लक्ष्मी–नारायण मूर्ति फिर्ता ल्याउने खर्च ललितपुर महानगरपालिकाले व्यहोर्ने
पाटनबाट ३७ वर्षअघि चोरिएको र एक वर्षअघि अमेरिकाको ‘डल्लास म्युजियम अफ आर्ट’मा भेटिएको लक्ष्मी–नारायण (वासुदेव–कमलाजा) मूर्ति फिर्ता ल्याउन लाग्ने खर्च ललितपुर महानगरपालिकाले व्यहोर्ने भएको छ।
मेयर चिरिबाबु महर्जनले १६ फागुनमा केही वडाध्यक्ष, पुरातत्त्वविद् र चोरिएका मूर्तिबारे नियमित रिपोर्टिङ गरिरहेका पत्रकारसँग यसबारे छलफल गरेका थिए। उक्त मूर्ति अमेरिकाबाट फिर्ता ल्याउन पहल गर्ने र ल्याउने खर्च व्यहोर्ने महानगरपालिकाले जनाएको छ। महानगरका अनुसार सम्पूर्ण प्रक्रिया पुर्याएर क्षमापूजा गरेपछि आवश्यक सुरक्षाको प्रबन्धसहित मूर्तिलाई पुरानै ठाउँमा राख्ने निर्णय भएको छ।
सन् १९८४ मा पाटनको कृष्णमन्दिर छेउमा रहेको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको लक्ष्मी–नारायण मूर्ति गत वर्ष टेक्सासस्थित म्युजियममा भेटिएको थियो। उक्त मूर्ति नेपालबाट चोरिएको थियो भन्ने प्रमाणित भएपछि त्यसलाई फर्काउन म्युजियम लचिलो भएको थियो।
त्यसपछि म्युजियमले उक्त मूर्ति फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) लाई हस्तान्तरण गरेको थियो। अबको चार दिनपछि एफबीआईले उक्त मूर्ति अमेरिकास्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्दैछ। त्यसपछि नेपाल ल्याउन ललितपुर महानगरपालिकाले पहल गर्ने भएको हो।