आधुनिकताको अव्यवस्थाले नाशिँदै शहरको सुन्दरता
आधुनिकताकाे अव्यवस्थाले कलात्मकता र शहरी सौन्दर्य मात्रै नाशिँदै छैन, विश्व सम्पदामा सूचीकृत पुरातात्त्विक र सांस्कृतिक महत्त्वका संरचना भएका काठमाडौं, भक्तपुर र ललितपुरजस्ता शहर पनि कुरूप बन्दै गएका छन्।
पाटन शहरको एउटा घरको भित्ता। तल्लो भागमा नदीबाट ल्याएका चेप्टा र चिप्ला ढुंगा, त्यसमाथि इँटामा ठडिएको घर।
इँटा जोगाउन यसरी नदीका ढुंगा राखेर पर्खाल बनाएको होइन। पुरानो कारिगरी र घर बनाउने कलात्मक शैली हो यो। यसमा मेहनत पनि उतिक्कै लाग्छ।
पुरानो घरमा चिटिक्क परेका आँखीझ्याल हुन्छन्। सामान्य किसानका घरमा पनि। आँखीझ्याल मल्लकालदेखि प्रचलित कला हो। तर, त्यही घरछेउमा गगनचुम्बी घर ठडिएका छन्। कलात्मक शैली छैन। सिमेन्ट, कंक्रिट र छडले बनेका छन्। झ्यालमा पनि फलाम राखिएको छ। काठ भेट्न मुस्किल हुन्छ। यी ठूला घरले पुराना कलात्मक घरलाई छायाँमा पारेका छन्।
आधुनिकताको अव्यवस्थाले कलात्मक शैली कसरी हराएको छ भन्ने अर्को उदाहरण हो, ललितपुरको पाटनढोकास्थित बिजुलीका खम्बा। यहाँ दुई खालका खम्बा सँगसँगै छन्। एउटा पुरानो हो। यसमा प्वाल छन्। तलदेखि माथिसम्म सानो हुँदै गएका प्वाल। यो अझै पनि बलियो छ। आधा शताब्दीअघि काठमाडौंभरिका बिजुलीका खम्बामा यस्तै कला हुन्थ्यो।
यसको छेउमै रहेको अर्को खम्बा। आजभोलि बनाएको यो खम्बा एकै किसिमको छ। कुनै ‘डिजाइन इलिमेन्ट’ छैन। अलिअलि बांगिएर बनेका छन्। गाड्दा पनि बांगोबांगो ठडिएको छ।
अव्यवस्थाको अर्को उदाहरणका रूपमा लिन सकिन्छ, नारायणहिटी दरबार संग्रहालयभित्रको गणतन्त्र स्मारकलाई। चारैतिर सिमेन्ट, कंक्रिट र छडले बनाएको डन्डी छ। त्यसलाई तामाले बेरेको छ। त्यसमा कला छैन। स्मारकको भित्तामा लेखिएका अक्षर झर्न थालिसके।
स-सानो विषयमा पनि ध्यान पुगेको छैन। जस्तो, भित्तामा ‘इन द मेमोरी अफ डिसेबल्ड वान्स’ लेखिएको छ। ‘मेमाेरी’ भनेको दिवंगत भइसकेको मान्छेको हो, तर ‘डिसेबल्ड’ अर्थात् अपांगता भएका मान्छे त दिवंगत मात्रै होइनन्, जीवित पनि हुन्। यसको भित्तामा धुलो जमेको छ, पुछिएको पनि छैन।
यहीँभित्र एक सय फिटको नेपालको नक्सा बनाइएको छ। विभिन्न हिमालको नाम दिइएको छ, तर हिमालको आकार छैन। सगरमाथा, लोत्से, मकालु, चोयु एकै ठाउँमा संकेत गरिएका छन्, तर भौगोलिक हिसाबले एकै ठाउँमा छैनन्। चोयु अलि उत्तरतिर छ भने मकालु पूर्वतिर। नक्सामा कलात्मकता र भूगोलको कत्ति पनि चित्रण छैन। उत्तरको पहाड ठूलो, मध्य पहाड र सम्म तराई देखाइएको छ, बस्।
गणतन्त्र स्मारकमा सुन्दरता र कला कम छ। कारिगरीमा पनि सौन्दर्य चेत पाइँदैन। मर्मतसम्भार पनि छैन। मसिनो काम पनि राम्रोसँग गरिएको छैन।
पाँच दशकअघिको शहीद गेट भने यस मामलामा फरक छ। इन्जिनियर शंकरनाथ रिमालले डिजाइन गरेको शहीद गेट १ वैशाख, २०१८ मा उद्घाटन भएको थियो। रु.१ लाख २५ हजारमा निर्माण भएको शहीद गेटमा नेपालीपनसँगै कलात्मकता पनि छ। सिंगमरमरमा आधुनिकीकरण पनि छ। वास्तुकला र सौन्दर्यका हिसाबले पनि राम्रो छ।
‘‘वास्तुकलाका दृष्टिले हेर्ने हो भने यहाँ बनेका धेरै जस्तो घरहरू कन्सट्रक्सन मात्रै हो, वास्तुकलामा त सांस्कृतिक चिनारी हुन्छ।’’
शहीद गेटको ठ्याक्कै पश्चिमतिर धराहरा छ। भीमसेन थापाका पालामा बनेको धरहराको वास्तुशैली लखनउबाट आयातीत हो। यो हाम्रो कलाकृति नभए पनि केही आकर्षण थियो, समय बित्दै जाँदा सबैले मन पराउन थाले। अवध सभ्यताबाट आएको भए पनि त्यसलाई नेपालीले अपनाएका थिए। नेपालको प्रतीक बनेको थियो। त्यसमा कलात्मकता थियो।
१२ वैशाख, २०७२ को भूकम्पले भत्किएपछि अहिले पुनःनिर्माण हुँदै छ। आधुनिक शैलीमा निर्माण हुँदै छ। अब आधुनिक स्मारक त बन्ला, तर कलात्मक र शहरी सौन्दर्य नहुँदा मानिसको मनमा भने बस्न सक्दैन।
काठमाडौं उपत्यकाको अर्को कलाकृति हो, ललितपुरको पाटनढोका। यो सौन्दर्यको प्रतीकका रूपमा रहेको छ। अष्टमातृकाका चित्र भएको, सेतो गुम्बज आकारको छ पाटनढोका। तर, त्यसैको छेउमा बिजुलीको खम्बा छ। तारले बेरिएको, गुजमुज्ज डल्लाडल्ला भएको। यस्तो सुन्दर कलाकृति भएको ठाउँमा यस्तो कुरूप अवस्था छ, अहिले।
यी त केही उदाहरण मात्रै हुन्, काठमाडौं, ललितपुर र भक्तपुरका सुन्दर ठाउँहरू आधुनिकताको अव्यवस्थाले कुरूप बनेका। स्थानीय बासिन्दाले पनि सुन्दर शहरहरू कुरूप बन्दै गएको महसुस गरेका छन्। ललितपुरका स्थानीय अगुवा कुललाल डंगोल पाटनढोकाको सौन्दर्य बिस्तारै हराउँदै गएको बताउँछन्। ‘‘पाटनढोका त योभन्दा पहिलो राम्रो थियो,’’ डंगोल भन्छन्, ‘‘१९९० सालको भूकम्पले भत्किएपछि सानो बनाइयो। त्यसपछि पनि कलात्मकता बचेकै छ।’’
पाटनढोका मल्लकालमा काठमाडौंको प्रवेशद्वारका रूपमा थियो। त्यतिबेला यो सुन्दर कलाकृतिमा थियो। अहिले भने यसको सौन्दर्य हराउँदै गएको उनी गुनासो गर्छन्। ‘‘विकास त भयो, योसँगै विनाश पनि भयो,’’ डंगोल भन्छन्, ‘‘तारहरू जथाभावी राखिएका छन्। यसले दुर्घटना हुनसक्छ।’’ उनी तारहरूलाई एउटै पाइपमा वा जमिनमुनि राख्नुपर्ने सुझाउँछन्।
‘‘हाम्रो शास्त्रीय वास्तुकलामा पनि निश्चित नियम थियो। यसो गर्नु, यसो नगर्नु भन्ने थियो। त्यसमा कतिले बुझेर गर्थे, कति नबुझेर गर्थे। या त अनुशासन चाहिन्छ या नियममा बसेर काम गर्नुपर्छ। अनुशासन रहेन, नियम पालना भएन।’’
सर्वसाधारण मात्रै होइन, वास्तुकलाविद् पनि कुरूप बन्दै गएको शहरको अवस्था देखेर निराश छन्। काठमाडौंको बसुन्धरास्थित गोंगबुचोकमा उभिएर वरपरका घरहरू देखाउँदै वास्तुकलाविद् व्रिजेश शाह धेरैजसो घरहरू निर्माण गर्दा शहरी सौन्दर्यलाई ध्यानमा नराखिएको बताउँछन्। ‘‘वास्तुकलाका दृष्टिले हेर्ने हो भने यहाँ बनेका धेरै जस्तो घरहरू कन्सट्रक्सन मात्रै हुन्,’’ शाह भन्छन्, ‘‘वास्तुकलामा त सांस्कृतिक चिनारी हुन्छ।’’
यसरी बनेका घरमा जसरी बाहिर आँखा बिझाउने संरचना हुन्छ, घरभित्र पनि सहज हुँदैन। वास्तुकलाविद् शाह घरभित्र पनि आधारभूत कुराहरू नहुने गरेको बताउँछन्। उनी भन्छन्, ‘‘बत्ती, घाम, हावा छिर्ने ठाउँ हुनुपर्छ जुन यस्ता घरमा हुँदैनन्।’’ सानो र महँगो जग्गालाई जतिसक्दो धेरै प्रयोग गर्ने हिसाबले मात्रै बनाउँदा सौन्दर्य र कलात्मकता हराएको उनी बताउँछन्।
काठमाडौं उपत्यकाको सौन्दर्य र कलात्मकता जोगाउन शुरूआतबाटै चुकेको बताउँछिन्, वास्तकुलाविद् झर्ना जोशी। उनी पाटन दरबार स्क्वायरको उदाहरण दिन्छिन्। ‘‘दरबार स्क्वायरलाई विश्व सम्पदा सूचीमा राख्ने बेला स्थानीय बासिन्दासँग छलफल गरिएन। यसले गर्दा स्थानीय बासिन्दाको दिमागमा विश्व सम्पदा भनेको दरबार, मन्दिर मात्रै हो भन्ने पर्यो,’’ वास्तुकलाविद् जोशी भन्छिन्, ‘‘दरबार तथा मन्दिर वरिपरिको गल्ली, बस्तीमा जथाभावी निर्माण भयो।’’
शहीद गेटको डिजाइन गरेका वास्तुकलाविद् शंकरनाथ रिमाल घर निर्माण गर्दा सामान्य विषयमा पनि ध्यान नदिँदा सौन्दर्य र कलात्मकता हराएको बताउँछन्। ‘‘पुरानो घर कस्तो थियो? त्यसको बगलमा आफूले घर बनाउँदा के गर्नुपर्छ भन्ने ज्ञान भएन। सडक कतापट्टि गएको छ? घर बनाउन लागेको ठाउँको हावापानी कस्तो छ ? कुन बेलामा हामीलाई घाम चाहिन्छ ? यी सबै कुरालाई बेवास्ता गरियो,’’ वास्तुकलाविद् रिमाल भन्छन्, ‘‘मैले जे गरे पनि हुन्छ, भोलि कसले हेर्छ भन्ने भयो। काम ठीक भयो कि भएन भनेर लेखाजोखा गर्नेपट्टि पनि कसैको ध्यान परेको छैन। आफ्नो जिम्मेवारी कसैले पनि बुझेको छैन।’’
‘‘दरबार स्क्वायरलाई विश्व सम्पदा सूचीमा राख्ने बेला स्थानीय बासिन्दासँग छलफल गरिएन। यसले गर्दा स्थानीय बासिन्दाको दिमागमा विश्व सम्पदा भनेको दरबार, मन्दिर मात्रै हो भन्ने पर्यो। दरबार तथा मन्दिर वरिपरिको गल्ली, बस्तीमा जथाभावी निर्माण भयो।’’
उनी काम गर्ने मान्छेमा पनि अनुशासन नभएको बताउँछन्। उनीहरूले सुन्दरताको नियम पालना नगर्दा पनि समस्या भएको उनको बुझाइ छ। ‘‘हाम्रो शास्त्रीय वास्तुकलामा पनि निश्चित नियम थियो। यसो गर्नु, यसो नगर्नु भन्ने थियो। त्यसमा कतिले बुझेर गर्थे, कति नबुझेर गर्थे,’’ रिमाल भन्छन्, ‘‘या त अनुशासन चाहिन्छ, या नियममा बसेर काम गर्नुपर्छ। अनुशासन रहेन, नियम पालना भएन।’’
आधुनिक अव्यवस्थाले शहरी सौन्दर्य र कलात्मकता हराउँदै छ भन्नुको मतलब अब सुन्दर र कलात्मक बनाउन सकिँदैन भन्ने होइन्। अझै पनि काठमाडौं उपत्यकाका शहरहरू तथा देशभरका शहरहरूलाई सुन्दर र कलात्मक बनाउन सकिन्छ। यसको सानो उदाहरण हो, पाटनको पुल्चोक क्यापस। पुल्चोक क्याम्पसको नयाँ रेलिङले शहरी सौन्दर्यलाई जोगाउन सहयोग गरेको छ।
प्रायः घरका पर्खाल अग्ला हुन्छन्, तिनमा कला हुँदैन। यस्ता पर्खालले एकातिर शहरी सौन्दर्य बिगार्छ भने अर्को भूकम्पका बेला जोखिम पनि हुन्छ। पुल्चोक क्याम्पसको यस्तो पर्खाल भत्काएर बार लगाइएको छ जसले त्यहाँभित्रको खुला ठाउँ, बगैँचा, हरियाली छेक्दैन। यो बार कलात्मक पनि छ।
वास्तुकलाविद् जोशी शहरी सौन्दर्य र कलात्मकलाई जोगाउन स–सानो घरमा पनि ध्यान दिनुपर्ने बताउँछिन्। उनी स–सानो विषयमा ध्यान दिँदा शहरी सौन्दर्य जोगाउन सकिने बताउँछिन्। उनी भन्छिन्, ‘‘पहिले जोडिएका घरको छाना र तलाको उचाइ बराबरी हुन्थ्यो। यसो गरेका खण्डमा, कलात्मक झ्याल राखेका खण्डमा, एउटै निर्माण सामग्री प्रयोग गरेका खण्डमा सौन्दर्य फर्किन्छ।’’ उनका विचारमा अगाडिको भागमा मात्रै होइन, पछाडि र छेउछाउको भागमा पनि ध्यान दिनुपर्छ।
वास्तुकलाविद् शाह पनि भद्रगोललाई सम्हाल्दै लग्नुपर्ने बताउँछन्। हरेक शहरको आफ्नो मौलिकता हुने र काठमाडाैँले आफ्नो मौलिकता अझै जोगाइरहेको उनको भनाइ छ। एसिया, अमेरिका, अफ्रिकाका आधुनिक व्यवस्थित शहरहरूमा एउटा ठाउँमा एउटा खालका मान्छे बस्ने हुँदा समस्या आएको छ। तर, काठमाडौँमा धनी मान्छे र साधारण मान्छेसँगै बस्छन्। शाहका विचारमा यो राम्रो पक्ष हो।
यहाँका सकारात्मक र नकारात्मक कुरा हेरेर आफ्नै ‘स्ट्राटेजी’ बनाउनुपर्ने उनको भनाइ छ। उपत्यकाको यही सामाजिक सौन्दर्यबीच वास्तु सौन्दर्यमा पनि ध्यान दिन सकियो भने फेरि पनि शहरी सौन्दर्य फर्काउन सकिन्छ।
‘माइतीघर मण्डल समाजको प्रतिनिधि हो’
सार्वजनिक स्थानमा कलात्मक भएको ठाउँ कुनै छ भने त्यो काठमाडौंको माइतीघर मण्डल हो। तीन दशकअघि माइतीघर मण्डलमा पनि थुप्रै घरहरू थिए। मेयर केशव स्थापितले ती घर हटाए र यो खुल्ला ठाउँ बन्न पुग्यो। माइतीघरलाई यो स्वरूप दिने काम गरिन् रिन्छेन योन्जनले। योन्जनसँग कनकमणि दीक्षितले गरेको कुराकानी :
माइतीघर मण्डल बनाउने सोच कसरी आयो?
आशाको बगैँचा। त्यो समय निराशावादी थियो, शहरमा केही पनि हुनसक्दैन भन्ने थियो। आशावादी मान्छेलाई आशा देखाउने सोचबाट यो काम भएको हो। त्यस वरिपरिको बगैंचाबाट शुरूआत भयो। पछि यो मन्डल थपियो। अरू पनि कलाकारलाई सहभागी गराउने उद्देश्यले यो मण्डल तयार भयो।
यहाँ मण्डलै राख्नुपर्छ भन्ने कसरी गर्नुभयो?
यो समाजको प्रतिनिधि हो। मन्डल भनेको क्षणिकता पनि हो। शहर भनेको बढ्दै गर्ने वस्तु हो भन्ने सोच पनि हो। यहाँ विभिन्न किसिमका मान्छे आउँछन्। एउटा पुस्ता बुढो हुँदै जान्छ, बच्चाहरू हुर्किँदै जान्छन्। सौन्दर्यलाई बेवास्ता गर्यौं भने त्यो क्षणिक हुन्छ भन्ने संकेत दिन खोजेको हो। सुन्दरतालाई संरक्षण गर्नुपर्छ भन्ने पनि हो।
अहिले लाखौं मानिसले यो मण्डल हेर्छन्। यो देखेर सन्तुष्टि पनि होला नि?
सन्तुष्टि पनि छ, असन्तुष्टि पनि छ। त्यतिखेरि जुन परिकल्पना गरेको थियो, त्यो दृष्टिकोणबाट यसको संरक्षण हुनसकेको छैन। अहिले मण्डलमा धुलो उडिरहेको छ, यो त उज्यालो हुनुपर्ने हो। अनि वरिपरि पानी हुनुपर्ने हो, छैन। यो ढुङ्गेधारालाई पनि सफा गर्यौं, तर अहिले चलिरहेको छैन। यो दुबो अहिले हरियो हुनुपर्ने हो, छैन। त्यस हिसाबले संरक्षण भएको छैन।
सन्तुष्टि लिने ठाउँ पनि छ। कमसेकम यो त छ। बढ्दो शहरीकरणको भीडभाडमा कतै न कतै आँखालाई एक छिन भए पनि रेस्ट चाहिने ठाउँ भएको छ।
त्यस्तै, चारैतिर बगैंचामा सेतो रङको मात्रै फूल लगाएका थियौं। किनकि, यो आन्दोलन हुने, विरोध प्रदर्शन गर्ने ठाउँ हो, सेतो फूलले शान्तिको भावना जगाउला भनेर। तर, अहिले त अरू रंगचंगी फूल पनि थपिएको छ।
यहाँ त रंगीचंगी बत्ती लगाइएको छ, तपाईंलाई मन परेको छ?
मलाई त सबैभन्दा दुःख लागेको कुरा यो बत्ती हो। जुन किसिमले रंगीचंगी बत्ती बालेको छ, यो राम्रो छैन। मलाई त पटक्कै मनपरेको छैन। यहाँ त भद्र किसिमको, तिहारमा बालेको दियो जस्तो बस्ती बाल्नुपर्थ्याे। अहिले जस्तो निलो, रातो, पहेलो रंगीचंगी होइन। यो सम्पदा पनि हो।
अन्यत्र पनि सार्वजनिक ठाउँलाई कलात्मक बनाउने प्रयास भएका छन्। यसलाई उदहारण बनाउन मिल्छ कि मिल्दैन ?
अवश्य हुनुपर्छ र यो गर्नलाई पनि धेरै लगानी लाग्ने होइन। मण्डललाई कृषि विकास बैंकले संरक्षण गरिरहेको थियो। तर, यो ठाउँलाई होडिङ बोर्डले छोपिदिनुभयो। यो त महानगरपालिकाकै जिम्मेवारीमा पर्नुपर्छ। पैसा कमाउने भन्दा पनि मान्छेलाई आनन्द दिने हो। गर्मीका दिनमा बसमा हिँडेको बेलामा मानिसले एकछिन फूल देख्दा पनि उसको मन खुशी हुन्छ। घरबाट अफिस जाँदा मन खुशी हुन्छ, दिनभरि तनाव भोगेर घर जाँदा त्यो देख्यो भने पनि मनमा शान्ति हुन्छ।
नगरवासीले पनि यसलाई सफा राखी दिनुहोस्। यो मेरै हो भनेर सबैले सोचे भने राम्रो होला।
(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०)बाट प्रत्येक साता सोमबार राति ८:३० बजे प्रसारण भइरहेको भिडियो म्यागजिन
'सग्लो समाज'को ९औं अंक ‘
‘सुन्दर शहर, कुरूप शहर'’मा आधारित सामग्री।)