शिवरात्रिको अघिल्लो दिन पशुपतिमा रौनक (तस्वीरहरू)
शिवरात्रिको अघिल्लो दिन बुधबारदेखि नै पशुपति मन्दिर परिसरमा रौनक बढेको छ। हिन्दू धर्मावलम्बीहरूले महत्त्वका साथ मनाउने शिवरात्रि पर्व यो वर्ष बिहीबार परेको छ।
शिवरात्रिका लागि पशुपति मन्दिर परिसरलाई सिँगारेर झकिझकाउ बनाइएको छ। मन्दिर परिसरमा सरसफाइ पनि गरिएको छ। बिहीबार बिहानदेखि नै पूजा गर्नेहरूको भीड लाग्ने हुनाले त्यसको पनि व्यवस्था मिलाइसकिएको पशुपति विकास कोषले जनाएको छ।
कोषले शिवरात्रिको सबै तयारी पूरा भएको जनाएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा वर्षेनी भारतबाट पनि साधुसन्त काठमाडौँ आउने गर्छन्। उनीहरू पशुपति परिसरमा नै बस्ने गर्छन्। उनीहरूका कारण पनि पशुपतिमा रौनक बढ्ने गर्छ।
कोरोना भाइरस महामारीका कारण यसअघि जस्तो यो वर्ष भारतबाट ठूलो संख्यामा साधुसन्त आएका छैनन्। यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्छ।