प्रधानमन्त्रीज्यू, एउटा ढुंगो मात्र होइन ‘खुवालुङ’!
जल यातायातका लागि किराँती समुदायको आस्थाको केन्द्र ‘खुवालुङ’ फुटाउने कुराले सांस्कृतिक मर्ममा प्रहार गरेका कारण विकल्पको खोजी हुनुपर्छ।
गत ८ फागुनमा विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको एउटा वाक्यले किराँती समुदायमा तरंग पैदा भएको छ। सप्तकोशी नदीमा जल यातायातलाई सहज बनाउन सरकारको पहलबारे उनले भनेका थिए, “स्टिमर चढेर चतराबाट एघार मिनेटमा भोजपुर र एघार मिनेटमा भोजपुरबाट चतरा आइपुग्न बाधा भएको एउटा ढुङ्गो क्रेन लगाएर फुटाएर बाटो क्लियर गर्दै छौं।”
ढुङ्गा रहेको स्थान र ढुङ्गाको नाम प्रधानमन्त्रीले नबताए पनि किराँती समुदायले आफ्नो आस्थाको केन्द्र मान्दै आएको ‘खुवालुङ’ बुझे। यसलाई उनीहरूले विकासको नाममा आफ्नो सांस्कृतिक आस्था र सभ्यताको धरोहरमाथि प्रहारको रूपमा लिए, र आक्रोशित भए। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम र सभाहरूसम्म उनीहरूको आक्रोश व्यापक बन्दै गएको छ। आफ्नो आस्थाको धरोहरको संरक्षणमा ऐक्यबद्धता जनाउन किराँती अभियन्ताहरू खुवालुङ पुग्ने क्रम पनि बढ्दो छ।
किराँतीहरूले खुवालुङ फुटाउन हुँदैन मात्र भनिरहेका छैनन्, सरकारले जबर्जस्ती गरे प्रतिकार गर्ने पनि बताइरहेका छन्। खुवालुङ नफुटाई पनि जलमार्गलाई व्यवस्थित गर्न सकिने तर्क गरिरहेका छन्। किराँती अगुवाहरू खुवालुङ फुटाउन ठेक्का समेत लागिसकेको विषयमा टिप्पणी गर्दै ‘प्रधानमन्त्रीको नियत राम्रो नभएको’ पनि भनिरहेका छन्। खुवालुङ संरक्षण अभियानका दिनेश काम्दुङ खम्बूलाई प्रहरीले समातेपछि यो विषय झन् पेचिलो बनेको छ।
के हो खुवालुङ ?
मुन्धुम अनुसार प्रागैतिहासिक कालमा खुवालुङदेखि उत्तरमा पवित्र भूमि थियो। उत्तर प्रवेश गर्न खुवालुङबाहेक अर्को बाटो थिएन। ‘अपवित्र व्यक्ति’का लागि खुवालुङ खुल्दैनथ्याे। अपवित्र व्यक्तिले कुनै जीवको आलो रगत चढाएर तन र मन शुद्ध पारी प्रायश्चित गरेर बाटो मागेपछि मात्रै खुवालुङ खुल्थ्यो।
किराँतीहरूको प्रमुख बसोबास क्षेत्र सप्तकोशी जलाधार क्षेत्र हो। मानवशास्त्रीय, भाषावैज्ञानिक, समाजशास्त्रीय, ऐतिहासिक, जनसाङ्ख्यिकका साथै जैविक, मिथकीय, सांस्कृतिक र वैज्ञानिक हरेक हिसाबले पुष्टि भइसकेको कुरा हो, किराँतीहरू मङ्गोल हुन्। उनीहरू हिमालको उत्तरतिरबाट नेपाल प्रवेश गरेका हुन्। तर, नेपालका पहाड प्रवेश गर्दा उनीहरूले घुमाउरो बाटो प्रयोग गरे। तिब्बतबाट ब्रह्मपुत्र हुँदै उत्तर भारत पुगेर पश्चिम लागे, त्यसपछि कोशी नदी पछ्याउँदै त्रिवेणी आइपुगे। त्यहाँबाट कोशीका सहायक नदीहरू पछ्याउँदै बाँडिएर पहाडतिर छरिए।
किराँती मौखिक शास्त्र मुन्धुमका अनुसार, दक्षिणबाट उत्तर जाने क्रममा किराँती पुर्खाहरू खुवालुङ आइपुगे। मुन्धुम अनुसार प्रागैतिहासिक कालमा खुवालुङदेखि उत्तरमा पवित्र भूमि थियो। उत्तर प्रवेश गर्न खुवालुङबाहेक अर्को बाटो थिएन। ‘अपवित्र व्यक्ति’का लागि खुवालुङ खुल्दैनथ्याे। अपवित्र व्यक्तिले कुनै जीवको आलो रगत चढाएर तन र मन शुद्ध पारी प्रायश्चित गरेर बाटो मागेपछि मात्रै खुवालुङ खुल्थ्यो। किराँत भूमिमा अपवित्र कर्महरू बढ्दै गएपछि खुवालुङ नदीभित्र लुप्त भएको मिथक छ।
मुन्धुममा उल्लिखित खुवालुङ हालको त्रिवेणी आसपास थियो भनेर विश्वास गरिन्छ। कोशी नदीको प्रमुख नदी अरुणमा पूर्वबाट तमोर र पश्चिमबाट दूधकोशी मिसिने स्थानलाई त्रिवेणी भनिन्छ। भोजपुर, धनकुटा र उदयपुर जिल्लाको संगमस्थल पनि हो, त्रिवेणी। ती तीनवटा नदी मिसिएको ठाउँबाट अलि उत्तरमा नदीको बीचमा रहेको वर्गाकार ढुङ्गो नै खुवालुङ हो भन्छन् कतिपय किराँतीहरू। यो ढुङ्गो हिउँदमा देखिन्छ, वर्षाद्मा भने पानीको सतह बढेपछि छोपिन्छ।
यतिखेर विद्वान्हरू ‘खुवालुङ’ शब्दको अर्थ खोज्ने रस्साकस्सीमा लागेका छन्। कोही ‘खुवालुङ’ भनेको ‘पानीमुनिको ढुङ्गा’ भन्दै छन्, कोही ‘बाटोको ढुङ्गा’, ‘सिमानाको ढुङ्गा’ त कोही ‘थालजस्तो ढुङ्गा’ भन्दै छन्।
किराँती बहुल क्षेत्रमा शब्दको अन्त्यमा ‘लुङ’ भएका थुप्रै ठाउँ छन्, जस्तैः म्याङलुङ, कुलुङ, मालुङ, किमालुङ, सारालुङ, बुवालुङ आदि। पश्चिमतिर त बाग्लुङ जिल्ला नै छ। प्युठानमा लुङ गाउँ छ। यसरी हेर्दा खुवालुङ एउटा भौगोलिक स्थान हो, टक्रक्क एउटा ढुङ्गो नभई ठूलै क्षेत्र हो।
यस्तै, ‘लुङ’ भनेको ढुङ्गा हो, खास किसिमको ढुङ्गा। किराँतीमा दर्जनौं ‘लुङ’ छन्ः सुप्तुलुङ, तायालुङ, साकुलुङ, रुमीलुङ, पामीलुङ, सायालुङ, छेकुलुङ, छेम्बीलुङ, धिलुङ, रुवाङलुङ, बान्ठेनलुङ, नानलुङ, एमलुङ, चेमलुङ, आपलुङ। एक अर्थमा ‘वा’ ले पानी जनाउँछ। ‘वा’ लागेका खोलाहरू थुप्रै छन्ः संखुला, इर्खुवा, चिर्खुवा, अखुवा, खकुवा, पखुवा, पिखुवा, सावा, तावा, रावा, कावा, मावा आदि।
खुवालुङ किराँती आध्यात्मिकता हो, आस्था हो, संस्कृति हो, विश्वास हो। मुन्धुम अनुसार खुवालुङ भौतिक रूपमा छैन, अदृश्य छ। मुन्धुमी ज्ञानले युक्त भई अलौकिक शक्ति पाएको व्यक्तिले मात्र खुवालुङ देख्नसक्छ। तसर्थ त्रिवेणीमा देखिने ढुङ्गा वास्तविक खुवालुङ हैन, खुवालुङको प्रतीक हो। किराँती आस्था, विभाजन र एकताको प्रतीक हो।
अर्को अर्थमा ‘वा’ भनेको चरा पनि होः माव्वा, झेक्वा, मुव्वा, टुव्वा, खुव्वा, चेन्चेवा, डोम्बेलावा। यसरी खुवालुङ ढुङ्गा पनि हो, ठाउँविशेष पनि हो, पानी पनि हो, चरा पनि हो। तर, यस्ता विशुद्ध प्राविधिक र शाब्दिक अर्थमा अलमलिंदा खासमा ‘खुवालुङ’ के हो त भन्ने वास्तविक अर्थ हराइरहेको छ। शाब्दिक अर्थ खोज्ने क्रममा, अंग्रेजी शब्द ‘ह्यान्डसम’ को नेपालीमा ‘ह्यान्ड’ माने हात, ‘सम’ माने अलिकति हुन्छ, ‘अलिकति हात’ भन्न असुहाउँदो हुने भएकाले ‘सानो हात’ भने हुन्छ भन्ने खालको अर्थ लगाइँदै छ, खुवालुङको।
खुवालुङ किराँती आध्यात्मिकता हो, आस्था हो, संस्कृति हो, विश्वास हो। मुन्धुम अनुसार खुवालुङ भौतिक रूपमा छैन, अदृश्य छ। मुन्धुमी ज्ञानले युक्त भई अलौकिक शक्ति पाएको व्यक्तिले मात्र खुवालुङ देख्नसक्छ। तसर्थ त्रिवेणीमा देखिने ढुङ्गा वास्तविक खुवालुङ हैन, खुवालुङको प्रतीक हो। किराँती आस्था, विभाजन र एकताको प्रतीक हो।
विभाजन र एकताको प्रतीक कुन अर्थमा भने, खुवालुङ पार गरेर, त्यसलाई साक्षी राखेर किराँतीहरू खोलैखोला विभाजित हुँदै उत्तरतिर फैलिए। खुवालुङलाई साक्षी राखेर, भाकेर, विश्वास गरेर सबै किराँतीमा बन्धुत्वको भावना अनन्त रहिरह्यो।
त्रिवेणी आसपासका किराँतीहरू खुवालुङलाई शक्तिका रूपमा मान्छन्। त्यो ढुङ्गालाई खुवालुङको प्रतीकका रूपमा पूजा गर्छन्।
विश्वास भर्सेस विकास
विकास र संस्कृति/सम्पदा नेपाली अर्थ–राजनीतिमा लामो समयदेखि द्वन्द्वको विषय बन्दै आएको छ। विकासलाई विशुद्ध भौतिक कार्यका रूपमा लिएर आर्थिक मामिलासँग मात्रै जोड्ने कि विकासले मानिसहरूको सांस्कृतिक आस्था र सम्पदाहरूलाई पनि सम्बोधन गर्ने भन्ने विषय जटिल प्रश्न बन्ने गरेको छ।
प्रकृतिका संरचनाहरू स्थानीय मानिसको सांस्कृतिक आस्था र विश्वाससँग जोडिएका हुन्छन्। आधुनिक भौतिक विकासले यातायात, सिंचाइ, खानेपानी, शिक्षा, खेलकुद, पर्यटन लगायत नाममा तिनै संरचनाहरूलाई आँखा लगाउँदा विकासवादी र संस्कृतिकर्मी, सरकार र जनता, ठेकेदार/व्यापारी र समुदायबीच बहुआयामिक द्वन्द्व हुने गरेको छ।
विकासलाई विशुद्ध भौतिक कार्यका रूपमा लिएर आर्थिक मामिलासँग मात्रै जोड्ने कि विकासले मानिसहरूको सांस्कृतिक आस्था र सम्पदाहरूलाई पनि सम्बोधन गर्ने भन्ने विषय जटिल प्रश्न बन्ने गरेको छ। जुन तारतम्य नमिल्दा द्वन्द्व हुने गरेको छ।
त्यस्तो द्वन्द्व र टकरावका क्रममा एक पक्ष विकासको नाममा स्थानीय सांस्कृतिक सम्पदामाथि राज्यले सुनियोजित ढंगले अतिक्रमण गरेको तर्क गर्छन् भने राज्यका निकायहरूमा रहेका र राज्यबाट कुनै न कुनै रूपमा लाभ पाइरहेकाहरू संस्कृति जोगाउने बहानामा विकासको बाटो अवरोध गरिएको आक्षेप लगाउने गर्छन्।
खासमा नेपाली राज्यसत्ता जहिले पनि पक्षपाती रहँदै आएको छ। संविधानमा धर्मनिरपेक्षता लेखिए पनि राज्यको व्यवहार धर्मनिरपेक्ष हुन सकेको छैन। पृथ्वीनारायण शाहले गोर्खाबाहिरका भुरेटाकुरे राज्यहरूलाई एउटै सिमानाभित्र एकत्रित गर्न थालेदेखि नै स्थानीय संस्कृति र सांस्कृतिक सम्पदाहरूमाथि अतिक्रमण शुरू भएको हो। राजतन्त्र, राणा शासन, प्रजातन्त्र, पञ्चायती व्यवस्था, बहुदल हुँदै गणतन्त्र र संघीयतामा मुलुक आइसक्दा पनि राज्यको चरित्र र शासकहरूको मनोविज्ञानमा आधारभूत परिवर्तन भएन। राज्यसँग राजनीतिक, आर्थिक, सैनिक र प्रशासनिक शक्ति छ। तल्लो तहका खासखास सम्प्रदायका मानिसहरूमा एकल धार्मिक मनोविज्ञान हाबी छ। जसले गर्दा उनीहरूका हरेक बोली र व्यवहार धार्मिक रूपमा पूर्वाग्रही बन्ने गरेको छ।
विकासले स्थानीय समुदायको सांस्कृतिक सम्पदाहरूलाई खत्तम पार्न हुँदैन भन्नेहरूलाई राज्य र राज्यशक्तिका वरिपरि हुनेहरू (जो राजनीति तथा आर्थिक रूपमा शक्तिमा नभए पनि सांस्कृतिक रूपमा राज्यको मूलधारमा छन्) विकास विरोधी मात्रै भनेर चित्त बुझाउँदैनन्, आफ्नो विचारसँग असहमत पक्षलाई विदेशी दलाल, डलरवादीदेखि क्रिश्चियनसम्मका संज्ञा दिन्छन्। विदेशी र डलर शब्द यस्ता बने, जसलाई भने पनि हुने! पुरातन विचार र व्यवहारहरूलाई सुधार गरौं भन्दा पनि डलरवादीको पगरी, स्थानीय सम्पदाहरूको संरक्षण गरौं भन्दा पनि विदेशी डलर बोलेको!
राज्य र सरकार धर्मनिरपेक्ष भएन, हिन्दूकरण भयो भन्ने ज्वलन्त उदाहरण पछिल्लो समयमा एकै पटक दोहोरो रूपमा प्रष्ट भयो। राज्यकोषबाट चितवनको माडीमा अयोध्या बनाउने र पशुपतिमा सुनको जलहरी लगाएर संविधानको ‘धर्मनिरपेक्षता’ लाई व्यवहारमा हिन्दू राज्य बनाइँदै छ। उही समयमा उही सरकार हुँदा खुवालुङ फुटाउने कुरा हुनु संयोग मात्र नहुन सक्छ।
खुवालुङ काकतालीमा भएको घटना हैन। २०५० सालतिर धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन किराँतीहरूको समाधिस्थल र साकेवाथान मासियो। त्यो जोगाउनुपर्यो भन्नेहरूलाई होस् वा पछिल्लो समय झापामा रङ्गशाला बनाउँदा आदिवासी समाधिस्थल मासिने भयो भन्नेहरूलाई होस् वा धरानमा खानेपानी ट्याङ्की बनाउने क्रममा किराँती सभ्यतासँग जोडिएको भताभुङ्गे राजाको भग्नावशेष दरबार जोगाऔं भन्नेहरूलाई विकास विरोधी भनिएकै हो।
राज्य र सरकार धर्मनिरपेक्ष भएन, हिन्दूकरण भयो भन्ने ज्वलन्त उदाहरण पछिल्लो समयमा एकै पटक दोहोरो रूपमा प्रष्ट भयो। राज्यकोषबाट चितवनको माडीमा अयोध्या बनाउने र पशुपतिमा सुनको जलहरी लगाएर संविधानको ‘धर्मनिरपेक्षता’ लाई व्यवहारमा हिन्दू राज्य बनाइँदै छ। उही समयमा उही सरकार हुँदा खुवालुङ फुटाउने कुरा हुनु संयोग मात्र नहुन सक्छ।
सुर्खेतको काँक्रेबिहार मासेर हिन्दू मन्दिर निर्माण गर्ने कुरामा असहमत हुनेहरूलाई हिन्दूविरोधी भनिएको थियो। सुनसरी वराहक्षेत्र धनकुटाको आठपरिया राईहरूको सांस्कृतिक थलो हो भन्नेहरूलाई पनि हिन्दूविरोधी नभनिएको हाेइन। कैयौं उदाहरण छन्, जसले आदिवासी सांस्कृतिक सम्पदालाई कि ध्वस्त पार्ने कि त हिन्दूकरण गर्ने प्रवृत्तिको निरन्तरतालाई पुष्टि गर्छन्। अहिलेको कम्युनिष्ट सरकारको पालामा मार्क्सवादको खोलभित्र पनि हिन्दू अहंकारवादको गन्ध देखिनु विडम्बना हो।
के हो मिलनबिन्दु ?
खुवालुङ प्रकरणमा मिलनबिन्दु के हुन सक्ला त? कोही पनि भौतिक विकासविरोधी हुन भएन, कोही पनि सांस्कृतिक सम्पदाविरोधी हुन भएन। ‘खुवालुङ’ कोशी जलमार्गका लागि भौतिक अवरोध हुँदै हो। चतरा–त्रिवेणीमा सञ्चालित स्टिमरलाई भोजपुर र संखुवासभासम्म लैजान त्यसले अप्ठ्यारो पार्ने देखिन्छ। किनकि, विगतमा पनि अरुण, तमोर र दूधकोशी किनारका मानिसहरूले नदीमा हेलाउँदै मधेशतिर बाँस लैजाँदा त्यो ढुङ्गामा ठोक्किएर दुर्घटनाहरू भएकै हुन्, फेरि पनि हुन सक्नेछन्।
तर, त्यसको समाधान क्रेन, स्क्याभेटर, ब्लास्टिङ लगाएर ढुङ्गा फुटाउनु हाेइन। त्यसलाई फुटाउँदा त्यसभन्दा माथिको क्षेत्रमा भौगर्भिक रूपमा नकारात्मक प्रभाव पर्न पनि सक्छ। यसैले विकल्प के हुन सक्छ भनेर अध्ययन आवश्यक छ। यस क्रममा त्यस क्षेत्रको व्यापक रुपमा प्राविधिक अध्ययन गर्नुपर्छ। ‘खुवालुङ’ रहेको भेगको नदी क्षेत्र विशाल छ। सामान्य आँखाले हेर्दा पनि नदीको प्रवाह मोडेर जलमार्ग सहज बनाउन सकिने देखिन्छ।
कुनै पनि विकास–निर्माणका योजना सञ्चालन गर्नुअघि त्यसको भौतिक मात्रै हाेइन, सांस्कृतिक प्रभावको समेत अध्ययन गर्नुपर्छ भनेर संयुक्त राष्ट्रसंघले पनि भनेकै छ। राष्ट्रसंघको सदस्य राष्ट्रले सञ्चालन गर्ने विकास योजनाहरू स्थानीय समुदायको सांस्कृतिक आस्था र जीवनलाई प्रतिकूल असर पार्ने गरी जबर्जस्ती गर्न भएन। दुवै पक्षबाट हठ र अतिवाद छोडेर मिलनबिन्दु खोज्ने क्रममा प्राविधिक अध्ययन र परीक्षणबाट निर्क्योलमा पुग्नु उपयुक्त हुन्छ।