चाँगुनारायणमा धमाधम सम्याइँदै क्रिकेट रंगशाला निर्माणस्थल (तस्वीरहरू)
चाँगुनारायण नगरपालिकाले वडा नं. ४ मा क्रिकेट रंगशाला बनाउने घोषणा गरेको ठाउँ धमाधम सम्याइँदैछ। रंगशाला निर्माणस्थल सम्याउन रु.८ करोड ६३ लाख ५५ हजारमा ठेक्का दिइएको छ।
सो ठाउँ सम्याउन दुई वर्ष लाग्ने मेयर सोमप्रसाद मिश्रले जानकारी दिएका छन्। नगरपालिकाले रंगशाला निर्माणका लागि ९३ रोपनी जग्गा छुट्याएको छ। उक्त ठाउँ सम्याउन आगन्जा कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ।
ठेकेदार कम्पनीसँग २०७९ जेठ मसान्तसम्ममा रंगशाला निर्माणस्थल सम्याइसक्ने गरी गत १७ असारमा सम्झौता भएको थियो। कम्पनीले गएकाे कात्तिकदेखि त्यहाँबाट धमाधम बालुवा, माटो र ढुंगा झिकिरहेको छ।
ठेक्का लगाउनुअघि काठमाडौँ विश्वविद्यालयको सहयोगमा त्यहाँको माटो, बालुवा र ढुंगाबारे अध्ययन भएको थियो। अध्ययन प्रतिवेदनमा रु.६ करोडभन्दा केही बढीमा ठेक्का लगाउन सकिने उल्लेख भए पनि बढाबढमा त्योभन्दा बढीमा लागेको मेयर मिश्रले बताए।
ठेकेदार कम्पनीले नगरपालिकालाई तीन किस्तामा रकम उपलब्ध गराउनेछ। पहिलो किस्ताबापत रु.२ करोड ८८ लाख दिइसकेको नगरपालिकाले जनाएको छ। दोस्रो किस्ता बराबरको त्यति नै रकम वैशाख २०७८ मा दिनेछ।
क्रिकेट रंगशाला निर्माणस्थल सम्याउन थालिए पनि कहिलेदेखि बन्छ भन्ने यकिन छैन। मेयर मिश्र भन्छन्, “सम्याउने काम सक्दा हाम्रो कार्यकाल पनि सकिन्छ। नयाँ आउने स्थानीय सरकारले रंगशाला बनाउन ठेक्का दिनुपर्नेछ। यो ठूलो आयोजना भएकाले नगरपालिका आफैँले बनाउन सक्दैन। प्रदेश, संघ र अन्य दाता खोजेर बनाउने हो।”
नगरपालिकाले चाँगुनारायणलाई खेलकुदको ‘हब’ बनाउने योजना अघि सारेको छ। जसअनुसार रग्बी मैदानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको छ। त्यस्तै नगरपालिकाले फूटबल रंगशाला पनि बनाउन जग्गाको व्यवस्था गरिसकेको छ।