कुमारी पुज्न पनौती (तस्वीरहरू)
जीवित देवी कुमारीको प्रायः काठमाडौंको वसन्तपुरमा मात्रै पूजा गरेको देखिन्छ। तर, देशका अन्य भागमा पनि यस्तै १० ठाउँमा जीवित देवी कुमारी छन्। तिनैमध्ये एक पनौतीकी जीवित देवी कुमारीकाे शनिबार पूजा गरिएको छ।
काठमाडौं उपत्यकाबाट गएको ५०० भक्तजनको टोलीले पनौतीमा कुमारीको पूजा गरेको हो। यसको अगुवाइ काठमाडौं महानगरपालिका–१२ ह्युमतस्थित ह्युमत महिला समूहले गरेको छ।
वसन्तपुरमा जस्तै अन्य ठाउँमा पनि कुमारीको पूजा गर्नुपर्ने ठानेर पनौती पुगेको समूहका प्रचारप्रसार समिति संयोजक राजु नापितले बताए। “वसन्तपुरमा त राज्यले नै राजकीय कुमारी मानेको छ, राज्यले नै पूजा गर्छ,” नापितले भने, “अन्य ठाउँमा त संस्कृति लोप हुँदै छ। कुमारीहरू समस्यामा छन्। त्यसैले उनीहरूको जीवनस्तर उकास्न, संस्कृति जोगाउन पूजा गर्न आएका हौं।”
पनौतीमा ८० वर्षदेखि कुमारीको पूजा हुन सकेको थिएन। ह्युमत महिला समूहको अगुवाइमा नै २०७० देखि पुनः पूजा गर्न थालिएको हो। यो समूहले सोधखोज गरेर कुमारी स्थापना गरेको हो।
त्यही २०७० मा स्थापना गरिएकी कुमारीको शनिबार पूजा गरिएको छ। यो समूह जीवित कुमारीको पूजा गर्ने क्रममा तेस्रो पटक पनौती पुगेको हो। पनौतीपछि साँखुमा गएर कुमारीको पूजा गर्ने नापितले बताए।
उनका अनुसार देशका ११ ठाउँमा जीवित देवी कुमारी रहेका छन्। काठमाडौं राजकीय कुमारी, मखन कुमारी, किलावत कुमारी, टोखा कुमारी, साखु कुमारी, ललितपुर कुमारी, बुंगमुती कुमारी, भक्तपुर कुमारी, पनौती कुमारी, नुवाकोट कुमारी र आजीवन कुमारी छन्।
अन्य कुमारीको पनि पूजा गर्ने र स्थानीयलाई आफ्नो संस्कृति जोगाउन प्रेरित गर्ने उद्देश्यले ह्युमत महिला समूहले यो कार्यक्रम राखेको उनले बताए। ह्युमत महिला समूहले नै काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुर, ठिमी र बोडेलगायतका क्षेत्रबाट ५०० जनाको टोली बनाएर पनौती लगेको हो।
त्यही टोलीले पनौतीमा जीवित देवी कुमारीको पूजा गरेको छ। उनीहरूलाई पनौती जात्रा व्यवस्थापन मूल समिति र पनौती नगरपालिकाले सघाएको छ।