मधेसको परिवेशमा ‘क्षमादान’ उपन्यास आउँदै
गणेशप्रसाद लाठ लिखित उपन्यास ‘क्षमादान’ आगामी साता सार्वजनिक हुने भएको छ। मधेसको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई विषय बनाइएको यो पुस्तक २०२१ मा प्रकाशन भएको आफ्नो पहिलो कृति हुने पब्लिकेसन्स नेपालयले जनाएको छ।
लेखक लाठले साहित्यमा खासै उपस्थिति नरहेका व्यावसायिक परिवारको मानवीय पाटोलाई आख्यानको माध्यमबाट खोतल्न चाहेको बताएका छन्। "मधेसले धच गोतामेदेखि विमल निभासम्मका केही उत्कृष्ट लेखकहरू पाएको छ। उनीहरूका कृतिले मधेसको सौन्दर्यशास्त्र र काव्यात्मकतालाई बडो चमत्कारी ढंगले व्यक्त पनि गरेका छन्," लेखकले किताब लेख्न प्रेरित गरेको सन्दर्भबारे भने, "तर एउटा पाठकको रूपमा, जो पेशाले एउटा व्यवसायी भएको छ, नेपालीमा प्रकाशित हुने अधिकांश किताबमा म आफूलाई भेट्दिनँ।'
प्रजातन्त्र स्थापना कालपछिको नवोदित शहर वीरगन्जमा हुर्किएका लाठको बाल्यकाल चलचित्रको सान्निध्यमा बित्यो। रोमान्टिक सामाजिक नाटक रुचाउने पाठकका निम्ति यो कथाशैलीले आकर्षित गर्ने कुरामा लेखक विश्वस्त देखिन्छन्।
प्रकाशन गृहका तर्फबाट भूषिता वशिष्ठले विगतका केही दशकदेखि राजनीतिक अस्थिरताले सम्भवतः सबैभन्दा धेरै प्रभावित व्यावसायिक परिवारको कथावस्तुलाई लेखकले सटीक रूपमा उजागर गरेको बताइन्। "उनीहरूको कथा र यसको विकासक्रम सम्पूर्ण नेपाली कथा संसारको महत्त्वपूर्ण अंग हो, जुन अझै पनि साहित्यमा पर्याप्त ढंगले परिलक्षित भएको छैन। यस पुस्तकले त्यही अभावलाई सानै रूपमा भए पनि पूर्णतातिर डोर्याउँछ भन्ने आश राख्छौं," उनले भनिन्।
लाठ, वीरगन्जलाई प्रतिनिधित्व गर्ने नेपालय पब्लिकेसन्सका दोस्रो लेखक हुन्। सो पब्लिकेसन्सबाट सन् २०१६ मा 'वीरगन्ज' शीर्षकमा गिरीश गिरीको गैरआख्यान प्रकाशन भएको थियो।
पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सैजन मास्केले महामारी र लकडाउन खेपेको पुस्तक बजारले नयाँ चहलपहल पर्खिरहेको र त्यस क्रममा क्षमादानले पाठकलाई आकर्षित गर्नेमा आशावादी रहेको बताइन्।
पुस्तक देशका प्रमुख पसलहरूमा उपलब्ध हुनुका साथै ई-बुकका रूपमा थुप्रै डट कम किन्न सकिने र अमेजन मार्फत पनि विश्वभर उपलब्ध हुने नेपालयले जनाएको छ। पुस्तकको मूल्य रू. ४९५ राखिएको छ।