ग्लोबल आईएमई ब्यांकद्वारा ऋणपत्र निष्कासन
ग्लोबल आईएमई ब्यांक लिमिटेडले ‘८.५ प्रतिशत ग्लोबल आइएमई ब्यांक डिबेन्चर २०८६/८७’ निष्कासन गरी बिक्री खुला गरेकोे छ।
ब्यांकले रू.३ अर्ब बराबरको रू.१,००० प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। निष्कासन गरिएको कुल ऋणपत्रमध्ये रू.१ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी रू.१ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।
सर्वसाधारणलाई निष्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। ब्यांकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। ऋणपत्र निष्कासन तथा बिक्री १६ चैतसम्म हुनेछ।
ग्लोबल आईएमई ब्यांक लिमिटेडको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ। वार्षिक ८.५ प्रतिशतका दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिनेछ। ब्यांकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा प्रस्तावित ऋणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्री हुने अवस्थामा रहेको ब्यांकले जनाएको छ ।
ब्यांकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले ब्यांकलाई औसत कर्जा जोखिम जनाउने इक्रा इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ। त्यसैगरी, ऋणपत्रलाई भने कम जोखिम जनाउने इक्रा एलए माइनस रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।
ब्यांकले ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोेकेको छ। लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी ब्यांक तथा वित्तीय संस्थाहरू एवं तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।