काठमाडौंमा थ्रिडी फोटो संग्रहालय सञ्चालन
काठमाडौं मलमा थ्रिडी फोटो संग्रहालय सञ्चालनमा आएकाे छ। संसारका एक सयभन्दा बढी गन्तव्य समेटेर ‘आर्ट इन प्याराडाइज’ शुरू गरिएको हाे।
थाइल्यान्ड घुम्दाको अनुभवलाई भीमप्रसाद पराजुली र प्रदीप शर्माले ‘आर्ट इन प्याराडाइज’को रूपमा नेपाल भित्र्याएका हुन्। सगरमाथादेखि समुद्रसम्म पुगेको अनुभूति गराउने गरी फोटो खिच्न सकिने संग्रहालय स्थापना गरिएको ‘आर्ट इन प्याराडाइज’का एक सञ्चालक प्रदीप शर्माले बताए। उनी भन्छन्, “संग्रहालय गुफा आकारमा बनाइएको छ भने भित्र पसेपछि एक सयभन्दा बढी फोटो हेर्न र फोटो लिन सकिन्छ।’
विश्वका सात आश्चर्यमा पर्ने स्थानदेखि बढी प्रचलनमा आएका तथा अन्तर्राष्ट्रिय गन्तव्यकाे फोटोलाई थ्रिडीमा राखिएको छ। विदेशमा घुम्दा लिने फोटोको आनन्द काठमाडौंमा नै दिने उद्देश्यले थ्रिडी फोटो र फोरडी फोटो शुरू गरिएको सञ्चालक शर्माले बताए।
थ्रिडी फोटो संग्रहालय प्रवेशका लागि प्रतिव्यक्ति रु.५०० प्रवेश शुल्क ताेकिएकाे छ। विद्यार्थी तथा समूहमा आउनेका लागि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
संग्रहालयमा क्याफे पनि सञ्चालन गरिएकाे छ। क्याफेमा जन्माेन्सव मनाउन सकिने सुविधा छ।