महामारीको मारले वितृष्णा- ‘कस्तो देशमा जन्मिएछु!’
कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएका तथा पेशाबाटै विस्थापित भएका कैयौं युवा एक वर्षदेखि आर्थिक संकट त झेलिरहेका छन् नै, उनीहरूमा वितृष्णा पनि पैदा भएको छ।
बिहान झिसमिसेमै ट्याक्सी लिएर तिनकुने, कोटेश्वर हुइँकिने गणेश तामाङ आजभोलि भने गोठमा भेटिन्छन्। बस्तुभाउसँग रमाउन खोजे पनि उनको मन एउटा कुराले घरीघरी घोचिरहन्छ, ‘कस्तो देशमा जन्मिएछु!’ उनी भन्छन्, “कस्तो देशमा जन्मिएछु। म अलग्गै ठाउँमा भएको भए यस्तो हुँदैनथ्याे कि। यो परिवारमा नजन्मेर धनी परिवारमा जन्मेको भए अर्कै हुन्थ्यो कि भन्ने मनमा आँउछ।”
उनको मनमा देशप्रति त्यसै यस्तो वितृष्णा जागेको होइन्। राज्य र त्यससँग जोडिएका विभिन्न संस्थाले उनलाई यस्तो बनाएका हुन्। उनी देशमै काम गर्ने भनेर विदेशबाट फर्केका थिए। विदेशमा ६ वर्ष बस्दा दिनको १६ घन्टा काम गरेर ल्याएको ५ लाख रूपैयाँमा ब्यांकबाट लिएको ऋण थपेर उनले ट्याक्सी किनेका थिए।
“फोन गरेर साह्रै तनाव दिएपछि लकडाउनमा ६० हजार खोजेर ब्याज दिएँ। दिएको १५ दिन भएको छैन, फेरि फोन आउँछ। पैसाको लागि ताकेता गर्छ,” तामाङ महामारीको पीडा सुनाउँछन्, “एक त कमाइ हुँदैन, त्यसमाथि ब्यांकको ताकेताले तनाव भयो। त्यस्तोमा ट्याक्सी चलाउँदा त झन् अर्को दुर्घटना हुनसक्छ। त्यो तनावबाट मुक्त हुन गाडीको चाबी ब्यांकमा बुझाएर आएँ।”
तर, कोरोना भाइरसको महामारीमा ब्यांकले त्यही ट्याक्सी पनि खोस्यो। “फोन गरेर साह्रै तनाव दिएपछि लकडाउनमा ६० हजार खोजेर ब्याज दिएँ। दिएको १५ दिन भएको छैन, फेरि फोन आउँछ। पैसाका लागि ताकेता गर्छ,” तामाङ महामारीको पीडा सुनाउँछन्, “एक त कमाइ हुँदैन, त्यसमाथि ब्यांकको ताकेताले तनाव भयो। त्यस्तोमा ट्याक्सी चलाउँदा त झन् अर्को दुर्घटना हुनसक्छ। त्यो तनावबाट मुक्त हुन गाडीको चाबी ब्यांकमा बुझाएर आएँ।”
ऋणको किस्ता र ब्याज तिर्न नसकेपछि ७ कात्तिक २०७७ मा उनले ब्यांकलाई ट्याक्सी मात्रै बुझाएनन्, आफ्ना सपना पनि बुझाए, जुन विदेशमा काम गर्दा देखेका थिए। त्यसयता भने उनको दिमागमा त्यही कुरा आइरहन्छ, ‘कस्तो देशमा जन्मिएछु!’
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न ११ चैत २०७७ देखि सरकारले लकडाउन गर्यो। देश ठप्प भयो। ट्याक्सी नचलेपछि कमाइ भएन। त्यस्तो बेला सरकारले सहयोग गरेको भए यसरी ट्याक्सीको चाबी ब्यांकलाई बुझाउनुपर्दैनथ्यो भन्ने लाग्छ, उनलाई।
ब्यांकलाई ट्याक्सीको चाबी बुझाएर फर्किँदा उनको मनमा नराम्रा कुरा पनि आएका थिए। तैपनि उनी आफूलाई सम्हाल्दै गाउँ फर्के। ‘‘गाउँघरमै यत्तिकै कसरी बस्ने भनेर कृषि गर्ने फार्म तयार गरेँ। गाई, बाख्रा, कुखुरा, बुंगुर पाल्न थालेँ,” तामाङ भन्छन्।
अहिले पनि उनी झिसमिसेमै बिउँझिन्छन्, ट्याक्सी हुइँक्याउँदै तीनकुने, बानेश्वर होइन, गोठ पुग्छन्। “बिहान पानी ल्याउने, कुँडो पकाउने, भुसा काट्ने। कुँडो र भुसा दिएपछि दूध दुहुने। घाँस हाल्ने। त्यसपछि दूध लिएर डेरीमा जाने,” अहिले उनको कामको तालिका यस्तो छ।
बस्तुभाउसँग रमाउन खोजे पनि उनले ट्याक्सीलाई बिर्सिन सकेका छैनन्। “सरकारले व्यवसाय चलाउन दिएको भए, यो व्यवसायबाट यसरी हटेर बस्नुपर्ने थिएन,” उनी भन्छन्।
समयमै कोरोना संक्रमण नियन्त्रण गर्न सकिएको भए वा सरकारले सघाएको भए आज उनको ट्याक्सी सडकमा हुइँकिइरहेको हुने थियो।
“यत्रो कोभिडको समयमा कुनै पनि मजदुरलाई सहुलियत दिएर परीक्षण गराइएन। अब अहिले खोपको सन्दर्भमा मजदुरहरूको कुरै आउँदैन्,” मजदुरका नेतादेखि प्रधानमन्त्रीसम्म कसैले ध्यान नदिएको बताउँदै चालक बोहोरा भन्छन्, “राजनीतिज्ञ, स्वास्थ्यकर्मी, पत्रकार, माथिल्लाहरूले पाउने हुन।”
महामारीको मारमा परेका अर्का ट्याक्सी चालक सागर बोहोरासँग गणेशको जस्तो जमिन र सीप छैन। त्यसैले उनी विदेश जान खोज्दै छन्। “राहदानी समात्दै गर्दा र मेनपावरमा जान्छु भन्दा मन चिसो हुन्छ,” बोहोरा भन्छन्, “दैनिक राहदानी उचाल्दै गर्दा मलाई मेरो माटोले सराप्छ जस्तो लाग्छ। तर, आदर्शवादी कुराले त चल्दैन।”
गुजारा चलाउन विदेश जानुपर्ने अवस्था आएको उनी बताउँछन्। “आमाबाउको उपचार गर्न, छोराछोरीको पढाइ खर्च,” उनी एकएक गरेर सुनाउँदै भन्छन्, “विकल्पै नभएपछि विदेशिन पर्यो नि। मेरो मन चिसिन्छ भनेर जिन्दगी नै बर्बाद पार्न त सक्दिनँ।”
उनी स्वदेशमा काम गर्न मन नलागेर विदेश जान लागेका भने होइनन्। उनले दिनको १६ घन्टासम्म काम पनि गरेका थिए। “पहिला त केही मान्छेहरू ट्याक्सी चढने गर्थे। उनीहरूसँग पनि पैसा हुने गर्थ्याे। कोरोनाको मारले अहिले आर्थिक रूपमा कमजोर भएपछि मान्छेहरू घन्टाैं लाइन बसी गाडी चढेर जान्छन्। ट्याक्सी चढ्दैनन्,” बोहोरा भन्छन्, “अहिलेको अवस्थामा दिनमा ५ सय कमाउन पनि धौधौ छ। त्यसले साहूलाई के तिर्छन्, घरभाडा कसरी तिर्छन्, तेल कसरी हाल्छन्?”
लकडाउनमा बिचल्ली पर्दा पनि सरकारले मजदुरलाई सहयोग नगरेको उनी गुनासो गर्छन्। कोरोना परीक्षणमा पनि मजदुरलाई नहेरेको र अहिले खोप आउँदा पनि मजदुरलाई वास्ता नगरिएको उनी बताउँछन्। “यत्रो कोभिडको समयमा कुनै पनि मजदुरलाई सहुलियत दिएर परीक्षण गराइएन। अब अहिले खोपको सन्दर्भमा मजदुरहरूको कुरै आउँदैन,” मजदुरका नेतादेखि प्रधानमन्त्रीसम्म कसैले ध्यान नदिएको बताउँदै चालक बोहोरा भन्छन्, “राजनीतिज्ञ, स्वास्थ्यकर्मी, पत्रकार, माथिल्लाहरूले पाउने हुन्।”
ट्याक्सी छ, त्यसमा चढ्ने मान्छे छैनन्। अलिअलि आम्दानी हुन्छ, तर त्यसले ऋण, किस्ता र ब्याज तिर्नै पुग्दैन। घरखर्चका लागि पैसा लिँदा साहु बढ्दैछन्, तर कमाइको बाटो खुलेको छैन। त्यसैले अरू ट्याक्सी चालक पनि चिन्तित छन्। “यही विषयमा सोच्दासोच्दा राति निद्रा लाग्दैन, यसले पिरोलिरहेको छ,” उनी भन्छन्, “आकाश छुने ऋण छ। किन ऋण लाग्यो? कहीं घर किनेको, खेत किनेको, विवाह गरेको, पढेको ऋण हाेइन। ट्याक्सी चलाउँदा ट्याक्सीले मलाई बोकाएको ऋण हो।”
महामारीले गर्दा काम नभएपछि ऋण थपिँदै गएको उनी बताउँछन्। अब भने तिर्नै नसक्ने अवस्थामा पुगेको उनी सुनाउँछन्। ‘अथाह पुगिसक्यो, कल्पना गर्न सक्दिनँ,” उनी भन्छन्, “ऋण तिर्न नसक्ने भनेपछि अन्तिम विकल्प विदेश हो।”
“म कक्षाकोठामा भए पनि पर्यटकसँगै बसेको, हिमालतिर पुगिरहेको सपना देखिरहेको हुन्छु।”
मजदुर मात्रै होइन, टुरिस्ट गाइड पनि महामारीको मारमा परेका छन्। ११ वर्षदेखि पर्यटकलाई घुमाउँदै आएका शंकर भट्टराईको पेशा कोरोना महामारीपछि खोसियो। “जब कोभिडको समस्या आयो, कामबाट विस्थापित भएँ। अहिले शिक्षण पेशामा आबद्ध छु,” उनी भन्छन्।
अहिले विद्यार्थीलाई पढाउँदै आएका उनी सरकारले समेत नपत्याएपछि शिक्षण पेशा अँगाल्न बाध्य भएको बताउँछन्। “यो रहरको पेशा हैन, बाध्यताले हो,” भट्टराई भन्छन्, “म कक्षाकोठामा भए पनि पर्यटकसँगै बसेको सपना देख्छु। हिमालतिर पुगिरहेको सपना देखिरहेको हुन्छु।” हृदयदेखि नै शिक्षण गर्न नसकेको उनी बताउँछन्।
यसबीचमा उनले जापान जान कोसिस पनि गरेका थिए। तर, त्यो पनि सफल नभएको बताए। अन्य रोजगारी पनि नपाउँदा अप्ठ्यारो परेको उनी सुनाउँछन्। टुरिस्ट गाइड भट्टराई सरकारसँग आग्रह गर्छन्, “म पर्यटन क्षेत्रमा लागेर खत्तमै भएछु भन्ने महसुस नगराइदेऊ। यो भनेर सराप्ने दिन नआओस्।”
अर्की टुरिस्ट गाइड उत्रा मानन्धरले पनि यस्तै समस्या भोगेकी छिन्। १६ वर्ष पर्यटन क्षेत्रमा बिताएकी उनी अहिले पढाउँदैछिन्। पर्यटन क्षेत्रमा लागेपछि अर्को पेशामा लाग्न मुस्किल हुने उनको अनुभव छ। कहिले पर्यटक आउलान् र उनीहरूलाई लिएर फेरि डाँडापाखा घुम्न पाइएला भन्ने लागिरहेको बताउँदै मानन्धर भन्छिन्, “कहिले टुरिस्ट आउलान्, कहिले यो सबै ठिक होला र आफ्नो ज्ञान सेयर गरौँला भन्ने लागेको छ।”
टुरिस्ट गाइडको जस्तै टुरिस्ट बस्ने होटलहरूको अवस्था पनि दयनीय छ। पर्यटक नआउँदा होटल चल्न सकेका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमै रहेको एयरपोर्ट होटलका सञ्चालक विनायक शाह अझै पनि होटल खालीखाली जस्तै रहेको बताउँछन्। “हामीसँग ६२ रुम छन्। पहिले ६५-७० प्रतिशत अकुपाई हुन्थ्यो, अहिले त ७-१० प्रतिशतको हाराहारीमा मात्र छ,” तीन तारे होटल एयरपोर्टका सञ्चालक शाह भन्छन्, “एकदम भीडभाड हुन्थ्यो। झन्डै १०० कर्मचारीले काम गर्थे। अहिले १०-१२ जना कर्मचारी राखेर काम गरिरहेका छौँ। १० जनाको पनि पारिश्रमिक दिन, बत्तीको पैसा तिर्न गाह्राे हुन्छ।”
नेपालका होटलमा अर्बौं रूपैयाँ लगानी भएको छ। उनीहरूले करोडौँ राजस्व तिर्थे। धेरैलाई रोजगारी दिन्थे, तर कोरोनाले गर्दा नेपालका साना, मझौला र ठूला सबै खालका होटलमा मार परेको छ। “मार सबैलाई हुन्छ। साना र मझौला होटलको खर्च पनि कम हुन्छ। ठूला होटलहरूको खर्चको अनुपात धेरै हुन्छ,” शाह भन्छन्, “एक पैसा पनि छैन, आम्दानी। अनि १ महिना हैन, वर्ष दिनसम्म कसरी धान्ने भन्नुस् न। घरघरानाबाट ल्याउने पनि हद हुन्छ नि।”
पर्यटन क्षेत्र बामे सर्दै गरेका बेला यस क्षेत्रलाई समृद्ध बनाउन होटल व्यवसायीहरूले अनेक भूमिका खेलेका छन्। अहिले समस्या पर्दा सरकारले उनीहरूलाई सघाएको छैन। सरकारलाई चाहिँदा क्वारेन्टिनका लागि होटल दिएका थिए, तर सरकारले होटल सञ्चालन गर्न सहयोग नगरेको उनीहरूको गुनासो छ।
जसले गर्दा माओवादी सशस्त्र द्वन्द्वमा जस्तै होटल बन्द हुने अवस्था आएको व्यवसायी बताउँछन्। “द्वन्द्वताका काठमाडौँका नाम चलेका तारे होटलहरू जस्तै शेर्पा होटल, ब्लू स्टार होटल, नारायणी होटल बन्द भएका छन्। आम्दानी भएन, खर्च बढी भयो, बन्द भयो,” शाह भन्छन्, “त्यो समय आजको दिनमा प्रखर भएर आएको छ। आज पनि ठूला होटलहरू बन्द गरेर कम्प्लेक्स बनाउने, हस्पिटल बनाउने, स्कूल चलाउने। त्यो अवस्था आई नै सकेको छ।”
यसरी तारे होटलहरूको आम्दानी नहुँदा मजदुरलाई ठूलो मार परेको छ। उनीहरूमध्ये कतिले रोजगारी गुमाएका छन्। रोजगारी पाउनेले पनि उचित पारिश्रमिक पाएका छैनन्। स्वतन्त्र होटल क्यासिनो रेस्टुरेन्ट मजदुर युनियनका उपमहासचिव कमल घिमिरे मजदुरलाई दैनिक गुजारा चलाउन पनि गाह्रो भएको बताउँछन्। “हामीले पूरै तलब मागेका छैनाैं। कोठाभाडा, बालबच्चा पढाउने, दालभात खाने भनेको हो। दुई टाइम तातो दाल, भात मात्र मागेको हो, त्यो पनि काम गरेबापत,” उनी भन्छन्। त्यही पनि नपाएको उनको भनाइ छ।
यो अवधिमा तारे होटलका मजदुरले रोजगारी गुमाएका छन्। सोल्टीबाट १२५ जना, रेडिसनबाट ९० जना, अन्नपूर्णबाट ६० जना, सांग्रिलाबाट १२० जनाले रोजगारी गुमाएको उपमहासचिव घिमिरेले बताए।
खोपकै भर
नेपालमा पहिलो पटक १० माघ, २०७६ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। यो महामारी सामना गर्न देशले विभिन्न चरण गरी ६ महिनाको चर्को लकडाउन खेप्यो। मानिसले घरभित्रै थुनिएर महामारी रोकथाम गर्न सघाए। दिन, महिना र वर्ष बित्दा मानिसहरू रोगले भन्दा भोकले मरिन्छ भन्न थाले। यी सबै समस्याको समाधान एउटै थियोः कोरोनाविरुद्धको खोप। त्यसको निर्माण र परीक्षण सफल हुन झन्डै एक वर्ष कुर्न पर्यो।
कोरोना देखिएको एक वर्षपछि गत ८ माघमा भारतबाट ‘कोभिसिल्ड’ खोपको पहिलो खेप नेपाल आइपुग्यो। अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले विकास गरेको खोप भारतमा सेरेम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको होे। यति चाँडो आइपुग्ने कल्पना नेपाल सरकारले समेत गरेको थिएन। स्वास्थ्य मन्त्रालयको खोप विज्ञ समितिका संयोजक डा.श्यामराज उप्रेती भन्छन्, “कोरोनाविरुद्धको खोप चाँडै बन्यो। त्यो हामीले गरेको योजनाभन्दा पनि केही समय अघि नै नेपालमा उपलब्ध भएको छ।”
“मैले लगाएँ। मलाई केही भयो भने जिम्मेवारी लिइदिइने को? मर्ने मान्छे मर्छ, जान्छ। जिउने मान्छे जिउँछ। निःशुल्क दिए पनि मलाई त लगाउन मन लाग्दैन।”
खोप आइपुगेपछि पहिलो चरणमा जसलाई लगाउने भनिएको थियो, उनीहरूलाई लगाउने काममा भने अलमल भयो। पहिलो चरणको खोप लगाउन एक महीनाभन्दा बढी समय लाग्यो। खासमा यो काम पाँच दिनमा सकिन्छ भन्ने ठानिएको थियो। जनस्वास्थ्यविज्ञ डा.समीरमणि दीक्षित भन्छन्, “यो पाँच दिने अभियान भनिएको थियो। पाँच दिन, पाँच लाख। पाँच दिन पूरा हुँदा एक लाख पुगेन।”
पहिलो चरणको खोप स्वास्थ्य, सरसफाइ, पत्रकारिता क्षेत्रमा काम गर्ने मानिसका साथै नेपालमा रहेका कूटनीतिक नियोग र सरकारका कर्मचारीलाई लगाउने व्यवस्था मिलाइएको थियो। यी सबै क्षेत्रका केही मानिसले खोप लगाउन आनाकानी गरे। फागुनको पहिलो हप्ता थप खोप नेपाल आइपुग्यो। चीनको सहयोग, विश्व स्वास्थ्य संगठनमार्फत कोभ्याक्स सुविधाबाट थप खोप आउने क्रममा छ।
यसका लागि आवश्यक तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोप विज्ञ समितिका संयोजक डा. उप्रेती देशभर भण्डारण प्रणालीमा समस्या नभएको बताउँछन्। “अहिलेको हाम्रो थोकको भण्डारण, वितरण चुस्त नै छ। देशभरि खोप चलिरहेको छ। कुनै ठाउँ पनि भ्याक्सिन पुगेन, सामान पुगेन भन्नुपरेको छैन,” उनी भन्छन्।
अब २३ फागुनदेखि दोस्रो चरणमा सर्वसाधारणलाई पनि खोप दिइने भएको छ। तर, खोप लगाउन कति मानिस इच्छुक छन् त?
काठमाडौंमा कुराकानी गरेका केही सर्वसाधारणले खोप लगाउन अनिच्छा जाहेर गरेका छन्। विष्णु खत्री क्षत्री भन्छन्, “त्यो खोप लगाएर के हुन्छ? कतिपय मान्छे त्यत्तिकै सन्चो भइरहेका छन्।” अर्का अविनाश बड्तौलाले खोपले मान्छे स्वस्थ्य हुन्छ भन्ने विश्वास नभएको सुनाए। “खोपले नै मान्छे स्वस्थ्य हुन्छ भन्ने म मान्दिनँ। खोपले पनि नेगेटिभ, पोजेटिभ निकाल्छ, हेल्थ सिचुएसनले। म खोप राम्रो मान्दिनँ,” उनी भन्छन्।
त्यस्तै, देवेन्द्र थापा खोप लगाउँदा केही हुन्छ कि भन्ने चिन्तामा छन्। “जस्तै मैले लगाएँ। मलाई केही भयो भने जिम्मेवारी लिइदिइने को?” उनी प्रश्न गर्छन्। शीलादेवीलाई पनि त्यस्तै डर छ। उनी भन्छिन्, “मर्ने मान्छे मर्छ जान्छ। जिउने मान्छे जिउँछ। निःशुल्क दिए पनि मलाई त लगाउन पनि मन लाग्दैन।”
“अब हामीले त के खोप लगाइरहनु पर्यो र? आधा उमेर गइहाल्यो, अब कति नै बाँचिन्छ र? किन खोप लगाउनुपर्यो र?”
धेरै सर्वसाधारणमा खोप लगाएपछि केही हुन्छ कि भन्ने त्रास छ। त्यसैले उनीहरू खोप लगाउने इच्छा देखाइरहेका छैनन्। ज्येष्ठ नागरिक वीरबहादुर खड्का भन्छन्, “अब हामीले त के खोप लगाइरहनुपर्यो र? आधा उमेर गइहाल्यो, अब कति नै बाँचिन्छ र? किन खोप लगाउनुपर्यो र?”
वर्ष दिनअघि कहिले खोप बन्ला र खोप लगाएर सुरक्षित हुन पाइएला भन्ने चिन्ताले नेपालीलाई सताएको थियो। तर, अहिले मानिसले त्यो कुरा बिर्सिइसके। त्यसैले खोप नलगाउन मानिसहरू विभिन्न अत्तो थापिरहेका छन्। यता खोप लगाएर सुरक्षित महसूस भएको बताउने आशा प्रजापतिलाई भने कहिले खोप आउँछ र लगाउन पाइएला भन्ने थियो। उनी भन्छिन्, “ खोप आयो। मैले लगाएँ पनि र मलाई खोप लगाउँदा केही पनि भएन।”
नेपाली समाजले कोरोना महामारी भुलिसकेको छ
जब खोप आएको थिएन, सबै उत्साहित र सकारात्मक थिए। खोप लागाउनुपर्छ भन्दै हल्लाखल्ला गरे पनि। सामाजिक सञ्जाल तात्यो। अब खोप आयो, मान्छेहरू प्रश्न गर्न थालेका छन्।
पहिलो, शंकाको घेरामा बसेकालाई विश्वासमा लिन सक्नुपर्छ। सत्यतथ्य अघि सारेर, अभियानलाई सशक्त बनाउनुपर्छ। अहिले त पढेलेखेकाले लाइरहेका छन्, बुझेका छन्। भोलि गाउँघरमा नपढेका जहाँ शिक्षा राम्रो छैन, विकास त्यति पुग्न सकेको छैन, त्यहाँ लगाउने मान्छे नआउन सक्छन्।
अहिले नेपाली समाजले कोरोना महामारी भुलिसकेको छ। तर, भोलि कोरोनाको दोस्रो लहर नआउला भन्न सकिँदैन। बेलायत, पाकिस्तान, भारत लगायतका देशमा यस्तो लहरले धेरै मानिसको ज्यान लिएको छ।
यस्ताे बेलामा एकातिर केही मानिसहरू खोपप्रति शंका गरिरहेका छन्। अर्कातिर, यो खोप अरू खोप जस्तो गरी चाहिए जति मात्रामा उपलब्ध हुने छाँट छैन। त्यस्तैले शंकाको घेरमा रहेका मानिसलाई विश्वासमा ल्याउन गृहकार्य द्रुत गतिमा अभियान सञ्चालन गर्नुपर्छ।
सबैलाई खोप लगाउँन वर्षौं लाग्नसक्छ
डा. श्यामराज उप्रेती, संयोजक, खोप विज्ञ समिति, स्वास्थ्य मन्त्रालय
प्राथमिकताको आधारमा खोप दिँदैछौं। खोप उपलब्ध हुँदै जाँदा सबभन्दा बढी जोखिमलाई पहिला दिन्छौं, त्यसपछि कम जोखिमका लागि दिन्छौं।
नेपालको खोप कार्यक्रम सुदृढ कार्यक्रम हो। यही सुदृढ प्रणाली अनुसार नै कोभिडको खोप पनि लगाउँछौं। नेपालमा प्रयोग भएको कोभिसिल्ड खोप निकै प्रभावकारी हो।
भारतमा लाखौंले लगाएका छन्, अहिलेसम्म खोपकै कारण कसैको मृत्यु भएको र सिकिस्त भएको पाइएको छैन। नेपालमा पनि कुनै गम्भीर किसिमको असर छैन।
खोपको ठूलो मात्रामा अर्डर गरेपछि एकैपटक आउँदैन। त्यही आधारमा जोखिमहरूले पाउँदै जान्छन्। सबै नागरिकलाई खोप लगाउन वर्षौं लाग्नसक्छ। सन् २०२१ मा पूरै जनसंख्यालाई पुर्याउन गाह्रो हुन्छ।
अहिले सरकारले जुन समूहलाई खोप लगाउँदैछ, उनीहरूले लिइदिए भने सुरक्षित भइन्छ। जोखिममा रहेका २० प्रतिशतलाई सरकारले लगाउने तयारी छ। त्यसपछि निजी क्षेत्रले पनि लगाउनसक्ने व्यवस्था गर्न सकिन्छ।
दूध काम नलाग्ने भयो!
कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनसँगै दूध बिक्री हुन छाडेपछि मर्कामा परेका बाँकेका किसानले अझै पनि दूधको मूल्य पाउनसकेका छैनन्।
महामारीले मजदुरको मात्रै होइन, किसानको पनि कन्तबिजोग पारेको छ। बाँकेको कम्दी गाउँमा ४० परिवार किसान भैँसी पाल्छन्। भैंसीको दूध बेचेर आउने पैसा उनीहरूको आम्दानीको एक मात्र बाटो हो। तर, कोरोना महामारी फैलिएका बेलामा उनीहरूले उत्पादन गरेको दूध ६ महीनासम्म बिकेन। ऋण खोजेर गुजारा गरे।
अहिले पनि उनीहरूको पूरै दूध बिक्दैन। बिकेको दूधको पनि उचित मूल्य नपाउने गरेको उनीहरू बताउँछन्। स्थानीय रामनरेश यादव डेरीलाई बिक्री गरे पनि पैसा नआउने गरेको पीडा सुनाउँछन्। “अलिअलि बिक्छऽ तर त्यसको भाउ पाइँदैन। डेरीमा गएको दूधको कुनै महीनाको पैसा आउँछ, कुनै महीनाको आउँदैन,” यादव भन्छन्।
कुनै ठाउँमा प्रतिलिटर रु.५० दिए पनि कुनै ठाउँमा भने रु. ४० मात्रै दिने गरेको उनी बताउँछन्। मोल नपाउँदा दुःख मात्रै हुने गरेको उनी सुनाउँछन्। “बहुत दुःख छ। पैसा पाइँदैन। दूध पनि बिक्दैन। दूधको खपत र भाउ दुबै छैन,” यादव भन्छन्।
अर्का किसान तुलसीराम यादवको पनि उही समस्या छ। उनले १३ वटा भैंसी पालेका छन्। कोरोनाअघि दिनको २० लिटर दूध बेच्ने गरेका थिए। महामारीले यो काम बिथोलिए पनि अरू कुनै उपाय नभएको उनी बताउँछन्। “पढाइ लेखाइ नभएपछि अरू के काम गर्न पाइन्छ र। भैंसी चराउने, गोबर फाल्ने। नोकरी छैन,” उनी भन्छन्।
यहाँका किसानले तीन तरिकाले दूध बेच्ने गर्छन्, बजारमा लगेर, दुग्ध विकास संस्था र डेरीमा। बजारमा लगेर एक–एक जना ग्राहकलाई बेच्दा पैसा त जसोतसो पाउँछन्, तर धेरै दूध बेच्न सकिँदैन र पैसा पनि धेरै हुँदैन।
अर्को, दुग्ध विकास संस्थानको दूध जम्मा गर्ने ठाउँमा लगेर बेच्छन्। तर, संस्थानलाई बेचेको दूधको पैसा भुक्तानी ढिलो हुन्छ। स्थानीय डेरी सञ्चालक रामसुहान यादव भन्छन्, “किसानलाई दुःख छ। अहिले असोजको पहिलो हप्ताको पैसा आयो। अन्तिम असोजको दूधको पैसा आएको छैन।”
यहाँका किसानले तीन महिनासम्म पनि दूधको पैसा पाएका छैनन्।
दुग्ध विकास संस्थानले दूध नकिन्दा समस्या हुने गरेको स्थानीय डेरी सञ्चालक विश्वराम मेरिया बताउँछन्। उनी भन्छन्, “दूध बिक्री नभएपछि समस्या हुन्छ।”
किसानले उत्पादन गरेको केही दूध स्थानीय डेरीमा पुग्छ। डेरीले दूधका विभिन्न परिकार बनाएर बजार पठाउँछन्। होटल तथा रेस्टुरेन्ट बन्द हुँदा दूधका परिकार बिक्री हुन नसकेको स्थानीय डेरी उद्योगी सरोज पाण्डे बताउँछन्। नेपालगञ्जस्थित एसके डेरी उद्योगका सञ्चालक पाण्डे भन्छन्, “दूधका विभिन्न परिकार बन्छन्। त्यो होटल, रेस्टुरेन्टमा नै सप्लाई हुन्छ। होटल रेस्टुरेन्टमा असर परेपछि डेरी कम्पनी नै बन्द हुने अवस्थामा पुगेको छ। अहिले पनि स्थिति सुध्रिएको छैन।”
“महामारीले उद्योगी, किसान र शहरबीच त्यो चाहिँ पूर्ण ब्रेक भयो र यो ब्रेकको असर किसान, गाउँमा पर्यो। यो पेशाबाट किसान विस्थापित हुने अवस्था छ।”
गाईभैँसीले दिएको दूध बिक्री नभएर आम्दानी कटौती भए पनि किसानले गाईभैँसीलाई घाँस र दाना नखुवाई हुँदैन। स्याहर नगरौँ, औषधि उपचार नगरौँ भन्दा हुँदैन। त्यसैले किसानको खर्च भइरहेको छ, उनीहरूको मेहनत निरन्तर छ, तर त्यस अनुसारको आम्दानी छैन। महामारीका कारण डेरी उद्योगमा असर पर्दा किसानको आम्दानी पनि घटेको डेरी उद्योगी पाण्डे बताउँछन्। उनी भन्छन्, “कोभिडका कारण दूधको माग कम भयो। गाईबस्तुले दूध त दिए, तर किसानहरूले दूध बिक्री नभएर फाल्नुपर्यो। उद्योगीहरूले पनि क्रिम काट्ने र नालीमा बगाउनेबाहेक उपाय केही भएन।”
यसले गर्दा शहरबाट गाउँमा पुग्ने पैसा रोकिएको उनी बताउँछन्। “शहरको पैसा गाउँ जाने सबैभन्दा सरल माध्यम दूध हो। १५ दिनको दूधको पैसा २१ दिनभित्र गाउँमा पुग्छ,” पाण्डे भन्छन्, “महामारीले उद्योगी, किसान र शहरबीच त्यो चाहिँ पूर्ण ब्रेक भयो र यो ब्रेकको असर किसान, गाउँमा पर्यो। यो पेशाबाट किसान विस्थापित हुने अवस्था छ।”
(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०)बाट प्रत्येक साता सोमबार राति ८:३० बजे प्रसारण भइरहेको भिडिओ म्यागजिन 'सग्लो समाज'को १०औं अंक ‘पेशा खाेस्याे काेराेनाले’मा आधारित सामग्री।)