भान गग कक्षमा पाटनका भूत
भूत–प्रेतमा चासो छ भने ललितपुरस्थित पाटनढोकाको ढोकैमा क्याफे परिसरमा रहेको भान गग कक्ष चहार्न सकिन्छ। त्यहाँ अहिले ‘पाटनका भूत’ हरू अवलोकनका लागि राखिएका छन्।
मैतीदेवीका फोटोग्राफर प्रज्वल भट्टराईले ती ‘भूत’ जम्मा पारेका हुन्। मध्यरातमा पाटन दरबार क्षेत्र घुम्ने क्रममा उनले खिचेका आठ वटा श्यामश्वेत तस्वीरलाई ‘घोस्ट अफ पाटन’ शीर्षक दिएर प्रदर्शनीमा राखिएको हो।
तस्वीरहरूमा मल्ल राजाको मूर्ति, कृष्ण मन्दिर, दरबार स्क्वायरका सत्तल र परिसर कैद गरिएका छन्। मध्यराति पाटन घुम्दा जीवजन्तुमा प्रज्वलले कुकुर मात्रै भेटे, उनले त्यसको पनि तस्वीर खिचेका छन्।
“मध्यरातमा भूत घुम्ने बेला म पाटन दरबार स्क्वायर घुमिरहेको हुन्छु,” उनले भने, “म आफैैँ भूत हुँ कि जस्तो पनि लाग्छ।”
प्रज्वलले तस्वीर मार्फत खासै केही अभिव्यक्त गर्न नखोजेको बताए। तर, अवलोकनकर्ताले तस्वीरका सूक्ष्म विवरण केलाउँदा र विभिन्न कोणबाट अर्थ्याउँदा आफ्ना तस्वीरहरुले अर्थ भेटेको र ती अझै परिष्कृत भएको उनी ठान्छन्, जसमा उनी खुशी मान्छन्।
“कृष्ण मन्दिरको फोटोमा एकजनाले मान्छेको अनुहार देख्नुभएछ,” प्रज्वल भन्छन्, “त्यो मैले याद गरेको थिइनँ। उहाँले देखाएपछि रमाइलो लाग्यो।”
शुक्रबार (१५ फागुन) देखि अवलोकनका लागि राखिएका प्रज्वलका तस्वीर बुधबारसम्म रहनेछन्। त्यसपछि सन्जोग राईका तस्वीर टाँगिनेछन्। टुलिका कलाले आयोजना गरेको ‘खोलो २.० : अ साइकल अफ लाइफ’ को पहिलो खण्डमा अहिले फोटोग्राफी विधाको प्रदर्शनी चलिरहेको छ।
३० माघ २०७७ बाट शुरु भएको प्रदर्शनी ११ भदौ २०७८ सम्म (सात महीना) निरन्तर चल्नेछ। यो अवधिमा फोटोग्राफी, डिजिटल आर्ट, सेरामिक, प्रिन्ट मेकिङ, कन्टेम्पोररी, ट्रेडिसनल र स्कल्पचर गरी सात वटा विधाका २८ कलाकारका रचनाकृति प्रदर्शनीमा राखिने प्रदर्शनीकी को–क्युरेटर समीक्षा श्रेष्ठले जानकारी दिइन्।
यसअघि भान गग कक्षमा आकाश प्रधानले हवाईजहाज थिममा खिचेका तस्वीर राखिएका थिए। तिनमा भूकम्प पीडितकाे कथालाई सूर्यमुखी फूलको विम्बसहित प्रस्तुत गरिएको थियो।
नेदरल्यान्ड्समा जन्मिएका प्रसिद्ध चित्रकार भिन्सेन्ट भान गगको नाममा भान गग कक्षको नामकरण गरिएको हो। भान गग आफ्ना कलामा सौन्दर्य, भाव अभिव्यक्ति र रङ संयोजनमा नामी छन् । उनका 'द स्टारी नाइट', 'ह्विटफिल्ड विद् क्रो', 'द पटाटो इटर्स' जस्ता चित्र प्रसिद्ध छन्।
अघिल्लो साता भने भान गग कक्ष इन्स्टाग्राममय बनेको थियो। त्यहाँ छिर्दा आफू इन्स्टाभित्रै छिरेको वा बडेमाका इन्स्टाग्रामले आफूलाई नै हेरिरहेको महसूस हुन्थ्यो।
“पहिले–पहिले प्रदर्शनीहरूमा कलाकृतिलाई सेतो भित्तामा टपक्क झुन्ड्याइन्थ्यो, तर यसपालि नयाँ तरिकाले क्युरेसन गरिएको थियो,” भिजुअल आर्टिस्ट कैलाश के श्रेष्ठ भन्छन्, “यसले आकर्षण थप्यो।”
कैलाशले ‘आइसोलेसन र अकरेन्सेस’ थिममा खिचेका तस्वीरलाई क्युरेटर उजेन नोर्बु गुरुङलले सोसल मिडियासँग जोडेर प्रस्तुत गरेका थिए। “लकडाउनका बेला हामी सबै बाध्यात्मक बन्धनमा थियौं," कैलाश भन्छन्, “हाम्रा सार्वजनिक ठाउँहरू मान्छे नहुँदा कस्ता भए होलान् भनेर म हेर्न निस्किएको थिएँ। त्यही बेला खिचेका तस्वीर यहाँ राखिएका हुन्।”
उनले कोभिड-१९ महामारीविरुद्ध लड्न लागू गरिएको बन्दाबन्दी (लकडाउन)मा सरकार, राजनीतिक दल र नेता के गर्दै थिए अनि जनताको हालत कस्तो थियो भन्ने स्मरण गराउन ‘अकरेन्सेस’ थिममा चित्र प्रस्तुत गरेका थिए।
कैलाशका तस्वीरमा सिंहदरबार, शहीदगेट, छाउनी अस्पताल, ताहाचल लगायत स्थानका मूल सडकमा एक युवा आकृति मास्कसहित उभिएको देखिन्छ। एक ठाउँमा त ऊ पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) मा पनि हुन्छ। उक्त आकृतिको अनुहार छैन।
फोटोग्राफी विधाको प्रदर्शनी सकिएपछि डिजिटल आर्ट शृंखला शुरू हुन्छ। यो प्रदर्शनी भौतिक र अनलाइन दुवै माध्यममा जारी छ।
प्रदर्शनीमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर आर्टिस्टबारे थप जानकारी पनि लिन सकिन्छ।