कसको भाष्य हो ‘हम आब सीता नै बनबौ’ ?
लैंगिक असमानताका साथै जातको दर्जाबन्दीले ‘गुलामको पनि गुलाम’ नियतिमा बाँचिरहेका बहुजन महिलाको स्वतन्त्रता पितृसत्ताको विनाशबाट मात्र सम्भव छैन।
अहँ ! हम आब सीता नै बनबौ
अति सहनशील आ कोमल माता जानकी नै बनबौ
सपना सञ्जीवनीको मैथिली भाषाको यो कविता पछिल्लो समय निकै चर्चामा आयो। गत ३० माघमा ‘बृहत् नागरिक आन्दोलन’ को आयोजनामा भएको ‘महिला मार्च’ का क्रममा वाचन गरिएको कविताले बहस छेड्यो, जसले समाजलाई पक्ष र विपक्षमा बाँडिदियो। कविताले उठाएको विद्रोही स्वरको उदारवादीहरूले सराहना गरे भने हिन्दुत्व (सवर्ण ब्राह्मणवाद) पक्षधरबाट विरोध भयो।
हिन्दुत्वको आदर्श पुरुष ‘श्रीराम’ को मर्यादामाथि हमला गर्दा त्यो तप्काबाट विरोध हुनु स्वाभाविक थियो। हिन्दुत्व अन्धकारयुगका सहनशील सीता, विवश गान्धारी, असहाय सरस्वती र निरीह द्रौपदीको चित्कारलाई आजका ‘सपना’हरूले कदापि स्विकार्न सक्दैनन्। सपनाको कविताले हिन्दुत्वरूपी क्यान्सरलाई किमोथेरापी मात्र गरेको हो। उक्त क्यान्सरको उपचार हिन्दुत्वभित्रको कुनै बुटीबाट सम्भव छैन।
डा. भीमराव अम्बेडकरले हिन्दुत्वलाई बिरामी मस्तिष्कको संज्ञा दिएका थिए। त्यही रोगी मस्तिष्कको घाउ कोट्याउँदै सपनाले ‘हम आब सीता नै बनबौ, सरस्वती नै बनबौ, गान्धारी नै बनबौ’ भन्दै परिवर्तनको पक्षमा आवाज बुलन्द गरिन्। तर, सपनाको परिवर्तनको गोरेटो के हो ? त्यो कोणबाट पनि बहस हुन जरुरी छ।
के सपनाले कवितामा भनेको पितृसत्ता साझा हो?
नेपालमा मूलधारको नारीवादी दृष्टिकोण मूलतः सवर्ण नारीवादी दृष्टिकोण हो, जसले सबै महिला समान छन् भन्छ। नारीवादले महिला र पुरुषबीच समानताको वकालत गर्छ। तर के जातको दर्जाबन्दी (हाइरार्की) मा महिलाहरू समान श्रेणीमा छन् त? पक्कै छैनन्। ब्राह्मण महिला ब्राह्मणको श्रेणीमा, क्षत्री महिला क्षत्रीको र वैश्य महिला वैश्यको श्रेणीमा छन् भने शूद्र र अतिशूद्र महिला त झन् सबैभन्दा तल छन्।
पितृसत्तालाई बुझ्ने र व्याख्या गर्ने नारीवादी दृष्टिकोण एउटै छैन, विविध छन्। नेपालमा मूलधारको नारीवादी दृष्टिकोण मूलतः सवर्ण नारीवादी दृष्टिकोण हो, जसले सबै महिला समान छन् भन्छ। नारीवादले महिला र पुरुषबीच समानताको वकालत गर्छ। महिलाको बीचमा कुनै मतभेद र पर्खाल छैन। हामी सबैले पितृसत्ताको सामना गरिरहेका छौं। पितृसत्ता हाम्रो साझा समस्या हो। तर, दलित–बहुजन महिलाको लागि पितृसत्ता साझा समस्या हो त?
यदि सबै महिला समान छन् भने जातको दर्जाबन्दी (हाइरार्की) मा महिलाहरू समान श्रेणीमा छन्? पक्कै छैनन्। ब्राह्मण महिला ब्राह्मणको श्रेणीमा, क्षत्री महिला क्षत्रीको र वैश्य महिला वैश्यको श्रेणीमा छन् भने शूद्र र अतिशूद्र महिला त झन् सबैभन्दा तल छन्। क्रमिक दर्जाबन्दी भएको सामाजिक तथा राजनीतिक संरचनामा सबै महिला समान छैनन्। सबैको समस्या साझा पनि छैन। समस्या र उत्पीडन समान छैन। सपना समान छैन। सुख र दुःख पनि समान छैनन्।
सवर्ण समाज र बहुजन समाजमा पितृसत्ताको चरित्र र व्यवहार एकैनासको छैन। बहुजन समाजमा पितृसत्ता घरभित्र सीमित छ। घरबाहिर बहुजन पुरुष पनि गुलाम छन्। के पितृसत्ता घरसम्म सीमित सत्ता हो? वास्तवमा पितृसत्ता त्यो शक्ति हो, जसले सामाजिक तथा धार्मिक संरचना र राजनीतिक व्यवस्थामाथि कब्जा गरेको हुन्छ।
सवर्ण नारीवादीहरू इतिहासलाई पुरुषको इतिहासका रूपमा हेर्छन्। साहित्यलाई पुरुषको साहित्यका रूपमा हेर्छन्। राजनीतिलाई पुरुषकाे राजनीतिक रूपमा हेर्छन्। तर, कुन पुरुषको इतिहास, कुन पुरुषको साहित्य र कुन पुरुषको राजनीति भन्ने विषयमा बोल्दैनन्। सपना सञ्जीवनीले आफ्नो कवितामा ब्राह्मण ब्रह्मा, क्षत्रीय राम, कौरव र पाण्डव पुरुषको पुरुषवादी अहंकारको विरुद्धमा इन्कलाब बोलेकी छन्। सपनाको विद्रोही स्वर सवर्ण पुरुषसँगको समानताको लडाइँसम्म सीमित देखिन्छ। सपनाको कविता बहुजन पुरुषसँगको समानताको लागि देखिँदैन।
सवर्ण पितृसत्ता श्रम क्षेत्रभन्दा बाहिर छ। उनीहरू श्रमलाई अपवित्र ठान्छन्, हेला गर्छन्। तर, श्रमको कुरा गर्दा सवर्ण नारीवादीहरू वेलाबखत भन्छन्– ‘घरमा हामी पनि त आफ्नो बच्चाको डाइपर सफा गर्छौं। लुगा धुन्छौं। खाना पकाउँछौं।’ सवर्ण नारीवादी केवल सवर्ण पुरुषसँग लैंगिक समानता चाहन्छन्।
अर्कातिर, बहुजन श्रम क्षेत्रभित्र छन्। सवर्ण महिलाको पेट घरको चौखट पार नगरी भरिन्छ। तर, बहुजन महिलाले पेट भर्न घरको चौखट पार गरेर श्रम गर्नुपर्छ। अर्थात् बहुजन महिला घरभित्र र बाहिर पनि काम गर्छन्। लुगा धुन्छन्, भाँडा माझ्छन्। बहुजन महिला एकसाथ लैंगिक असमानता र जात–दर्जाबन्दीको शिकार भइरहेका छन्। मूलधारको नारीवादी डिस्कोर्समा बहुजन महिलाको मुद्दाले ठाउँ पाएकै छैन। बलात्कार जस्तो मुद्दामा समेत जातको दर्जाकै कारण अचम्मलाग्दो मौनता देखिन्छ। बहुजन महिलाको बलात्कार हुँदा कुनै स्वर सुनिँदैन।
सवर्ण समाज र बहुजन समाजमा पितृसत्ताको चरित्र र व्यवहार एकैनासको छैन। बहुजन समाजमा पितृसत्ता घरभित्र सीमित छ। घरबाहिर बहुजन पुरुष पनि गुलाम छन्।
सवर्णका लागि मुख्य मुद्दा यौन स्वतन्त्रता, पारिवारिक सम्मान, सम्पत्तिको अधिकार, वंश परम्परा र बच्चालाई जन्म दिनेसम्म सीमित छ। बहुजन महिला केवल बच्चालाई मात्र जन्म दिँदैनन्, सामाजिक उत्पादनमा बराबरीको हिस्सेदार पनि छन्। उनीहरूको लिङ्ग र जातप्रतिको दृष्टिकोण अलग छ। त्यसैले सवर्ण र बहुजन महिलाको लागि पितृसत्ता साझा छैन।
के पितृसत्ताको विनाशमा बहुजन महिलाको मुक्ति सम्भव छ त?
बहुजन महिला जातको कारण सफाइकर्मी भएका हुन्। जातको कारण अशिक्षित भएका हुन्। जातकै कारण बेरोजगार भएका हुन्। मूल समस्या जात–दर्जाबन्दी हो। जात आधारित शोषण छ। जात आधारित श्रमको समस्या छ। बहुजन पुरुष आफैं गुलाम छन्। त्यो दृष्टिले हेर्दा बहुजन महिला ‘गुलामका गुलाम’ हुन्। सवर्ण महिला आफ्नै पुरुषको गुलामीबाट मुक्ति चाहन्छन् भने बहुजन महिला आफ्नो पुरुषको साथसाथै सवर्ण पुरुष र सवर्ण महिलाको गुलामीबाट मुक्ति चाहन्छन्। त्यसको लागि जातको विनाश पूर्वशर्त हो। जातको विनाशमा नै महिला स्वतन्त्रताको बिउ लुकेको छ।
सवर्ण महिला पितृसत्ताको विनाशबाट स्वतन्त्र हुन सक्छन् भने बहुजन महिला ब्राह्मणवादी पितृसत्ताको विनाशबाट मात्र स्वतन्त्र हुनसक्छन्। त्यसैले बुझ्नुपर्ने कुरा के हो भने, केवल पितृसत्ताको विनाशमा बहुजन महिलाको मुक्ति सम्भव छैन।
पितृसत्ता र ब्राह्मणवादी पितृसत्ता
ब्राह्मणवादी धर्मग्रन्थले जातभन्दा बाहिर विवाहको अनुमति दिँदैन। जात र विवाह एउटै सिक्काको दुई पाटा हुन्छ। सजातीय विवाहको मूल उद्देश्य जातको ‘शुद्धता’ कायम गर्नु हो। अन्तरजातीय विवाहबाट जात–शुद्धताको नाश हुन्छ। जात–शुद्धता र महिलाको यौनिकतामाथि नियन्त्रण गर्ने काम ब्राह्मणवादी पितृसत्ताले गर्छ। महिलाको यौनिकता नियन्त्रण पुरुषले मात्र होइन, पुरुषको जातले पनि गर्छ। यसलाई सजिलै बुझ्न एउटा घटना हेरौं।
मेरी साथी रेखा सुनुवार (नाम परिवर्तित) जनजाति (राई) समुदायकी हुन्। उनले ब्राह्मण केटासँग प्रेम विवाह गरेकी छन्। विवाहको केही समयपछि उनीहरूको छोरो जन्मियो। तर, रेखाका सासू–ससुराले उसलाई आजसम्म भान्सा र पूजाकोठामा छिर्न दिएका छैनन्। उनीहरूलाई छोरा र नातिसँग कुनै समस्या छैन, तर बुहारीलाई सँगै बस्न दिएका छैनन्।
सवर्ण महिला पितृसत्ताको विनाशबाट स्वतन्त्र हुन सक्छन् भने बहुजन महिला ब्राह्मणवादी पितृसत्ताको विनाशबाट मात्र स्वतन्त्र हुनसक्छन्। त्यसैले बुझ्नुपर्ने कुरा के हो भने, केवल पितृसत्ताको विनाशमा बहुजन महिलाको मुक्ति सम्भव छैन।
पितृसत्ता मात्रै भएको भए यो समस्या आउँदैनथ्यो होला। ब्राह्मणवादी पितृसत्ताको रापले उनी पीडित भइन्। जनजाति महिला भएकै कारण यस्तो अमानवीय व्यवहार सहन बाध्य भइन्। यो कुनै दूरदराजको घटना नभई काठमाडौंको हो। ब्राह्मणवादी पितृसत्ता एउटै तीरबाट दुईवटा निशाना बनाएर जातीय र लैंगिक उत्पीडन गर्दैछ। तर, यो विषयमा सवर्ण नारीवादी बोल्दैनन्।
पुरुषवादी समाज : कुन पुरुष?
हामीलाई सानैदेखि सिकाइयो, हाम्रो समाज पुरुषवादी हो। तर, कुन पुरुषको समाज हो? ती पुरुष को हुन्, जसको हातमा सत्ता छ? के ती बहुजन पुरुष हुन्? होइन। ती मूलतः सवर्ण पुरुष हुन्। पितृसत्ता सवर्ण समाजमा पैदा भएको हो। जसको कारण राज्यशक्तिका सम्पूर्ण स्रोतमाथि उनीहरूको कब्जा छ। दलित–बहुजन पितृसत्ता त केवल घरसम्म सीमित छ।
पितृसत्ता त्यो हो, जसले संरचना र व्यवस्थामाथि नियन्त्रण गरी अधिकार स्थापित गरेका छन्। बहुजन समाजको पुरुषले आफ्नो घरमा मात्रै शक्तिको प्रयोग गरेका छन्। बहुजन पुरुष र महिला दुवै सवर्ण पितृसत्ताबाट उत्पीडित छन्। के घरको सत्ता र संरचनाको सत्ता दुवैलाई पितृसत्ता भन्न मिल्छ ? के सबै पुरुष समान छन्?
सपना सञ्जीवनीको इन्कलाबको ‘न्यारेटिभ’ (भाष्य) भित्र लैंगिक समानता देखिन्छ। तर, यतिमा मात्र रोकिनु हुँदैन। सवर्ण महिलाको लैंगिक समानता केवल सवर्ण पुरुषसँग हो कि बहुजन पुरुषसँग पनि हो ? प्रष्ट हुन जरुरी छ। पितृसत्ताको विनाश हुँदैमा बहुजन महिला स्वतन्त्र हुन सक्दैनन्। सपनाले “अहँ ! हम आब सीता नै बनबौ” भनेकी छन्, तर के बन्ने भनेर अनुत्तरित नै छ। ‘सीता’ को विकल्प ‘काली’ पनि हुनसक्दैन। सीताको विकल्प सावित्रीवाई फूले, फातिमा शेख जस्ता महिला हुनुपर्छ, जसले ब्राह्मणवादी पितृसत्तालाई विनाश गरी समता, स्वतन्त्रता, करुणा र भ्रातृत्वयुक्त समाज निर्माणको जग हाले। अब सपनाहरूले उक्त जगमाथि बहुजन नारीवादको घर बनाउनुपर्छ।
(रजक अम्बेडकरी अध्येता हुन् ।)