कथाकार माया ठकुरीलाई सम्मान
कथाकार माया ठकुरीलाई पूर्णिमा साहित्य रत्न–२०७५ बाट सम्मान गरिएको छ। बुधबार बाँकेको कोहलपुरमा आयोजित कार्यक्रममा नेपाली आख्यानका क्षेत्रमा अतुलनीय योगदान गरेबापत ठकुरीलाई रू.२५ हजार ५५५ राशिसहित सम्मान गरिएको हो।
गत वर्ष नै यो सम्मानको कार्यक्रम तय भए पनि कोरोना भाइरस संक्रमण महामारीका कारण कार्यक्रम रोकिएको पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले बताए।
कार्यक्रममा प्राज्ञ सनत रेग्मीले माया ठकुरीको योगदान नेपाली साहित्यमा धेरै रहेको टिप्पणी गरे। कार्यक्रममा शेखर दहितको थारू भाषामा लेखिएको कथा संग्रह गयर्वा बुडुक खिस्सा ‘ठाँह्रा’ पनि विमोचन गरिएको छ। विमोचित कृतिका बारेमा बोल्दै सागर गैरेले पुस्तकमा बदलिँदो समयमा बिस्तारै हराउँदै गएको थारू समुदायको झन्डै ३०/४० वर्षअघिको समय चित्रण गरिएको बताए।
कार्यक्रममा प्राज्ञ डा. योगेन्द्र यादव, प्राज्ञ डा. उषा ठाकुरले सम्मानित स्रष्टा र कृतिकारलाई शुभकामना दिँदै आगामी दिनमा नेपाल प्रज्ञा-प्रतिष्ठानबाट कोहलपुरमा हुने साहित्यका कार्यक्रममा पनि सहकार्य गर्न आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरे।