लीलालेखन किन ?
यथार्थ मात्र होइन, यथार्थहरूभित्र रहेको सत्यतालाई पनि लेख्नुपर्छ- यो मन्तव्य पनि अधिकांश कवि लेखकहरुले उच्चारित गरेरै आएका छन्। 'सत्यता' तर आफ्नो-आफ्नो हुन्छ, आफ्नो-आफ्नो दृष्टिले देखेको।
नेपाली वाङ्मयको बर्धनाको निम्ति प्रोत्साहन दिइने क्रममा आज यहाँ म डाकिएँ। हाजिर छु, तर आत्मसंशय मन र मस्तिष्कमा बोकेर। यस क्षेत्रमा गर्नपर्ने कामहरू बग्रेल छन्, तीमा लागिपसेका टोलीहरूमा रही सहयोग केही गर्न सकुँला कि सम्म लाग्छ।
नेपालबाहिर, विशेष भारतमा, हामी नेपालीहरू एक जातित्वमा बद्ध छौं भाषाले, नेपाली भाषाले। भिन्न जात, जातभाषा, सामाजिक संस्कृति, धार्मिक विश्वासका हामीहरू भारतमा पुगेर एक जाति बन्यौं नेपाली भाषाले। हुन ता अघि नेपालमा छँदै पार्वत्य जनगोष्ठीहरू सामाजिक-राजनीतिक-आर्थिक साझा अनुभवहरूले एक सविशेष मनोभावात्मक एकत्व बनिसकेका थिए- भौगोलिक-ऐतिहासिक उत्पादन वा उपज भनौं। तर पनि तात्कालिक कारक बन्यो नेपाली भाषा जसलाई योजक भाषाको रूपमा नेपालदेखि नै उनीहरुले लगेर गएका थिए। आज त भारतमा स्थिति के छ भने नेपाली भाषा नेपाली जातिको प्राण र अस्तित्व छ।
भारतमा भाषिक अल्पसंख्यक हाम्रो नेपाली भाषाको मान्यताको प्रत्येक सानो ठूलो प्राप्तिको पछि लामो र कठिन सङ्घर्षको कथा छ। यस संघर्ष-इतिहासमा देख्छौं।
१. सन् १९१८ मा कलकत्ता विश्वविद्यालयले नेपाली भाषालाई म्याट्रिक, इन्टर मिडियट र बी.ए. परीक्षाको निम्ति स्वभाषा (भर्नाकुलर) विषयको रूपमा स्वीकार गर्छ।
२. १९२७ मा नेपाली भाषा बंगाल प्रदेशमा बंगाला, उर्दू र हिन्दी सरहको चारमा एक प्रमुख भाषा मानिन्छ।
३. १९३५ देखि प्राथमिक शिक्षाको माध्यम बन्छ नेपाली भाषा (हिन्दीको ठाउँमा) र १९४९ देखि हाइस्कूल स्तरसम्मै माध्यम बन्छ।
४. १९६१ देखि दार्जीलिङ जिल्लाका तीन पार्वत्य महकुमा दार्जीलिङ सदर, खरसाङ, कालिम्पोङ) को सरकारी भाषा मानित बन्छ नेपाली भाषा।
५. १९७६ मा भारतीय साहित्य अकादेमीले नेपाली भाषालाई भारतीय एक साहित्यिक भाषाको मान्यता प्रदान गर्छ।
६. १९९२ मा भारतीय संविधानमा नेपाली भाषालाई भारतीय एक राष्ट्रिय भाषाको मान्यता प्रदान गरिन्छ।
७. १९९४ देखि भारतको सङ्घीय लोक सेवा आयोगका परीक्षाहरूमा सबपत्रका प्रश्नका उत्तरहरू नेपालीमा लेख्न पाइने खुलासा दिइन्छ।
सङ्घर्ष अझ बाँकी छ। नेपालीभाषी बहुल अझ कति भारतीय क्षेत्रहरूमा नेपाली भाषालाई सरकारी भाषा मानित गराउनै छ, अझ कति भारतीय विश्वविद्यालयहरूमा स्नातकोत्तर स्तरमा नेपाली भाषा र साहित्यको अध्ययनलाई विषयरुप स्वीकृत गराउनै छ। भारतका कति राज्यहरूमा रैथाने भई बसेका नेपालीहरूका निम्ति प्राथमिकदेखि उच्चस्तरतक शिक्षाको माध्यम नेपाली गराउनु छ। अनि नेपाली-इतर जातिहरू जसले नेपाली भाषालाई प्रथम भाषाको रूपमा स्विकारिसकेका छन्, उनीहरूद्वारा यस भाषालाई आफ्नो साहित्यिक लेखनको भाषा गृहीत र प्रयुक्त गराउनु छ।
अग्रजहरूले नेपाली भाषाको सम्मानवर्धनको निम्ति जति गरे, तीप्रति कृतज्ञ रहँदै वर्तमानका कार्यकर्ताहरुसँग सहयोगमा उभिन हामी सबैको अहिलेको कर्तव्य हो।
साहित्य लेखनको सन्दर्भ, १९६१ मा प्रकाशित मेरो प्रथम पुस्तक 'विपना कतिपय (कथासङ्ग्रह) मा अधिकांश लेखकहरु झैं म यथार्थवादी थिएँ। जगत् र जीवनमा देखिएका यथार्थहरूलाई लेख्ने साहित्यको उद्देश्य हो मान्थेँ। केही काल बित्दै तर यथार्थहरूभित्र निहित सत्यताले ध्यान आकृष्ट गर्यो। यथार्थ मात्र होइन, यथार्थहरूभित्र रहेको सत्यतालाई पनि लेख्नुपर्छ- यो मन्तव्य पनि अधिकांश कवि लेखकहरुले उच्चारित गरेरै आएका छन्। 'सत्यता' तर आफ्नो-आफ्नो हुन्छ, आफ्नो-आफ्नो दृष्टिले देखेको।
यस्तै स्थितिमा म थिएँ, प्रारब्धले भनौं मेरो भेट हुन्छ तिलविक्रम नेम्वाङ र ईश्वरबल्लभसँग। आयामिक लेखनको प्रारम्भ गर्यौं १९६३ मा। 'सम्पूर्णता' लेख्ने, 'याभावत्य' लेख्ने, 'तात्कालिकता' मा लेख्ने हाम्रो घोषणाहरूपछि ठूलै ‘मत्य' उभिएको हामीले देखेका थियौं। बौद्धिक चिन्तनले जीवनबोध लेख्ने नै बौद्धिक प्रदानले जीवनानुभूति लेख्ने, दुईको सम्मेलले 'सम्पूर्णता' लेख्ने प्रविधि पछ्याइएको थियो। यो सम्पूर्णता पनि तर चतुर्थ आयाम (काल) को संयुक्ति नभए असम्पूर्ण नै रहेको हुन्थ्यो। आध्यस्वरूप र मिथकले जीवनबोध लेख्दा जीवनको कालिक नैरन्तर्य समेत लेखिन्थ्यो।
हामी मानिसको प्रथम र मूल धन्धा वा कार्य हुन्छ बाँच्नु (सर्वाइवल) र बढ्नु। बाँच्न र बढ्नलाई सहायकर वस्तु, व्यक्ति, घटना हामीलाई राम्रा लाग्छन्, असहायकरहरू राम्रा लाग्दैनन्। बाँच्न (सर्वाइव गर्न) खोज्छौं व्यक्तिगत, जाति, राष्ट्र, देश र मानवजातिगत तहसम्म। मूल्याङ्कनहरू यसरी हाम्रा आवश्यकताले नै आत्मपरक हुन्छन्।
आयामिक लेखनसँग फेरि युक्त थियो 'वस्तुता'को धारणा। जगत्मा यहाँ बाँच्दा हामी प्रत्येक वस्तुको, व्यक्तिको, घटनाको मूल्यन गर्छौं- बाँच्नलाई गर्नैपर्छ। मूल्याङ्कनको हाम्रो आधार तर के हुन्छ, के छ? कुन आधारमा हामी वस्तु, व्यक्ति, घटना आदिलाई राम्रो नराम्रो, उचित अनुचित, सुन्दर असुन्दर, नैतिक अनैतिक ठहऱ्याउँछौं ? हामी मानिसको प्रथम र मूल धन्धा वा कार्य हुन्छ बाँच्नु (सर्वाइवल) र बढ्नु। बाँच्न र बढ्नलाई सहायकर वस्तु, व्यक्ति, घटना हामीलाई राम्रा लाग्छन्, असहायकरहरू राम्रा लाग्दैनन्। बाँच्न (सर्वाइव गर्न) खोज्छौं व्यक्तिगत, जाति, राष्ट्र, देश र मानवजातिगत तहसम्म। मूल्याङ्कनहरू यसरी हाम्रा आवश्यकताले नै आत्मपरक हुन्छन्। मानिसका विचार र भावहरू, मानिसका अनुभव र दृष्टिहरू वस्तुपरक सत्य हुँदैनन्, आत्मपरक हुन्छन् र भनौं भ्रान्ति मात्र हुन्छन्। यस सङ्ज्ञानले लेखिने लेखनलाई 'लीलालेखन' नाम गरियो। लीला (भ्रान्ति वा रूप परिवर्तन) लाई कृतिमा दुवै विषय र रूपमा लेख्ने, लेखनप्रविधि तुल्याउने उद्यम गर्नु छ। 'कठपुतलीको मन' (प्रकाशित १९८९ र 'अर्थहरूको पछिल्तिर' (प्रकाशित १९९४) मा यो मान्यता केही विवेचित र प्रयुक्त छ।
मानिस शरीर मात्र हो, शरीर बाहेक अरु केही पनि होइन भन्ने विचारकहरूले मानिसलाई तार्किक बुद्धि र विचारादि जन्मनभन्दा अघिको मनको अवस्थामा फर्केर शान्ति र आनन्द पाउने परामर्श दिन्छन्। मानिस शरीर मात्र होइन, आत्मा समेत हो भन्ने चिन्तकहरूले मानिसलाई मायावी पृथक् चेतनाहरू नाघेर वैश्व चैतन्यतिर फर्केर चीर आनन्द पाउन प्रेरित गर्छन्। पृथक् चेतना र व्यक्तित्वबाट उम्रने विचार र भावहरूलाई मास्नै दुवैतर्फबाट प्रबोधना छ। विशाल अचेतनमा हामी समग्र मानवजाति एक र उवियुक्त छौं: स्वल्प चेतनबाट छन् हाम्रा मतमतान्तर, दृष्टिहरू, मूल्याङ्कनहरू र तीमा भेदहरू पनि। अनिष्टकर भ्रान्तिहरुको उर्वर क्षेत्र यहीँ छ। यो चिनाउने र अनुभूत गराउने उद्यम आओस् नेपाली साहित्य लेखनमा। यो कार्य थालिएको मात्र छ।
नेपाली भाषाको उच्चतर तथा बृहत्तर मान्यताको निम्ति सहयोगशील रहँदै यता साहित्यको लेखनतर्फ पनि उद्योगशील रहने नै वचन हो आज यस महत्त्वपूर्ण दिनमा मेरो बिनीत हाजिरी।
(६ असोज २०५२ मा आयोजित समारोहमा २०५१ सालको 'जगदम्बा-श्री' पुरस्कार ग्रहणपछि इन्द्रबहादुर राईले व्यक्त गरेका विचारको सम्पादित अंश।)