के प्रहरीले बरामद गरेको वस्तु बहुमूल्य युरेनियम नै हो त?
शुक्रबार प्रहरीले काठमाडौंबाट अर्बौं रुपैयाँ पर्ने करीब साढे २ केजी युरेनियम–२३८ बरामद गरेको समाचार आइरहँदा बरामद वस्तुबारे विज्ञहरू के भन्छन्?
नेपाल प्रहरीले शुक्रबार काठमाडौंको बौद्धबाट करीब साढे २ केजी युरेनियम–२३८ सहित चार जनालाई पक्राउ गरिएको भनी पत्रकार सम्मेलन गर्यो। प्रहरीलाई हवाला दिएर बरामद गरिएको युरेनियम अर्बौं रुपैयाँ पर्ने भनी समाचारहरू प्रकाशन भइरहेका छन्।
युरेनियम मूलतः ऊर्जा र आणविक हतियारका लागि प्रयोग हुने भएकाले निकै संवेदनशील मानिन्छ। पृथ्वीमा अपवादमा मात्रै भेटिने र प्रशोधनका लागि ठूलो लगानी र उच्चस्तरको प्रविधि आवश्यक भएकाले यो बहुमूल्य हुन्छ। तर, नेपाल प्रहरीले सार्वजनिक गरेको प्लास्टिकको डब्बामा राखिएको वस्तु प्रशोधित युरेनियम भने होइन। युरेनियमका विषयमा लामो समयदेखि अध्ययन गर्दै आएका खानी तथा भूगर्भ विभागका एक अधिकारी भन्छन्, “युरेनियम किलोका किलो सजिलै भेटिने चिज नै होइन, त्यो रेडियोधर्मी विकिरण भएको चट्टानको धूलो हुनुपर्छ।”
यसको परीक्षण गरेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का प्रवक्ता डा. सुरेशकुमार ढुंगेलका अनुसार, भेटिएको पदार्थ युरेनियमको प्राकृतिक स्वरूपमा रहेको कच्चा पदार्थ मात्रै हो। “यो उच्च रेडियोधर्मी विकिरणयुक्त पदार्थ मात्रै भएको हाम्रो परीक्षणले देखाएको छ, युरेनियमकै कच्चा पदार्थ पनि हो कि होइन भनी यकिनसाथ भन्न सकिँदैन।”
युरेनियमका विषयमा लामो समयदेखि अध्ययन गर्दै आएका खानी तथा भूगर्भ विभागका एक अधिकारी भन्छन्, “युरेनियम किलोका किलो सजिलै भेटिने चिज नै होइन, त्यो रेडियोधर्मी विकिरण भएको चट्टानको धूलो हुनुपर्छ।”
खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार, रेडियोधर्मी विकिरण भएका चट्टानलाई विभिन्न तहको प्रशोधनपछि मात्रै ऊर्जा वा आणविक हतियारका रूपमा प्रयोग गर्न सकिने बनाउन सकिन्छ। प्राकृतिक स्वरूपमा रहेको कच्चा पदार्थलाई असाध्यै जटिल र विभिन्न तहको प्रशोधन गरेपछि मात्रै आणविक भट्टी वा हतियारका रूपमा प्रयोग गर्न मिल्ने युरेनियम तयार हुन्छ। नेपालमा आणविक हतियार र ऊर्जा उत्पादन गर्ने आणविक भट्टी दुवैको स्थापना भएको छैन, तत्काललाई त्यस्तो सम्भावना पनि छैन। त्यसैले, भेटिएको भनिएको युरेनियम शुद्ध नै भए पनि यहीँ प्रयोग हुन सक्दैन।
खानी तथा भूगर्भ विभागका ती अधिकारी त भेटिएको पदार्थ युरेनियम–२३८ भएको विषयमै आशंका गर्छन्। उनका अनुसार, नेपालमा युरेनियमको पारमाणविक भारलाई छुट्याएर विश्लेषण गर्ने ल्याब र त्यस्तो खाले रसायनिक संरचना नै छैन। “खानी विभागसँग ल्याब छ, तर हामीले अहिलेसम्म त्यस्तो विश्लेषण गर्न सकेका छैनौं, नास्टमा त्यस्तो क्षमता होला भन्ने लाग्दैन,” उनी भन्छन्।
नेपालका मुस्ताङ, शिवपुरी लगायत क्षेत्रमा युरेनियम पाइने सम्भावना देखिए पनि अहिलेसम्म यसको उत्खनन शुरू भएको छैन। खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार, यसको विषयमा विस्तृत अध्ययन समेत हुन सकेको छैन। उनका अनुसार, युरेनियम रेडियोधर्मी विकिरण भेटिएका स्थानको पत्थरलाई प्रशोधन गरी युरेनियमको कच्चा पदार्थ बनाउन नै ठूलो लगानीको प्रविधि आवश्यक पर्छ।
नास्टका प्रवक्ता डा. ढुंगेल पनि नास्टमा रेडियोधर्मी विकिरणको तह नाप्ने मात्र ल्याब भएको र यसबाट जाँचिँदा युरेनियम–२३८ सँग मिल्दोजुल्दो रेडियोधर्मी विकिरणको मात्रा देखिएकाले युरेनियमको कच्चा पदार्थ भएको हुनसक्ने आकलन गरिएको बताउँछन्। “वास्तवमा युरेनियम नै हो वा होइन, भए पनि त्यो कस्तो वर्गीकरणको हो भनेर हेर्ने हाम्रो क्षमता छैन,” उनी भन्छन्।
कहाँबाट आयो युरेनियमको कच्चा पदार्थ ?
नेपालका मुस्ताङ, शिवपुरी लगायत क्षेत्रमा युरेनियम पाइने सम्भावना देखिए पनि अहिलेसम्म यसको उत्खनन शुरू भएको छैन। खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार, यसको विषयमा विस्तृत अध्ययन समेत हुन सकेको छैन। उनका अनुसार, युरेनियम रेडियोधर्मी विकिरण भेटिएका स्थानको पत्थरलाई प्रशोधन गरी युरेनियमको कच्चा पदार्थ बनाउन नै ठूलो लगानीको प्रविधि आवश्यक पर्छ। त्यसैले बरामद गरिएको भनिएको युरेनियम नेपालमा उत्खनन भएको हुने सम्भावना नै छैन। काठमाडौंका प्रहरी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंह पनि यो युरेनियम नेपालभन्दा बाहिरबाट आएको आशंका गरिएको बताउँछन्।
२०६६ सालतिर तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएपछि नेपालका भूभर्गविज्ञहरूमा सीमित युरेनियमबारेको खासखुस सार्वजनिक चर्चाको विषय बनेको थियो। नाम उल्लेख नगरी ती भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै श्रेष्ठले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला परेको बताएका थिए। रेडियोधर्मी विकिरण हुनुको अर्थ युरेनियम रहेको बलियो संकेत हो।
सार्वजनिक चर्चासँगै राजनीतिक नेतृत्वले अन्वेषणका लागि निर्देशन दिएपछि खानी तथा भूगर्भ विभागले २०७१ जेठमा मुस्ताङको लोमान्थाङ क्षेत्रको प्रारम्भिक अध्ययन गर्दा १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भेटिन सक्ने आकलन गरेको थियो। त्यतिबेला विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले यत्रो आकारको युरेनियम खानी संसारमै गनिनेमा पर्ने बताउँदै हिमालसँग भनेका थिए, “त्यो क्षेत्रको पत्थरमा गामा रे रेडियोधर्मी विकिरण प्रशस्त भेटिएको छ, जसले त्यहाँ युरेनियम भण्डार रहेको पुष्टि गर्छ।” २०७२ सालमा त तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे नै प्राविधिकहरूसहित मुस्ताङ पुगेर युरेनियम भेटिने सम्भावनाबारे चासो देखाएका थिए।
खानी तथा भूगर्भ विभागले २०७१ जेठमा मुस्ताङको लोमान्थाङ क्षेत्रको प्रारम्भिक अध्ययन गर्दा १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भेटिन सक्ने आकलन गरेको थियो।
यसअघि विभागले १९८० को दशकमै मकवानपुरको तीनभँगाले क्षेत्रमा प्रारम्भिक अध्ययन गर्दा युरेनियम खानीको सम्भावना देखिएको थियो। अध्ययनले त्यहाँ ४० देखि १४०० ग्राम प्रतिटन युरेनियम रहेको हुनसक्ने अनुमान गरेको थियो। मुस्ताङको थाकखोला क्षेत्रमा भने परिमाण र गुणस्तर दुवै हिसाबले तीनभँगालेभन्दा धेरै युरेनियम भएको अनुमान विभागका अधिकारीहरूले गरेका थिए। विभागका अधिकारीहरूले त्यसपछिका वर्षमा पनि मुस्ताङ गएर रेडियोधर्मी विकिरणबारे सामान्य अनुसन्धान गरे, जसले युरेनियम रहेको अनुमानलाई बल मिल्ने खालका नतिजा दिए।
तर, प्रारम्भिक बाहेकका विस्तृत प्राविधिक अध्ययनहरू भने हुन सकेको छैन। प्रयोगशालामा रासायनिक परीक्षण गरेपछि मात्र युरेनियमको गुणस्तर पत्ता लाग्ने भए पनि त्यस्तो परीक्षण भएको छैन। तर, यस्तो गहन अनुसन्धान अगाडि बढाउन विभागसँग न प्राविधिक क्षमता छ, न त पर्याप्त आर्थिक स्रोतसाधन नै। अनुसन्धान अगाडि नबढ्नुको मुख्य कारणमध्ये एक परीक्षणशालाको अभाव पनि हो।
विभागले डेढ दशकअघि बैतडीको बाङ्गाबगर, गोराङ लगायत क्षेत्रमा अध्ययन गर्दा पनि युरेनियमको संकेत फेला पारेको थियो। त्यसैगरी, विभागको अध्ययनले मकवानपुर, सिन्धुली, बझाङ, बाजुरा र काठमाडौं आदि गरी २४ ठाउँमा युरेनियमको संकेत भेटेको थियो। तर, मकवानपुरको तीनभँगाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अरू ठाउँमा भन्दा बढी परिणाम र गुणस्तरको युरेनियम हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको थियो। विभागको अनुमान अनुसार, तीनभँगाले कालोपानी खोला आसपास क्षेत्रमा करीब १५ हजार टन युरेनियम भेटिने चट्टान छ। भारत र पाकिस्तानमा युरेनियम पाइएको ग्रेनाइड र साइनाइड चट्टान नेपालमा पनि भएको र भूगर्भ उस्तै रहेकाले तिनमा युरेनियम हुनसक्ने भूगर्भविद्हरूले बताउने गरेका छन्।
खानी विभागले नेपालमा युरेनियम खोजीका लागि सन् २०१२/१३ तिर संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को सहयोग पाएको थियो। आईएईएले विभागका अधिकारीहरूलाई यसबारे तालिम र केही उपकरणहरू सहयोग गरेको थियो। केही वर्षअघि कोरिया इन्स्टिच्युट अफ जियोसाइन्स एन्ड मिनरल रिसोर्सेस् (किगाम) ले युरेनियम तथा अन्य रियल अर्थ मेटलको अन्वेषणमा प्राविधिक र अन्य सहयोग गर्न विभागसँग प्रारम्भिक समझदारी गरेको थियो। त्यस अन्तर्गत, पहिलो चरणमा विभागका अधिकारीहरूले कोरियामा तालिम समेत लिएका थिए। किगामले पूर्ण सम्झौतापत्रमा हस्ताक्षर गरेर काम अगाडि बढाउन खोजे पनि रहस्यमय तरिकाले उद्योग मन्त्रालयले सहमति नदिएपछि अनुसन्धान रोकियो।
ऊर्जा उत्पादनदेखि परमाणु बमसम्म बनाउन मिल्ने युरेनियम चिकित्सा विज्ञानमा पनि प्रयोग हुन्छ।
युरेनियमबारेको चासो बढाउने अर्को घटना २०७५ पुसपछि शुरू भएको थियो। त्यतिबेला, पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा प्रस्तुत भएर दफावार छलफल शुरू भएपछि नेपालमा युरेनियम उत्खनन तथा व्यापारको बाटो खुलाइएको र जुन जोखिमपूर्ण हुने भनी आलोचना गरिएको थियो। कतिपय चासोलाई सम्बोधन गर्दै संसद्बाट पारित भएको यो विधेयक गत ११ असारमा राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनका रूपमा आइसकेको छ। आणविक भट्टी स्थापना, सञ्चालन, रेडियोधर्मी विकिरणको प्रशोधन, उत्खननजस्ता विषय नियमनको पाटो यो ऐनसँग सम्बन्धित छ।