अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको कोभिड–१९ पुनरुत्थान प्याकेज पारित गर्दा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुर्याउने प्रस्ताव सिनेटले हटाएको छ। अहिले अमेरिकामा प्रतिघन्टा न्यूनतम ज्याला ७.२५ डलर छ।
अमेरिकी सिनेटका एक वरिष्ठ अधिकारीले कोभिड–१९ को प्याकेजमा न्यूनतम ज्यालाको विषय समेट्न उपयुक्त नभएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्, जसलाई डेमोक्रेटिक पार्टीले आफ्नो प्रगतिशील अजेन्डाका रूपमा अघि सार्दै आएको थियो। राष्ट्रपति बाइडेनले कोभिडका कारण संकटमा परेको अमेरिकी अर्थतन्त्रलाई उकास्न करिब १९ खर्ब डलरको राहत प्याकेज अघि सारेका थिए।
सिनेटमा रिपब्लिकन पार्टीका सदस्यहरूले राहत प्याकेजमा पूर्ण सहमति जनाएका थिएनन्। डेमोक्रेट पार्टीले विगतदेखि नै हालको राष्ट्रिय न्यूनतम ज्याला ७.२५ डलरलाई वृद्धि गरी १५ डलर बनाउन चाहेका छन्। यस विषयलाई कोभिड राहतमा राख्ने वा नराख्ने भन्नेमा विवाद छ।
अमेरिकी सिनेटमा देशमा दूरगामी असर पार्ने प्रस्तावहरू पारित गर्न ६० प्रतिशत मत आवश्यक पर्ने व्यवस्था गरिएकाले डेमोक्रेट पार्टीले विपक्षी रिपब्लिकनको सहयोग खोजिरहेको छ। १०० सदस्यीय सिनेटमा हाल डेमोक्रेटसँग उपराष्ट्रपति सहित ५१ स्थान मात्र छ।
राष्ट्रपति बाइडेनले कंग्रेससमक्ष कोभिड राहत प्याकेजलाई जतिसक्दो चाँडो पारित गर्न आग्रह गरेका छन्। यस प्रस्तावमा अधिकांश अमेरिकीलाई १४०० अमेरिकी डलर राहत दिने भनिएको छ। साथै, उक्त प्रस्तावमा कोरोना भाइरसको महामारी नियन्त्रण र समाप्त गर्नेतर्फ मद्दत पुर्याउन खर्च गरिने उल्लेख छ।
राहत प्याकेजमा हस्ताक्षर गर्नुअघि सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्स दुवैले पारित गर्नुपर्छ। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले भने ज्याला वृद्धिलाई समेत समेटेर हाउसले विधेयक पारित गर्ने बताएकी छिन्।
पेलोसीले एक वक्तव्य जारी गर्दै डेमोक्रेट सांसदहरू न्यूनतम ज्याला वृद्धि आवश्यक रहेकामा विश्वस्त रहेको बताइन्। तर, तल्लो सदनले विधेयक पारित गरे पनि सिनेटले त्यसलाई अनुमोदन गर्ने छैन।