अघि बढेका मनकारी हातहरू
भौतिक तथा सामाजिक विकासमा सरकार कटिबद्ध हुन त जरुरी छ नै, तर सरकारको मात्र जिम्मेवारी भने होइन। आफ्नो टोल र बस्ती रूपान्तरण गर्न आफैँ लागि परेका केही समाजसेवीहरू उदाहरणीय बनेका छन्।
समाजसेवाका लागि धन होइन मन हुनुपर्छ। चितवनमा बनिरहेको क्रिकेट रंगशाला यसैको उदाहरण हो। मनका धनीहरूले समाज रूपान्तरणमा ठूलो भूमिका खेलेको पनि हामीले देखेकै छौँ। त्यस्ता ‘मनकारी हातहरू’ हाम्रै टोल, छिमेकमा पनि छन्।
केही महिनाअघि विराटनगर–११ का चिरञ्जीवी दाहालले ज्येष्ठ नागरिक दिवा केन्द्र निर्माण गर्न घर नजिकैको आठ धुर जग्गा केन्द्रलाई दान गरे। तर, त्यति जग्गा अपर्याप्त हुने भयो। अहिले केन्द्रका सदस्य त्यसैमा जोडिएको १६ धुर जग्गा किन्न चन्दा संकलनमा व्यस्त छन्। केन्द्रका अध्यक्ष ललित श्रेष्ठका अनुसार रू.५० लाख हाराहारीमा रकम जम्मा भइसकेको छ।
गएको १५ पुसमा सोही वडामा किरात राई यायोक्खाले संस्थाको झन्डै चार कट्ठा जग्गामा सवा करोड रूपैयाँ लगानी गरेर बनाएको ‘सामूहिक चूह्लाे खिम’ को एक तले भवन उद्घाटन गर्यो। भवन निर्माणमा सरकारबाट प्राप्त रकम अपुग भएपछि किराँत समुदायका मनकारीहरूले आर्थिक सहयोग गरे। भवन व्यवस्थापन र सञ्चालनका लागि अझै सहयोग गरिरहेका छन्।
प्रकृति पूजक किराँती समुदायलाई उँभौली र उँधाैली चाडले पनि एकताबद्ध भई सामूहिक कार्य गर्न अभिप्रेरित गरिरहेको छ। कतिपय मनकारीहरूले यस्तो चाडबाडमा भेला भई आफूले सहयोग गर्ने रकम बोलकबोल गर्छन्। सहयोग लिन घरैमा बोलाउँछन्।
उता चितवनमा धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको क्रिकेट रंगशालाले समाजसेवाका लागि धेरैलाई प्रोत्साहित गरेको छ। उनीहरूलाई चितवनबासीले गर्दै आएको सहयोग पनि अनुकरणीय छ। अन्यत्र केही ठाउँमा पनि आफ्नो वडा र टोलको विकास निर्माणमा टोलवासीले आर्थिक र समयको लगानी गरिरहेका छन्।
सरकारले टोल तथा वडाहरूमा कतिपय भौतिक संरचना निर्माण गर्दा केही प्रतिशत उपभोक्ताले व्यहोर्नुपर्ने नियम बनाएपछि यस्ता कार्यमा जनसहभागिता बढ्दै गएको छ। यसरी बन्ने संरचना संरक्षण गर्न पनि टोलबासी अभिप्रेरित हुन्छन्। जनसहभागितामा निर्मित बाटा र नालाहरू टोलबासीले आफैं सफा गर्न थालेका छन्।
छिमेकी मुलुक भारतको गुजरात राज्यमा पर्ने धर्मक्ष भन्ने गाउँमा सरकारी सहयोगविना नै विकास निर्माणले गति लिएको समाचार त्यहाँका सञ्चार माध्यमहरूले दिने गरेका छन्। उक्त गाउँबाट गाँस, वास र कपासका लागि विदेशिएका गैरआवासीय भारतीयहरूले आफ्नो ठाउँको शिक्षा, स्वास्थ्य, वातावरण लगायत विकासका परियोजनामा सामूहिक लगानी गर्दै आएका छन्। यो अभ्यास हाम्रा लागि पनि अनुकरणीय हुनसक्छ।
छिमेकी मुलुक भारतको गुजरात राज्यमा पर्ने धर्मक्ष भन्ने गाउँमा सरकारी सहयोगविना नै विकास निर्माणले गति लिएको समाचार त्यहाँका सञ्चार माध्यमहरूले दिने गरेका छन्। उक्त गाउँबाट गाँस, वास र कपासका लागि विदेशिएका गैरआवासीय भारतीयहरूले आफ्नो ठाउँको शिक्षा, स्वास्थ्य, वातावरण लगायत विकासका परियोजनामा सामूहिक लगानी गर्दै आएका छन्। यो अभ्यास हाम्रा लागि पनि अनुकरणीय हुनसक्छ।
गैरआवासीय नेपालीले पनि जनसहभागितामा निर्माण गरिने कतिपय परियोजनामा प्रत्यक्ष र परोक्ष सहयोग गर्दै आएका छन्। बीबीसी नेपाली सेवामा काम गरेर दुई दशक प्रवासमा बिताएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विदेशमै छँदा लोक कल्याणकारी संस्था ‘हेल्प नेपाल’ स्थापना गरेको धेरै भयो। स्थापना कालदेखि नेपालको दुर्गम भेगमा शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको यो संस्थालाई गैरआवासीय नेपालीहरूको सहयोग छ।
तथापि, गैरआवासीय भारतीयहरूले जस्तो गैरआवासीय नेपालीले आफ्नो टोल वा गाउँको विकास निर्माणमा दीर्घकालीन र सामूहिक रूपमा सहयोग गरेको देखिंदैन। वास्तवमा गुजरातका भारतीयहरूमा जस्तो आफ्नो टोल वा गाउँको समग्र विकासप्रति समर्पित नेपालीको संख्या निकै कम छ। हाम्रो व्यवहारले नै यो विषय पुष्टि हुन्छ।
विडम्बना भन्नुपर्छ, बहुसंख्यक जननिर्वाचित जनप्रतिनिधिहरूमा समेत आफ्नो टोल वा वडाको विकास कसरी गर्ने भन्नबारे चासो र चिन्ता देखिंदैन। यस्तो हुनुमा उनीहरूको पृष्ठभूमि, योग्यता र क्षमता मुख्य कारण हो। त्यसैले भौतिक संरचना निर्माणसँगै सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण जस्ता विषयमा मनकारीहरूले चासो र चिन्ता लिनुपर्ने आवश्यकता छ।
सामाजिक मुद्दाहरू सञ्चार माध्यमको विषय कमै मात्र हुन्छन्। सामाजिक सरोकारका विषयभन्दा पनि राजनीतिक विषयवस्तुले नेपाली सञ्चार माध्यम कब्जा गरेको छ। त्यसैले आफ्ना उपभोक्तालाई सन्तुलित सामग्री पस्कन बहुसंख्यक सञ्चार माध्यम चुकेका छन्। सामाजिक सरोकारका विषयहरू ओझेलमा परेका छन्। सामाजिक चेतनाका विषय ओझेलमा परेका छन्। सञ्चार माध्यमले राजनीतिलाई प्राथमिकतामा राख्दा मनकारी हातहरूले गर्दै आएका विकासका जनसमक्ष आउन सकेका छैनन्।
लोक कल्याणकारी शासन व्यवस्था नभएको हाम्रो जस्तो मुलुकमा मनकारी हातहरूको खाँचो टड्कारो छ। त्यति मात्र हाेइन, बुवा र हजुरबुवा पुस्ताले शुरू गरेका यस्ता पुनीत कार्यलाई आजका शिक्षित र कामकाजी छोराछोरी र नाति–नातिना पुस्ताले निरन्तरता दिन जरुरी छ। यसका लागि सरकार र सञ्चारकर्मीहरूले पनि मनकारी हातहरूसँग सहकार्य र समन्वय गर्नुपर्छ।