घट्यो प्रत्यक्ष वैदेशिक लगानी, लगानीकर्ता भन्छन्- वैदेशिक लगानी भित्र्याउन खोज्दा घूस मागियो
कोरोना भाइरसले सिर्जना गरेको अप्ठ्यारोकोको मार उद्योग दर्ता र वैदेशिक लगानीमा परेको देखिएको छ। पछिल्लाे वर्ष प्रत्यक्ष वैदेशिक लगानी र लगानीको प्रतिबद्धता दुवै घटेकाे छ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा देशमा १०३ वटा उद्योग दर्ता भएका छन्, जसमा रु.७२ अर्ब ६२ करोड लगानीको प्रस्ताव गरिएको छ। यो अघिल्लो वर्षको यसै अवधिका तुलनामा न्यून हो। गत वर्षको साउनदेखि पुस मसान्तसम्म रु. ९१ अर्ब ३१ करोड कुल पुँजी भएका १९० उद्योग दर्ता भएका थिए। अघिल्लो वर्षका तुलनामा यो वर्ष उद्योगमा लगानीको प्रतिबद्धता २० प्रतिशतले घटेको छ।
यो वर्ष उद्योग दर्ता मात्रै होइन, वैदेशिक लगानीको प्रतिबद्धता पनि घटेको छ। यो वर्षको साउनदेखि पुस मसान्तसम्ममा १२३ उद्योगमा रु.२३ अर्ब ४७ करोड वैदेशिक लगानीको प्रतिबद्धता आएको छ, जुन अघिल्लो वर्षको यही अवधिका तुलनामा १५ प्रतिशत थोरै हो।
गत वर्षको साउनदेखि पुस मसान्तमा रु. २७ अर्ब ६८ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो। वैदेशिक लगानीको प्रतिबद्धता घट्नुले भविष्यमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी अपेक्षाअनुसार नभित्रिने सम्भावना देखाउँछ।
यो वर्ष सबैभन्दा धेरै वैदेशिक लगानीको प्रतिबद्धता जनाउने देशमा चीन छ। चीनका लगानीकर्ताले १०३ वटा उद्योग खोल्न रु.१८ अर्ब ११ करोड भित्र्याउने प्रतिबद्धता उद्योग विभागमा जनाएका छन्। चीनपछि ब्रिटिस भर्जिन आइल्यान्डका लगानीकर्ताले रु.३ अर्बको उद्योग स्थापनाको प्रतिबद्धता जनाएका छन्।
यो वर्ष प्रत्यक्ष वैदेशिक लगानी पनि ह्वात्तै घटेको छ। नेपाल राष्ट्र ब्यांकको तथ्यांकअनुसार, चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा रु.८ अर्ब ५ करोड मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३४ प्रतिशत थोरै हो। गत वर्षको साउन–पुसमा रु.१२ अर्ब २५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो। कोभिड–१९ का कारण संसारभरिका लगानीकर्ता प्रभावित भएका कारण नेपालमा प्रत्यक्ष वैदेशिक लगानी घटेको अनुमान गरिएको छ।
प्रत्यक्ष वैदेशिक लगानी घटे पनि नेपालबाट विदेशी लगानीकर्ताले लैजाने नाफा तथा लगानी फिर्ताबापतको रकम भने बढेको छ। साउनदेखि पुससम्ममा विदेशी लगानीकर्ताले रु. ३९ करोड ६७ लाख नाफा बापतको रकम फिर्ता लगेका छन्, जुन अघिल्लो वर्षको यही अवधिमा रु.४ करोड ८० लाख मात्रै थियो ।
प्रकृयागत झन्झटका कारण नेपाल उद्योग व्यवसायमा लगानी भित्र्याउन कठिन देशमध्ये एक मानिन्छ। सूचना प्रविधिका नेपाली मूलका व्यवसायी रुद्रराज पाण्डेले बुधबार आफ्नो सामाजिक सञ्जालमा नेपालमा विदेशी लगानी भित्र्याउन खोज्दा घूस मागिएको उल्लेख गर्दै स्टेटस लेखेका छन्। उनले अमेरिकाबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन चाहेको, तर अनेक धम्की दिइएको र घूस मागिएको उल्लेख गरेका छन्।
विश्व ब्यांकको डुइङ बिजनेस इन्डेक्स रिपोर्टले नेपालमा व्यवसाय शुरू गर्न अनेकौं झन्झट रहेको उल्लेख गर्दै आएको छ। सन् २०२० मा डुइङ बिजनेस इन्डेक्समा नेपालको स्थान ९४औं स्थानमा भए पनि व्यवसाय शुरू गर्न सजिलो/अप्ठ्यारोका हिसाबले १३५औं स्थानमा छ। यसको अर्थ, व्यवसाय शुरू गर्न झन्झटिला देशमध्ये नेपाल पनि एक हो। व्यवसाय दर्ताको प्रकृया, समय, लागत सबै हिसाबले अप्ठ्यारो रहेको रिपोर्टमा उल्लेख छ।
लगानीकर्ताहरूले लामो समयदेखि कानुनी, प्रकृयागत मात्र होइन, उद्योग दर्ताका लागि कर्मचारीको तजबिजी अधिकारले पनि असहज हुने गरेको बताउँदै आएका छन्।