बाघभैरव मन्दिरको छानामा टायल कि तामा?
काठमाडौं उपत्यकाको प्राचीन बस्ती कीर्तिपुरमा आजभोलि एउटा बहस छेडिएको छ, प्रसिद्ध बाघभैरव मन्दिरमा तामाको छाना हाल्न हुन्छ कि हुँदैन?
कीर्तिपुरको बाघभैरव मन्दिरमा ‘आँय्पा’ (टायल) को छानो छ। कीर्तिपुर नगरपालिकाले तामाको छाना हाल्ने निर्णय गरेको छ। नगरपालिकाको निर्णयपछि यसको औचित्यको पक्ष र विपक्षमा बहस भइरहेका छन्।
मन्दिर लगायतका वास्तु संरचनामा धातुको छाना लगाउने चलन पुरानै हो। ‘सुनको छाना’ समृद्धिको परिचायक हो। सुनको मोलम्बा मात्रै गर्नु पनि समृद्धिकै सूचक मानिन्छ। यस्ता संरचनामा चाँदी र तामाको छाना लगाउने पनि गरिन्छ। तर, आँय्पाको प्रचलन व्यापक छ।
शुरुमा आँय्पाको प्रयोग गरिए पनि पछि त्यसलाई फेरेर तामा लगायतका धातुको छाना पनि राख्ने गरिन्छ। त्यही क्रममा बाघभैरव मन्दिरमा पनि तामाको छाना लगाउन खोजेको भनेर बुझ्न समस्या छैन। तर, परम्परागत आँय्पालाई विस्थापन गरी तामा वा अन्य धातुको छाना लगाउनुपर्ने सोचमाथि भने गम्भीर चिन्तन हुनुपर्ने देखिन्छ। यो प्रश्न र प्रवृत्ति कीर्तिपुरसँग मात्रै सम्बन्धित छैन। त्यसैले यो छलफल व्यापक बनाउनुपर्छ।
छानामा आँय्पा छाउँदाको एउटा समस्या हो, यो टिकाउ हुँदैन। माटोको पनि प्रयोग हुने भएर छानामा घाँसपात उम्रिरहँदा अशोभनीय हुन्छ। तर, आँय्पा छाउनका लागि प्रयोग गरिने माटो साधारण नभएर त्यसमा भएको लवणलाई नष्ट गर्न पहिल्यै आगोमा भुट्ने परम्परागत ज्ञानलाई भुल्नु हुँदैन।
आँय्पाहरू एक अर्कोसँग अड्काएर राखिन्छ। एउटामा समस्या आए बिस्तारै अरु पनि खुकुलो हुँदै गएर अन्ततः खस्ने समस्या हुन्छ। बाँदर वा अन्य जनावरले खसाल्दिने समस्या पनि छ। आजभोलि नदेखिने गरी आँय्पामा प्वाल राखी बलियो धातुमा उनेर नखस्ने उपाय पनि गर्न थालिएको छ। जे भए पनि, यसले बराबर मर्मतसम्भारको माग गर्दछ। यिनै व्यावहारिक समस्यामा ध्यान दिएर पनि धातुको छाना लगाउने प्रवृत्ति बढेको हो।
कुनै पनि सम्पदा क्षेत्रको रेखदेख र मर्मतसम्भार निरन्तर गरिरहनुपर्छ। यसैका लागि निर्माता वा दाताले आयस्ता आउने गरी आवश्यक जग्गाजमीनको बन्दोबस्त गरेको हुन्छ। प्रायः खेत राखी त्यसबाट आउने आम्दानीले मर्मतसम्भार तथा व्यवस्थापन गरिन्छ।
कुनै पनि सम्पदा क्षेत्रको रेखदेख र मर्मतसम्भार निरन्तर गरिरहनुपर्छ। यसैका लागि निर्माता वा दाताले आयस्ता आउने गरी आवश्यक जग्गाजमीनको बन्दोबस्त गरेको हुन्छ। प्रायः खेत राखी त्यसबाट आउने आम्दानीले मर्मतसम्भार तथा व्यवस्थापन गरिन्छ। दिगो व्यवस्थापनका लागि निश्चित व्यक्ति र उनका उत्तराधिकारीहरू तोकिएको हुन्छ, जसलाई परम्परागत रूपमा गुठी भनिन्छ। गुठीको सञ्चालन गर्न परम्परागत चलनलाई नै पछ्याउने गरिन्छ, जुन दुई हजार वर्ष पुरानो संस्कृति हो।
आजभोलि आँय्पा पाउन नै मुस्किल भएका कारण तामा अथवा अन्य धातुको छाना राख्नुपर्ने बहाना तर्कयुक्त होइन। कुनै समय सर्वसाधारणको घरको छाना आँय्पाकै हुन्थ्यो। त्यस वेलाजस्तो अहिले उत्पादन नहुनु स्वाभाविक हो। तर, यो निर्माण सामग्री नेपाली वास्तुकलाको अभिन्न अंग भइसकेको तथ्य भुल्नु हुँदैन। यस्तो सामग्री प्रचलनबाट हराउनु शुभ संकेत होइन। कलात्मक नेपाली शैली झल्काउन निर्माण गर्ने वास्तु संरचनामा आँय्पाको प्रयोग गरेर पनि यसलाई जीवित राख्न सकिन्छ।
आँय्पा छाउँदाको आकृति झल्किने गरी अन्य निर्माण सामग्रीको प्रयोग पनि कतैकतै देखिन थालेको छ। वास्तवमा यो आँखामा छारो हाल्ने काम हो। काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाभित्र परम्परागत शैलीका घर बनाउन प्रोत्साहन गर्न घरको बाहिरी आवरणमा ‘दाचि’ इँटा प्रयोग भएको अवस्थामा अनुदान दिन थालिएको छ। भित्र निर्माण संरचना जस्तो भए पनि बाहिर ‘दाचि’ इँटाको प्रयोग हुनुलाई नै उपलब्धि मान्नुपर्ने अवस्थालाई बाध्यता भन्न सकिएला, तर मठमन्दिर तथा पाटीपौवाका सन्दर्भमा बाध्यताका नाममा स्थितिसँग सम्झौता गरिनु हुँदैन।
यस्ता सार्वजनिक स्थलको निर्माण र मर्मतमा सरकारी वा सार्वजनिक बजेट परेको हुन्छ। त्यसमा विशुद्ध नेपाली परम्परा र मौलिक कला अनिवार्य प्रयोग हुनुपर्छ। नेपालको पहिचान पनि यही हो। परम्परागत सीप तथा मौलिक शैलीको जगेर्ना गर्न यता ध्यान दिनैपर्छ।
धातुकला पनि नेपाली नै हो र यसको प्रयोग छानाका लागि हुने गरे पनि आँय्पाप्रतिको विकर्षण रोक्नुपर्छ। जुनसुकै धातुको छाना लगाए पनि नियमित रूपमा चम्काउन सकेन भने केही समयपछि नै यो कालो रंगमा परिणत हुन्छ र आकर्षण हुँदैन। तर, आँय्पाको रंग परिवर्तन नहुने तथा स्वाभाविकता सधैं रहिरहने मात्रै नभएर आकर्षक पनि हुन्छ।
प्राचीन मठमन्दिर तथा पाटीपौवाको जीर्णोद्धार तथा संरक्षण गर्नुको तात्पर्य प्राचीन शिल्प तथा ज्ञानको प्रदर्शन पनि हो। साधारणतः यसलाई सम्पदा भनिन्छ। ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका यी सम्पदा वर्तमानको उपज नभएर अतीतले सुम्पेका निधि हुन्। भविष्यसम्म जोगाउने दायित्व वर्तमानसँग छ। यस कारण सम्पदाको सवालमा हेरफेर गर्नु मनासिब हुँदैन।
कथंकदाचित् आँय्पा पाउँदै नपाएको वा यसको प्रयोग गर्ने जनशक्ति नै उपलब्ध नभएको अवस्थामा अन्तिम उपायका रूपमा मात्र केही परिवर्तन ल्याउन सकिन्छ। नेपालमा यस्तो अवस्था आई नै सकेको भने छैन। त्यो समस्या पनि प्रशिक्षण दिएर जनशक्ति तयार गरी समस्या समाधान गर्न सकिन्छ। तर, संरक्षण गर्नुपर्ने निकायहरूले नै सजिलो वा प्रतिष्ठाका लागि आँय्पाको ठाउँमा तामाको छाना लगाउँदै हिंड्नु सम्पदाको सवालमा सही कदम होइन।