प्रिय पाठक, हामीमाथिका अन्यायबारे तपाईं के भन्नुहुन्छ?
अनेक अत्याचार सहेर बाँचेकाहरुसँग थोरै भए पनि समानुभूति कहिले बाँड्नुहुन्छ? असहज कथाहरू सुन्न आफ्नो सहज स्थानबाट कहिल्यै निस्कनुहुन्छ?
म हरेक बिहान हाम्रो पात्रोका नोटिफिकेसनसँगै उठ्छु, तिनले मलाई उता नेपालमा के भइरहेका छन् भन्नेबारे जानकारी दिन्छन्। विगत तीन वर्षको अन्तरालमा धेरै पटक बलात्कार, लैंगिक हिंसा, यौनिक पहिचानलाई आधार बनाएर गरिने हिंसा, दुर्गम नेपालमा छाउपडी प्रथाबाट हुने मृत्युका समाचारबाट मैले दिन शुरू गरेकी छु।
सञ्चारजगतका खबर पढिसकेपछि म आफ्नो इन्स्टाग्राम खोल्छु। र, ‘टेल्स अफ मोडर्न बुहारी’ भन्ने अकाउन्टमा आएका भोगाइ पढ्न थाल्छु। त्यसमा धेरै नेपाली महिलाले एकान्त एवं गोप्य परिवेशमा भोगेका यौनहिंसा, उत्पीडन, बलात्कार, दुर्व्यवहार, बाल यौन दुराचारका विवरणहरू भरिभराउ छन्।
ती अहिलेका आधुनिक बुहारीहरूका पीडाका भोगाइ पढिरहँदा ममा भित्रैदेखि आक्रोश पलाउँछ। रिसले चुर हुन्छु। निराशा बढेर बेचैन भएपछि म सक्दो जोडले दाह्रा किट्न थाल्छु। बालिका तथा महिलाले भोगेका हिंसा, अन्याय तथा अपराधको परिणाम बुझ्न नसकेर म भित्रभित्रै विक्षिप्त हुन पुग्छु।
आफ्नो लैंगिक पहिचानका आधारमा पारलैंगिक तथा विविध लैंगिक पहिचानका व्यक्तिहरू र आफ्नो यौन अभिमुखीकरणका आधारमा समयौनिक, द्वियौनिक, सर्वयौनिक लगायत व्यक्तिहरूले वर्षौंदेखि पीडा, असमानता वा अपराध भोगेको महसूस गर्दा दुःख लाग्छ। मानिसका विविध लैंगिक पहिचान हुनसक्छन्। मानिसका विविध यौन अभिमुखीकरण हुन्छन्। समाजको परम्परागत परिभाषाले समेट्न नसकेको कारण उनीहरूले अन्याय झेल्नुपरेको छ।
विभिन्न सामाजिक सञ्जाल, अनलाइन र अफलाइन माध्यमबाट हामीले सुन्दै आएका उत्पीडनका घटना र त्यसका तथ्यांक धेरैजसो अवस्थामा सम्बन्धित ठाउँ वा सरोकारवालासम्म पुग्दैनन्। किनभने पीडित,
– परिवारका सदस्यसम्मलाई पनि सुनाउन सक्दैनन् किनभने कसैले पनि तिनको कुरामा विश्वास गर्दैन।
– प्रहरी र प्रशासनसम्म पुग्दैन किनभने यदि कुनै हिंसा बलात्कार र हत्या होइन भने प्रहरीले त्यसलाई हिंसा नै होइन भने जसरी व्यवहार गर्छ। कहिलेकाहीँ त प्रहरी आफैँ पारलैंगिक व्यक्तिहरूविरुद्ध हिंसामा उत्रन्छन् (हालै पारलैंगिक महिलामाथि भएको हिंसा प्रकरण।)
– कुनै पनि हिंसा बलात्कारपछि हत्या नभएसम्म समाचार बन्दैनन्। हत्यालाई मात्र समाचार बनाउन योग्य मान्ने गलत परिपाटी छ।
थुप्रै व्यक्त/अव्यक्त कथाले एउटा कुरा चाहिँ प्रष्ट बताउँछन्। त्यो के भने नेपाली घर–समाज महिला र परम्परागत महिला/पुरुषको परिभाषाभित्र नपर्नेहरूका लागि सुरक्षित छैन।
तपाईंले महिलाका भोगाइ र मौनताहरूलाई ध्यान दिएर सुन्नुभयो भने थाहा पाउनुहुनेछ कि पीडक अपरिचित व्यक्ति हुँदैनन्।
उनीहरूमध्ये अधिकांश काका, दाजु, भाइ, छिमेकी, शिक्षक, केटा साथी हुन्छन्। यस्तै नजिकको नाता भएकाले तिनले बालिका र महिलाको शरीरमा सहज पहुँच पाउँछन् र हिंसात्मक कार्य गर्छन्।
पीडकलाई थाहा छ कि आफू कहिल्यै समातिने छैन, समातिइहाले पनि सहजै फुत्किने छु। हामीकहाँ पीडितमाथि नै अविश्वास गर्ने चलन छ। उसले भनेको कसले पत्याउने?
सदियौँदेखि पुरुषले पितृसत्ताबाट यति फाइदा लिएका छन् कि उनीहरू हिंसा, प्रभुत्व र दमनलाई निरन्तरता दिन लाज मान्दैनन्। बरु, स्वीकार्य ठान्छन्।
लाग्छ, तीन वर्षअघि कञ्चनपुरमा बलात्कारपछि मारिएकी किशोरीका हत्याराहरू अझै पनि खुलेआम डुलिरहनु हाम्रो न्यायिक र राजनीतिक व्यवस्थालाई स्वीकार्य छ।
छाउपडी गोठमा महिलाको मृत्यु हुनु अझै पनि सही छ। पारलैंगिक महिला, पुरुषलाई प्रहरीले बिनाकसुर निर्घात पिट्नु जायज छ। र, हुँदाहुँदा महिलालाई देशको सीमापार गर्न सिफारिस चाहिने कानुन बनाउनु पनि ठीक छ!
महिला र लैंगिक अल्पसंख्यकमाथि भइरहेको अपराधविरुद्ध आवाज उठाउनु सधैँ बेठीक। किनभने, यो आवाजले पितृसत्ताको जरा हल्लिन्छ। कमजोर पुरुष अहंकार डगमगाउँछ, शताब्दीऔँ पुरानो परम्परालाई चुनौती दिन्छ।
यी सबै ठीक छ, तर भजाइना (योनि) शब्द उच्चारण गर्न बेठीक अनि अशिष्ट छ। महिला र फरक यौनिक पहिचान भएका मानिस वर्षौंसम्म यौनहिंसा र अपराध भोगून्, तर ती चुप लागून्, त्यो मौनता ठीक छ ! ‘अब म सीता बन्दिनँ’ भन्दा बलात्कारका धम्की दिने पुरुषहरूलाई खुलेआम हिँड्न दिन प्रहरी राजी छ।
महिला र लैंगिक अल्पसंख्यकमाथि भइरहेको अपराधविरुद्ध आवाज उठाउनु सधैँ बेठीक। किनभने, यो आवाजले पितृसत्ताको जरा हल्लिन्छ। कमजोर पुरुष अहंकार डगमगाउँछ, शताब्दीऔँ पुरानो परम्परालाई चुनौती दिन्छ। बलिया महिलाले समाजलाई चुनौती दिएको सधैं अपाच्य नै हुन्छ।
पितृसत्तात्मक मूल, कमजोर पुरुष अहंकार र यथास्थितिलाई कायम राख्न हरसम्भव प्रयास भइरहेको छ। जब कुनै चीजले पुरुषबाहेक अरूलाई फाइदा हुन्छ भने समाजलाई त्यो अस्वीकार्य हुन्छ। त्यस्तो बेला महिला वा पुरुषको परिभाषाभित्र नपर्ने मानिस एवं समग्र महिलाका लागि त्यस्तो समाज कसरी सन्तुलित र सुरक्षित हुन सक्ला?
मौखिक, अमौखिक, शारीरिक, अशारीरिक सबै खाले अपराधबाट उन्मुक्ति पाएर कसरी एउटा लिंगले बाँकीलाई दबाइरहन सक्छ? अर्को कुरा, यौनहिंसा केवल ‘बलात्कार’ हुँदा मात्र हुने होइन। कहिलेकाहीँ हेराइ नै पनि यौनहिंसा हुन सक्छ, कहिले कसैको स्पर्श यौनहिंसा हुन सक्छ भने कहिले बोलेरै पनि मान्छेले हिंसा गरेको हुन्छ। कुनै बेला प्रेमको नाममा सहमति प्राप्त गरेर यौन दुराचारको व्यवहार गर्नु पनि यौनहिंसा हो।
यी हिंसा हामीलाई हाम्रो घर, सडक, गल्ली, गाडी, टेम्पो, कार्यालय, विद्यालय वा अरू विभिन्न स्थानमा भयो भनेर हामीले कसरी बताउने? हाम्रो भोगाइका अपराधी हामी नै हुन्छौँ भने यी कथाहरू हामी कसरी भन्न सक्छौँ? हाम्रा भोगाइमा हामीबाहेक अरू कसैलाई विश्वास हुँदैन भने हामी ती भोगाइ कसरी साझा गर्न सक्छौँ?
हामीलाई के सिकाइएको छ भने यौनहिंसा हुनुको एउटा कारण हामी खास लिंग लिएर जन्मिएका छौं। आफूलाई सुरक्षित राख्नु हाम्रो कर्तव्य हो किनभने हामीमाथि कुनै पनि बेला आक्रमण हुन सक्छ।
हामी हाम्रो पहिचान र अस्तित्वका कारण पीडित छौँ। यद्यपि, समाजलाई यस विषयमा कुनै चासो छैन। समाजले मानिसलाई यौनशिक्षा प्रदान गर्ने वा कुनै पनि किसिमको हिंसा नगर्ने नैतिकता सिकाउन जरुरी ठान्दैन। दोष हामीमाथि नै थोपर्छ।
यति हुँदाहुँदै पनि हामी चुप छैनौँ र चुप रहदैनौँ। दमनको स्थानबाट हामी माथि उठेर पितृसत्ता र पितृसत्तालाई शासन गर्ने प्रणालीभित्रका छिद्र पत्ता लगाएर चर्को आवाज उठाउँछौँ।
महिलाविरुद्धका हिंसा तथा यौनिक परिचयका आधारमा हुने हिंसाको विरुद्धमा विभिन्न डिजिटल मञ्चबाट समर्थन प्राप्त भई चलिरहेको वर्तमान आन्दोलनले हामी विभिन्न कार्यकर्तालाई उठ्ने, ऐक्यबद्ध हुने र बलियो शक्ति बन्ने ठाउँ प्रदान गरेको छ। यसले प्रणालीलाई मात्र चुनौती दिँदैन, युवा पुस्ताका लागि अझ राम्रो परिवेश निर्माण गर्न प्रोत्साहन गर्छ।
त्यही समर्थन र प्रोत्साहनले हामीलाई ३रेज अगेन्स्ट रेप (बलात्कारविरुद्ध आक्रोश) एवं सबै किसिमका लैंगिक हिंसाविरुद्ध आक्रोश पोख्न बल दिन्छ। यसकारण पनि हामीलाई ‘टेल्स अफ मोर्डन बुहारी’ जस्ता मञ्च चाहिन्छ जहाँ मौनताका पर्खाल भत्काइन्छन् र धेरै महिलाको वास्तविक भोगाइ सुन्छौँ।
हामीलाई क्वेयर यूथ ग्रूपजस्ता वक्ता आवश्यक पर्छन् जो सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको अधिकारका लागि लडिरहन्छन्। त्यस जनसंख्याबारे हेक्का राख्न हामीलाई सम्झाइरहने गर्छन्।
तपाईं पाठकसँग मेरा केही प्रश्न छन्। नेपाली समाजको नागरिकका रूपमा तपाईंको भूमिका के हो? तपाईंका नाकमुनि हुने हिंसा र अपराधविरुद्ध तपाईं के गर्नुहुन्छ? यौनहिंसा एवं यौनिक पहिचानका आधारमा हुने यौनहिंसा जो तपाईंको परिवारको कुनै सदस्य, साथी, केटी साथीहरूलाई भएको थियो त्यसको कथा सुन्न तपाईं कहिले तयार बन्नुहुन्छ?
साथै,
अनेक अत्याचार सहेर बाँचेका तर पनि चुप रहेका कसैसँग थोरै समानुभूति तपाईं कहिले बाँड्नुहुन्छ? असहज कथाहरू सुन्न आफ्नो सहज स्थानबाट कहिल्यै निस्कनुहुन्छ? यौन आघातबाट गुज्रेको मानिसलाई हेरचाह तथा माया देखाउन कहिले उठ्नुहुन्छ? र, उजुरी दर्ता गर्ने लामो र झन्झटिलो प्रक्रियालाई तपाईं कहिले परिवर्तन गर्नुहुन्छ? सबै किसिमका लैंगिक हिंसा सम्बोधन गर्न प्रभावकारी नीति कहिले बनाउनुहुन्छ?
- लेख तयार पार्ने क्रममा सहयोग गर्ने रुक्शना कपालीलाई धन्यवाद ।
(बानियाँ अमेरिकाको भर्जिनिया टेक विश्वविद्यालयमा सहायक प्राध्यापकका रूपमा कार्यरत छिन्।)