गैर आवासीय नेपाली समन्वय फोरम विस्तार
नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ। महासंघका केन्द्रीय सदस्य एवं फोरमका सभापति देशबन्धु बस्नेतको संयोजकत्वमा फोरम विस्तार गरेको हो।
महासंघले विस्तार गरेकाे फोरममा क्षेत्रगत रूपमा तीन जना उपसभापतिहरू चयन गरिएका छन्। गैर आवासीय नेपाली संघ नेपाल (एनआरएन) बाट कुल आचार्य, द्विराष्ट्रियबाट अनोज रिमाल र नेपाली उद्योगी व्यवसायीका तर्फबाट हरिबहादुर कार्कीलाई उपसभापतिमा चयन गरिएको महासंघले जानकारी दिएको छ। फोरममा ६ वटा क्षेत्रलाई समेट्ने गरी विशेष आमन्त्रित सदस्य पनि नियुक्त गरिएको छ।
महासंघका अध्यक्ष शेखर गोल्छाले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम महासंघकै एक महत्त्वपूर्ण अंग भएकाले अबका दिनमा यसले विश्वभरका चेम्बरसँग सहकार्य गर्दै सम्बन्ध विस्तार गर्नुपर्ने बताए। गोल्छाले नेपालले उच्च आर्थिक वृद्धि गर्न निर्यातलाई बढाउनुपर्ने बताएका छन्।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक वृद्धिका लागि गैर आवासीय नेपालीहरूको लगानी भित्र्याउन सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताए।
द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका सभापति बस्नेतले देशमा वैदेशिक लगानी भित्र्याउन नेपाल सरकार, गैर आवासीय नेपाली र महासंघबीच त्रिपक्षीय रूपमा सहकार्य गर्दै अन्तर्राष्ट्रिय सम्मेलन गरिने बताए। सरकारले प्रत्येक वर्ष बजेट वक्तव्य जारी गर्दा वैदेशिक लगानी भित्र्याउन प्रवर्धन गर्ने बस्नेतले उल्लेख गरे। उनले नेपालमा ल्याउन सक्ने विदेशी लगानी र असहजताका विषयलाई अन्तर्राष्ट्रिय सम्मेलन मार्फत सहजीकरण गर्न सकिने पनि बताए।
महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमले रोजगारी सिर्जना, निर्यातमा बृद्धि, विदेशी लगानीलाई आकर्षण, अन्तर्राष्ट्रिय गोष्ठी गर्नुपर्ने सहितको ९ बुँदे कार्यपत्र पनि तयार पारेको छ।