानमा एक डलरको विदेशी लगानीको कम्पनी स्थापना गर्न पाइन्छ, नेपालमा रु.५ करोडभन्दा मुनिको विदेशी लगानी स्वीकृत नगर्ने सीमा तोकिएको छ। यी कुरामा सुधार आवश्यक छ। यस्तै, लगानीकर्ताले कागजात लिएर जानु नपर्ने, कम्प्युटरबाट दर्ता अनुमतिका सबै काम गर्न सकिने बनाउनुपर्छ।
नेपालमा लगानी र व्यवसायकाे कानूनमा समस्या छ, प्रक्रियागत झन्झट पनि छ। विदेशी लगानीकर्ताका लागि मात्रै होइन, गैरआवासीय नेपालीलाई पनि लगानी भित्र्याउन सजिलो छैन। मैले आफैंले पनि यो अनुभव गरिरहेको छु। कतिपय कानूनी प्रावधान जटिल छन्। कानूनमा अनेकौं छिद्र राखिएका छन्, जसका आधारमा कर्मचारीतन्त्रले लगानीकर्तालाई हैरान बनाउँछ। एनआरएनले पनि उद्योगमा दर्ता भएको कम्पनीमा मात्रै विदेशी लगानी भित्र्याउन पाउने व्यवस्था छ। जग्गा किन्न पनि उद्योगमा दर्ता हुनुपर्छ। नेपालमा भित्र्याएको रकम फिर्ता लैजान पनि अनेकौं झन्झट छ।
ठूलो वैदेशिक लगानी भित्र्याएर अर्थतन्त्रलाई गति दिने र रोजगारी सिर्जना गर्ने गफ गर्न थालेको लामो समय बितिसकेको छ। नेपालमा ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याउन सम्भव छ?
यो सबै सरकारको सुधारका प्रयासमा भर पर्छ। एउटा उदाहरण दिन्छु, मेरो एक साथीले बुटवलमा होटल खोल्दै छन्। होटलका लागि थाइल्यान्डबाट ल्याएको इन्टेरियर डिजाइनरको लागत २५ हजार डलर तिर्न उसलाई साँच्चिकै अप्ठ्यारो पर्यो। सरकारी अधिकारीहरूले यो रकम विदेश पठाउन अनुमति नै दिएनन्।
अनेकौं नियम र प्रक्रिया छन्, जसले गर्दा वैदेशिक लगानी आउन सजिलो छैन। एक हिसाबले नेपाल अझै पनि संरक्षित अर्थतन्त्र हाे, कानून सजिलो बनाएर पूर्ण उदारता नअपनाएसम्म र लगानीको आकर्षण नदेखाएसम्म लगानी बोर्ड वा जे संरचना बनाए पनि विदेशी लगानी भित्र्याउन सजिलो छैन।
तपाईंले सूचना–प्रविधि क्षेत्रको कम्पनी डियरवाकले व्यावसायिक उडान गरिरहेका वेला गत वर्ष बिक्रीको निर्णय गर्नुभयो। त्यो निर्णयमा कसरी पुग्नुभयो?
एक हिसाबले नेपाल अझै पनि संरक्षित अर्थतन्त्र हो, कानून सजिलो बनाएर पूर्ण उदारता नअपनाएसम्म र लगानीको आकर्षण नदेखाएसम्म लगानी बोर्ड वा जे संरचना बनाए पनि विदेशी लगानी भित्र्याउन सजिलो छैन।
डियरवाकअगाडि हामीले डीटुहाकआई चलाएका थियौं। त्यसलाई बिक्री गरेर अमेरिकामा डियरवाक स्थापना गरेको थिएँ। अमेरिकामा कम्पनीको पनि निश्चित आयु हुन्छ भन्ने मानिन्छ। एउटा तहको सफलता हासिल गरिसकेपछि त्यसबाट लाभ लिएर बाहिरिने रणनीति हुन्छ। मेरो विचारमा, एउटा कम्पनीमा जिन्दगीभर बसिरहने होइन, नयाँ क्षेत्रमा हात हाल्ने नाफा गर्ने र बाहिरिने हो।
त्यसैकारण, डियरवाकमा मैले प्रशस्त नाफा कमाएँ र त्यसलाई ठूलो रकममा अमेरिकी कम्पनीलाई बिक्री गरी नयाँ कम्पनी डियरहोल्ड शुरू गरेँ। डियरवाकले अमेरिकी बजारका लागि हेल्थकेयर प्रोडक्ट बनाउँथ्यो। हामीले बिक्री गर्दा डियरवाकमा नेपालमा ३०० र अमेरिकामा ५५ इन्जिनियरले काम गर्थे।
डियरवाकको बिक्री कम्तीमा २०० मिलियन डलरमा भएको भन्ने सुनिन्छ। आकार खुलाउनुहुन्छ?
यो प्राइभेट लिमिटेड कम्पनी भएकाले खरीद–बिक्रीको रकम नखुलाऔं। तर, ठूलो रकममा किनबेच भएको साँचो हो। यसको किनबेचका क्रममा नेपालका कर्मचारीले डेढ अर्ब रूपैयाँभन्दा बढी त लाभांश नै पाएका थिए। यसबाट कम्पनीको किनबेचको आकार अनुमान लगाउन सक्नुहुन्छ।
तपाईंमाथि यति ठूलो रकम नेपाल नल्याएर विदेशमै राखेको आरोप पनि छ नि!
डियरवाकमा मैले नाफा गरेको रकम नेपाल ल्याउन मिल्दैन, किनभने यो अमेरिकामा स्थापना गरिएको कम्पनी हो। र, त्यो किनबेच अमेरिकामै सम्भव भएको हो। डियरवाक स्थापनाका लागि मैले नेपालबाट रकम लगेको पनि होइन। तर, म नेपालमा वैदेशिक लगानीका रूपमा यो रकम भित्र्याउन चाहन्छु।
नेपालका अधिकांश सूचना–प्रविधिका कम्पनीले कर तिर्दैनन्, अनौपचारिक ढंगले कारोबार गर्छन् भन्ने आरोप लाग्ने गरेको विषयमा के भन्नुहुन्छ?
यो एक हदसम्म सत्य हो। अनौपचारिक कारोबार भारत, अमेरिका लगायत सबैतिर छ। जब कम्पनीहरू ठूला हुन थाल्छन्, ती औपचारिक कम्पनीका रूपमा बदलिन्छन्। सरकारलाई पनि अनौपचारिक कम्पनीको पछि लागेर साध्य लाग्दैन, बिस्तारै ठूलो भएपछि ती औपचारिक प्रणालीमा आउँछन् भन्ने बुझ्नुपर्छ।
नेपालमा जसरी भए पनि तुरुन्तै कमाइहालौं भन्ने प्रवृत्ति धेरै देख्छु। व्यवसायमा इन्नोभेसन, नयाँ सोच स्थापित भइरहेको छैन। व्यावसायिक उद्यमी पनि कमै छन्। राजनीतिक दलका नेतासँग मिलेर लाभ दोहन गर्नेहरू धेरै छन्।
तपाईंको अवलोकनमा नेपाली व्यवसायी, उद्यमीको मूल चरित्र कस्तो छ?
नेपालमा दुई थरी व्यवसायी छन्, पहिलो पारिवारिक व्यवसायको बिरासत थामेकाहरू। दोस्रो, साँच्चिकै आफैंले उद्यम शुरू गरेर सफल बनेकाहरू। पारिवारिक बिरासत भएकाहरूलाई व्यवसाय गर्न सजिलो छ। तर, नेपालमा जसरी भए पनि तुरुन्तै कमाइहालौं भन्ने प्रवृत्ति धेरै देख्छु। व्यवसायमा इन्नोभेसन, नयाँ सोच स्थापित भइरहेको छैन। व्यावसायिक उद्यमी पनि कमै छन्।
राजनीतिक दलका नेतासँग मिलेर लाभ दोहन गर्नेहरू धेरै छन्। अर्कातिर, नेपालमा व्यावसायिक वातावरण कमजोर भएकाले पनि व्यवसायीले फराकिलो तरिकाले सोच्न पाएका छैनन्। करको दर धेरै भएकाले पनि व्यवसाय गर्न कठिन छ। व्यवसाय शुरू गर्न, लगानी गर्न, विस्तार गर्न कठिन भएकाले त्यतातिर लाग्नुभन्दा पनि जग्गामा पैसा हालेर नाफा कमाउने प्रवृत्ति छ।
नेपालका कम्पनीहरूमा काम गर्ने कामदारको सेवा–सुविधाको स्तर कमजोर भएको तपाईंले बताउने गर्नुभएको छ। यस विषयमा टिप्पणी गरिदिनुहुन्छ?
नेपालका अधिकांश कम्पनीले कामदारको शोषण गर्ने गरेका छन्। ठूलो नाफा आर्जन गर्ने कम्पनीले पनि मिहिनेत गर्ने कामदारलाई लाभको अंशियार बनाउँदैनन्। मेरो सिद्धान्त के छ भने, तपाईं कामदारको जीवन सजिलोसँग बाँच्ने तलब दिन सक्नुहुन्न भने कम्पनी शुरू गर्नै हुँदैन।
सरकारले पनि कामदारको सुरक्षाका लागि बलियो नियमन गर्नुपर्छ। कम्पनीका कामदारको जीवन चलाउन सक्ने तलब, उपदान, सामाजिक सुरक्षा अनिवार्य गर्नसक्नुपर्छ। डियरवाक कर्मचारीलाई वास्तवमै राम्रो तलब सुविधा दिने कम्पनीमा उदाहरण नै हो। यहाँ, मासिक रु.४/५ लाख तलब खाने कैयौं कर्मचारी छन्।
भविष्यमा तपाईंका व्यावसायिक योजना के छन्?
सूचना–प्रविधिका दुई कम्पनीमा मैले पर्याप्त लाभ कमाएँ, जसलाई म फेरि सूचना–प्रविधिकै क्षेत्रमा लगानी गर्न चाहन्छु। भारतमा टाटा कन्सल्टिङ, इन्फोसिस र विप्रोजस्तै नेपालमा एकै छानामुनि ४/५ हजार इन्जिनियर राखेर काम गर्ने सपना छ। यस्तो कम्पनी बनाउँदा व्यवस्थापनको नयाँ अभ्यास र सिकाइ शुरू हुनेछ। यो वास्तवमा नेपालमा व्यवस्थापनको स्कूल नै बन्नसक्छ।
मसँग अब प्रोडक्ट कम्पनी होइन, ठूलो सर्भिस कम्पनी बनाउने योजना छ, जसले नेपालको सूचना–प्रविधिको परिदृश्य नै बदल्न सक्छ। त्यसै कारण मैले डियरवाक बिक्री गरेर डियरहोल्ड शुरू गरेको हो।
डियरहोल्डको केन्द्रीय कार्यालय अमेरिकामा छ, जापान र नेपालमा शाखा कार्यालय छ। अर्कातिर, नेपाल र केही देशमा सवारीसाधन मर्मतको चेन व्यवसाय शुरू गर्न भर्खरै स्टार्टअप पनि शुरू गरेको छ। यसमा वैदेशिक लगानी भित्र्याउने योजना छ।
तस्वीरहरू: अमित मचामसी /हिमालखबर