ब्याजदर अन्तर ३ प्रतिशत मात्रै बनाउनुपर्ने व्यवसायीको माग
ब्यांक तथा वित्तीय संस्थाले ब्याजदरको अन्तर ३ प्रतिशत मात्रै बनाउनुपर्ने नेपाल वितरक संघ सम्बद्ध व्यवसायीले बताएका छन्।
नेपाल वितरक संघको २०औं साधारण सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीको माग अनुसार ब्यांक तथा वित्तीय संस्थाले कर्जा नवीकरण र ब्याजमा सहुलियत गर्ने सक्ने ठाउँ रहेको बताए। हाल नेपालमा विभिन्न २७ वटा वाणिज्य ब्यांक रहेकाले स्वतन्त्र प्रतिस्पर्धाका लागि ब्यांक तथा वित्तीय संस्थाले ३ प्रतिशतभन्दा बढीको ब्याज अन्तर राख्न नहुने र सेवा शुल्क शून्य दशमलव १५ प्रतिशतमा सीमित राख्नुपर्ने उनकाे भनाइ थियाे।
व्यवसाय गर्ने वातावरण बनेको अवस्थामा मात्रै ब्यांक तथा वित्तीय संस्थाले लगानीको क्षेत्र पाउने तथा दायरा पनि फराकिलो हुँदै जाने उनले बताए। जनप्रतिनिधिले छलफल नै नगरी कानून बनाउँदा पटकपटक समस्या भोग्नुपरिरहेको उनकाे गुनासाे थियाे।
नेपाल वितरक संघका अध्यक्ष राजेन्द्र सिंखडाले कोभिड–१९ बाट आक्रान्त विश्व बजारको प्रभावले थिलथिलो भएका व्यवसायीलाई सरकारले जारी गरेको नयाँ नियमले थप अन्याेलमा पारेकाे बताए। उनले निर्यात बढाउने र आयात घटाउनेतर्फ सरकार लाग्नुपर्ने तथा सोही अनुसार व्यवसायलाई सहजीकरण गर्नुपर्नेमा जाेड दिए।
आयातको हिस्सा ९३ प्रतिशत हुँदा निर्यात भने जम्मा ७ प्रतिशतमा सीमित हुनु चिन्ताको विषय भएको सिंखडाले बताए। उनले आयातमुखी बजारलाई नियन्त्रण गर्न नेपाल वितरक संघ स्वदेशमै उत्पादित वस्तुको बजारीकरण गर्न सकारात्मक रहेको बताए।