‘आईसीयूमा कोभिडका बिरामी आइरहेकै छन्, महामारी सकिएको नठानौं'
पछिल्लो समय सार्वजनिक ठाउँ र मानिसहरूको व्यस्त जीवनचर्या हेर्दा कोभिड-१९ को महामारी छँदै छैन जस्तो भान हुन्छ। संक्रमणबाट बच्न पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डमा कमैले ध्यान दिएका छन्। न मास्क, न त भौतिक दूरी।
तर, पछिल्लो समय कोभिड संक्रमितको संख्या घटे पनि संक्रमण हुने र जोखिम निम्तिने अवस्था अन्त्य नभएकाले लापर्बाही नगर्न चिकित्सकहरूले सचेत गराएका छन्। संक्रमण दर कम भए पनि कोभिडबाट सिकिस्त बिरामी भएर आईसीयूमा भर्ना हुने क्रम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना लगायतमा हेलचेक्र्याइँ नगर्न चिकित्सकहरूले आग्रह गरेका हुन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टान्ट डा. अनुप बास्तोलाले बिरामी थपिने क्रम घटे पनि नरोकिएको भन्दै कोभिडका बिरामी आईसीयूमा भर्ना हुने गरी आइरहेको बताए। उनका अनुसार, १७ फागुन (सोमबार) सम्म आईसीयूमा भर्ना हुने संक्रमितको संख्या २० जना छ।
“आज मात्रै हामीकहाँ नौ जना बिरामी आईसीयूमा छन्,” उनले हिमालखबरसँग भने, “यो संख्या पछिल्लो तीन महीनामा ५० प्रतिशत कम हो, तर जोखिम सकिएको छैन।”
कोभिड-१९ विरुद्धको खोप आइसक्यो वा कोरोना अब सकियो भन्ठानेर मान्छेहरू निस्फिक्री हिँडेको देखेपछि डा. बास्तोलाले मापदण्ड पालना गर्न आग्रह गर्दै ट्वीटरमा लामो पोस्ट समेत गरेका थिए।
“बाहिर हिँड्दा, देख्दा लाग्छ कि कोरोना अब छैन,” उनले ट्वीट गरेका छन्, “तर, टेकु अस्पतालमा कोरोना भाइरस संक्रिमत बिरामीको उपस्थितिले यसो भन्न मिल्दैन।”
उनका अनुसार, महामारीको मध्य समयमा जस्तो बिरामीको चाप नभए पनि टेकुमा कोभिड–१९ का बिरामी आइरहेकै छन्। आईसीयूमै भर्ना हुने बिरामी आउने गरेकाले संक्रमणलाई बेवास्ता गरेर ढुक्क हुने अवस्था नरहेको उनले उल्लेख गरेका छन्। अचेल अन्य अस्पतालमा कोभिडका बिरामी राख्न बन्द गरिएकाले टेकुमा चाप कायम रहेको हुनसक्ने पनि लेखेका छन्।
“कोभिडबाट सिकिस्त बिरामी अझै हुनुहुन्छ,” उनले थपेका छन्, “त्यसैले खोप अभियान आम सर्वसाधारणसम्म नपुगेसम्म र खोपले पूर्ण काम नगरेसम्म मापदण्ड पालना गरौं।”
मान्छेहरूलाई संक्रमितको संख्या घटेको थाहा भए पनि आईसीयूमा के भइरहेको रहेछ थाहा नभएको र त्यसैले पनि निस्फिक्री हिँडेको हुन सक्ने डा. बास्तोलाको ठम्याइ छ।
“यतिन्जेल जोगिएर अब मास्क लाउन हेलचेक्र्याइँ गर्यो भने समस्या निम्तिन सक्छ,” उनले भने, “सुरक्षित रहन मापदण्ड पालना गर्नैपर्छ।”
साबुन–पानीले पटकपटक हात धुने, मास्क लगाउने, दूरी कायम गर्ने मापदण्ड अझै उत्तिकै आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।