यात्रामा अनेक देश, अनेक तरेली
विभिन्न ठाउँहरूको भूगोल, इतिहास, सूचना र मनोरञ्जनको सँगालो हो, जीवा लामिछानेको देश देशावर। नियात्राकार जहाँ घुमेका छन्, पाठकलाई संस्मरणका हरफमार्फत आफूसँगै त्यहीँ डुलाएका छन्।
नियात्राकार जीवा लामिछाने ‘द हार्माेनी अफ् द सी’ चढेर सौन्दर्यको रत्न क्यारेबियन दीपमाला घुम्छन्। नाइल नदी होस् अथवा भिक्टोरिया ताल, घनीभूत सौन्दर्यमा डुबुल्की मार्दै सामुद्रिक यात्राको बिसौनी हैटी पुग्छन्। सन् २०१० को महाभूकम्पले थिलथिलिएको यो भूमिमा अन्तर्राष्ट्रिय संघ/संस्थाहरूले निरन्तर सहयोग गरे पनि फेरि उठ्न सकेको छैन। अमेरिकी रेडक्रसले उठाएको ५०० मिलियन डलरबाट जम्मा ६ वटा मात्र घर बनेको प्रसंग आश्चर्यलाग्दो छ। सुशासनको अभावमा सहयोग पनि माटोमै बिलाउँदो रहेछ।
हरेक मुलुक आफ्नै इतिहासको जगमा टेकेर फड्को मार्छन्। नियात्राकार आफू जहाँ घुमफिर गर्छन्, ती राष्ट्रको संक्षिप्त इतिहास समेत दिन्छन्। जसले यात्रा संस्मरणको ज्ञान पक्षलाई सबल बनाएको छ।
मोजाम्बिकको राजधानी मापुतोस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका नियात्राकारको अध्यागमन फारम पटकपटक च्यातिन्छ। अन्ततः भ्रष्ट कर्मचारीको फन्दाबाट उम्कन उनी १० डलर तिर्न बाध्य हुन्छन्। अफ्रिका महादेशको पुछारमा छ, मोजाम्बिक। बन्दुककै कारण आफ्नो देश स्वतन्त्र भएको जनाउ दिन राष्ट्रिय झण्डामा ‘एके फोर्टी सेभेन’ राखेको छ। पोर्चुगलको अधीनमा रहेको मोजाम्बिकलाई स्वतन्त्र गराउन मोजाम्बिकका प्रथम राष्ट्रपति सामोरा मिसेलको भूमिका महत्त्वपूर्ण थियो।
कंकालको जगमा उभिएर पुराना घाउ भुल्दै अग्रगामी पथमा पाइला सारिरहेका रुवान्डाली जनताको पौरख लोभलाग्दो छ। उता युगान्डाका क्रूर शासक दादा इदी अमिनले मान्छेको मासु खाने गरेको प्रसंगले झस्काउँछ। सपनामा अल्लाहले एसियाली मूलका मानिसलाई युगान्डामा बस्न नदिनु भन्ने आदेश दिएको भन्दै इदी अमिनले एसियाली मूलका हजारौँ व्यापारीलाई सन् १९७२ मा खाली हात धपाउँछन्। युगान्डाको राजधानीमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा इदी अमिनले प्रयोग गरेका गाडीहरू अझै राखिएका छन्, जुन नरसंहारका साक्षी हुन्।
साइप्रसमा उत्पादन हुने संसारकै पुरानो कमान्डेरिया ब्रान्डको वाइनको खोजीमा नियात्राकार निकै समय भौंतारिन्छन्। अनि ट्रोडोस माउन्टेनलाई निशाना बनाएर हिँडेका उनी ओलम्पिक माउन्टेन पो पुग्छन्। नेपाल भित्रिने पर्यटकहरू पनि यस्ता समस्याबाट अछूतो छैनन्।
साइप्रसमा उत्पादन हुने संसारकै पुरानो कमान्डेरिया ब्रान्डको वाइनको खोजीमा नियात्राकार निकै समय भौंतारिन्छन्। अनि ट्रोडोस माउन्टेनलाई निशाना बनाएर हिँडेका उनी ओलम्पिक माउन्टेन पो पुग्छन्। नेपाल भित्रिने पर्यटकहरू पनि यस्ता समस्याबाट अछूतो छैनन्। प्रेमकी देवी आफ्रोडइटीको किंवदन्ती होस् अथवा पाफोस शहरको एउटा अनौठो रूखको कहानी वा तान्जानियाको जंगलमा पाइने एपिंगाे नामक कालो काठको बयान, पाठकलाई अनौठो अनुभूति हुन्छ।
उत्तरी गाेलार्द्धको देश आइसल्यान्डसँग जल, वायु र स्थल सेना छैन। कारागार पनि छैन। यो सानो देश शान्तिको अनुपम नमूना हो। यहाँ प्रकृतिका अनौठा दृश्य छन्। जमिनमुनिबाट अनवरत तातोपानीको फोहोरा निस्कन्छ। छङ्छङाएका अनगिन्ती झरनाले सौन्दर्य बढाएका छन्। हिउँ र आगोको भूमि भनेर चिनिने आइसल्यान्डको थिङभेलिर राष्ट्रिय निकुञ्जमा पुग्दा भने नियात्राकारले जंगलविहीन नांगा डाँडा सिवाय केही देखेनन्। न त जीवजन्तुको ओहोरदोहोर, न पन्छीको गुञ्जन। नाम मात्रको निकुञ्ज। तर, पर्यटकलाई भने लोभ्याउने। धेरै वर्षअघि उत्पन्न भएको यहाँको ज्वालामुखी क्षेत्रमा अझै पनि ताता लाभा भेटिँदा अनौठो लाग्छ।
फिनल्यान्डको लोकतन्त्र र सुशासनको गाथाले आकर्षित गर्छ। शक्तिशाली राष्ट्र रुसको समीपमा रहेर पनि कुनै दबाब र प्रभावमा नरहनु नेपाली पाठकका निम्ति आश्चर्यको विषय हो।
श्रीलंकाले खेपेको दुई दशकभन्दा लामो युद्धमा मान्छेले अनेक राप र ताप सहे। त्यसबाहेक जंगली जनावरले समेत भोग्नुपरेको दुर्दान्त हात्ती अनाथालयमा भेटिन्छ। त्यहाँ तीन खुट्टाले हिँडेको भीमकाय हात्तीको दुर्दान्त दृश्य छ।
मान्छेले आफूजस्तै अर्को मान्छेलाई बेच्ने आधार के? कहिले पोर्चुगल त कहिले ओमानको अधीनमा रहेको तान्जनियाको इतिहासमा दासदासीहरूको कहालीलाग्दो कथा छ। जर्मन शासकहरूले तान्जनियालगायत अन्य अफ्रिकी मुलुकबाट दासदासी ल्याएर छिमेकी मुलुकमा बिक्री वितरण गर्ने गरेको प्रसंग अमानवीय छ। तान्जनियाका गाउँबाट युरोप, अमेरिकामा बिक्रीका लागि भोकभोकै कैयौँ दिन हिँडाएर दासदासी ल्याइन्छ। कतिको बाटैमा मृत्यु हुन्छ। कतिले अनेक यातना खेप्नुपर्छ। यति वेला माधव घिमिरेको मालती–मंगले नाटकका हरफहरू स्मरणयोग्य लाग्छन्–
सिन्दुरको टीको शिरमा दली बलिको पशुझैँ
जुन देश पसूँ बाँधिन्छु त्यहीँ कुन देश पसूँ मै।
नियात्राकार टोरन्टो विमानस्थलमा झरेर क्यानाडाका विभिन्न ठाउँको यात्रा गर्छन्। क्यानडाको भूभाग नदी, ताल, झरना, समुद्रका सौन्दर्यले भरिपूर्ण छन्। सागरको तटझैँ फैलिएको ओन्टारियो तालको सौन्दर्यमा उनी हराउँछन्। वन्डरल्यान्डस्थित थिमपार्कको साजसज्जा होस् वा क्यानेडियन शहरको सौन्दर्य नियाल्ने भ्यूटावर, नायगराफल्सको बयान वा अमेरिकाको सिमानामा बग्ने लरेन्स नदी र नदीका बीचबीचमा उभिएका आइसल्यान्ड, सौन्दर्यका अनुपम नमूना लाग्छन्।
चीनको अर्को अँध्यारो पाटो पनि छ। नियात्राकार तिआननमेन चोक पुग्छन्, जहाँ सन् १९८९ मा स्वतन्त्रताको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका हजारौँ विद्यार्थीमाथि चिनियाँ सेनाले बुल्डोजर चलाएर हत्या गरेको थियो।
यात्रा संस्मरणका हरफहरूमा डुलिरहँदा मन फुरुंग हुन्छ। यही वेला पुगिन्छ, चमत्कारी चीनको रौनकता विचरण गर्न। सायदै कुनै देश होला, जसले चीनमा उत्पादित सामान उपभोग नगरेको होस्। चीनका उत्पादनले सिमाना काटेर अमेरिकादेखि अफ्रिकासम्म ढाकेका छन्। चीन आफैँ पनि झकिझकाउ छ। सेन्जेन होस् अथवा सांघाई, व्यापारिक क्षेत्रका रूपमा विश्वकै अद्वितीय नमूना बनेको सुन्दर दृश्य देख्न पाइन्छ। परिश्रमी र अनुशासित जनता, अत्याधुनिक प्रविधिको प्रयोग, पर्यटन प्रवर्धनसँगै देङ सियाओ पिङको आर्थिक उदारीकरणको नीतिले चीनको विकासमा पर्याप्त भूमिका खेलेको छ।
तर, चीनको अर्को अँध्यारो पाटो पनि छ। नियात्राकार तिआननमेन चोक पुग्छन्, जहाँ सन् १९८९ मा स्वतन्त्रताको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका हजारौँ विद्यार्थीमाथि चिनियाँ सेनाले बुल्डोजर चलाएर हत्या गरेको थियो। चीनको ऐतिहासिक महत्त्वको ठाउँ माओ मेमोरियलमा निदाएझैं देखिने माओको शव निरीक्षण गर्दै गर्दा उनी मस्कोमा राखिएको लेनिनको शव सम्झन्छन्। बेइजिङ शहरको प्यालेस म्यूजियम, जिन्सेन पार्क, बेहाई पार्क, लोटस पार्कको रौनक र भव्यता अनुभूत गर्दै विश्वको सातौँ आश्चर्य ग्रेटवालको भ्रमणमा पुग्छन्।
रुस पुगेपछि लियो टोल्स्टोयलाई सम्झिनैपर्छ। रुसको यास्नाया पोल्यानामा जन्मेका टोल्स्टोयले ‘वार एन्ड पिस’, ‘अन्ना करेनिना’ ‘डेथ अफ इभान इलिच’ जस्ता प्रसिद्ध पुस्तक लेखे। उनका सन्दर्भमा अनेक रोचक र गम्भीर प्रसंगले यात्रा संस्मरण कौतूहलमय बनाएको छ।
५० जना दासदासी सेवामा खटिएका उच्चकुलीन परिवारमा जन्मेका टोल्स्टोयका कृतिमा भने निम्नदेखि उच्च वर्गसम्मका पात्रहरूको चित्रण छ। उनी विवाहपूर्व वेश्यालय पुगेका, जुवा खेलेका, जीवनका आखिरी क्षणहरूमा सांंसारिक मायामोहप्रति वैराग्य उत्पन्न भएको, ८२ वर्षको उमेरमा रातको समयमा घर छाडेका जस्ता प्रसंग रोचक छन्।
मनोरञ्जनको अन्तर्राष्ट्रिय राजधानीका रूपमा ख्याति कमाएको नेभादा मरुभूमिमा अवस्थित भेगास शहर विगतको आणविक परीक्षणको थलो पनि हो। वर्षेनी चार करोडभन्दा बढी पर्यटक पुग्ने भेगास शहरको यात्राका क्रममा नियात्राकारले कोलोराडो नदीमा बनाइएको विशाल हुभर बाँधको निरीक्षण गरेका छन्।
दागेस्तानको यात्रामा हिमाल, पहाड, खोला, जङ्गल हेर्दै गर्दा नियात्राकारले नेपाली भूमिमै उभिएको अनुभूति गर्छन्। त्यहाँको भौगोलिक अवस्थिति मात्र नभई जातीय सांस्कृतिक विविधता पनि मिल्दोजुल्दो छ। लडाकु छवि भएका त्यहाँका जनतासँग वीर गोर्खालीहरूको गौरवगाथा तुलना गर्छन्। दागेस्तानी नागरिकहरूले कवि कलाकारप्रति देखाएको श्रद्धा समर्पणको भाव देखेर छक्क पर्छन्।
तर, आफ्नो देशमा राजनीतिक, जातीय अनेक झमेलामा कवि कलाकार अपमानित हुने गरेको, शालिक तोडफोड हुने गरेको तीतो यथार्थ सम्झन्छन्। दागेस्तानीहरूले कवि रसुल गोम्जातोकप्रति प्रकट गरेको सम्मानभाव अनुकरणीय छ। दागेस्तानी कवि रसुलले नेपालको भ्रमणपछि यहाँको प्रकृति र संस्कृतिको महिमागान गर्दै दुई वटा पुस्तक लेखेको नियात्राकारले उल्लेख गरेका छन्।
त्यसपछि पुग्छन्, भौतिक विकासले भरिपूर्ण अमेरिकाको लसभेगास शहर। मनोरञ्जनको अन्तर्राष्ट्रिय राजधानीका रूपमा ख्याति कमाएको नेभादा मरुभूमिमा अवस्थित भेगास शहर विगतको आणविक परीक्षणको थलो पनि हो। वर्षेनी चार करोडभन्दा बढी पर्यटक पुग्ने भेगास शहरको यात्राका क्रममा नियात्राकारले कोलोराडो नदीमा बनाइएको विशाल हुभर बाँधको निरीक्षण गरेका छन्।
उनी पूर्वी जर्मनको यात्रामा निस्कँदा सर्वप्रथम वाइमर शहरस्थित बुखेनभाल्ड बन्दीगृह (अहिले संग्रहालय) को अवलोकन गरेका छन्। हिटलर निर्मित यातनागृह चहारिरहँदा कैयौँ मान्छेको दारुण स्वर, भय र चित्कारका प्रतिध्वनि गुञ्जायमान भइरहे झैँ लाग्ने भित्ताहरू पाठकले पनि अनुभूति गर्न सक्छन्। यहाँ ६० लाख यहुदीको नरसंहार गरिएको थियो।
हेरीबेर्ट जर्मन नागरिक हुन्। यद्यपि हृदयमा अटाएको उनको नेपालप्रेमका कारण भिसेन्ट गाउँमा ‘सानो नेपाल’ बनाएका छन्। भिसेन्ट गाउँको एउटा जंगलभित्र नेपाली प्रकृति, कला, संस्कृतिको बेजोड प्रदर्शन छ। जर्मनीको फ्र्यांकफर्टबाट ३५० किमिमा छ, भिसेन्ट गाउँ। विदेशी नागरिकले नेपालप्रति त्यति धेरै माया प्रकट गरिरहँदा निकै खुशी छन्, नियात्राकार।
देश देशावरको यात्रामा नियात्राकार कतै युद्धका घाउ कोट्याउँछन्। कतै रोमाञ्चकारी दृश्य देखाउँछन्। कतै क्रूर शासन व्यवस्थाले छोडेको जनताको चित्कार सुनाउँछन्। कतै सुशासन, स्वतन्त्रता र भ्रातृत्वमा रमेका जनताको उत्साह र खुशी देख्छन्। विविध परिस्थिति नियाल्दै गर्दा अन्ततः आफ्नै देश नेपाललाई स्मरण गर्छन्।