'ओडीआई मान्यता कायम राख्नु नै पहिलो लक्ष्य'
नेपालले १५ मार्च, २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) को मान्यता पाउँदा नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको प्रतिबन्धमा थियो। त्यसको साढे सात महीनापछि ११ असोज २०७५ मा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको नयाँ कार्यसमिति बन्यो। त्यसको केही महीनापछि नै महामारीका कारण विश्वभरिको क्रिकेट ठप्प हुँदा क्यानले पनि काम गर्न सकेन। अहिले भने धमाधम घरेलु प्रतियोगिता भइरहेका छन्। अध्यक्ष चन्दसँग गरिएको कुराकानीः
नेपालले ओडीआई मान्यता पाएको तीन वर्ष पूरा भयो। अरू एसोसिएट देशको तुलनामा नेपालको स्तर कहाँ छ?
ओडीआई मान्यता पाएपछि नेपालले पर्याप्त सिरिज तथा प्रतियोगिताहरू खेल्न नपाएको निश्चित हो। पछिल्लो एक वर्षमा त कुनै पनि ओडीआई वा टी–२० प्रतियोगिता खेल्न नपाएकाले नेपालको स्थान ठ्याक्कै यहाँ छ भन्न गाह्रो छ।नेपालको स्तर नखस्कियोस् भनेर प्रयासरत छौँ। घरेलु प्रतियोगिताहरू भइरहेका छन्। तर, राष्ट्रिय प्रतियोगिता मात्र खेलाएर स्तर दाँज्न सकिँदैन। मलाई लाग्छ, तीन वर्षअघिको भन्दा हाम्रो स्तर माथि नै छ।
क्रिकेटमा नकारात्मक टीकाटिप्पणी मात्र भइरहन्छ। राम्रो कामको प्रशंसा गर्ने बानी कम छ। नराम्रा पक्ष मात्र खोतल्दा क्रिकेट संघको काममा त्यसको प्रभाव पर्छ। यो कमिटीलाई काम गर्ने वातावरण त दिऔं। आएको दिनदेखि नै खुट्टा तान्नु नकारात्मक पक्ष हो।
नेपाली क्रिकेटका सबल र कमजोर पक्ष के–के हुन्?
कमजोर पक्ष त तपाईंले देखिरहनुभएकै हो, नेपाली क्रिकेटमा अत्यधिक विवाद हुन्छ। क्रिकेटमा नकारात्मक टीकाटिप्पणी मात्र भइरहन्छ। राम्रो कामको प्रशंसा गर्ने बानी कम छ। नराम्रा पक्ष मात्र खोतल्दा क्रिकेट संघको काममा त्यसको प्रभाव पर्छ। यो कमिटीलाई काम गर्ने वातावरण त दिऔं। आएको दिनदेखि नै खुट्टा तान्नु नकारात्मक पक्ष हो।नेपाल जस्तै स्तर भएका संसारभरिका देशहरूमा घरेलु क्रिकेट छैन। कोभिडका कारण ती देशमा ‘नेसनल क्याम्प’ छैन। प्रतियोगिताहरू छैनन्। तर, हामीले प्रतियोगिता गरिरहेका छौं। पुरानालाई निरन्तरता दिने र नयाँ प्रतियोगिता थप्ने काम भएको छ। यसमा नेपाली दर्शक, मिडिया र प्रायोजकहरूको साथ छ। क्रिकेटका लागि नेपालमा ‘क्रेज’ छ, प्रतिभाहरू छन्, त्यसैले सम्भावना पनि छ। तर, पूर्वाधार छैन।
अहिले त हामी विवाद र प्रतिबन्धबाट अगाडि आइसक्यौं नि, तपाईंहरूलाई काम गर्ने अवसर छैन र?
काम गर्ने अवसर निश्चित रूपमा छ। तर, काम गर्न शुरू गर्दैगर्दा महामारी आएपछि पहिलाकै गतिमा गर्न सकेनौँ। चार महीना त कोठामै थुनिनुपर्यो। महामारीले विश्वकै क्रिकेट प्रभावित भयो। हाम्रो पनि तीन वटा ओडीआई शृंखला स्थगित भए। त्यसपछि मित्रराष्ट्रहरूलाई मैत्रीपूर्ण खेलका लागि आग्रह गरेका पनि हौँ। तर, सीमामा ‘रेस्ट्रिक्सन’, जहाजहरूको उडान स्थगित, क्वारेन्टिन, सरकारले अनुमति नदिने, टिकट तीन गुणासम्म महँगो पर्ने जस्ता समस्याका कारण उनीहरू आउन चाहेनन्। मित्रराष्ट्र नआए पनि हामीले क्याम्प राखेका छौँ। खेलाडीलाई फिट राख्ने प्रयास गरेका छौँ। प्रशासनिक कामका लागि कर्मचारी नियुक्त भएका छन्। घरेलु प्रतियोगिताहरू शुरू भएका छन्। तर, कोभिडले आर्थिक अवस्था धराशायी भएका कारण प्रायोजकहरू हात खोलेर आएका छैनन्। हाम्रो प्रयास जारी छ। हामी उनीहरूसँग ‘टच’मै छौँ।
हामीलाई ओडीआई मान्यता टिकाउनुपर्ने चुनौती छ। नेपाली खेलाडीहरूको क्षमता वृद्धि गर्न के योजना बनाउनुभएको छ?
हामीले धेरैभन्दा धेरै प्रतियोगिता गर्ने हो। राम्रो टीमहरूसँग खेल्ने हो। राम्रो कोच पाएका छौँ। त्यो पनि स्तर वृद्धिको पाटो हो। ‘फिजिओ’ र ‘फिजिकल ट्रेनर’ राखेका छौँ। जतिसुकै राम्रो खेलाडी भए पनि फिट हुन जरुरी छ, त्यो ध्यान दिएका छौँ। तर, परिस्थितिका कारण हामीभन्दा माथिल्लो वा बराबर स्तरका देशसँग खेल्न पाएका छैनौँ। त्यसैले केही अप्ठ्यारो परेको छ।
तपाईंहरू निर्वाचित भएर आउनुभएको डेढ वर्ष भइसक्यो। अहिलेसम्म घरेलु क्रिकेटको संरचना किन बनाउन सक्नुभएन?
घरेलु क्रिकेट भनेको प्रतियोगिताहरू हो। पीएम कप गर्दा ३९ जिल्लामा खेलाडी छनोट भए। अधिकांश जिल्लामा प्रतियोगिताबाटै खेलाडी छनोट गरिएको हो। सात वटा प्रदेशको प्रतियोगितामा ३९ जिल्लाले खेल्ने मौका पाए। त्यसपछि सात प्रदेशको राष्ट्रिय प्रतियोगिता भयो। महिलाको पीएम कप गर्दा पनि २२/२३ जिल्लामा छनोट भयो। प्रदेश र नेसनल टुर्नामेन्ट भए। स्थानीय सरकारहरूले पनि प्रतियोगिताहरू गरिरहेका छन्। काठमाडौं मेयर्स कप भयो। महिलाको टी–२० प्रतियोगिता हुँदै छ। घरेलु क्रिकेट नभएको भन्न मिल्दैन। घरेलु क्रिकेटको क्यालेन्डर पनि बनिरहेको छ।
क्यानले घरेलु क्रिकेटको क्यालेन्डर बनाउँदा कस्तो स्वरूपको क्रिकेटलाई महत्त्व दिन्छ?
सन् २०२१ का लागि ५० ओभरकै प्रतियोगिता नै खेलाउनेछौं। किनभने हामी क्रिकेट विश्वकप लिग–२ खेलिरहेका छौँ। त्यसको तयारीका लागि एकदिवसीय प्रतियोगिता धेरैभन्दा धेरै खेलाउनुपर्नेछ। ओडीआई मान्यता जोगाउनुपर्नेछ। १९ वर्ष उमेर समूहको विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि ५० ओभरकै खेल खेलाउनेछौँ। महिलाका लागि भने यो वर्ष टी–२० प्रतियोगिता हुनेछ।
त्यसो भए बहुदिवसीय क्रिकेट अझै नहुने हो?
यो वर्ष परिस्थितिले दिएन। मैले मुखले ‘टु डेज’ गरिहालौँ भनेर हुँदैन। अहिले चाहिएको पनि एकदिवसीय प्रतियोगिता नै हो। बरु राम्रो टीम बोलाएर बढीभन्दा बढी खेलाउनुपर्नेछ। ओडीआई मान्यतालाई कायम राख्नु हाम्रो पहिलो लक्ष्य हो।
नेपाल क्रिकेट संघसँग मैदान बनाउने बजेट छैन। संसारभरि नै संघहरूसँग यस्तो बजेट हुँदैन। आईसीसीले नयाँ क्रिकेट मैदान बनाउन पैसा दिँदैन। भएका मैदानलाई संरक्षण गर्न अलिअलि दिन्छ। आफैंले मैदान बनाउने गरी अर्बौं खर्बौं पैसा उठाउन सक्ने हामीसँग बजार पनि छैन।
‘ग्रास रुट’बाटै क्रिकेटको विकास गर्न क्यानका योजना के छन्?
ग्रास रुटमा धेरैभन्दा धेरै क्रिकेट खेल्न पूर्वाधार चाहिन्छ। क्षमतावान् खेलाडीहरू देशभरि छरिएका छन्। तर, पूर्वाधार छैन। पूर्वाधार विकासका लागि राज्यलाई नै भन्ने हो। मन्त्रालय र खेलुकद परिषद्लाई भनिरहेका छौँ। नेपाली क्रिकेटलाई थेग्न सक्ने खेलाडीहरू भएका स्थानीय तह र प्रदेश सरकारलाई पनि पूर्वाधार विकासका लागि अनुरोध गरिरहेका छौँ। सबैलाई स्तरीय मैदान बनाइदिन भनेका छौँ। हामीसँग ३९ जिल्ला कमिटी र सात प्रदेश कमिटी छन्। सबैको काम क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने नै हो। त्यसका लागि आतुर हुनुहुन्छ। तर, मैदान छैन।
नेपाल क्रिकेट संघसँग मैदान बनाउने बजेट छैन। संसारभरि नै संघहरूसँग यस्तो बजेट हुँदैन। आईसीसीले नयाँ क्रिकेट मैदान बनाउन पैसा दिँदैन। भएका मैदानलाई संरक्षण गर्न अलिअलि दिन्छ। आईसीसीले खेल प्रतियोगिता, प्रशासन सञ्चालन, प्रशिक्षण, स्टाफ र खेलाडीका लागि बजेट दिन्छ। आफैंले मैदान बनाउने गरी अर्बौं खर्बौं पैसा उठाउन सक्ने हामीसँग बजार पनि छैन। त्यसैले पूर्वाधारको सवालमा हामी सरकारकै पछि कुदिरहेका छौँ।
नेपाल प्रिमियर लिगको धेरै चर्चा भयो, अनि फेरि विवाद भयो...
विवाद कहाँ भयो? कसले गर्यो विवाद? हामीले विवाद गर्यौं? गरेका छैनौं।
भारतीय कम्पनीलाई जिम्मा दिने कुरा भएपछि आलोचना भयो नि ?
कमर्सियल पार्टनर, स्ट्राटेजिक पार्टनर जो पनि हुनसक्छ। संसारभरिको नियम हो। क्यारेबियन प्रिमियर लिगमा को संलग्न छ, लंका प्रिमियर लिगमा को छ, आईपीएल पनि भित्रबाट कसले व्यवस्थापन गरिरहेको छ? यी विषय क्रिकेट बुझ्ने सबैलाई थाहा हुन्छ। तर, ‘भारतीय कम्पनी हुँदैन’ भनेर ढोल पिट्नुको अर्थ हुँदैन। राम्रो व्यवस्थापकलाई हायर गर्न सकिन्छ। क्रिकेट संघभित्र कुनै विवाद छैन। नेपाली खेलाडीको अधिकतम हित हुने गरी र नेपाली क्रिकेटले फड्को मार्ने गर्ने गरी एनपीएल गर्नुपर्छ भनेर अगाडि बढेका छौँ। सकिने भए आफैँ गर्छौं, नभए कुनै पार्टनर खोज्छौं। तर, आयोजक क्यान नै हुन्छ। सपोर्टिभ वा कमर्सियल पार्टनर अरू हुनसक्छन्।
दर्शकले एनपीएल कहिलेसम्ममा हेर्न पाउलान्?
प्रयास त गत वर्ष नै गर्ने थियो। तर, कोभिडका कारण गर्न सकिएन। यो बहाना होइन। नेपाली मिडियाले फेरि ‘कोभिडको बहाना गर्यो’ भनेर लेखिदिन्छन्। कति लाजलाग्दो कुरा के! नाम चलेकै अनलाइनले यस्तो लेखे। कोभिड बहाना हो र? यथार्थ हो नि। ‘कोभिडको बहाना गरेर यो पनि गरेन त्यो पनि गरेन’ भनेर लेखे। कोभिडले हामी पछि परेकै हौँ। सन् २०२० को अन्तिमतिरै एनपीएल गर्ने योजना पूरा भएन। सम्भव भयो भने यो वर्ष (सन् २०२१), नभए २०२२ को शुरूआतमै गर्ने मनस्थितिमा छौँ।
अर्को वर्षदेखि दुई र तीन दिवसीय प्रतियोगितामा ध्यान दिन्छौँ। क्यान आयोजना गर्न र खेलाडी खेल्न तयार छन्। तर, स्तरीय मैदान, स्तरीय पिच नहुनु समस्या हो। टेस्ट मान्यता पाउन सबैभन्दा पहिला पूर्वाधार हुनुपर्छ। हामीसँग गतिलो रंगशाला नै छैन।
क्यानले नयाँ प्रशिक्षकमा डेभ ह्वाटमोरलाई नियुक्त गरेको छ। नेपाली क्रिकेटले पाएको यो ठूलो नाम हो। क्यानले ह्वाटमोरबाट के अपेक्षा गरेको छ?
उहाँले जुन टीम र देशमा हात हाल्नुभयो, स्तर बढाउनुभएको छ। उहाँ सफल प्रशिक्षक हो। हामीले पनि हाम्रो क्रिकेटको स्तर माथि जाने अपेक्षा गरेका छौँ। अहिले परिस्थिति यस्तो बन्यो कि अन्तर्राष्ट्रिय प्रतियोगिताहरू स्थगित भए। तर, उहाँ आएपछि भएका घरेलु प्रतियोगिता र क्लोज क्याम्पका कारण उहाँले खेलाडीलाई राम्रो गरी चिन्ने मौका पाउनुभएको छ। उहाँको कारण नेपाली क्रिकेट अझै फड्को मारेर माथि जान्छ भन्ने अपेक्षा छ।
मैदानमा प्रदर्शन गर्ने खेलाडीले भए पनि त्यसको वातावरण बनाउने र व्यवस्थापन गर्ने क्यानले हो। अबको १० वर्षपछि नेपालले टेस्ट खेलिरहेको देख्न सकिन्छ?
क्यानको विधानले आठ वर्षभन्दा बढी अध्यक्ष हुन दिँदैन। तर, क्यानमा जो भए पनि आगामी १० वर्षमा नेपाल ‘टेस्ट प्लेइङ नेसन’ हुनुपर्छ भन्ने टार्गेट चाहिँ सेटअप गर्छौं।
त्यसका लागि त हामीले बहुदिवसीय प्रतियोगिता पनि खेल्न थाल्नुपर्छ नि?
यो वर्ष (सन् २०२१) हुँदैन। अर्को वर्षदेखि दुई र तीन दिवसीय प्रतियोगितामा ध्यान दिन्छौँ। क्यान आयोजना गर्न र खेलाडी खेल्न तयार छन्। तर, स्तरीय मैदान, स्तरीय पिच नहुनु समस्या हो। टेस्ट मान्यता पाउन सबैभन्दा पहिला पूर्वाधार हुनुपर्छ। हामीसँग गतिलो रंगशाला पनि छैन। यी सबै विषयलाई ध्यानमा राखेर काम गर्नेछौं।
प्रस्तुतिः प्रकाश गुरागाईं