कृष्णसारको संख्या वृद्धिले संरक्षणमा उत्साह
लोपोन्मुख अवस्थामा पुगेर संरक्षित वन्यजन्तुको सूचीमा रहेको कृष्णसार संरक्षणका लागि नेपालमा गरिएको प्रयासबाट यसको संख्या उल्लेख्य बढेको छ।
२०३२ भदौमा तत्कालीन संरक्षण अधिकृत कृष्णमान श्रेष्ठ, अनुसन्धानकर्ता डा. एरिक डाइनरस्टाइन र गेमस्काउट गगन सिंह बर्दियामा कृष्णसार खोज्न निस्किए। २००७ सालअघि बर्दियादेखि कञ्चनपुरसम्मका घाँसे मैदानमा सजिलै देख्न पाइने कृष्णसार एकाएक हराएपछि कृष्णसारको खोजी गरिएको थियो। त्यतिबेला बर्दियामा नौ वटा कृष्णसार फेला परेको बर्दिया गुलरिया नगरपालिका २ स्थित खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अर्जुन भुसाल बताउँछन्।
कुनै बेला तराईमा प्रशस्त पाइने कृष्णसार भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थाल्यो। यही प्रयासबाट झन्डै चार दशकपछि कृष्णसारको संख्या ३२५ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। जसमध्ये खैरापुरको संरक्षण क्षेत्रमा १९२ वटा र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा १३३ वटा कृष्णसार छन्। शुक्लाफाँटामा २०६९ असोजमा नेपालगञ्जबाट आठ वटा भाले, १४ वटा पोथी तथा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार स्थानान्तरण गरिएका थिए।
कुनै बेला तराईमा प्रशस्त पाइने कृष्णसार भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थाल्यो। यही प्रयासबाट झन्डै चार दशकपछि कृष्णसारको संख्या ३२५ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
बर्दियाको खैरापुरमा २०३२ सालदेखि कृष्णसार संरक्षण क्षेत्रको काम शुरू गरेर २०६५ सालमा मात्र संरक्षण क्षेत्र घोषणा गरिएको हो। त्यहाँको १ हजार ६९५ हेक्टर जमीनलाई कृष्णसार संरक्षण क्षेत्रका रूपमा राखिएको छ।
त्यसअघि २०३४ सालदेखि २०४९ सम्म बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत बघौरा फाँटमा कृष्णसारको वासस्थान विकास गर्ने प्रयास गरिएको थियो। बघौरा फाँटमा २०३४ सालमा सदर चिडियाखानाबाट १६ वटा कृष्णसार स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–सचिव (प्राविधिक) नारायण रुपाखेती बताउँछन्।
तर, २०४५ सालमा गणना गर्दा बघौरा फाँटमा १७ वटा कृष्णसार भेटिएका थिए भने लगत्तै अर्को वर्षको गणनामा त एउटा पनि भेटिएनन्। २०४७ सालमा जावलाखेलस्थित चिडियाखानाबाट बघौरामा फेरि २६ वटा कृष्णसार लगिएको थियो। तर, २०४९ सालमा गणना गर्दा फेरि त्यहाँ एउटा पनि कृष्णसार भेटिएन। स्थानान्तरण गरिएका कृष्णसार नरहेपछि बघौरामा कृष्णसार संरक्षणको योजना स्थगन गरिएको थियो।
खैरापुर र शुक्लाफाँटामा गरिएको संरक्षणको प्रयासले भने कृष्णसारको संख्या बढेको छ, जसले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग उत्साहित भएको छ। विभागका उप–सचिव (प्राविधिक) रुपाखेती भन्छन्, “संख्या वृद्धि राम्रो उपलब्धि हो, यसले हामीलाई निकै उत्साहित बनाएको छ।”
संख्या बढाउन स्थानान्तरण
लोप हुने अवस्थामा पुगेको कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो। कुनै समय कृष्णसार भारतको पञ्जाब, उत्तर प्रदेश तथा नेपाल र बाङ्लादेशसम्म सजिलै पाइन्थ्यो। तर, वासस्थान अतिक्रमण, चोरी शिकार र प्राकृतिक प्रकोपका कारण यसको संख्या घट्दै गयो।
खुला जमीन र चौरमा अतिक्रमण हुँदा कृष्णसारको वासस्थान जोगाउन चुनौती थपिएको खैरापुर संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अर्जुन भुसाल बताउँछन्। कृष्णसार संरक्षणका लागि वासस्थानको अभाव भएपछि सरकारले खैरापुरमा निजी जग्गा विभिन्न समयमा अधिग्रहण गरेको थियो।
घट्दो संख्याले संरक्षणमा चुनौती थपेपछि स्थानान्तरणको योजना अगाडि बढाइएको थियो। विज्ञहरूका भनाइमा, कुनै पनि वन्यजन्तुलाई एकै स्थानमा मात्र राख्दा रोगका साथै बाढी जस्ता प्रकोपका घटना भए एकै पटक ठूलो संख्या नष्ट हुन सक्छ। त्यसैले वन्यजन्तुको संरक्षण र संख्या वृद्धिका लागि विभिन्न ठाउँमा स्थानान्तरण गरिन्छ।
विभागका उप–सचिव (प्राविधिक) रुपाखेती एक स्थानमा राख्दा एउटै समूहमा प्रजनन हुने, आनुवंशिक समस्या र विभिन्न रोगका कारण संरक्षणमा जटिलता आउन सक्ने भएकाले स्थानान्तरणको योजनाबाट संरक्षणमा ध्यान दिइएको बताउँछन्।
बर्दिया र कञ्चनपुरमा कृष्णसार स्थानान्तरण र संरक्षण अमेरिकी सहयोग नियोग यूएसआईडीको सहयोगमा गरिएको थियो। शुक्लाफाँटामा कृष्णसार संरक्षणको व्यवस्थापनमा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले काम गर्दै आएका छन्। सरकारले चितवनमा समेत कृष्णसार संरक्षणको योजना बनाएको छ। यसका लागि सम्भाव्यता अध्ययनको काम भएको छ।
रुपाखेतीको भनाइमा, कृष्णसार अन्य वन्यजन्तुभन्दा फरक भएकाले यसलाई जहाँ पायो त्यहाँ स्थानान्तरण गर्न मिल्दैन। कृष्णसारको वासस्थानका लागि खुला घाँसे मैदान भएको ठाउँ उपयुक्त मानिन्छ। यसले काँस, दूबो मन पराउँछ। “जंगल र झाडी भएको ठाउँ भने त यो त्यहीं हराउँछ। गर्मी ठाउँ र खुला घाँसे मैदान कृष्णसारका लागि उपयुक्त वासस्थान हो,” रुपाखेती भन्छन्।” बिहान र बेलुका घाँसे मैदानमा चर्ने कृष्णसार दिउँसोको चर्को घाम तापेर बस्छ।
संरक्षणका चुनौती
कृष्णसार संरक्षणका मुख्य चुनौती हुन्, वासस्थान अतिक्रमण, चोरी शिकार, रोगव्याधि र बाढी। २०७० सालमा आएको बाढीका कारण खैरापुर संरक्षण क्षेत्रमा एकै पटक ४० वटा कृष्णसार पानीमा डुबेर मरेका थिए।
खुला जमीन र चौरमा अतिक्रमण हुँदा कृष्णसारको वासस्थान जोगाउन चुनौती थपिएको खैरापुर संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अर्जुन भुसाल बताउँछन्। कृष्णसार संरक्षणका लागि वासस्थानको अभाव भएपछि सरकारले खैरापुरमा निजी जग्गा विभिन्न समयमा अधिग्रहण गरेको थियो।
खासगरी तराईमा औलो उन्मूलन भएर पहाडबाट मानिसको बसाइँसराइ शुरू भएपछि कृष्णसारको संख्या घट्न थालेको हो। “पहाडबाट मानिसको बसाइँसराइका कारण वासस्थान अतिक्रमण र चोरी शिकार बढेपछि कृष्णसारको संंख्या घटेको देखिन्छ,” भुसाल भन्छन् “लोपोन्मुख अवस्थामा पुगेर संरक्षित वन्यजन्तुको सूचीमा रहेको कृष्णसार जोगाउन जनचेतना पनि चाहिन्छ, जसको अभाव छ।”