पर्यटन बोर्डमा १३ वर्षपछि उपाध्यक्ष नियुक्त
नेपाल पर्यटन बोर्डमा रिक्त भएको १३ वर्षपछि उपाध्यक्ष नियुक्त गरिएको छ। पर्यटन बोर्ड सञ्चालक समितिको १८ फागनुको बैठकले पर्यटन व्यवसायी तथा बोर्ड सदस्य चन्द्रप्रसाद रिजाललाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो।
रिजालसहित ङावा ङिमा शेर्पा र कृष्णकुमार शाह गत २३ माघमा बाेर्डको कार्यकारी समिति सदस्य नियुक्त भएका थिए। बोर्डमा विप्लव पौडेल र पम्फा धमला, शेर्पा शाह र रिजालसहितकाे पाँच जना निजी क्षेत्रका प्रतिनिधि छन्।
बोर्ड उपाध्यक्ष रिजाल पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष समेत हुन्। पछिल्लो पटक २२ कात्तिक २०६४ मा व्यवसायी प्रकाश श्रेष्ठ उपाध्यक्ष थिए। उनको कार्यकालपछि हालसम्म उक्त पद खाली थियो।
पछिल्लो पटक २२ कात्तिक २०६४ मा व्यवसायी प्रकाश श्रेष्ठ उपाध्यक्ष थिए। उनको कार्यकालपछि हालसम्म उक्त पद खाली थियो।
नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को व्यवस्था अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष हुन्छन्। ऐनले ११ जनाको कार्यसमिति हुने व्यवस्था गरेको छ। बोर्डका कार्यकारी प्रमुख सदस्यसचिव तथा पर्यटन प्रर्वद्धन गर्ने कार्यमा संलग्न पर्यटन व्यवसायी पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरूमध्येबाट सरकारले मनोनीत गरेका ५ जना सदस्य र अर्थसहित विभिन्न मन्त्रालय तथा विभागबाट प्रतिनिधित्व गर्ने ४ जना बोर्डमा नियुक्त हुने व्यवस्था छ।
उपाध्यक्षको हकमा निजी क्षेत्रबाट बोर्ड सदस्यमा मनोनीत सदस्यहरू मध्येबाट बोर्डका सदस्यहरूले छानेको एक जना रहने व्यवस्था छ। निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका रिजाललाई बोर्डले उपाध्यक्षको जिम्मेवारी दिएकाले अब अध्यक्ष नभए पनि बोर्ड सञ्चालन गर्न सकिनेछ।