'राम्रो रचना मीठो नेपाली' को कथा
'राम्रो रचना: मीठो नेपाली' पुस्तक मैले हडबडीमा नै लेखेको हुँ, मिहिनेत चाहिँ प्रशस्तै पर्यो। पुस्तक निस्केपछि यसले धेरै श्रेय पायो। आवश्यकता र अनुभवले मलाई यसतर्फ आकर्षित गराएको थियो।
मलाई भाषाप्रतिको चाख आफ्नो लेखनयात्राको आरम्भदेखि हुँदै आएको हो। पछि त यसप्रति झन् बिछट्टै प्रेम लाग्न थाल्यो।
भाषाप्रति कति चाख, कति प्रेम थियो भने यसमा लाग्दा मैले रात भनिनँ, दिन भनिनँ। झन्डै आपद् पनि पर्यो, तर टर्यो। कुरा हो, २०२२ साल सकिँदा-नसकिँदैको। म 'राम्रो रचना : मीठो नेपाली' तयार पार्दै थिएँ। मलाई सल्लाह गर्नु थियो, उपयोगी केही पुस्तक भए लिनु पनि थियो।
पहिले कमलपोखरीको साहित्य सेवा सदनमा श्यामप्रसादकहाँ गएँ। त्यहीँ सात बजिसकेको थियो। त्यो दिन शनिबार थियो। अर्को दिन फुर्सद नहुने, रात्रि शिक्षण संस्थान जानुपर्थ्यो। ढिलो हुने भए पनि त्यहाँबाट हिँडेर नयाँसडक हुँदै झोंछे, न्हुसाल पुगेँ- भैरव अर्यालसँग भेट्न। भैरव र म यति मस्त भयौं, कुरा गर्दागर्दै राति सवा एघार पो बजेछ। 'ढिलो भयो' भनेर म हिँडेँ र नयाँसडक भएर सरासर आएँ।
भाषाप्रति कति चाख, कति प्रेम थियो भने यसमा लाग्दा मैले रात भनिनँ, दिन भनिनँ। झन्डै आपद् पनि पर्यो, तर टर्यो। कुरा हो, २०२२ साल सकिँदा-नसकिँदैको। म 'राम्रो रचना : मीठो नेपाली' तयार पार्दै थिएँ। मलाई सल्लाह गर्नु थियो, उपयोगी केही पुस्तक भए लिनु पनि थियो।
बाटामा मुस्किलले एक-दुई जना मानिस भेटिए, नत्र एकदमै शून्य; तैपनि म बाटैबाटो हिँडेर रानीपोखरी नाघी राष्ट्रिय नाचघरनेर पुगेँ। त्यसै बेला पाइन्ट, ज्याकेट लगाएका दुई जना हट्टाकट्टा मानिस उभिएका भेटिए। तीमध्ये एउटाले भन्यो- “ए भाइ, कति बज्यो?"
त्यहीँबाट घण्टाघर देखिँदै छ। त्यसमाथि खाइलाग्दा मानिस छन्, तैपनि 'कति बज्यो ?' भनेर सोध्छन्। मैले झस्के पनि संयत भएर भनेँ- “बाह्र बज्नै लाग्यो।”
"बाह्र बज्नै लाग्यो भनेको के ?" निहुँ खोज्ने ढाँचामा अर्कोले भन्यो र नारीतिर हात ल्यायो। मनमा लाग्यो- जीउमा केही नगरे हुन्थ्यो र ब्यागका किताब चाहिँ नखोसे हुन्थ्यो। म एकदमै असुरक्षित स्थितिमा पुगिसकेको थिएँ। तारतम्य पनि गजबकै हुन्छ। त्यसै बेला भानुभक्तको सालिक नाघेर एक हूल मानिस आए- लोग्नेमान्छे, आइमाई, ठिटाठिटी, चार-पाँच जना त खर्पनमा भाँडाकुँडा बोकेका र पटुका बाँधी इस्टकोट लगाएका मानिसहरू पनि। सके कतै (भद्रकालीतिर) भोजमा पुगेर आएका थिए।
तिनीहरूलाई देख्नासाथ एउटाले भन्यो- “ए भैगो, हिँड् !"
अर्कोले फुसफुसायो- “कस्तो कुसाइत पर्यो !"
उनीहरू हिँडे। ट्याक्सी थोरै थिए त्यस बेला, त्यसमाथि राति, तैपनि एउटा ट्याक्सी कतैबाट आइपुग्यो। म 'ट्याक्सी !' भनेर चिच्याएँ। चालकले ट्याक्सी रोके। म चढेर ठमेल डेरामा पुगेँ। त्यस बेला हरिहरभवन पुलचोकबाट ठमेल ट्याक्सीमा जाँदा पाँच रुपियाँले कुरुक्षेत्र हुन्थ्यो, राष्ट्रिय नाचघरबाट ठमेल महिला संगठननेर पुग्दा कति नै लाग्थ्यो र; तैपनि मैले डबल (दुई गुना) दिएँ। ड्राइभर पनि खुसी नै भए। म डेरामा पुगेँ र भनेँ- 'जय भाषा भवानी ! धन्य बाँचेँ।"
त्यस्तो बेलामा पनि लेखिएर छापिएका हुन् मेरा भाषिक कृति। हिँड्दाहिँड्दै निदाएँ हुँला भन्ने प्रसङ्ग छ 'राम्रो रचना : मीठो नेपाली'मा। नेपोलियन घोडा चढ्दा निदाएका थिए रे एकै छिन। म पनि घण्टाघरदेखि कमलादी गणेशथानसम्म जाँदा निदाउन पुगेको थिएँ साइकलमा। ओरालोमा साइकल सुल्ल हिँडेछ। पछि पो झस्केर हेरेँ। तै भीड नभएकाले केही हुन पाएन।
'राम्रो रचना: मीठो नेपाली' पुस्तक मैले हडबडीमा नै लेखेको हुँ, मिहिनेत चाहिँ प्रशस्तै पर्यो। पुस्तक निस्केपछि यसले धेरै श्रेय पायो। आवश्यकता र अनुभवले मलाई यसतर्फ आकर्षित गराएको थियो। यिनै कुरा मैले 'ढोकामा फूलपाती लिएर' शीर्षक आफ्ना कुरामा भनेको छु। हुन पनि हो- "सपनाले गीत गायो, विपनाले फूल फुलाए, तर यो काम निकै उकालो पर्ने थियो।"
नेपाली रचना राम्रो पनि होस् र मीठो पनि होस् भन्ने म चाहन्थेँ। त्यसैका निम्ति यो पुस्तक लेखेको हुँ। काठमाडौँमा भन्दा वाराणसी (बनारस) मा छपाइ छिटो र राम्रो हुन्थ्यो। यसको प्रथम संस्करण बनारसमा मुद्रित भयो। दुइटा प्रेसमा छाप्नुपरेकाले पूर्वांश र उत्तरांश गरी गाभिएको थियो। आफ्ना कुरामा भनेको छु- “वनभरि राताम्मे जुन फूल फुलेका छन्, ती सबले शीत र बर्सातको आँसु र असिना र घामको सङ्घर्ष भोगेका छन्- राम्रो रचना: मीठो नेपाली त्यसै उपमाको कथा हो। ... यस पुस्तकले नेपाली भाषा र साहित्यको अलिकति पनि सेवा गर्यो भने आफ्नो प्रयास सफल भएछ ठानुँला।"
पुस्तकमा अर्को ठाउँ मैले लेखेको छु- 'राम्रो रचना: मीठो नेपाली' यो पुस्तकको मन परेको नाउँ हो। यसको अभिप्राय: त्यस किसिमको ज्ञान गराउने भन्ने हो, तर यत्तिमै यो सीमित हुँदैन। यसको अर्थ आफ्नै किसिमको नमुना हुनु र गहिराइमा लैजान खोज्नु पनि छ। सीप र विचारका नवीनता पनि यसका लक्ष्य हुन्। यसरी नै यस पुस्तकको अभिप्राय: राम्रो रचना र मीठो नेपालीको अनिवार्य आवश्यकताप्रति सङ्केत समेत हो। यसले विचार गरेर बोल्ने र लेख्ने बानी पर्ला भन्ने आशा पनि छ।"
'राम्रो रचना: मीठो नेपाली'लाई नेपालका विशिष्ट तीन साहित्यकारलाई हेर्न दिएको थिएँ र तिनका मन्तव्यसहित पुस्तक निकालेँ। उनीहरू हुन्- बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली र माधवप्रसाद घिमिरे । पहिलो संस्करणको आवरण वरिष्ठ कलाकार लैनसिंह बाङ्देलको सौजन्य-सहयोगमा बनेको हो।
'राम्रो रचना: मीठो नेपाली' निकै लोकप्रिय भयो । खास गरी उच्च तहमा यो पुस्तक नपढ्ने मानिस कोही भएन होला। कतिले मेरो नाम नै राम्रो रचना मीठो नेपाली भने र त्यस्तै कल्पना गरे । एसएलसी (प्रवेशिका) परीक्षा दिने छात्रहरूले पनि यो पुस्तक पढेर आफ्नो भाषा तिखारे। २०३८ सालमा बोर्ड प्रथम हुने छात्रा लुना भट्टले त आफ्नो राम्रो नेपाली हुनुमा राम्रो रचना: मीठो नेपाली पनि भएको कुरा अन्तर्वार्तामा भनेकी थिइन् र तत्कालीन गोरखापत्रमा प्रकाशित भएको हो।
'राम्रो रचना: मीठो नेपाली'लाई नेपालका विशिष्ट तीन साहित्यकारलाई हेर्न दिएको थिएँ र तिनका मन्तव्यसहित पुस्तक निकालेँ। उनीहरू हुन्- बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली र माधवप्रसाद घिमिरे । पहिलो संस्करणको आवरण वरिष्ठ कलाकार लैनसिंह बाङ्देलको सौजन्य-सहयोगमा बनेको हो।
'राम्रो रचना: मीठो नेपाली' माथिल्लो तहको भयो। नभन्दै पछि विश्वविद्यालयहरूले यसलाई उपल्लो स्तरसम्म पाठ्य/सन्दर्भ पुस्तकमा स्वीकृति दिएर राखे। प्राथमिक स्तरका निमित्त रचना-व्याकरणको अर्को सानो पुस्तक पनि चाहियो भन्ने भयो, सहयोगी प्रकाशनका रमेशकुमार शर्माको पनि त्यही चाहना थियो र नेपाली व्यावहारिक व्याकरण लेखेको हुँ त्यस बेला। माधव घिमिरेबाट मन्तव्य पाएँ। यसले पनि धेरै वर्ष आफ्नो ठाउँ लियो।
२०२८ सालदेखि नयाँ शिक्षा योजना शुरू भयो। २०२९ देखि काठमाडौँमा पनि लागू भयो। त्यस बेलामा पाठ्यक्रममा पाठ्यपुस्तक नै भाषाव्याकरणका लागि पर्याप्त छ भन्ने धारणा राखियो, तर विद्यार्थीहरूका लागि यो त्यति उपयुक्त र पाच्य भएन। त्यसैले मैले 'प्रयोगात्मक भाषातत्त्व' लेखेँ- सरल, सहज, स्वाभाविक र व्यावहारिक रूपमा। विद्यालयका शिक्षक र विद्यार्थीहरूले यसलाई मन पराए। माध्यमिक तहको भाषाव्याकरणका क्षेत्रमा यो निकै सहयोगी साबित भयो।
'प्रयोगात्मक भाषातत्त्व' को प्रयोग र प्रयोजनका विषयमा मैले लेखेको थिएँ- "भाषा भाव प्रकाशनको महत्त्वपूर्ण साधन हो। यसको रूपरङ्गमा फिटिएको मथिङ्गल नै भाषिक शिल्प र क्षमताको विकास गर्दै ज्ञानका किरण समेट्न समर्थ हुन्छ। नेपाली भाषाको रूप र बान्की, शुद्धता र कुशलतासित परिचित हुन यसै भाषाको प्रकृतिअनुसार बेलैदेखि अध्ययन हुनुपर्छ। यस्तो अध्ययनबाट हुने प्राप्ति रटेर पनि हुन्न, घोकेर पनि हुन्न। यसका निम्ति त सजिलो र वैज्ञानिक उपाय अँगाल्नुपर्छ र प्रयोगकुशलता नै महत्त्वपूर्ण माध्यम हुन्छ। 'प्रयोगात्मक भाषातत्त्व' यस दिशाको एउटा उपहार हो। अचेल विद्यालयको पाठ्यांशमा 'भाषातत्त्व' व्याकरण तथा रचनाको पर्यायका रूपमा छ। त्यसलाई प्रयोगात्मक रूप दिइएकाले यो पुस्तकको नाउँ प्रयोगात्मक भाषातत्त्व रहेको हो। ..."
'राम्रो रचना: मीठो नेपाली' देखि 'प्रयोगात्मक भाषातत्त्व' तथा 'लोलीबोली' सम्मका कृतिद्वारा म नेपाली भाषाको सेवी वा गुरु हुन पुगेँ। खुसी लाग्छ।
(साहित्यकार एवम् भाषासेवी पराजुलीको २०६६ सालमा प्रकाशित आत्मकथा 'शिखरयात्रा' को 'साहित्ययात्राको मध्य याम' खण्डबाट।)
गीत, कविता, भाषा-व्याकरण, बालसाहित्य आदि क्षेत्रमा कलम चलाएका कृष्णप्रसाद पराजुलीले नेपाली भाषा-साहित्यमा मनग्गे योगदान गरेका छन्। भाषा-व्याकरणमा 'राम्रो रचना: मीठो नेपाली' उनको अधिक रुचाइएको पुस्तक हो। योसहित पराजुलीका कविता, कथा, निबन्ध प्रबन्ध, भाषाव्याकरण, लोकसाहित्य, बालसाहित्यका गरेर ५० को हाराहारीमा पुस्तक प्रकाशन भएका छन्। २४ असार १९९२ मा जन्मिएका उनको २० चैत २०७० मा ७९ वर्षको उमेरमा निधन भएको थियो।