भारतलाई बिजुली बिक्री गर्ने ढोका खुल्यो, प्राधिकरणका प्रमुख भन्छन्- 'अब वर्षायामको बिजुली खेर जाँदैन'
भारतले अन्तरदेशीय विद्युत् आयात-निर्यातसम्बन्धी कार्यविधि जारी गरेर नेपालको बिजुली लैजाने बाटो खुला गरेको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले शुक्रबार अन्तरदेशीय विद्युत् आयात निर्यात सम्बन्धी कार्यविधि जारी गरेर नेपालको विद्युत् भारतीय बजारमा बिक्री गर्न पाउने व्यवस्था गरेको हो।
वर्षायाममा बढी भएको बिजुली भारतीय बजारमा बिक्री गर्ने सम्भावना हेरिरहेको नेपाललाई भारतको नयाँ कार्यविधिपछि राहत मिलेको छ। यो कार्यविधिका कारण आगामी वर्षायाममा नेपालमा खपत भएर बढी हुने विद्युत् भारत निर्यात गर्ने सम्भावना बढेको छ। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा खपत भएर बढी भएको बिजुली भारत निर्यात गर्न सजिलो हुने बताए। “द्विपक्षीय समझदारी मार्फत विद्युत् पठाउने गरिएको थियो, तर त्यो सजिलो थिएन। नयाँ व्यवस्थापछि भारतीय खुला बजारमा विद्युत् बिक्रीको सोझै पहुँच मिल्नेछ, जुन नेपालका लागि सकारात्मक छ,” शाक्यले भने।
भारतले जमीनको सीमा जोडिएको र विद्युत् व्यापार सम्बन्धी सम्झौता भएको देशको बिजुली खरीद गर्न सक्ने गरी कार्यविधि स्वीकृत गरेको छ। भारतले नेपालसहित भुटान र बाङ्लादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकेकाले नेपालको बिजुलीले अब भारतीय बजारमा प्रतिस्पर्धात्मक तरिकाले बिक्रीको अवसर पाउनेछ।
आगामी वर्षायाममा नेपाललाई ठूलो परिमाणमा बिजुली बढी हुनेछ। किनभने, आगामी वर्षायाम अगावै करीब ७०० मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा आउने अनुमान गरिएको छ, जसमा देशको अहिलेसम्मकै ठूलो माथिल्लो तामाकोशी पनि एक हो। माग नबढ्ने तर विद्युत् उत्पादन अहिले भइरहेको तुलनामा झन्डै आधा थपिने भएपछि वर्षायाममा ७०० मेगावाट हाराहारीमा विद्युत् खेर जाने जोखिम थियो। जस्तै, गत वर्षायाममा रातको समयमा दैनिक ३०० मेगावाटसम्म बिजुली खेर गएको थियो। अब नेपालमा खपत भएर बचेको बिजुली भारतीय बजारमा बिक्री गरिने र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यले बताए।
भारतले जमीनको सीमा जोडिएको र विद्युत् व्यापार सम्बन्धी सम्झौता भएको देशको बिजुली खरीद गर्न सक्ने गरी कार्यविधि स्वीकृत गरेको छ। भारतले नेपालसहित भुटान र बाङ्लादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकेकाले नेपालको बिजुलीले अब भारतीय बजारमा प्रतिस्पर्धात्मक तरिकाले बिक्रीको अवसर पाउनेछ। कार्यविधिमा जमीनको सीमा जोडिएका तर विद्युत् व्यापार सम्झौता नभएका देशको लगानीमा उत्पादित विद्युत्लाई भने भारतीय बजारमा बिक्रीको पहुँच रोकिएको छ। जस अनुसार, नेपालमा चिनियाँ लगानीका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्ले भारतीय बजारमा बिक्रीको अवसर पाउनेछैन। नेपालले चिनियाँ लगानीमा विभिन्न आयोजना निर्माणको तयारी गरिरहेको छ। यद्यपि, नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङ कार्यविधिले भारतको परराष्ट्र र ऊर्जा मन्त्रालयको अनुमति लिएर विद्युत् बिक्रीको ठाउँ भने बाँकी नै राखेको बताउँछन्।
यसअघि भारतले सन् २०१६ मा जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकामा तेस्रो मुलुकले लगानी गरेको आयोजनाबाट उत्पादित बिजुलीलाई भारत प्रवेशमा रोक लगाउँदै भारतीय कम्पनीका ५१ प्रतिशत स्वामित्व भएका आयोजनाको विद्युत् मात्र भारतीय बजारमा प्रवेश दिने निर्णय गरेको थियो। नेपालले यो प्रावधान सच्याउन लगातार आग्रह गरेपछि भारतले सन् २०१८ मा यस्तो कठोर व्यवस्था हटाएको थियो।
नेपाल विद्युत् प्राधिकरणले गत वर्ष नै द्विपक्षीय विद्युत् व्यापारका लागि भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) लाई नोडल एजेन्सीका रूपमा तोकिसकेको छ। यो एजेन्टले नेपालको विद्युत् भारतीय बजारमा बिक्रीको जिम्मेवारी लिन्छ।
“द्विपक्षीय समझदारी मार्फत विद्युत् पठाउने गरिएको थियो, तर त्यो सजिलो थिएन। नयाँ व्यवस्थापछि भारतीय खुला बजारमा विद्युत् बिक्रीको सोझै पहुँच मिल्नेछ, जुन नेपालका लागि सकारात्मक छ।” - हितेन्द्रदेव शाक्य, प्रबन्ध निर्देशक, नेपाल विद्युत् प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक घिसिङ नेपालमा उत्पादित विद्युत्का लागि भारतीय बजार उपलब्ध गराइदिन नेपाली पक्षको लामो समयको पहलले अहिले मूर्त रूप लिएको बताउँछन्। उनी यो व्यवस्था नेपालको दीर्घकालीन विद्युत् निर्यातका लागि सकारात्मक भएको बताउँदै वर्षायामको जगेडा बिजुली भारतमा बिक्री गर्न अहिलेदेखि नै पहल गर्नुपर्ने बताउँछन्।
“नेपालले वर्षायाममा विद्युत् बिक्री गर्ने कारणले तत्कालका लागि भारतीय बजारमा प्रतिस्पर्धात्मक दर पाउनसक्छ, किनभने वर्षायाममा नेपालको विद्युत् लागत प्रतियुनिट रु. ४.८० मात्रै छ, यो प्रतिस्पर्धात्मक दर नै हो,” घिसिङ भन्छन्। उनको भनाइमा नेपालबाट भारतीय विद्युत् प्रसारण लाइन हुँदै बाङ्लादेशसम्म विद्युत् निर्यातको सम्भावना समेत समेट्ने गरी कार्यविधिले सहजीकरण गरेको छ। यो व्यवस्थाले नेपालमा उत्पादित विद्युत् बाङ्लादेशसम्म पुग्न बाटो खुलेको छ। बाङ्लादेशले नेपालको विद्युत् खरीदका लागि चासो देखाउँदै आएको छ।
नेपाल-भारत सचिवस्तरीय दुई देशीय संयुक्त संयन्त्रमा नेपालले भारतीय बजारमा विद्युत् पहुँचका लागि अजेण्डा अगाडि सार्दै आएको थियो। नेपालको प्रस्तावमा आलटाल गर्दै आएको भारतले यस पटक भने नेपालमा उत्पादित विद्युत्लाई भारतीय बजारमा पहुँच दिने निर्णय गरेको हो। प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतीय बजारको पहुँच खुलेसँगै नेपालमा जगेडा विद्युत् तत्कालै बिक्री गर्न सकिने बताए। उनले भने, “आगामी वर्षायाममा जगेडा हुने विद्युत् खेर जाने जोखिम थियो, अब भारतीय बजारमा बिक्रीको सुनिश्चितता भएको छ ।”
चालू आर्थिक वर्षको असार मसान्तसम्म माथिल्लो तामाकोसी (४५६ मेगावाट) सहित करीब ७०० मेगावाट विद्युत् उत्पादन बढ्ने आकलन गरिएको छ। हिउँदमा देशभित्रको माग थेग्न भारतबाट विद्युत् आयात गर्नुपरे पनि वर्षायाममा भने नेपालको करीब ७०० मेगावाटसम्म विद्युत् खेर जाने जोखिम थियो। भारतसँगको अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभीमा चार्ज भइसकेकाले नेपालले आगामी वर्षायाममा बढी भएको विद्युत् भारतको बजारमा पठाउन व्यवधान छैन।