किन हुँदैन संविधानको ‘बलात्कार र चीरहरण?’
हामीले लैंगिक विभेदले निर्माण गरेको भाष्यका विरुद्ध लडिरहँदा त्यो भाष्यले उपयोग गरेको भाषा अर्थात् हाम्रो लडाइँको माध्यम नै विभेदयुक्त छ भन्ने पहिचान गर्नु र त्यसलाई पनि परिवर्तन गर्नु जरुरी छ।
केही महीनादेखि संविधानको पक्षमा थुप्रै राजनीतिक आन्दोलन भएका छन्, र ती आन्दोलनका क्रममा ‘महिलाका मुद्दा नागरिकका मुद्दामा समेटिन सकेनन्’ भन्ने चिन्ता पनि अभूतपूर्व ढंगले देखापरेको छ। त्यसैमध्येको चिन्ता हो, लैंगिक विभेदपूर्ण भाषाको जथाभावी प्रयोग।
प्रधानमन्त्रीका कदमलाई आलोचना गर्ने क्रममा हामीले निष्पक्ष नागरिक अगुवा भनेर सम्मान गरिरहेका व्यक्तिले समेत बारम्बार ‘संविधानको बलात्कार’ र ‘संविधानको चीरहरण’ जस्ता शब्दको प्रयोग गरेपछि लैंगिकताप्रति संवेदनशील व्यक्ति र विशेषगरी महिलाको मन चसक्क दुःखेको छ।
प्रथमतः बलात्कार र चीरहरण जस्ता शारीरिक अतिक्रमणको पीडा पीडितलाई मात्र थाहा हुन्छ र अरू सन्दर्भमा त्यस्ता शब्दको प्रयोग गर्नु पीडितको अपमान हो। त्यति मात्र नभएर, जथाभावी प्रयोगले त्यस्ता शब्द नै सामान्यीकरण भएर तिनीहरूको गाम्भीर्य हराउने र ती शब्दमा अन्तर्निहित मिहिन अर्थहरू र भावनात्मक चोटको आशय मेटिँदै जाने हुन्छ।
अर्को पक्ष चाँहि, यी शब्द लैंगिक अवधारणाले प्रयुक्त शब्द हुन्। हुन त बलात्कार महिलाको मात्र हुँदैन, तर अहिलेसम्म हाम्रो कानुन र समाजमा व्याप्त बुझाइ भनेको यही हो– बलात्कार भनेको पुरुष महिलाको शरीरमाथि बलपूर्वक हाबी भएको अवस्था हो। ‘चीरहरण’ पूर्णतया महिलासँग नै सम्बन्धित छ (‘यसको सट्टामा संविधानको सुरुवालको इँजार फुस्कियो भन्न सकिँदैन?’ – लेखक अर्चना थापाको प्रश्न)।
लैंगिक रूपमा तटस्थ वस्तु वा अवधारणा कमजोर भएको अवस्थामा किन महिला कमजोर भएको विम्ब नै दिइन्छ? यसले महिला कमजोर नै छन् भन्ने वक्ताको पूर्वाग्रह उजागर गर्छ, र बलात्कार र चीरहरण जस्ता लैंगिक हिंसाका अवधारणा समाजमा निरन्तर फैलाउने काम गरिरहन्छ। थप कुरा चाँहि, यसले महिलाको यौनिकतामाथि बिनाकारण ‘फोकस’ गर्छ, र महिला यौनिक वस्तु मात्र हो भन्ने अवधारणा पनि फैलाउँछ।
‘जेन्डर्ड ल्यांग्वेज’ अन्तर्गत यस्ता लैंगिक विभेदपूर्ण शब्दहरू नेपाली भाषामा थुप्रै पाइन्छन्। हुन त संसारका प्रायः भाषाहरू एक हदसम्म ‘जेन्डर्ड’ हुन्छन् अर्थात् महिला–पुरुषबीचको भेद छुट्याउँछन्।
अंग्रेजीमा ही/शी को सर्वनामले र नेपालीमा छ/छिन् जस्ता क्रियापदले महिला–पुरुषबीचको फरक देखाउँछन्। तर, त्यस्ता सामान्य भेदबाहेक कतिपय यस्ता शब्द पनि हुन्छन्, जसले समाजका लैंगिक मान्यताहरूको भारी अर्थ बोकेका हुन्छन्, र जसको प्रयोगले कुनै एक लैंगिकता भएका मानिसलाई होच्याउने र रूढिवादीकरण (स्टिरियोटाइप) गर्ने काम गरिरहेका हुन्छन्। र, ती शब्द समस्याप्रद छन् भन्नेमा कुनै शंका छैन।
हामीले लैंगिक विभेदले निर्माण गरेको भाष्यका विरुद्ध लडिरहँदा त्यो भाष्यले उपयोग गरेको भाषा अर्थात् हाम्रो लडाइँको माध्यम नै विभेदयुक्त छ भन्ने पहिचान गर्नु र त्यसलाई पनि परिवर्तन गर्नु जरुरी छ।
‘बलात्कार’ र ‘चीरहरण’ बाहेक अरू पनि थुप्रै त्यस्ता शब्द छन्, जसले समाजका लैंगिक मान्यताको भारी बोकेका हुन्छन् र लैंगिकताको साँघुरो बुझाइलाई निरन्तरता दिइरहेका हुन्छन्।
लेखक कुमारी लामा ‘विधवा’ शब्दको उदाहरण दिन्छिन्। “विधवा भन्ने शब्दले श्रीमान् गुमाएकी श्रीमती मात्र होइन, रातो रंग लगाउनबाट वञ्चित, विवाह वा प्रेम/यौन सम्बन्धबाट वञ्चित, सामाजिक शुभकार्यमा भाग लिनबाट वञ्चित, र कतिपय सन्दर्भमा आर्थिक स्रोतबाट वञ्चित र समाजबाट अपहेलित, असहाय महिला जनाउँछ। अझ त्योभन्दा पनि महत्त्वपूर्ण, यसले महिलाको सम्पूर्ण अस्तित्व नै पुरुषको वरिपरि घुमेको छ भन्ने अन्तर्निहित अर्थ दिन्छ। त्यसको समानान्तर पुरुष शब्द विधुरले त्यस्तो अर्थ दिँदैन,” लामा भन्छिन्।
भाषामा मेल गेजः महिला ‘कमजोर’ र ‘पुरुष–केन्द्रित’
अर्थात्, यो शब्दले महिलालाई स्वतन्त्र अस्तित्व भएको मानिस नठानेर पुरुषको सम्बन्धमा मात्र महिलाको अस्तित्व देख्ने ‘मेल गेज’ वा पुरुष दृष्टिकोण बोकेको छ। समाजमा व्याप्त पितृसत्ताले यसरी सामाजिक संरचनामा मात्र नभएर भाषिक संरचनामाथि पनि कब्जा गरेको छ।
जुनसुकै पुरुषलाई पनि ‘मिस्टर’ र ‘श्री’ अनि समानान्तर रूपमा अविवाहित महिलालाई ‘मिस’ र ‘सुश्री’ र विवाहित महिलालाई ‘मिसेस’ र ‘श्रीमती’ का रूपमा छुट्याउनु पनि महिलाको अस्तित्व पुरुष–केन्द्रित छ भन्ने दृष्टिकोणको उपज हो। यस्ता थुप्रै शब्दका पुरुष समानान्तर हुँदैन, वा भए पनि पुलिंगी शब्दले नकारात्मक छवि दिँदैनन्।
उदाहरणका लागि, अंग्रेजीमा ‘विच’ अर्थात् बोक्सी नकारात्मक पात्र हो भने त्यसको पुलिंगी शब्द ‘विजार्ड’ अर्थात् जादुगर तटस्थ शब्द हो। नेपालीमा पनि बोक्सी, चुडैल, किचकन्नी जस्ता शब्दको पुलिंगी समानान्तर छैनन् वा भए पनि अत्यन्त कम प्रयोगमा छन्।
शब्दकोशमा र बोलीचालीमा कठपुतला भन्ने शब्द नै छैन। अर्थात्, शक्ति र क्षमताहीन वस्तु महिला नै हुन्छ भन्ने अवधारणा यो शब्दले बोकेको छ। महिलाको हकमा कमजोरीको विम्ब मात्रै प्रयोग गरिरहँदा महिलाको शक्तिको, उदाहरणका लागि सन्तान जन्माउने शक्तिको, विम्ब हाम्रो भाषामै कम छन्।
कठपुतला शीर्षकको पुस्तक लेखेकी अर्चना थापा यस्ता शब्दका अरू पनि उदाहरण दिन्छिन्। “कठपुतली शब्दको अर्थ यस्तो गुडिया हो जसलाई धागोमा बाँधेर कसैले नचाइरहेको हुन्छ। उसको आफ्नो कुनै शक्ति वा क्षमता हुँदैन। त्यो गुडिया महिला वा पुरुष जे भए पनि त्यसलाई कठपुतली नै भनिन्छ,” थापा भन्छिन्, “शब्दकोशमा र बोलीचालीमा कठपुतला भन्ने शब्द नै छैन। अर्थात्, शक्ति र क्षमताहीन वस्तु महिला नै हुन्छ भन्ने अवधारणा यो शब्दले बोकेको छ। महिलाको हकमा कमजोरीको विम्ब मात्रै प्रयोग गरिरहँदा महिलाको शक्तिको, उदाहरणका लागि सन्तान जन्माउने शक्तिको, विम्ब हाम्रो भाषामै कम छन्।”
गालीगलौजमा महिला यौनिकता
लैंगिक विभेदयुक्त भाषाले महिलालाई कमजोर आँक्ने र महिलाको अस्तित्व पुरुषको सम्बन्धमा मात्र देख्ने मात्र होइन, महिलालाई यौनिक वस्तुका रूपमा मात्र स्थापित गर्ने काम पनि गर्छ। गालीगलौजको भाषामा यो अवधारणा प्रकट हुन्छ।
दुई पुरुष, चाहे जतिसुकै पुरुषार्थले भरिपूर्ण किन नहुन्, आपसमा गाली गर्नुपर्दा उनीहरू महिलाको यौनिकता सम्बन्धी शब्दहरू प्रयोग गरिरहेका हुन्छन्। नेपालीमा प्रचलित ‘राँडी’ शब्द जोडिएर आउने गालीहरू, वा अंग्रेजीको ‘बास्टर्ड’ (विवाह बिना जन्मेको सन्तान) ले एकै अर्थ दिन्छन्– महिलाको यौनिकता पुरुषको अधीनमा हुनुपर्छ, र त्यस्तो नभएका महिला र स्वतन्त्र रूपले यौन सम्बन्ध राख्ने/सन्तान जन्माउने महिला चरित्रहीन हुन्। यस्ता शब्दका पुरुष समानान्तर छैनन्, अर्थात पुरुषमाथि यी सामाजिक अपेक्षा लादिएका छैनन्।
यसरी आफ्नो यौनिकता आफ्ना लागि प्रयोग नगरेर सीमित राख्नुपर्ने, नत्र घर, परिवार र सन्तानसम्मका लागि लज्जाको विषय बन्ने सामाजिक मान्यताको बोझ महिलामाथि मात्र थोपरिएको छ (र, त्यही हदसम्म पुरुषमाथि छैन), त्यो नैतिकता सम्बन्धी छुट्टै बहसको विषय हो। हालका लागि भाषामा फर्किऔँ, जसले यी सबै मान्यताको भार बोकेको छ।
पुरुषहरू किन एकअर्कामा गाली गर्दा एकअर्काको कथित पुरुषत्वलाई प्रहार गर्दैनन्, र सजिलै महिलाको यौनिकतामाथि जाइलाग्छन्? ‘साला’ अर्थात् श्रीमतीको भाइ गालीगलौजमा गनिन्छ, किनकि यसले ‘मैले तेरी दिदीको शरीरलाई अधीनमा पारिसकें’ भन्ने अर्थ दिन्छ।
“महिलाहरू एक आपसमा गाली गर्दा महिला लक्षित शब्द नै प्रयोग गर्छन्, सम्बन्धित पुरुषको नामले गाली गर्दैनन्। तर, पुरुषहरू भने त्यहाँ कोही महिला उपस्थित नहुँदा पनि महिलाको उल्लेख गर्छन्। अर्थात्, महिला यौनिक वस्तु मात्र हो, उसको शरीरमाथि पुरुषको अधिकार हुन्छ, र महिलाको शरीरमाथि अतिक्रमण गरेर पुरुषले जित्न सक्छ भन्ने अवधारणा उनीहरू प्रयोग गर्छन्,” अर्चना थापा भन्छिन्।
अंग्रेजीमा यस्ता केही शब्द ‘रिक्लेम’ गर्ने अर्थात् ती शब्दमा निहित महिलाको नकारात्मक छवि हटाउने अभियान पनि चलेका छन्। जस्तै, धेरै यौनसाथी भएका महिलालाई प्रयोग गरिने शब्द ‘स्लट’लाई रिक्लेम गर्न सन् २०११ देखि संसारभर ‘स्लट वाक’ आयोजना गरिएका छन्, र रिसउठ्दी महिलालाई प्रयोग गरिने ‘बिच (कुकुर्नी)’ लाई रिक्लेम गर्न केही नारीवादीले ‘बिच मिडिया’ नामक संस्था स्थापना गरेका थिए।
त्यस्तै, नेपालमा पनि मञ्चन गरिएको प्रसिद्ध नाटक ‘भजाइना मोनोलग्स’मा ‘कन्ट्’ शब्दलाई सामान्यीकरण गर्ने प्रयास गरिएको छ। कन्ट्को शाब्दिक अर्थ महिलाको यौनांग भए तापनि ‘रिसउठ्दो मानिस’ को अर्थमा पनि प्रयोग गरिन्छ। माथि भनिएका अभियानले यस्ता शब्दका बारेमा सार्वजनिक क्षेत्रमा बहस चर्काए पनि मूलधारमा ती शब्दमा निहित महिलाको नकारात्मक छवि हटाउन सफल चाहिँ भएका छैनन्।
नेपाली साहित्यमा पनि लैंगिक विभेदपूर्ण भाषाका बारेमा बेलाबेलामा छलफल र आलोचना भइरहन्छन्। नेपालमा पनि विधवाको साटो एकल महिलाको प्रयोग बढ्दो छ। आइमाई शब्दको प्रयोग पनि कमै हुन थालेको छ।
शब्दहरू शक्तिशाली हुन्छन् र तिनले यथार्थ जनाउने मात्रै होइन, निर्माण पनि गर्ने गर्दछन्, त्यसैले भाषाप्रति बारम्बार आलोचनात्मक दृष्टिकोण प्रयोग गरिरहनुपर्ने आवश्यकता छ।
केही समयअघि सामाजिक सञ्जालमा ‘चेली’ शब्दका विरुद्धमा बहस भने चर्किएको थियो। ‘चेली’ शब्दले पुरुषको सम्बन्धमा महिलाको अस्तित्व देखाउँछ।
परिवारकै वा गाउँठाउँकै चेलीलाई त्यो शब्द प्रयोग गर्दा सुहाउँछ होला, तर अपरिचित महिलालाई समेत प्रयोग गर्दा त्यसले महिलाको स्वतन्त्र अस्तित्वलाई बेवास्ता गर्छ, र महिलालाई पुरुष–केन्द्रित प्राणीका रूपमा देख्ने मेल गेजकै एउटा रूप भइदिन्छ।
यो तर्कले त्यस समयमा थुप्रै ‘ब्याकल्याश’ र आलोचना पनि पाएको थियो। भाषालाई यति साह्रो महत्त्व दिनु, यस्तो मिहिन विश्लेषण गर्नु र परिवर्तन गर्न खोज्नुलाई ‘र्याडिकल’ नारीवाद मानियो। हुन त भाषाको आलोचना र परिवर्तन गर्न खोज्दा अक्सर महिलाहरूले यस्ता प्रतिक्रिया पाउँछन्।
तर, शब्दहरू शक्तिशाली हुन्छन् र तिनले यथार्थ जनाउने मात्रै होइन, निर्माण पनि गर्ने गर्दछन्, त्यसैले भाषाप्रति बारम्बार आलोचनात्मक दृष्टिकोण प्रयोग गरिरहनुपर्ने आवश्यकता छ।
तटस्थ भाषा
लैंगिक विभेदयुक्त भाषाले महिलालाई मात्र हानि गर्छ भन्ने छैन। “विभेदयुक्त भाषाले महिला–पुरुष दुवैलाई हानि गरिरहेको हुन्छ। नेपाली भाषामा ‘लाछी’ र ‘नामर्द’ जस्ता शब्द पनि छन्, जसले पुरुषत्वको साँघुरो मान्यता बोकेका हुन्छन् र पुरुषलाई उत्तिकै हानि गरिरहेका हुन्छन्। महिला र पुरुष बाहेकका लैंगिकता भएका मानिसलाई पनि नकारात्मक चित्रण गर्ने थुप्रै शब्द हाम्रो भाषामा पाइन्छन्। यस्ता किसिमका कसैलाई पनि हानि गर्ने खालका शब्द अब हामीले प्रयोग गरिरहनु ठीक छैन,” कुमारी लामा भन्छिन्।
पछिल्लो समयमा भाषा जेन्डर न्युट्रल अर्थात् लैंगिक रूपमा तटस्थ हुनुपर्ने र शब्दहरूले लैंगिकताका बोझ नबोकेको हुनुपर्ने आवश्यकताको बोध बढ्दो छ। तर, के भाषा पूर्ण रूपमा लैंगिक तटस्थ हुनुपर्छ? वा हुन सम्भव छ ?
“पुरुष भनेको आक्रामक नै हुनुपर्ने, प्रभुत्व नै जमाउनुपर्ने र महिला भनेको कमजोर नै हुन्छन् भन्ने जनाउने शब्दले समाजमा त्यस्ता विचार बारम्बार पुनरुत्पादन गर्छन्। यस्ता शब्दले ‘टक्सिक मास्कुलिनिटी (हानिकारक पुरुषत्व)’ लाई बढावा दिन्छन्, र पुरुषत्वको ‘पर्फर्मेन्स’ गर्दा त्यस्तै आक्रामक किसिमको गर्नुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई पनि दिन्छन्। त्यसैले यस्ता शब्दको प्रयोग रोक्नुपर्छ,” अर्चना थापा भन्छिन्, “यसका साथै हामीले लैंगिक रूपमा तटस्थ हुने नयाँ शब्द पनि बनाइराख्नुपर्ने हुन्छ। शुद्धतावादीहरूले यसको विरोध गर्न सक्छन्, तर पनि हामीले आवश्यक नयाँ शब्दहरू प्रचलनमा ल्याइराख्नुपर्ने हुन्छ।”
पछिल्लो समयमा भाषा जेन्डर न्युट्रल अर्थात् लैंगिक रूपमा तटस्थ हुनुपर्ने र शब्दहरूले लैंगिकताका बोझ नबोकेको हुनुपर्ने आवश्यकताको बोध बढ्दो छ। तर, के भाषा पूर्ण रूपमा लैंगिक तटस्थ हुनुपर्छ? वा हुन सम्भव छ? यो अभियानमा मूलधारका महिला आन्दोलनभन्दा पनि अघि बढेका र अझ विस्तृत माग र सुझाव लिएर अघि आएका केही समूहको चर्चा पहिले गरौं।
लैंगिक विविधता भएकाहरूको तर्क
महिलामाथि भाषिक विभेद हटाउनुपर्छ भन्ने आन्दोलन विश्वभर नै नारीवादीहरूले लामो समयदेखि गरिरहेका छन्। तर, महिला र पुरुषबाहेकका गैरद्वयसांख्यिक मानिसले तुलनात्मक रूपमा भर्खरै थालेका आन्दोलनले यसमा अरू आयाम थपिदिएका छन्।
यी आन्दोलनले लैंगिकताप्रति नकारात्मक छवि बनाउने शब्दको मात्रै विरोध नगरेर महिला र पुरुष छुट्याउने तटस्थ अर्थ भएका शब्द (जस्तै अंग्रेजीको ही/शी र नेपालीको छ/छिन्)ले पनि विभेद गर्ने भन्दै त्यस्ता शब्दको प्रयोगमा पनि परिमार्जन आवश्यक भएको बताउँछन्। महिला र पुरुष जनाउने शब्दले नै दुईवटा मात्र लिंग छन् भन्ने अवधारणा स्थापित गरेर गैरद्वयसांख्यिक मानिसमाथि अन्याय गरेका छन् भन्ने यस्ता आन्दोलनको बुझाइ छ।
नेपालमा पनि केही अल्पसंख्यक समूहले यस्तो विषयमा काम गरिरहेका छन्। लैंगिकता सम्बन्धी विषयमा काम गर्ने संस्था बडी एन्ड डेटाले भाषा सम्बन्धी एउटा निर्देशिका तयार गरेको छ। ‘पुरुष र महिलाको मात्र मान्यता हुनु र ती दुई मान्यता पनि अति संकीर्ण र कुण्ठित हुनुको कारणले त्यस मान्यताभित्र अटाउन नसक्ने सबै मानिसहरू सामाजिक लाञ्छनाका शिकार हुन बाध्य छन्,’ निर्देशिकामा भनिएको छ।
यस्ता अभियानको उद्देश्य भाषामा निहित र भाषाले पुनरुत्पादन गर्ने असमानताहरू घटाउनु नै रहेको पाइन्छ। निर्देशिकामा भनिएको छ, ‘भाषाले समाजमा के विषय सामान्य हो, के समाविष्ट हुन्छ र के बहिष्करणमा पर्छ भन्ने पनि निर्धारण गर्छ। समाजमा व्याप्त पितृसत्ता, स्त्रीद्वेष (मिसोजिनी), द्वयसांख्यिक लैंगिक व्यवस्था (जेन्डर बाइनरी), आन्तर्लिंगीमुग्धी (एन्डो सेक्सिजम), त्याचलिंगीमुग्धी (सिस् सेक्सिजम), विषमयौनिकमुग्धी (हेटेरो सेक्सिजम),’ लगायतका सामाजिक असमानता पनि भाषामा झल्किन्छन्।
अंग्रेजीमा महिला र पुरुषका लगि ‘ही/शी’ मात्रै होइन, आफूलाई महिला वा पुरुष भन्न नचाहने मानिसका लागि ‘दे’ को पनि प्रयोग गरिनुपर्ने आवाज यो समुदायले उठाइरहेका छन्।
विशेषाधिकार रहेका समूहले बोलीचालीका भाषामार्फत यी कुरा सामान्यीकरण गर्छन् भने यो सीमान्तीकृत समूहका निम्ति थप उत्पीडनको कारण बन्छ। उत्पीडनलाई सामान्यीकरण गर्ने भाषा उचित हुँदैन। तसर्थ सामाजिक न्यायको वकालतमा नेपाली भाषा सम्बन्धी मार्गदर्शनका निम्ति यो दस्ताबेज बनेको हो।’
अंग्रेजीमा महिला र पुरुषका लगि ‘ही/शी’ मात्रै होइन, आफूलाई महिला वा पुरुष भन्न नचाहने मानिसका लागि ‘दे’ को पनि प्रयोग गरिनुपर्ने आवाज यो समुदायले उठाइरहेका छन्।
त्यस्तै, बडी एन्ड डेटाको निर्देशिकाले कुनै व्यक्तिको लैंगिक पहिचान अड्कल नगर्ने बरु सोधेर मात्र स्त्रीलिंगी/पुलिंगी/तटस्थ सम्बोधन गर्ने, र सबैलाई सम्बोधन गर्नुपर्दा लैंगिक रूपमा तटस्थ भाषा प्रयोग गर्ने सुझाव दिएको छ। ‘महिला तथा पुरुष’ को सट्टामा ‘व्यक्तिहरू’, ‘केटाकेटी’ र ‘बालबालिका’ को सट्टामा ‘बच्चाहरू’ को विकल्प दिइएको छ।
के भाषा लैंगिक तटस्थ हुन सक्छ?
निर्देशिकाले महिलालाई प्रत्ययका रूपमा सीमित राख्ने भाषा, जस्तै ‘मास्टर्नी’ र ‘शिक्षिका’ लाई ‘महिलाद्वेषी भाषा’ अन्तर्गत राख्दै त्यस्ता शब्द प्रयोग गर्न निरुत्साहित गरेको छ। व्यवसाय जनाउने शब्दावलीमा यस्ता शब्द धेरै भेटिन्छन्।
महिला आन्दोलनमा यस्ता शब्दको विरोध गर्नु लामो समयदेखि चलिआएको प्रचलन हो, किनकि महिला यस्ता पदमा हुन सक्छन् भन्ने परिकल्पना नै नगरी यस्ता शब्दका मूल बनेका हुन्छन्, र महिला पनि व्यावसायिक बन्न थालेपछि स्त्रीलिंगी प्रत्यय जोडेर नयाँ शब्द बन्ने गरेको पाइन्छ। महिलाहरूको निरन्तर आन्दोलनकै कारण थुप्रै भाषाले यस्ता शब्द परिवर्तन गर्न थालेका छन्। जस्तै कि, अंग्रेजीमा चेयरम्यानको सट्टामा चेयरपर्सन, क्यामेराम्यानको सट्टामा क्यामेरापर्सन, एक्ट्रेसको सट्टामा एक्टर, आदिको प्रयोग बढिरहेको छ।
तर, यसो गरेर मात्रै समस्याको समाधान भएको हामी पाउँदैनौं, किनकि धेरै भाषाहरूको आधार पुलिंगी हुन्छ। नेपाली र अंग्रेजी लगायत थुप्रै भाषाले पुलिंगलाई ‘डिफल्ट’ लिंगका रूपमा राखेका हुन्छन्– पुरुषलाई प्रयोग गर्ने भाषा तटस्थ मानिन्छ भने अरू लिंगलाई सम्बोधन गर्नका लागि लैंगिकता प्रयुक्त शब्द बनाइन्छन्।
उदाहरणका लागि, अंग्रेजीमा ‘मेन काइन्ड’ वा नेपालीमा ‘मानव जाति’ शब्दले सबै लैंगिकता भएका मानिसलाई जनाउँछन्, तर ‘मेन’ र ‘मानव’ पुरुषलाई प्रयोग हुने शब्द हुन्। त्यसको सट्टामा ‘वुमन काइन्ड’ वा ‘मानुषी जाति’ प्रयोग भएको हामी कतै पाउँदैनौं, किनकि त्यस्तो प्रयोग गर्दा ती स्त्रीलिंगी शब्दले अरू लैंगिकता भएका मानिसलाई बहिष्करणमा पारेको हामी अनुभव गरिहाल्छौं।
व्यवसाय जनाउने शब्दावलीमा यो प्रवृत्ति अझ स्पष्टसँग देखिन्छ। लैंगिक रूपमा तटस्थ मूल शब्दहरू खोज्दै जाँदा हामी पुरुषका लागि प्रयोग भइरहेका शब्दमा गएर ठोक्किन्छौं। उदाहरणका लागि माथि भनिएका शब्दहरू ‘शिक्षक’ र ‘मास्टर’ ले पुरुष व्यवसायीको छवि दिन्छन्, जब कि ‘शिक्षक’ को अर्थ पढाउने मानिस हो र यो लैंगिक रूपमा तटस्थ छ।
नेपाली भाषामा क्रियापदले अझ समस्या दिन्छन्। महिला, पुरुष र गैरद्वयसांख्यिक मानिस सबैलाई समेट्ने गरी लैंगिक तटस्थ भाषाको प्रयोग गर्दा पुलिंगी क्रियापद नै प्रयोग भइरहेको हुन्छ। जस्तै, ‘उनले गर्छन्’ भन्ने वाक्यांश कुनै पनि लिंगका लागि प्रयोग गर्न सकिन्छ, र लैंगिक तटस्थताका लागि यो मध्यम आदरार्थीको बहुवचन सबै लिंगलाई मान्य छ भन्ने अवधारणा बढिरहेको छ।
अझ अंग्रेजीमा त ‘मास्टर’ शब्दले ‘स्वामी’ जनाउँछ भने त्यसको समानान्तर स्त्रीलिंगी शब्द ‘मिस्ट्रेस’ ले सन्दर्भ अनुसार ‘स्वामिनी’ वा ‘विवाहित पुरुषकी प्रेमिका’ वा ‘पुरुषमा आश्रित प्रेमिका’ जनाउन सक्छ। नेपालीमा जुनसुकै लिंगका न्यायाधीशका लागि ‘श्रीमान्’ र देशको प्रमुखका लागि ‘राष्ट्रपति’ शब्दको प्रयोगले पनि यो समस्या उजागर गर्छ– यी शब्दका समानान्तर स्त्रीलिंगी शब्द लैंगिक अवधारणाले भरिपूर्ण भएकाले व्यावसायिक पदका लागि प्रयोग गर्नै मिल्दैनन्, त्यसैले तटस्थताका लागि पुलिंगी शब्द हाम्रा लागि एक मात्र विकल्प हो।
नेपाली भाषामा क्रियापदले अझ समस्या दिन्छन्। महिला, पुरुष र गैरद्वयसांख्यिक मानिस सबैलाई समेट्ने गरी लैंगिक तटस्थ भाषाको प्रयोग गर्दा पुलिंगी क्रियापद नै प्रयोग भइरहेको हुन्छ। जस्तै, ‘उनले गर्छन्’ भन्ने वाक्यांश कुनै पनि लिंगका लागि प्रयोग गर्न सकिन्छ, र लैंगिक तटस्थताका लागि यो मध्यम आदरार्थीको बहुवचन सबै लिंगलाई मान्य छ भन्ने अवधारणा बढिरहेको छ।
तर, यो वर्गमा पर्ने ‘गर्छन्, खान्छन्, बस्छन्’ आदि क्रियापद पुलिंगका लागि प्रयोग हुँदै आएका हुन्। सर्वमान्य रूपमा पुलिंगले यो ‘डिफल्ट’ स्थान ओगटिरहेको छ भने त्यसका समानान्तर स्त्रीलिंगी क्रियापद ‘गर्छिन्, खान्छिन्, बस्छिन्’ लाई सबै लिंगको हकमा प्रयोग गर्ने हामी सोच्न पनि सक्दैनौं।
अबको बाटो
यो समस्याको समाधान निकै जटिल देखिन्छ। हामी हरेक क्रियाका लागि नयाँ लैंगिक–तटस्थ शब्द आविष्कार गर्न हामी सक्दैनौं। र, लैंगिकताका विविध प्रकारका बारे गैरद्वयसांख्यिक अभियन्ताहरूले प्रकाश पारिरहँदा प्रत्येक लैंगिकतालाई सम्बोधन गर्नका लागि छुट्टाछुट्टै क्रियापद निर्माण गर्न पनि हामी सक्दैनौं। हामीसँग ‘डिफल्ट’ पुलिंगी क्रियापद प्रयोग गर्नुबाहेक कुनै उपाय छैन।
कुनै पनि लैंगिकता भएका मानिसको नकारात्मक छवि बनाउने शब्दप्रति सबै अभियन्ताको असहमति नै छ, र मूलधारमा र विशेषगरी सञ्चारमाध्यम र सम्मानित व्यक्तित्वले त्यस्ता शब्दप्रति संवेदनशील भएर तिनीहरूको प्रयोग हटाउनुपर्छ। त्योबाहेक, व्यवसाय सम्बन्धी शब्दलाई लैंगिक रूपमा तटस्थ राख्ने वा लैंगिक पहिचान खुलाउने शब्द जोड्ने भन्ने विषयमा अभियानकर्ता एकमत छैनन्। यस्ता शब्द तटस्थ हुनुपर्छ र बिस्तारै ती तटस्थ शब्दले सबै लैंगिकता भएका मानिसलाई समेट्दै जानेछन् भन्ने मेरो धारणा छ।
नाम र संज्ञाहरूका लागि भने केही विकल्प छन्। केही अभियन्ताले सबै लैंगिकता भएका मानिसका लागि लैंगिक रूपमा तटस्थ शब्द प्रयोग गर्नुपर्नेमा जोड दिन्छन्। जस्तै, लेखिका/कवयित्री/शिक्षिका/सञ्चालिका/नेतृ जस्ता शब्दको सट्टामा लैंगिक रूपमा तटस्थ मूल शब्द लेखक/कवि/शिक्षक/सञ्चालक/नेता आदि। यस्ता शब्दको अगाडि ‘महिला’ वा लैंगिक पहिचान जनाउने अरू शब्द राख्ने पनि केहीको मत छ।
“लेखक जस्ता मूल शब्दले अझै पनि सबै लैंगिकता भएका मानिसलाई समेट्न सकेका छैनन्। महिला लेखक भनियो भने त्यसले महिलाले घर व्यवहार सम्हालेर पनि लेखक बन्नका लागि गरेको थप मेहनत दर्शाउँछ। त्यसैले यो सामाजिक विभेद नहटेसम्म यस्ता शब्दका अगाडि लैंगिक परिचय खुलाएर त्यसलाई राजनीतिक अस्त्रका रूपमा प्रयोग गर्नु ठीक हुन्छ। पश्चिमा देशमा पनि यसरी राजनीतिक अस्त्रका रूपमा जातीय र लैंगिक पहिचान, जस्तै ‘ब्ल्याक’ वा ‘वुमन’ भनेर खुलाउने चलन छ,” अर्चना थापा भन्छिन्।
शब्दहरूको अगाडि लैंगिक पहिचान खुलाउनुलाई केहीले त्यो शब्दले जनाएको कर्मको अवमूल्यन भएको पनि मान्ने गरेका छन्। एकै कर्मका लागि भिन्नाभिन्नै शब्दको प्रयोग गर्दा वा लैंगिक पहिचान खुलाउँदा कर्मलाई भन्दा लैंगिकतालाई बढी प्राथमिकता दिएको अर्थ लाग्ने पनि केहीको बुझाइ छ। प्रायः व्यवसायका मूल शब्दले आजको दिनमा पुलिंगी छवि नै दिन्छन्, तर सबै लैंगिकता भएका मानिसमा निरन्तर प्रयोगले कालान्तरमा त्यो छवि परिवर्तन गर्छ भन्ने अपेक्षा गरिएको छ, र मेरो मत पनि त्यही हो।
निष्कर्षमा, कुनै पनि लैंगिकता भएका मानिसको नकारात्मक छवि बनाउने शब्दप्रति सबै अभियन्ताको असहमति नै छ, र मूलधारमा र विशेषगरी सञ्चारमाध्यम र सम्मानित व्यक्तित्वले त्यस्ता शब्दप्रति संवेदनशील भएर तिनीहरूको प्रयोग हटाउनुपर्छ। त्योबाहेक, व्यवसाय सम्बन्धी शब्दलाई लैंगिक रूपमा तटस्थ राख्ने वा लैंगिक पहिचान खुलाउने शब्द जोड्ने भन्ने विषयमा अभियानकर्ता एकमत छैनन्। यस्ता शब्द तटस्थ हुनुपर्छ र बिस्तारै ती तटस्थ शब्दले सबै लैंगिकता भएका मानिसलाई समेट्दै जानेछन् भन्ने मेरो धारणा छ।