क्यूआर कोडबाटै तरकारीदेखि सरकारी सेवाको भुक्तानी
छाेटाे समयमै फड्को मारेको प्रविधि हो, क्यूआर कोड। उपभोग्य सामान खरिद गर्दा होस् कि सरकारी सेवाको भुक्तानी गर्दा होस् क्यूआर काेडले दैनिकी सहज बनाएकाे छ, तर अन्तरआबद्धता नहुँदा भने कठिनाइ भइरहेको छ।
कार्यालयको काम सकेर १३ फागुनमा बागबजारस्थित निवास फर्किंदै गर्दा मीरा केसी काठमाडौंको टुकुचास्थित इच्छुमती तरकारी बजार पुगिन्। ताजा तरकारी किनिन्। रु.६० भयो, तर उनीसँग रु.१ हजारको नोट थियो।
उनले नोट दिँदै गर्दा पसलले क्यूआर कोडबाट तिर्न सुझाए। मोबाइल निकालेर क्यूआर कोड स्केनरमा लगाइन्, एकैछिनमा भुक्तानी भयो। पहिलो पटक क्यूआर कोड प्रयोग गरेकी उनी दंग परिन्।
शंकरदेव क्याम्पसमा पढ्ने सुरक्षा अधिकारीले त १३ फागुन दिउँसो टुकुचास्थित इच्छुमती तरकारी बजारमा रु.२० को काउली किनेर झोलाबाट पैसा हैन, मोबाइल निकालिन्। क्यूआर कोड स्क्यान गरिन्, एकैछिनमा उनको ब्यांक खाताबाट रु.२० काटिएको म्यासेज आयो।
मुक्तिनाथ विकास ब्यांकको मोबाइल ब्यांकिङ सुविधा लिएकी अधिकारी दैनिक प्रयोजनका सेवा लिँदा सकेसम्म नगदरहित नै कारोबार गर्छिन्। किराना पसल तथा तरकारी बजारमा पुगेर दैनिक उपभोग्य सामान किन्दा होस् कि मोबाइल रिचार्र्ज गर्न, बिजुलीको बिल तिर्न होस्, उनी क्यूआर कोडकै प्रयोग गर्छिन्। “चानचुन पैसा बोक्नुभन्दा आधुनिक प्रविधिको प्रयोग गर्न सजिलो हुन्छ, त्यसैले सकेसम्म नगदरहित कारोबार गर्छु,” अधिकारी भन्छिन्।
तरकारी बजार, चिया पसल, किराना पसलदेखि रेस्टुराँको बिल तिर्नसमेत नगदरहित कारोबार गर्नेको संख्या बढ्न थालेको छ। यसका लागि दुई वर्षयता क्यूआर कोड सहयोगी बनेको छ। इच्छुमती तरकारी बजारका व्यापारी माधव घोरासाइनी क्यूआर कोडबाट भुक्तानी गर्ने बढ्दै गएको बताउँछन्। उनी नगदबाटै बानी परेका उपभोक्तालाई ब्यांक खाता खोल्न, मोबाइल ब्यांकिङको प्रयोग गर्न र क्यूआर कोडमार्फत भुक्तानी गराउन सचेतना बढाउनुपर्ने बताउँछन्।
सिद्धार्थनगरमा त तरकारी बजारसँगै तरकारी पसल, खुद्रा पसल र ई–रिक्सामा पनि क्यूआर कोड राखिएको छ।
राष्ट्र ब्यांकले पनि क्यूआर कोडको प्रवर्द्धन गरिरहेको छ। प्रवर्द्धनकै लागि राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारी क्यूआर कोड उद्घाटनमा समेत गइरहेका छन्। गभर्नर अधिकारीले १० पुसमा सानिमा ब्यांकले नक्साल तरकारी बजारमा सञ्चालन गरेको क्यूआर कोडबाट भुक्तानीको शुभारम्भ गरे। राष्ट्र ब्यांकले औपचारिक रूपमा उद्घाटन गरेको यो पहिलो क्यूआर कोडपछि अहिले यसको उद्घाटनमा राष्ट्र ब्यांकका पदाधिकारीलाई भ्याइनभ्याइ छ।
२४ पुसमा प्रभु ब्यांकको कालीमाटी तरकारी बजारमा, ९ माघमा ग्लोबल आईएमई ब्यांकको ललितपुरको नख्खु तरकारी बजारमा र १६ माघमा नबिल ब्यांकको कुलेश्वर तरकारी बजारमा क्यूआर कोडको शुरूआत गरियो। १६ माघमै एनएमबी ब्यांकले बल्खु तरकारी बजारमा, २१ माघमा माछापुच्छे« ब्यांकले तीनकुने तरकारी बजारमा, ३० माघमा सिभिल ब्यांकले सिन्धुली बजारमा र ७ फागुनमा बंगलादेश ब्यांकले चाबहिल तरकारी बजारमा क्यूआर कोडमार्फत कारोबार थालनी ग¥यो।
राजधानीमा मात्रै होइन, यसको प्रयोग मोफसलमा पनि हुन थालेको छ। १२ फागुनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बीपिपथस्थित मायादेवी तरकारी तथा फलफूल बजारमा नबिल ब्यांकको क्यूआर कोड उद्घाटन गरिएको छ। तरकारी बजारमा ग्राहकको आवतजावत धेरै हुने र धेरैले एउटै ठाउँमा गर्ने कारोबारका हिसाबले ती ठाउँमा क्यूआर कोडको सेवा दिएर प्रवर्द्धन गरिएको राष्ट्र ब्यांकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी बताउँछन्।
सिद्धार्थनगरमा त तरकारी बजारसँगै तरकारी पसल, खुद्रा पसल र ई–रिक्सामा पनि क्यूआर कोड राखिएको छ। काठमाडौंमा चिया पसल, रेस्टुराँमा क्यूआर कोड चल्न थालेको छ। राष्ट्र ब्यांकको तथ्यांकले पनि क्यूआर कोड प्रयोग गर्ने क्रम बढेको देखाउँछ। पछिल्ला ७ महीनामै क्यूआर कोड प्रयोगको संख्या झन्डै दोब्बर भएको छ। असारमा १ लाख ९५ हजार १६ पटक क्यूआर कोड प्रयोग भएको थियो भने पुसमा बढेर ३ लाख ७२ हजार १७६ पुगेको छ।
असारयता ७ महीनामा क्यूआर कोड प्रयोगको संख्या बढ्दै आएको छ। अब स–सानो कारोबारमा पनि क्यूआर कोडको प्रयोग हुन थालेको राष्ट्र ब्यांकका प्रवक्ता गुणाकर भट्ट बताउँछन्। उनी उदाहरण दिन्छन्, ‘‘मंसीरमा कारोबार संख्या बढेको छ, तर रकम घटेको छ। कारोबार संख्या बढ्नु र रकम घट्नु भनेको धेरै प्रयोगकर्ताको पहुँचमा पुगेको र सानोसानो कारोबार हुन थालेको बुझ्नुपर्छ।’’
दुई वर्षमै फड्को
ग्लोबल आईएमई र एनआईसी एसिया ब्यांकले दुई वर्षअघि फोनपेको नेटवर्क प्रयोग गर्ने सम्झौता गर्दा ‘क्विक रेस्पोन्स (क्यूआर) कोड’को प्रयोग र नगदरहित कारोबार बढाउने गरी मोबाइल ब्यांकिङ एप बनाएका थिए। मोबाइल ब्यांकिङ सेवा दिने र ग्राहकलाई आकर्षित गर्नसक्ने एप बनाउँदा त्यसमा राखिएको थियो, क्यूआर कोड स्क्यानको सुविधा। त्यही क्यूआर कोडको सुविधा अहिले नगदरहित भुक्तानी सेवामा छोटो समयमा नै फड्को मार्ने प्रविधि बनेको छ।
२०७७ असारदेखि पुससम्म क्यूआर काेड प्रयाेगकर्ता र काराेबार संख्या :
सन् २०१८ मा ग्लोबल आईएमई ब्यांकले एफवान सफ्टसँग फोनपेको नेटवर्क प्रयोग गर्ने गरी सम्झौता गरेको थियो। त्यसअघि वाणिज्य ब्यांकले फोनपेको प्रयोग गर्ने र नगदरहित सेवा दिने गरेका थिएनन्। ई–सेवाले आफ्नो नेटवर्कभित्र क्यूआर कोडको प्रयोग गरिरहेको भए पनि औपचारिक प्रणाली पछ्याउने काम भने ब्यांकबाटै भयो।
एफवान सफ्टको फोनपे प्रणाली पछ्याउनेमा तीन वटा मोबाइल वालेट (ई–सेवा, सेलपे र आईएमईपे) सहित ५७ वटा ब्यांक तथा वित्तीय संस्था छन्। जसमा २४ वटा वाणिज्य ब्यांक, तीनवटा वालेट र ३० वटा वित्तीय संस्था छन्। त्यस्तै, राष्ट्र ब्यांकबाट अनुमति पाएका थप २७ वटा भुक्तानी सेवा तथा सञ्चालन प्रदायकसँग पनि क्यूआर कोड स्क्यानको सुविधा छ।
अहिले ब्यांक तथा वित्तीय संस्थामार्फत क्यूआर कोड प्रयोग गरेर दैनिक रु.६ करोडको कारोबार हुन्छ। नेपाल राष्ट्र ब्यांकका अनुसार २०७७ पुससम्म क्यूआर कोडमार्फत रु.१ अर्ब २४ करोड ४५ लाख कारोबार भएको छ। यो कारोबारका लागि एक लाख ९१ हजार २९२ प्रयोगकर्ताले तीन लाख ७२ हजार १७६ पटक क्यूआर कोड प्रयोग गरेका छन्।
क्यूआर कोड प्रयोगकर्ता मंसीरको तुलनामा पुसमा २२ हजार ८३७ ले बढेका छन्। मंसीरमा तीन लाख ४३ हजार ५७४ पटक भएको क्यूआर कोड प्रयोगबाट रु.१ अर्ब २५ करोड ६० लाख कारोबार भएको राष्ट्र ब्यांकको तथ्यांक छ। त्यस्तै, पुसमा ३ लाख ७१ हजार १७६ पटक क्यूआर कोड प्रयोग भई रु.१ अर्ब २४ करोड ५० लाख कारोबार भएको छ।
ब्यांक तथा वित्तीय संस्थाबाट भन्दा वालेटबाट अझ बढी कारोबार हुने गरेको छ। राष्ट्र ब्यांकको तथ्यांकअनुसार, पुसमा वालेटबाट भएको मासिक कारोबार रु.९ अर्ब ६५ करोड छ। नौ वटा वालेटमार्फत एक महीनामा ९८ लाख ९० हजार पटक क्यूआर कोड प्रयोग हुँदा भएको छ।
नगदरहित कारोबारको प्रवर्द्धन
क्यूआर कोडको प्रयोग बढ्दै जाँदा नगदरहित कारोबारको प्रवर्द्धनमा पनि सहयोग पुगेको छ। राष्ट्र ब्यांकले पनि ब्यांक तथा वित्तीय संस्थालाई क्यूआर कोडमा आधारित कारोबार सञ्चालन गर्न सहजीकरण गरिरहेको छ। क्यूआर कोडको प्रयोग गर्दा सेवा शुल्कका रूपमा डेबिट तथा क्रेडिट कार्डमार्फत बाहिरिने रकम पनि रोकिन्छ। नोट छपाइमा हुने खर्च पनि घट्दै जान्छ।
क्यूआर कोडको प्रयोग गर्दा सेवा शुल्कका रूपमा डेबिट तथा क्रेडिट कार्डमार्फत बाहिरिने रकम पनि रोकिन्छ। नोट छपाइमा हुने खर्च पनि घट्दै जान्छ।
यसका लागि राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थालाई सीधै भुक्तानी, रकम ट्रान्सफरदेखि मोबाइल वालेटको सुविधा प्रयोग गर्न अनुमति पनि दिँदै आएको छ। राष्ट्र ब्यांकबाट पुससम्म नौ वटा मोबाइल वालेट र १८ वटा भुक्तानी सेवा प्रदायक (वालेट एप्स)ले अनुमति लिएका छन्। तर, साउन २०७७ सम्म सैद्धान्तिक स्वीकृति पाएकाबाहेक भुक्तानी सेवा सञ्चालक (मोबाइल वालेट)लाई अनुमति दिन रोकेको छ।
नगदरहित कारोबारलाई प्रवर्द्धन गर्नैको लागि क्यूआर कोडमा हुने भुक्तानीमा शुल्क नलाग्ने गरिएको ब्यांकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष भुवन दाहाल बताउँछन्। “सामान किन्दा ग्राहकलाई एक रुपैयाँ पनि शुल्क लाग्दैन भने सोही ब्यांकमा हुने फन्ड ट्रान्सफर पनि निःशुल्क छ,” अध्यक्ष दाहाल भन्छन्। एउटा ब्यांकबाट अर्कोमा फन्ड ट्रान्सफर गर्दा मात्रै न्यूनतम शुल्क लाग्ने गरेको छ। यो पनि ग्राहक ब्यांकसम्म पुग्दा लाग्ने समय र खर्चको तुलनामा न्यूनतम शुल्क भएको उनको भनाइ छ।
अन्तरआबद्धता नहुँदा समस्या
भुक्तानी सेवा वा सञ्चालकको लाइसेन्स पाएका सबै कम्पनीले क्यूआर कोड सञ्चालन गरिरहेका छन्, तर अन्तरआबद्धता भने छैन। जस्तो, फोनपेको नेटवर्कभित्र मात्रै एकबाट अर्कोमा कारोबार गर्न पाइन्छ। फोनपेले अरू नेटवर्कलाई यो सुविधा दिएको छैन। त्यस्तै, एउटाबाट अर्कोमा क्यूआर कोड स्क्यानको सुविधा सबैले वालेटले दिएका छैनन्। वालेट सेवा दिने कम्पनी नौ वटा छन्, तर अन्तरआबद्धता नहुँदा सानासाना पसल वा व्यापारीले धेरैवटा खातासँगै वालेट अनुसारकै क्यूआर कोड चलाउनुपर्ने झन्झट छ।
राष्ट्र ब्यांकले नगदरहित भुक्तानी गर्न प्रवर्द्धन गरे पनि एउटा वालेटबाट अर्कोमा तथा एउटा सेवा प्रदायकबाट अर्कोमा क्यूआर कोड अन्तरअबद्धता दिएको छैन। राष्ट्र ब्यांकले धेरैवटा कम्पनीलाई अनुमति दिने, तर अन्तरआबद्धता नदिँदा व्यापारी र उपभोक्तालाई पनि समस्या भएको आईएमईपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास नाहटा बताउँछन्। “जसरी अहिले एउटै बुथमा ९–१० वटा एटीएम प्रयोग हुन्छन्, त्यसैगरी एउटै किराना पसलमा ९–१० वटा क्यूआर कोडको स्ट्यान्ड झुन्ड्याउनुपर्ने हुन्छ,” सीईओ नाहाटा भन्छन्, “त्यसैले धेरैवटा वालेट तथा क्यूआर कोड सेवाप्रदायक भएपछि एउटाबाट अर्कोमा सजिलै सेवा पाउनुपर्छ। यो अन्तरआबद्धता राष्ट्र ब्यांकले नै अनिवार्य गरिदिनुपर्छ।”
राष्ट्र ब्यांकले अन्तरआबद्धता नगराएर फोनपेको मात्रै क्यूआर कोड प्रवर्द्धन गरिरहेको वालेट सेवा प्रदायकहरूको आरोप छ। गभर्नरले एकपछि अर्को फोनपेको मात्रै क्यूआर कोडको उद्घाटन गरिरहँदा राष्ट्र ब्यांकबाटै अनुमति लिएर बसेका अन्य क्यूआर कोडका सेवाप्रदायक मर्कामा परेको उनीहरूको गुनासो छ।
अहिले खल्तीले प्रयोग गरेको क्यूआर कोड आइएमईपे, प्रभुपे, क्यूपे, स्मार्ट क्यूआर लगायतमा चल्ने भए पनि फोनपेले भने आफ्नो नेटवर्कमा मात्रै चल्ने गरी बनाइएको खल्ती डिजिटलका निर्देशक अमित अग्रवाल बताउँछन्। “अहिले बजारमा युनियन र फोनपे गरी दुईवटा नेटवर्क चल्छन्। यसको अर्थ क्यूआर कोड फोनपे र ई–सेवाको मात्रै होइन, अरूका पनि छन् भनेर सेवाग्राहीलाई बुझाउन पनि राष्ट्र ब्यांकले सहजीकरण तथा अन्तरआबद्धता दिनुपर्छ,” उनी भन्छन्। अन्तरआबद्धता भएपछि मात्रै एउटै पसल वा व्यापारीले दुईवटा क्यूआर कोड लिनुपर्ने झन्झट सकिने अग्रवाल बताउँछन्।
क्यूआर कोडमार्फत हुने भुक्तानीलाई व्यवस्थित र सहजीकरण गर्न आवश्यक गृहकार्य भइरहेको राष्ट्र ब्यांकका प्रवक्ता डा. भट्ट बताउँछन्। “राष्ट्र ब्यांकले कुनै एउटा ब्यांकलाई लिएर मात्रै प्रवर्द्धन गर्ने काम गर्दैन। त्यसैले सबैलाई सहजीकरण गर्दै अगाडि बढाइरहेको छ,” प्रवक्ता डा. भट्ट भन्छन्। २७ वटा वाणिज्य ब्यांकमध्ये नेपाल इन्भेष्टमेण्ट ब्यांक, एसबीआई र स्ट्यान्डर्ड चार्टर्ड ब्यांक मात्रै फोनपेको सदस्य छैनन्। अरू ब्यांकले फोनपेलाई स्वीकार गरेकाले सबैमार्फत हुने कारोबारलाई राष्ट्र ब्यांकले प्रवर्द्धन नै गरिरहेको उनको भनाइ छ।
“खल्ती, आइएमईपे, क्यूपे, स्मार्ट र प्रभुपेसहितमा एकबाट अर्कोमा पे गर्न मिल्छ, तर फोनपेको नेटवर्कमा मात्रै नमिल्ने बनाइएको छ।”
अहिले खल्ती, आईएमईपे, प्रभुपे, ग्लोबल आईएमईको नयाँ एपसहितको क्यूआर कोड एकको अर्कोमा चल्छन्। फोनपेसँग भने कसैको क्यूआर कोड चल्ने गरेको छैन। फोनपेका नेटवर्कभित्रका ब्यांक र वालेटको मात्रै अन्तरआबद्धता छ। प्राविधिक रूपमा अरूको वालेटबाट पेमेन्ट गर्न सकिने भए पनि फोनपेले अरूमा भुक्तानी गर्न नसकिने गरी बनाएको युनियनपेका बिजनेस डेभलपमेन्ट म्यानेजर राकेश श्रेष्ठ बताउँछन्। “खल्ती, आइएमईपे, क्यूपे, स्मार्ट र प्रभुपेसहितमा एकबाट अर्कोमा पे गर्न मिल्छ, तर फोनपेको नेटवर्कमा मात्रै नमिल्ने बनाइएको छ,” श्रेष्ठ भन्छन्, “युनियन पेले ‘प्वाइन्ट अफ सेल (पस)’ मेसिनबाट क्यूआर कोड रिड गर्ने र जुनसुकै सेवाप्रदायकबाट पनि पेमेन्ट गर्न सकिने प्रणाली बनाइरहेको छ। यसका लागि पनि अन्तरआबद्धता आवश्यक पर्छ।”
राष्ट्र ब्यांकका भुक्तानी विभाग प्रमुख भुवन कँडेल एउटै नेटवर्क प्रयोग गरेर सेवा दिएका ब्यांक तथा वित्तीय संस्थाको अन्तरआबद्धता सहजै भएको तर्क गर्छन्। “क्यूआरसँग अन्तरआबद्धता लगभग सबैसँग छ, यदि कुनैमा छैन भने हुनुपर्छ भन्ने मान्यतामा राष्ट्र ब्यांकले काम गरिरहेको छ,” कँडेल भन्छन्। राष्ट्र ब्यांकले चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिदेखि नै अन्तरआबद्धताको विषय अगाडि सारेको उनको भनाइ छ। “जसले अन्तरआबद्धता दिँदैन, त्यसको बजार सीमित हुन्छ र स्थायित्व पनि हुँदैन,” कँडेल भन्छन्, “फोनपेबाट मात्रै नभएर वालेटले गर्ने क्यूआर कोडमा पनि अन्तरआबद्धता हुनुपर्छ, यसका लागि पनि राष्ट्र ब्यांकले आवश्यक सहजीकरणको गृहकार्य गरिरहेको छ।’’
के हो क्यूआर कोड ?
क्यूआर कोड भनेको डेटा एक्सचेन्ज गर्ने क्यामेराको प्रयोगबाट हुने कारोबार हो। यो भुक्तानी गर्न मात्रै प्रयोग गरिँदैन। यसले स्क्यान गरेर के डेटा छ भनेर थाहा पाउँछ। भिडिओ हेर्न, वेबसाइटमा जानलगायत थुप्रै प्रयोजनमा यसको प्रयोग गर्न सकिन्छ।
यसको प्रयोग सन् १९९४ मा जापानको डेन्सो वेभ कम्पनीमा भएको थियो। त्यतिवेला गाडीलाई ट्र्याकिङ गर्न यसको प्रयोग गरिएको थियो। सन् २०११ मा चीनमा यसको प्रयोग मोबाइलमा हुन थालेपछि व्यापकता पाएको हो। अब भने यसलाई नगदरहित भुक्तानीका रूपमा प्रयोग गर्न थालिएको छ।
नेपालमा क्यूआर कोडको प्रयोग एफवान सफ्टले गरेको हो। फोनपेले विकास गरेको नेटवर्क भएकाले यससँग आबद्ध हुनेलाई मात्रै प्रयोग गर्न दिइने गरिएको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा बताउँछन्। “जसरी नेपालमा भिसा, मास्टर्ड कार्ड प्रयोगमा आउँदा जसको सेवा हो, उसैको नेटवर्क प्रयोग गर्नुपर्ने थियो। त्यसैगरी हामीले विकास गरेको नेटवर्कको एक्सेस हाम्रै नेटवर्कभित्र मात्रै राखिएको हो,” शर्मा भन्छन्।
‘‘ग्राहकलाई निःशुल्क छ, व्यापारीलाई शुल्क लाग्नसक्छ’’
एउटा ब्यांकको ग्राहकलाई अर्को ब्यांकसँग जोड्ने काम जसरी भिसा कार्डमा हुन्छ, त्यसैगरी मोबाइल पेमेन्टको नेटवर्कका रूपमा फोनपे रहेको छ। फोनपेबाट व्यापारिक कारोबार तथा खाताबाट खातामा रकम पठाउन सकिन्छ।
फोनपेले अहिले व्यापारिक कारोबार निःशुल्क गरेको छ। यो कारोबार प्रवर्द्धनका लागि गरिएको हो। भोलिका दिनमा प्रयोगकर्ता बढ्दै जाँदा र बानी परेपछि भने व्यापारीलाई शुल्क लाग्न सक्छ। तर, ग्राहकलाई भने नलाग्ने व्यवस्था पनि हुन्छ।
यसको प्रयोगका लागि भने फोनपेकै सदस्य हुनुपर्छ। व्यापारीले सम्बन्धित ब्यांकमा गएर फोनपेको क्युआर कोड माग्नुपर्छ। त्यस्तै, फोनपेको मर्चेन्ट एप डाउनलोड गरेर व्यापारी आफैँले क्यूआर कोडका लागि रिक्वेस्ट गर्नसक्ने सुविधा पनि छ। यसका लागि पान नम्बर अनिवार्य राख्नुपर्छ।
कारोबार गर्दा कहिलेकाहीँ प्राविधिक कारणले म्यासेज ढिलो आउनसक्छ। जसरी एटीएममा कहिलेकाहीँ पैसा आउँदैन, त्यस्तै हो। खाताबाट पैसा गएको छ भने सम्बन्धित ब्यांकले पछि फिर्ता गरिदिन्छ।
अहिले मोबाइल ब्यांकिङ प्रयोगकर्ता एक करोड नाघिसकेका छन्। २५ लाखले मात्रै एप डाउनलोड गरेर मोबाइल ब्यांकिङको सेवा लिइरहेका छन्।
मोबाइल ब्यांकिङ लिने सबैसँग स्मार्ट फोन नहुने र एप प्रयोग गरेर कारोबार गर्न नसक्ने पनि हुन सक्छन्। यसको अर्थ सबै मोबाइल ब्यांकिङ प्रयोगकर्ताले क्यूआर कोड प्रयोग गरेका छैनन्। क्यूआर कोड पसल पसलमा झुन्ड्याउने अर्थात् व्यापारीले प्रयोग गर्नेमा भने दुई लाख ३७ हजार छन्।
यो फोनपेले बनाएको नेटवर्क हो। यसमा सेवा लिनका लागि सदस्य हुनैपर्छ। यसको नेटवर्कभित्र आउनेलाई सेवा दिइएको हुँदा राष्ट्र ब्यांकले अन्तरआबद्धतामा जबरजस्ती गर्न मिल्दैन। फोनपेले ५७ वटा ब्यांक तथा वित्तीय संस्थासँग सहकार्य गरिरहेको छ। यसको सदस्य भएका निकायबाट नै कारोबार गर्नुपर्ने र नेटवर्कभित्र परेका सबैलाई सहजै अन्तरआबद्धता दिइएको छ।
कारोबार गर्दा कहिलेकाहीँ प्राविधिक कारणले म्यासेज ढिलो आउनसक्छ। जसरी एटीएममा कहिलेकाहीँ पैसा आउँदैन, त्यस्तै हो। खाताबाट पैसा गएको छ भने सम्बन्धित ब्यांकले पछि फिर्ता गरिदिन्छ।