आँसु र हाँसो, मूर्ति : खलील जिब्रानका दुई लघुकथा
१. आँसु र हाँसो
नाइल नदीको किनारमा एउटा हुँडारको गोहीसँग भेट भयो। दुवैले एक-अर्कालाई अभिवादन गरे।
हुँडारले सोध्यो, "दिन कसरी बित्दै छन् ?"
गोहीले बतायो, "हालत धेरै खराब छ। जब कुनै बेला म पीडा र दु:खले रुन्छु, सारा जीवजन्तुले भन्ने गर्छन्, 'हेर त गोही-आँसु।' यो भनाइले मलाई कति आहत पार्छ, शब्दमा बताउन सक्दिनँ।"
हुँडारले भन्यो, "तिमी आफ्नै पीडामा अल्झेका छौ, एकछिन मेरो बारेमा पनि त सोच। जब म प्रकृतिको सुन्दरतामा नजर लगाउँछु, यसको चमत्कार र जादू देखेर आनन्द मान्दै हाँस्छु। तब यही जंगलका अरु प्राणी भन्छन्, यो केही पनि हैन, जाबो हुँडारको हाँसो हो !"
२. मूर्ति
एक पटकको कुरा हो, पहाडको बीच भागमा एउटा मानिस बस्थ्यो, जोसँग एक प्राचीन मूर्तिकारले बनाएको मूर्ति थियो। मूर्ति ढोका सामुन्नेमै राखिएको थियो। तर, यसको बारेमा उसलाई खासै चासो थिएन।
एक दिन उसको घरको बाटो हुँदै शहरबाट ज्ञानगुनले सम्पन्न एउटा व्यक्ति आयो। त्यो व्यक्तिले मूर्ति देखेर यसको मालिकलाई सोध्यो, "यो बेच्नुहुन्छ?"
मालिकले हाँस्दै भन्यो, "यस्तो भद्दा र घिनलाग्दो ढुंगा कसले किन्ला र !"
शहरको मानिसले भन्यो, "यसको लागि म तिमीलाई चाँदीको एक टुक्रा दिन्छु।"
मूर्तिको मालिक चकित र प्रसन्न भयो।
त्यो मूर्तिलाई शहर लगेर हात्तीमाथि राखेर नगर परिक्रमा गराइयो। महीनौंपछि पहाडको त्यो मानिस शहर गयो। गल्लीमा हिँड्दै गर्दा एउटा पसल अगाडि निकै भीड देख्यो। त्यहाँ एउटा मानिस ठूलो स्वरमा भनिरहेको थियो, "आउनुस् र हेर्नुस् संसारकै सुन्दर र अद्भुत मूर्ति। कालिगढको यो मोहक कला हेर्न चाँदीको केवल दुई वटा सिक्का तिरे पुग्छ।"
त्यो मानिसले चाँदीका दुई सिक्का बुझायो र मूर्ति हेर्न पसलभित्र पस्यो, जसलाई ऊ आफैंले चाँदीको एक टुक्रामा बेचेको थियो।
**
खलील जिब्रान (६ जनवरी १८८३ - १० अप्रिल १९३१) लेबनानका महान् लेखक तथा दार्शनिक हुन्। जीवन विषयक चिन्तनपरक लेखनका साथै उनले कविता, कथा, रूपककथा लेखेका छन्। मानव तथा पशुपक्षीको उदाहरण लिंदै मानव जीवनका विभिन्न पाटो स्पष्ट पारेर लघुकथा लेख्ने जिब्रानका लेखन विशेष रुचाइन्छन्। उनलाई विशेष गरी चर्चित पुस्तक 'द प्रफेट' को लेखकका रूपमा चिनिन्छ। अमेरिकामा सन् सन् १९२३ मा प्रकाशित यो कृति त्यसबेलादेखि बेस्टसेलर पुस्तकहरूमध्ये पर्छ। 'द प्रफेट' को एक सयभन्दा बढी भाषामा अनुवाद भइसकेको छ।