टेड, जसले नेपाल उत्खननको बाटो देखाए
विख्यात प्रोफेसर थियोडोर (टेड) रिकार्डीको १४ सेप्टेम्बर २०२० मा ८३ वर्षको उमेरमा अमेरिकाको न्यू योर्कमा निधन भएको थियो। टेडको सम्झनामा १४ मार्च (१ चैत) मा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा स्मृति कार्यक्रम आयोजना गरिएको थियो। टेडसँग निकै लामो संगत गरेका इतिहासकार प्रा. मोहन खनालले उनीसँग बिताएका अन्तिम समयबारे कार्यक्रममा स्मरण गरेका थिए। त्यो संस्मरण उनकै शब्दमाः
नेपाली भाषा, जाति, संस्कृति र नेपालीहरूप्रति अगाध माया गर्ने प्राध्यापक टेड रिकार्डीलाई श्रद्धा–सुमन चढाउन हामी यहाँ उपस्थित भएका छौं। टेडलाई मैले धेरै अगाडि भेटेको हो। उहाँलाई शुरूमा भेट्दादेखि र अन्तिम अवस्था, जाने वेलासम्म पनि उहाँले मसँग नेपालीमै बोल्नुभयो। तसर्थ, आजको कार्यक्रम नेपालीमै भएकोमा मलाई सन्तोष लागेको छ।
उहाँ नेपाली भाषा, साहित्य, इतिहास, पुरातत्त्व, कला र संस्कृतिका बारेमा अत्यन्त रुचि राख्ने, भित्रैदेखि केही गर्न खोज्ने व्यक्तित्व हुनुहुन्थ्यो। नेपाली भाषाका बारेमा उहाँ भन्नुहुन्थ्यो, “ब्यारे, क्यारे, प्वाक्क बोल्ने, थ्याच्च बस्ने, क्वाप्प खाने जस्ता (शब्द/वाक्य) नेपालीमा मात्रै पाइन्छन्। अन्त पाइँदैनन्।”
टेड रिकार्डीले नेपालका विभिन्न क्षेत्रमा काम गर्नुभएको छ। इतिहास, संस्कृति, यहाँको जनजीवनका बारेमा काम गर्नुभएको छ। तीमध्ये महत्त्वपूर्ण काम चाहिँ उहाँले उत्खननका क्षेत्रमा गर्नुभएको छ।
उहाँको निधन हुँदा संयोगले म उहाँकै आसपास पुगेछु। उहाँ न्यू योर्कमा हुनुहुन्थ्यो, म (अमेरिकाकै) न्यू जर्सीमा थिएँ। त्यो वेला कोरोना भाइरस संक्रमण महामारीका कारण पूरै लकडाउन (बन्दाबन्दी) थियो। न्यू योर्क जान गाह्रो थियो। त्यसैले हामी जम्मा हुन सकेका थिएनौं। नेपाल आउनेबित्तिकै हामीले कार्यक्रम गर्ने भनेका थियौं, तर कोभिडकै कारण स्थगित भयो। हाम्रो परम्परा अनुसार आज उहाँको अर्धवार्षिक श्राद्धको दिनमा यसरी जम्मा भएर उहाँलाई तर्पण दिँदै छौं।
टेड रिकार्डीले नेपालका विभिन्न क्षेत्रमा काम गर्नुभएको छ। इतिहास, संस्कृति, यहाँको जनजीवनका बारेमा काम गर्नुभएको छ। तीमध्ये महत्त्वपूर्ण काम चाहिँ उहाँले उत्खननका क्षेत्रमा गर्नुभएको छ। यस विषयमा धेरै कुरा बाहिर आएका हुनाले आज यस भेलालाई उत्खननका बेला खास के भएको थियो भनेर बताउनेछु।
मलाई सम्झना छ, १४ फागुन २०३९ मा प्राध्यापक प्रयागराज शर्माले उहाँ (टेड) लाई पहिलो पटक मकहाँ ल्याउनुभएको थियो। त्यही दिनदेखि प्रा. टेडसँग मेरो घनिष्ठता बढ्दै गयो। हामीले डुमाखाल (हाल मूलपानी, काठमाडौं) को जुन क्षेत्र उत्खनन गर्यौं, त्यहाँ निकै ठूलो परिधिमा फैलिएको खण्डहर मैले उहाँलाई देखाएँ।
त्यो ठाउँ नेपालका त्यतिवेलाका पुरातत्त्व विभागका सबै अधिकारीहरूलाई देखाएको थिएँ। मन्त्रीदेखि सबै जना त्यहाँ गएर हेरिसकेका थिए, तर कसैले चासो राखेका थिएनन्। त्यसबारे चासो लिने पहिलो व्यक्ति टेड रिकार्डी हुनुहुन्थ्यो। उहाँ डुमाखाल जानुभन्दा झन्डै दश वर्षअघि ५ फेब्रुअरी १९७७ मा जापानी प्राध्यापक भिसाओ उस्की आफ्ना दुई सहयोगी र मदनमणि दीक्षितलाई पनि लिएर त्यो ठाउँबारे अध्ययन गर्नेबारे कुरा गर्न मकहाँ आउनुभएको थियो। दीक्षितजीको पत्रिका ‘समीक्षा’ मा मैले २०२८ सालदेखि २०३२ सम्म ‘इतिहासको पाना’ भन्ने स्तम्भ लेखेको थिएँ ।
नेपालका त्यतिवेलाका पुरातत्त्व विभागका सबै अधिकारीहरूलाई डुमाखाल देखाएको थिएँ। मन्त्रीदेखि सबै जना त्यहाँ गएर हेरिसकेका थिए, तर कसैले चासो राखेका थिएनन्। त्यसबारे चासो लिने पहिलो व्यक्ति टेड रिकार्डी हुनुहुन्थ्यो।
१९ नोभेम्बर १९७३ को समीक्षा साप्ताहिकको अंक ३८ मा प्रकाशित ‘डुमाखालमा फेला परेको मध्यपाषाणयुगीन ढुंगे हतियार हो’ भन्ने समाचार टाइम्स अफ इन्डियाले पनि त्यसको दुई दिनपछि प्रकाशन गरेको थियो। त्यसै कारण जापानका प्राध्यापक उस्की मेरो घरमा आउनुभएको थियो।
त्यो क्षेत्र उहाँहरूलाई देखाएँ। त्यो हेरेपछि प्राध्यापक उस्कीले ‘यहाँ एउटा ट्रायल ट्रेन्च लिन सकिन्छ कि ?’ भनेर अनुरोध गर्नुभयो। मैले एउटै प्रश्न राखेँ– ट्रायल ट्रेन्च लिएपछि त्यहाँका एन्टिक्विटिज (प्राचीन वस्तु) लाई के गर्न सकिन्छ त? उहाँले भन्नुभयो, “यहाँबाट आएका जैविक वस्तु छन् भने तिनलाई रेडियोकार्बोन डेटिङ गर्न सकिन्छ, त्यो म जापानबाट गराउँछु।” उहाँले त्यसरी जिम्मा लिएपछि हामीले ट्रायल ट्रेन्चिङ शुरू गर्यौं।
ट्रायल ट्रेन्चमा पाइएका जैविक अवशेषका नमूना लिएर उहाँ टोक्यो फर्किनुभयो र टोक्योबाट उहाँले त्यसको सी–फोर्टिन रिपोर्ट मलाई पठाउनुभयो। त्यसमा माथिल्लोदेखि तल्लो लेअरसम्मको रिपोर्ट छ। (हार्वर्ड विश्वविद्यालयले छापेको हाम्रो पुस्तक आर्कियोलजिकल एक्स्काभेशन इन द काठमान्डु भ्याली मा हामीले त्यसबारे प्रकाशन पनि गरिसकेका छौं ।) त्यहाँ १३ सय एडीदेखि ३६४०० बीसीसम्मका कुरा भेटिएका थिए।
त्यसकै आधारमा टेड रिकार्डीले क्याम्ब्रिज विश्वविद्यालयका एक जना प्राध्यापकलाई लिएर मकहाँ आउनुभयो। र, उहाँहरूले एउटा सानो रिपोर्ट दिनुभयो। त्यसमा ‘यो उत्खननयोग्य ठाउँ हो, यहाँ उत्खनन गर्नुपर्छ’ भनेर लेखिएको थियो।
त्यो रिपोर्ट लिएर हामी त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) का तत्कालीन निर्देशक कुमार खड्गविक्रमकहाँ पुग्यौं। रिपोर्ट देखाएपछि उहाँको अनुमति पाइयो। उहाँले तत्कालीन श्री ५ को सरकारलाई पत्र लेखिदिनुभयो। उत्खननका लागि सरकारले अनुमति दियो। तर, पुरातत्त्व विभागका त्यस वेलाका अधिकारीहरूले ‘उत्खनन पुरातत्त्वको अधिकार हो, सिनासले गर्न मिल्दैन, विश्वविद्यालयले गर्न मिल्दैन’ भनेर आपत्ति जनाए।
कुमार खड्गविक्रम राजाका भिनाजु भएकाले पुरातत्त्वले सोझै नभई घुमाउरो हिसाबमा आपत्ति जनाएको थियो। खड्गविक्रमले ‘मोहनजी, यस्तो कुरा आयो त, के हो?’ भनेर सोध्नुभयो। संसारका सबै विश्वविद्यालयले उत्खनन गर्न सक्छन् भनेर मैले सप्रमाण आफ्ना कुरा राखेपछि सरकारको अनुमति पायौं। र, उत्खनन शुरू भयो।
काम शुरू गर्नुअघि सिनास, त्रिभुवन विश्वविद्यालय र साउथ एसिया इन्स्टिच्युट एट कोलम्बिया युनिभर्सिटीको सहकार्यमा उत्खनन गर्ने भन्ने मौखिक सम्झौता भएको थियो। त्यो सहकार्यमा हामीले २९ असोज २०४१ मा डुमाखालमा पुरातात्त्विक उत्खनन शुरू गरेका थियौं। त्यसमा डा. प्रयागराज शर्मा पनि हामीसँग हुनुहुन्थ्यो।
लगभग चार वर्ष लगाएर हामीले टेडको नेतृत्वमा उत्खनन पूरा गर्न सक्यौं। म्यापिङको सम्पूर्ण काम सुदीप रिमालले गर्नुभएको थियो। टेडको अथक परिश्रम र सहयोगबिना डुमाखालको पुरातात्त्विक उत्खनन र प्रकाशन असम्भव थियो। उहाँ नभएको भए डुमाखाल के हो, कसैलाई थाहा हुँदैनथ्यो। त्यहाँबाट प्राप्त अवशेषहरू खेर जान्थे। आज ती राष्ट्रिय सम्पदाका रूपमा स्थापित छन्।
नेपालको पुरातात्त्विक उत्खननको इतिहासमा टेड रिकार्डीको नाम अविस्मरणीय भएर रहनेछ। टेड लगनशील, सरल र शान्त स्वभावका हुनुहुन्थ्यो। लगभग ३८ वर्षसम्म मैले उहाँको माया र सहकार्य गर्ने अवसर पाएको थिएँ। त्यतिका वर्षको सान्निध्यमा मैले उहाँलाई अप्रसन्न र रिसाएको कहिल्यै देखिनँ।
उत्खनन गरेको ठाउँमा निकै गहिरो खाल्डो बनाएको हुनाले वर्षाद्मा पानी जम्छ। त्यहाँ एक जना स्थानीयको घरपालुवा पशु पनि खसेको थियो। त्यसरी खुला छाडेर भएन, अब पुर्ने भनेर ठूलो प्लास्टिकले छोपेर राखेका छौं। तर, कुनै पनि बेला निकाल्न सकिन्छ।
नेपालको पुरातात्त्विक उत्खननको इतिहासमा टेड रिकार्डीको नाम अविस्मरणीय भएर रहनेछ। टेड लगनशील, सरल र शान्त स्वभावका हुनुहुन्थ्यो। लगभग ३८ वर्षसम्म मैले उहाँको माया र सहकार्य गर्ने अवसर पाएको थिएँ। त्यतिका वर्षको सान्निध्यमा मैले उहाँलाई अप्रसन्न र रिसाएको कहिल्यै देखिनँ।
टेड कहिलेकाहीं रमाइला ठट्टा पनि गर्नुहुन्थ्यो। तीन वटा ठट्टा यहाँ सुनाउँछु। ती सबै उत्खननसँगै सम्बन्धित छन्।
१. मैले कोलम्बिया विश्वविद्यालयमा सन् १९८५ र ८६ को शैक्षिक वर्षका लागि अध्ययन गर्ने अवसर पाएको थिएँ। अध्ययन पूरा भएपछि डुमाखालमा गरिएको उत्खननको रिपोर्ट लेख्ने काम हामीले संयुक्त रूपमा गर्दै आएका थियौं। उत्खनन कार्य गर्दा पाइएका प्रत्येक एन्टिक्विटिज एवं स्ट्रक्चरहरूको विस्तृत विवरण हरेक दिन डायरीमा लेख्ने गर्थ्यौं।
रिपोर्ट तयार गर्ने सिलसिलामा उहाँले लेखका केही वाक्य बुझ्न मलाई निकै गाह्रो पर्थ्यो। एक दिन उहाँसँग मैले भनेँ, "टेड, तपाईंको वाक्य मैले बुझ्नै सकिनँ।"
उहाँले निकैबेर मलाई हेरेर हाँस्दै भन्नुभयो, "मोहन के तपाईंलाई थाहा छ, म धेरै ठूलो विद्वान् हुँ। किनभने आफूले लेखेको कुरा म आफैं बुझ्दिनँ।"
२. सन् १९८४/८५ मा गरेको पहिलो चरणको उत्खननमा प्राप्त भएका जैविक अवशेष र पट्रीका केही नमूना लिएर टेड, प्रयागराज शर्मा र म भारतका प्रसिद्ध पुरातत्त्वविद्हरूसँग विचार विमर्श गर्न नयाँ दिल्लीस्थित आर्कियोलजिकल सर्भे अफ इन्डिया, डेकन कलेज र अहमदाबादको फिजिकल रिसर्च ल्याब्रोटरी गएका थियौं। दिल्लीमा हामी तीन जना सँगै थियौं, डेकनमा भने प्रयाग सर र म मात्रै गयौं।
एक दिन उहाँसँग मैले भनेँ, "टेड, तपाईंको वाक्य मैले बुझ्नै सकिनँ।" उहाँले निकैबेर मलाई हेरेर हाँस्दै भन्नुभयो, "मोहन के तपाईंलाई थाहा छ, म धेरै ठूलो विद्वान् हुँ। किनभने आफूले लेखेको कुरा म आफैं बुझ्दिनँ।"
डेकन विश्वविश्वविद्यालयका पुरातत्त्वविद्सँगको कुराकानीपछि प्रयाग सर काठमाडौं फर्किनुभयो। म अहमदाबादस्थित फिजिकल रिसर्च प्रयोगशालातिर लागेँ। त्यहाँको प्रयोगशालामा उत्खननबाट प्राप्त भएका जैविक अवशेषका नमूना छोडेर म टेडलाई भेट्न दिल्ली आएँ। हामी गोरखपुर हुँदै नेपाल फर्किंदै थियौं। गोरखपुरबाट भैरहवा आउँदा साँझ परिसकेको थियो, त्यहाँ होटल खोज्न थाल्यौं। एक ठाउँमा होटल देख्यौं ।
होटलतिर यसो हेर्दै थियौं, एकजना युवती आएर टेडको हात समातेर ‘हिँड्नुस् मकहाँ जाऊँ, सुत्ने ठाउँ छ’ भनेर तान्दै लगिन्। भित्र पुगेपछि टेडले ‘तपाईंले मलाई त तान्दै ल्याउनुभयो। मेरो साथी पनि छ। दुई जनासँग हुन्छ?’ भनेर सोध्नुभएछ। ती युवतीले ‘कस्तो लाज नभएको मान्छे रैछ’ भनेर त्यहाँबाट घचेडिछन्।
३. सन् १९८८ तिरको कुरा हो, डुमाखाल जाने बाटोमा पर्ने मूलपानी भन्ने ठाउँमा कृष्णप्रसाद फुँयालको घर थियो। उहाँ जहिले पनि टेडलाई देख्नासाथ परैबाट नमस्कार गर्नुहुुन्थ्यो। टेडले पनि साह्रै माया गर्नुहुन्थ्यो। फुँयालजी वृद्ध हुनुहुन्थ्यो। पछि उहाँ निकै बिरामी पर्नुभयो, ओछ्यानबाट उठ्नै नसक्ने भइसक्नुभएको थियो। टेडले उहाँबारे मलाई सोध्दा बिरामी हुनुभएको कुरा बताएँ।
टेडले भेट्ने इच्छा गर्नुभयो। बिरामी भएर सुतेका कृष्णप्रसाद टेडलाई देख्नासाथ हात जोडेर उठ्न खोज्नुभयो। टेडले ‘तपाईं सुत्नुस्–सुत्नुस्’ भन्नुभयो। उहाँले ‘तपाईंलाई भेटेर आनन्द लाग्यो। अब तपाईंसँग भेट्न सक्दिनँ’ भन्नुभयो। टेडले किन भनेर सोध्नुभयो। उहाँले ‘म त अब जाँदै छु’ भन्नुभयो। टेडले ‘चिन्ता नगर्नुस्, म पनि तपाईंलाई भेट्न आउँछु’ भन्नुभएको थियो। नभन्दै टेड उतै जानुभएको छ।
हामीले उत्खननका काम लगभग सिध्याइसकेका थियौं। उहाँले एक दिन ‘यहाँ वरिपरि अझै कुनै यस्ता साइटहरू छन्?’ भनेर सोध्नुभयो। दुई-चार वटा थिए। मैले छन् भनेँ। उहाँले ‘हामी एक्स्प्लोर गरौं, म्यापिङ गरौं, रिपोर्ट तयार गरौं, तपाईं सरकारलाई दिनुस्’ भन्नुभयो। मैले हुन्छ भनेँ।
त्यसपछि हामीले उपत्यकाभरिका सारा नयाँ–नयाँ ठाउँहरू एक्स्प्लोर गर्न थाल्यौं। तीन–चार वटा ठाउँमा त प्रयाग सरलाई समेत लिएर गयौं। कहाँ–कहाँ पुरातात्त्विक अवशेषहरू छन्, कुन–कुन ठाउँबारे कसैलाई पनि थाहा छैन, तिनै ठाउँ हामीले पत्ता लगायौं। ती ठाउँबारे हामीले तयार गरेका रिपोर्ट अहिले पनि मसँग छन्। त्यसलाई म्यापिङ गरेर प्रकाशन गर्ने टेडको इच्छा थियो, त्यो पूरा हुन सकेको छैन।
उहाँले मलाई पश्चिम नेपाल जानका लागि स्रोत जुटाइदिनुभयो। भेरी, सेती र कर्णालीसम्म म पुगेँ। त्यसबारेको लेख छापिइसकेको छ। उहाँ एक ठाउँमा मात्र सीमित हुुुनुहुन्नथ्यो। हिमाल, पहाड, तराई सबैतिर पुग्नुभयो। सिम्रौनगढको इतिहासका लागि मैले सिनासबाट प्रोजेक्ट पाएको थिएँ, त्यहाँ जाँदा टेड मसँगै जानुभयो।
टेडले उत्खनन मात्रै गर्नुभएन, भविष्यमा गरिने उत्खननका लागि बाटो पनि देखाइदिनुभएको छ। टेड मेरा परम मित्र मात्रै होइन, मेरा सहकर्मी र गुरु पनि हुनुहुन्थ्यो। उहाँबाट मैले धेरै कुरा सिकेको छु।
टेडका प्रकाशित कृतिबारे मैले यहाँ भनिरहनु नपर्ला, त्यसबारे धेरैलाई थाहै छ। उहाँले चाँगुनारायणको अनुसन्धान गर्नुभयो, शिलापत्रहरू अनुवाद गर्नुभयो। अरू–अरू धेरै काम गर्नुभएको छ।
आज मैले यो चर्चा गर्नुको कारण नेपालको इतिहास र पुरातत्त्व विधामा टेडको योगदान ठूलो भएकाले हो। उहाँले उत्खनन मात्रै गर्नुभएन, भविष्यमा गरिने उत्खननका लागि बाटो पनि देखाइदिनुभएको छ। टेड मेरा परम मित्र मात्रै होइन, मेरा सहकर्मी र गुरु पनि हुनुहुन्थ्यो। उहाँबाट मैले धेरै कुरा सिकेको छु।
मैले उहाँको सहायक भएर कोलम्बिया विश्वविद्यालयमा नेपाली पढाउने अवसर पाएको थिएँ। त्यहाँ एक वर्ष मैले नेपाली पढाएँ, त्यो बेलाका तीन–चार जना विद्यार्थीसँग अझै पनि मेरो कुराकानी हुन्छ। टेडसँग हाम्रो पारिवारिक सम्बन्ध अत्यन्तै गाढा थियो। मेरी पत्नी राधा र हाम्रा छोराछोरी उहाँलाई निकै आदर गर्थे र उहाँले पनि हामीलाई साह्रै माया गर्नुहुन्थ्यो।
राधा र म सन् २०१९ को डिसेम्बरमा अमेरिका गएका थियौं। त्यसको भोलिपल्ट टेडलाई भेट्न भनेर मैले फोन गरेँ। उहाँको फोन उठेन। दुई/तीन दिनसम्मै फोन उठेन। त्यसपछि राजेश श्रेष्ठले भन्नुभयो– 'उहाँ त छोरीकहाँ जानुभएको छ।'
म र कान्छो छोरा फ्लोरिडा गयौं। त्यहाँ गएपछि उहाँसँग निरन्तर सम्पर्क भयो।
त्यसपछिको समय कोभिडले सबैतिर आक्रान्त बनाइहाल्यो। उहाँलाई भेट्न न्यू योर्क जान सक्ने अवस्था रहेन। अलि खुकुलो भएपछि म न्यू जर्सी फर्किएँ। टेडलाई भेट्न सकिन्छ कि भनेर सोधिहेर्दा उहाँ फेरि भर्जिनियाँ जानुभएको खबर पाएँ। टेडले ‘मोहनजीलाई आउन दिनुस्, केही फरक पर्दैन’ भन्नुभएछ। हामी गयौं। म आउँदै छु भन्ने थाहा पाएपछि उहाँ (खुशीले) हाँस्नुभएको थियो रे। उहाँ नहाँसेको चार महीना भएको थियो रे।
म गएपछि उहाँले आफ्नो किताबका पाना–पाना पढेर सुनाउनुभयो। त्यसमा मेरोबारे पनि लेख्नुभएको रहेछ। अशक्त अवस्थामा हुनुहुन्थ्यो, त्यसैले ‘तपाईं नपढ्नुस्, मै पढ्छु’ भनेर मैले पढेँ। उहाँको तस्वीर पनि खिचेँ। मेरो गुरु भए पनि उहाँ मबाट पनि कुरा सिक्नुहुन्थ्यो। मबाट मात्र होइन, मेरा छोरा–नातिबाट पनि सिक्नुहुन्थ्यो।
हामी वेला–वेला टेडलाई भेट्न गइरहन्थ्यौं। एक दिन एलेन (उहाँकी श्रीमती) लाई भन्नुभएछ, “मलाई राधाले बनाएको जस्तै मीठो अचार खान मन लागेको छ।” एलेनले हामीलाई त्यो कुरा बताएपछि हामी सपरिवार उहाँकहाँ गयौं। राधाले अचार र अरू खानेकुरा बनाइन्। उहाँले साह्रै खुशी भएर त्यो अचार खानुभयो। एलेनले भन्नुभयो, “उहाँले यस्तो मीठो मानेर नखाएको चार महीना भएको थियो।”
त्यसको एक हप्ताभित्रै उहाँ बित्नुभयो। उहाँ बित्दा म न्यू जर्सीमा थिएँ। बित्नुभन्दा एक दिनअघि मैले फोन गरेको थिएँ। एलेनले भन्नुभयो, "उहाँ आज एकदमै बिरामी हुनुहुन्छ। अक्सिजन दिइराखेको छ। हस्पिटलकै जस्तो गरी राखेका छौं घरमा। डाक्टर पनि बसिरहेका छन्। तपाईं नआउनुस्। उहाँलाई गाह्रो छ। तपाईं आएपछि बोल्न खोज्नुहुन्छ, नआउनुस्।"
मैले हुन्छ भनेँ। एलेनले थप भन्नुभयो, "तपाईंको आवाज सुनेपछि टेड खुशी हुनुहुन्छ। म उहाँको कानमा (फोन) लगिदिन्छु।"
म बोल्ने भनेपछि टेडले आफ्नो अक्सिजन मास्क फुकाल्नुभयो रे। त्यो बेला उहाँले मसँग भन्नुभएको थियो, “मलाई धेरै गाह्रो भएको छ। तर, तपाईं चिन्ता नगर्नुस्।” उहाँको अन्तिम वाक्य त्यही थियो।
म बोल्ने भनेपछि टेडले आफ्नो अक्सिजन मास्क फुकाल्नुभयो रे। त्यो वेला उहाँले मसँग भन्नुभएको थियो, “मलाई धेरै गाह्रो भएको छ। तर, तपाईं चिन्ता नगर्नुस्।” उहाँको अन्तिम वाक्य त्यही थियो। त्यसपछि कसैसँग पनि बोल्नुभएन रे। हेरी मात्र रहनुहुन्थ्यो रे। त्यसको भोलिपल्ट उहाँ बित्नुभयो।
उहाँको मृत्यु भइसकेपछि एलेनले तुरुन्त मलाई मेसेज गर्नुभएको रहेछ। मेसेज पाएपछि न्यू योर्क जान खोजेको थिएँ। तर, एलेनले 'अहिले नआउनुस्, कोभिडका कारण कसैलाई पनि भेट्न दिइएको छैन' भन्नुभयो।
त्यसको भोलिपल्ट, उहाँलाई जलाइयो। हामी जान सकेनौं। उहाँको अन्त्येष्टिको बारेमा म किन कुरा गरिरहेको छु भने उहाँले आफ्नो अन्तिम वेला भन्नुभएको थियो– "म मरेपछि मेरो लाश चर्चमा नलानुस्। यहीँ राख्नुस्। र, मलाई जलाउनुस्, नगाड्नुस्। मेरो खरानी लगेर बगाइदिनुस्। एलेन मेरो खरानी राखिराख्नु। तिम्रो र मेरो खरानी सँगै लगेर बगाऊन्।"
उहाँले त्यसो भनेको हुनाले उहाँका दुवै छोराले केश मुण्डन गरेका थिए। र, सात दिनसम्म उहाँहरूले चोखो खाएर बस्नुभयो। उहाँलाई हाम्रो संस्कृति, हाम्रो धर्म र परम्पराप्रति अगाध श्रद्धा थियो।
सातौं दिन, चोख्याउने दिन हामी टेडको घर गयौं। उहाँको अस्तु नदेखुन्जेल मलाई निद्रा लागेको थिएन। परिवार नै बसेर हामी रातभरि रुन्थ्यौं, उहाँकै कुरा गर्थ्यौं। अस्तु देखेपछि सन्तोष भयो मलाई। एउटा कलशमा राखिएको थियो। त्यसमा फूल चढायौं।
टेडको निधन हुँदा म उहाँ नजिकै थिएँ। तर, उहाँको अन्तिम घडीमा सँगै नभएको कारण उहाँ गएको दृश्य मैले हेर्नुपरेन। त्यो हेर्नुपरेको भए मलाई साह्रै कठिन हुन्थ्यो होला। तर, साह्रै दुःख लाग्छ, मैले आज मेरा अभिभावकलाई सधैंका लागि गुमाएको छु। मलाई बाटो देखाउने उहाँ नै हो। मलाई हौसला दिने उहाँ नै हुनुहुन्थ्यो।