शौच गर्न भारतको जंगल
आधारभूत सेवासुविधाबाट वञ्चित रहेका सीमा क्षेत्रको धनगढी उपमहानगरपालिका–१९ हिम्मतपुरका बासिन्दा शौच गर्न पनि भारतीय जंगलमा जानुपर्ने बाध्यतामा छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–१९ हिम्मतपुरका बालकिसन राना बिहान बिउँझियो कि सीमापारिको भारतीय जंगलतिर लाग्छन्। “घरमा ट्वाइलेट छैन, गाउँमा जंगल पनि छैन,” बालकिसन भन्छन्, “भारततिर जंगल छ, त्यसैले उतै जान्छौं।”
बालकिसनलाई सजिलो लागे पनि हिम्मतपुरकै ठगनीदेवी रानालाई भने सकस हुन्छ। “विवाह भएर आउँदा एकदमै गाह्रो हुन्थ्यो। आजभोलि त बानी परिसक्यो, तैपनि कोही मान्छे आउँछन् कि भनेर गाह्रो लागिराख्छ,” ठगनी भन्छिन्।
त्यति मात्रै होइन, जंगली जनावरको पनि डर हुन्छ। जंगलमा शौच बसिरहेका वेला डर लाग्ने गरेको उनी बताउँछिन्। “शौच गर्न जाँदा बँदेल, हात्ती भेटिन्छन्। आजभोलि त बाघ पनि देखिन थालेका छन्,” उनी सुनाउँछिन्।
बाघ देखिनु पनि स्वाभाविक हो। हिम्मतपुरपारिको उनीहरूले शौच गर्न जाने जंगल भारतको दुधवा टाइगर रिजर्भ हो। यो रिजर्भमा ६९ वटा बाघ रहेको तथ्यांक छ। यहाँ अन्य जंगली जनावर पनि अत्यधिक रहेका छन्।
दुधवा टाइगर रिजर्भसँग जोडिएको क्षेत्रमा पर्छ, हिम्मतपुर। मोहना नदीछेउको यो गाउँ उपमहानगरभित्र पर्ने भए पनि आधारभूत सेवासुविधा उपलब्ध छैन। खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा, बाटोघाटो केही छैन। “यो ठाउँमा बसोबास गरेको २५ वर्ष भइसक्यो, सरकारले केही दिएको छैन,” भलमन्सा दुःखीराम चौधरी भन्छन्।
यो ऐलानी क्षेत्र हो। २५ वर्षअघि बालुवा नै बालुवा थियो। उनीहरू आएपछि खनजोत गरेको दुःखीराम बताउँछन्। “हामी आउँदा बालुवैबालुवा थियो, अहिले हरियो बनाएका छौं,” उनी भन्छन्। एउटा परिवारले डेढ बिघाका दरले उपभोग गरिरहेका छन्।
“भारतमा पढाउन गाह्रो छ, नेपालतिर स्कुल पठाउन मोहना नदी छ,” उनी भन्छन्, “मोहना नदीमा झोलुंगे पुल बनाइदिए हाम्रा बालबालिकाले स्कुल पढ्न पाउने थिए।”
बलौटे जमीन भएकाले उब्जनी पनि राम्रो हुँदैन। जसले गर्दा यहाँका बासिन्दा भारतमै मजदुरी गर्न जाने गरेका छन्। “बालबालिका पनि घरायसी काम गर्न भारत जान्छन्,” बालकिसन सुनाउँछन्। उनीहरूले उपभोग गरिरहेको जमीन पनि आफ्नो नाममा छैन। वर्षा हुँदा पनि लालपुर्जा नभएको उनीहरू गुनासो गर्छन्।
केही समयअघि धनगढी उपमहानगरले एउटा ‘ह्यान्ड पम्प’ जडान गरिदिएको छ। त्यसमा पनि आर्सनिकयुक्त पानी आउने गरेको भलमन्सा दुःखीराम बताउँछन्। सरकारी कार्यालय धाए पनि कसैले वास्ता नगरेको उनी बताउँछन्।
यो बस्ती भारतमै निर्भर छ। दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार सुडा जानुपर्छ। भारतीय बजार पुग्न दुधवा टाइगर रिजर्भ भएर जानुपर्छ। “भारतीय बजार सात किलोमिटर टाढा छ, तीन किलोमिटर त जंगलैजंगल हिँड्नुपर्छ,” ठगनीदेवी भन्छिन्। बजार जाँदा पनि जंगली जनावरको डर हुने गरेको उनी बताउँछिन्।
गाउँमा विद्यालय पनि छैन। जसले गर्दा बालबालिकाले पढ्न पाएका छैनन्। कागजात नहुँदा दुई छोरालाई स्कुल पठाउन नपाएको स्थानीय बालकिसन गुनासो गर्छन्। “भारतको स्कुल टाढा छ। टाढै भए पनि भर्ना गर्न पाएको छैन,” उनी भन्छन्।
भारतको स्कुलमा भर्ना गर्न भारतीय रासन कार्ड, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र चाहिन्छ। यी केही पनि नभएको बालकिसन दुःखेसो गर्छन्। केहीले भने छोराछोरी पढाउनका लागि भारतीय किसानको जमिन अधियाँ जोतेर रासन कार्ड बनाएको उनी बताउँछन्।
भलमन्सा दुःखीराम पनि नातिनातिनीलाई स्कुल पढाउन नपाएको पीडा सुनाउँछन्। उनका १० जना नातिनातिनी छन्। “भारतमा पढाउन गाह्रो छ, नेपालतिर स्कुल पठाउन मोहना नदी छ,” उनी भन्छन्, “मोहना नदीमा झोलुंगे पुल बनाइदिए हाम्रा बालबालिकाले स्कुल पढ्न पाउने थिए।”