हिप्पी जो फ्रिक स्ट्रिट र पाई एल्लीमा भेटिए
यत्रतत्र सुँगुरका बथान डुल्ने मरूटोलमा पाईका परिकार पाइने पसलहरू खुलेपछि 'पिग एल्ली' नाम 'पाई एल्ली'मा रूपान्तरित हुन्छ। त्यहीका अपर क्रस्ट पाई सप, यल्लो स्टार पाई सपलगायत दुकानमा पश्चिमा तन्नेरीहरूसँग भेटिने प्रकाश ए राजले त्याे परिवेश अहिले पुस्तकमा उतारेका छन्।
कागजमा कोरिएका कतिपय टिपोट कालान्तरमा ‘शिलालेख’ झैं हुन्छन्। विश्वप्रसिद्ध लेखक, चिन्तक, राजनेता, कलाकार र सर्जकका कुनै निश्चित कालखण्डका टिपोट वा आत्मालाप प्रकारान्तरमा ‘म्याग्नम अपस’ वा ‘बेस्ट सेलर’ भएका छन्। हाम्रै मुलुकमा पनि बीपी कोइरालाको कारावासको डायरी 'जेल जर्नल' वर्तमान पुस्तालाई विगत बताउने महत्त्वपूर्ण सन्दर्भ सामग्री हो।
९३ वसन्त पार गरिसक्नुभएका अग्रज पत्रकार/लेखक भैरव रिसाल हिजोआज 'भोगेको, सुनेको, देखेको' स्तम्भमार्फत विगतका रमाइला प्रसंगको बेलिबिस्तार लगाउँदै आउनुभएको छ। आफूले आज लेख्ने सामग्री हिजोका टिपोट वा डायरीकै प्रशोधित रूप भएको रिसालले एक कार्यक्रममा बताउनुभएको थियो। आज लेखिने डायरी भोलिका लागि लेख्य सामग्री मात्र होइनन्, आर्थिक सञ्चिति पनि हो, 'सञ्चयकोष' झैं। त्यसैले रिसाल डायरी लेखाउन हौस्याइरहनुहुन्छ।
वैशाख २००० मा जन्मेर ७७औं वसन्तमा हिँड्दै गरेका लेखक प्रकाश ए राजको लेखन क्षेत्र विस्तृत छ। शब्दकोष, इतिहास र आख्यानदेखि नेपाली जनजीवनका विविध पाटामा कलम चलाउँदै आएका राजको प्रमुख चिनारी चाहिँ गाइडबूक र यात्रावृत्तान्त हो। 'नेपाल अन टु डलर्स अ डे' (सन् १९७३), 'नेपाल अन फोर डलर्स अ डे' (सन् १९७५), 'अ नेप्लिज डिस्कभर्स हिज कन्ट्री' (१९७९) देखि सन् १९७५ मा लन्ली प्लानेटका लागि गाइडबूक लेखेका राजका हालसम्म नेपाल र पर्यटकीय विषयमा मात्र दर्जनौं पुस्तक प्रकाशित छन्। 'लिजेन्डरी कन्ट्री फर दी योङ्ग पिपल अफ द वेस्ट' (डिसेम्बर २०२०) उनको नवीनतम कृति हो।
विगतका कृति र 'लिजेन्डरी कन्ट्री' बीचको मूल भिन्नता के हो भने, पहिलेका कृति गाइडबूक र यात्रावृत्तान्त हुन् भने अहिले चाहिँ विशुद्ध डायरी। पुस्तकको प्राक्कथनको एउटा प्रसङ्गबाट राजको डायरीको राज पनि खुल्दछ। उनी लेख्छन्, "मैले आठ वर्ष छँदादेखि नै डायरी लेख्न शुरू गरेको हुँ, र अहिले मसंग ६० वटा डायरीको संग्रह छ।"
'लिजेन्डरी कन्ट्री' उनकाे २ फ्रेबुअरी १९७५ देखि २९ डिसेम्बर १९७५ बीच पुगनपुग वर्ष दिनभित्रका दैनन्दिनीकाे टिपोट हाे। यसरी ११ महीनाको समयबीचको स्थान काठमाडौंको दरबार स्क्वायर क्षेत्र हो, जुन त्यस वेलाको राजधानीको पर्यटकीय 'हब' हो।
'लिजेन्डरी कन्ट्री' लाई प्रकाश ए राजको रुचिले मात्र रोचक बनाएको होइन। उनको पारिवारिक पृष्ठभूमि, वासस्थान र शिक्षाले आफ्ना पात्रका सम्पर्कसम्म पुर्याएको देखिन्छ। सन् ५० को दशकमा राणाशाहीको अन्त्य र प्रजातन्त्रको प्रादुर्भावले कुनै वेलाको सांग्रिला नेपाल विश्वजगत्का निम्ति खुलेपछि ओइरिँदै गरेका पर्यटक नै राजका पुस्तकका मुख्य पात्र हुन्। तर, पुस्तकको अन्तर्वस्तुमा प्रवेश गर्नुअघि लेखकको पृष्ठभूमिबारे थोरै चर्चा गर्दा पुस्तकको विषय र उपादेयता आफैँ उजागर हुन्छ।
विद्वत शिरोमणि हेमराज शर्माका नाति तथा तत्कालीन बडागुरूज्यू केशरीराज पाण्डेका छोरा प्रकाश ए राजको औपचारिक शिक्षा वंश परम्पराभन्दा भिन्न छ। काठमाडौं र बनारसको कलेज तहसम्मको शिक्षापछि उनी उच्च शिक्षाका निम्ति अमेरिका पुग्छन्। त्यहाँका विभिन्न राज्यका प्रतिष्ठित विश्वविद्यालयबाट औपचारिक शिक्षा हासिल गर्छन्। विश्वका अनेकौं मुलुक घुम्छन् र अंग्रेजीसँगै फ्रेन्च भाषामा आफ्नो दख्खल बनाउँछन्।
नेपाल फर्किएपछि पर्यटकीय गाइडबूक लेखनमा सक्रिय राजलाई रूचिसँगै कर्मले पनि गैर-नेपालीसँगको सान्निध्यमा लैजान्छ। विश्व पर्यटन बजारमा नेपाल पनि एउटा रमणीय गन्तव्यका रूपमा उदाउँदै गरेपछि उनको अंग्रेजी भाषाको लेखनले बजार नपाउने कुरै रहेन।
त्यसैगरी आधुनिकता उन्मुख काठमाडौं शहर उनको लेखनको अर्को महत्त्वपूर्ण आयाम पनि बनिदिन्छ। 'लिजेन्डरी कन्ट्री' मा राजले भेटेका पात्रहरू काठमाडौंद्वारा आकर्षित 'बजेट ट्राभलर' र हिप्पीहरू हुन्, जो अक्सर युरोपदेखि इस्तानबुल, इराक, अफगानिस्तान, पाकिस्तान र भारतको स्थलमार्गबाट नेपाल ओइरिएका हुन्छन्। यहाँ आइपुगेपछि नेपाललाई औधी मन पराउँछन्।
सन् १९७४ मा ७२ हजार पर्यटक नेपाल भित्रिइसकेको तथ्याङ्कले पनि राजको डायरी लेखन वर्ष सन् १९७५ पर्यटनको दृष्टिले महत्त्वपूर्ण वर्ष भएको पुष्टि हुन्छ। वसन्तपुर छेउको ढोकाटोलका स्थायी निवासी राजको उठबसको थलो पर्यटकको हब बन्दै गरेको फ्रिक स्ट्रिट भनिने झोछेँ र काठमाडौं गणेश मन्दिर पश्चिमको मरू टोल हुन्छ।
यत्रतत्र सुँगुरका बथान डुल्ने मरूटोलमा पाईका परिकार पाइने पसलहरू खुलेपछि 'पिग एल्ली' बाट 'पाई एल्ली' (पाई पाइने गल्ली) मा रूपान्तरित हुन्छ। त्यहीका अपर क्रस्ट पाई सप, यल्लो स्टार पाई सप लगायत दुकानमा उनी पश्चिमा तन्नेरीहरू भेट्छन्। त्यसैगरी ब्लु एन्जल लज, माजू हेल्थ फूड र पिसकोर स्वयंसेवककी पत्नी जेनद्वारा सञ्चालित अन्ट जेन्स प्लेस जस्ता आगन्तुकका थलो चहार्छन्। निस्फ्रिकी गफिन्छन् र पश्चिमी यौवनाबाट मोहित पनि बन्छन्।
डायरीमा राजले आफूले भेटेका विचित्रका (स्वास्नी) मानिसका चरित्र चित्रण गरेका छन्। न्यूयोर्कबाट नेपाल घुम्न आएकी एक यहुदी महिला तीन वर्षदेखि यात्रामा हुन्छिन्। अग्ली र आकर्षक जिउडालकी उनी आफ्नो खर्च जुटाउन पुरूषहरूलाई 'मुर्गा' बनाउँछिन्। त्यसैगरी २५ वर्ष जतिकी भिभियन नाम गरेकी फ्रान्सेली युवती एल्सिसियन कुकरसँगै यात्रारत हुन्छिन्। इन्द्रचोकको उनको डेरामा पुग्दा कोठामा जब्बर कुकुर देखेपछि राजको सातोपुत्लो उडेको प्रसंग निकै रमाइलो छ।
आफ्नो खर्च जुटाउन रेडक्रसमा रगत बेच्न पुग्ने एउटी फ्रान्सेली युवतीदेखि हल्यान्डकी नाङ्गो खुट्टै हिँड्ने अर्की युवती अचम्मका पात्र लाग्छन्। अक्सर प्राध्यापक अभि सुवेदीले उल्लेख गरिरहने अमेरिकी कवि आइरा कोहेनसँगको भेटको प्रसंग पनि उल्लेखनीय छ। कविता लेख्ने र प्रिन्ट चित्र बनाउने कोहेन काठमाडौंका लेखक र सर्जकसँग राम्ररी घुलमिल भएकी हुन्छिन्। उनले नाट्यसम्राट् बालकृष्ण समलाई भेटेको प्रसंग पनि पुस्तकमा छ।
विदेशी बजेट ट्राभलर र हिप्पी मात्र नभएर प्रकाश ए राजले विदेशका उच्च पदस्थ अतिथिहरूसँगको भेटघाटको प्रसंग पनि पुस्तकमा उल्लेख गरेका छन्। राजा वीरेन्द्रको राज्याभिषेक यसै वर्ष हुन्छ। त्यसका लागि आएको फ्रान्सेली प्रतिनिधिमण्डल सम्हाल्ने जिम्मा फ्रेन्च भाषासमेत बोल्ने राजलाई दिइन्छ। घरानिया पृष्ठभूमि र सरकारी निकायसम्मको पहुँचका कारण उनी बेलाबखत भिसा समस्यामा परेका पर्यटक साथीहरूलाई मद्दत गर्छन्।
'लिजेन्डरी कन्ट्री' रोचक पुस्तक त हो नै। तर, डायरी भएका कारण यसको लेखाइ केही विश्रृङ्खलित देखिन्छ। एउटा पात्रमाथि बढ्दै गरेको कौतूहल त्यस पात्र अकस्मात् अलप हुनुसँगै मर्न पुग्छ। त्यसैगरी एकै खाले पात्र दोहाेरिनु र कुनै अर्थ नबोकेका पात्रको बयानले केही पट्यारिलो हुन्छ। वजनदार पात्र र रोचक प्रसंगको अनुपात बढाउन सकिएको भए पुस्तक अझ रोमाञ्चकारी हुन सक्थ्यो।
पश्चिमा आगन्तुकको प्रवेशले नेपालको पर्यटनमा पुर्याएको योगदान र यससँगै संगीत, साहित्य, खानपान, पहिरनले परम्परागत समाजलाई आधुनिकतातर्फ डोहोर्याएका प्रसंग 'लिजेन्डरी कन्ट्री' को मूल मर्म हो। समाज र आधुनिकता बुझ्न खोज्ने जो कोहीलाई पनि यो पुस्तक उपयोगी हुन सक्छ।