मेयर कपमा पाँच टीमले भाग लिने, को-को हुनेछन् खेलाडी ?
काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आगामी २२ फागुनदेखि मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
एक दिवसीय स्वरूपको उक्त प्रतियोगितामा पाँच टीमलाई सहभागी गराइने क्यानले जनाएको छ। २९ फागुनसम्म चल्ने प्रतियोगिता त्रिवि मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा गत महीना भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका चार टीम र काठमाडौँ महानगरपालिकाको टीम सहभागी हुनेछन्। प्रधानमन्त्री कपमा तीन विभागीय टोली त्रिभुवन आर्मी, एपीएफ र नेपाल प्रहरी क्लब तथा बागमती प्रदेश सेमिफाइनलमा पुगेका थिए। काठमाडौँ महानगरपालिकाको टीममा प्रधानमन्त्री कपमा लिग चरणबाटै बाहिरिएका प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समावेश हुनेछन्।
नेपाल प्रहरीबाट प्रधानमन्त्री कप खेलेका आरिफ सेख घाइते छन्। उनले प्रतियोगिता गुमाउने लगभग निश्चित छ। करण केसीलाई पनि चोटले सताएको छ। उनले मेयर कप भने खेल्ने संभावना छ। टी१० लिग खेल्न गएका केसीले प्रधानमन्त्री कप खेलेका थिएनन्।
प्रधानमन्त्री कप नखेलेका सन्दीप लामिछाने, सोमपाल कामी र कुशल मल्लले पनि मेयर कप खेल्नेछन्। सन्दीप भर्खरै आईपीएलबाट फर्किएका कारण आराम गरेका थिए। सोमपाल र कुशल टी१० का लागि दुबई गएका थिए।
प्रतियोगिता राउन्ड रोबिनको आधारमा सञ्चालन हुनेछ। शीर्ष दुई टीमबीच २९ फागुनमा फाइनल खेल हुनेछ। यो प्रतियोगिता आयोजनाका लागि काठमाडौँ महानगरले क्यानलाई रु.५० लाख दिएको छ।
प्रधानमन्त्री कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो। त्रिभुवन आर्मीले फाइनलमा एपीएफलाई ३३ रनले पराजित गरेको थियो। पहिलो ब्याटिङ गरेको त्रिभुवन आर्मीले ५० ओभरमा नौ विकेट गुमाउँदै २११ रन बनाएको थियो। तर, एपीएफ ४१.३ ओभरमा सबै विकेट गुमाउँदै १७८ रनमै समेटिएको थियो।
प्रधानमन्त्री कपमा सेमिफाइनल खेलेका चार टीममा निम्न खेलाडी थिएः
त्रिभुवन आर्मी : विनोद भण्डारी (कप्तान), रोहित कुमार पौडेल, भीम सार्की, राजेश पुलामी, हरि चौहान, अनिल मण्डल, राजु रिजाल, विक्रम सोब, आकाश चन्द, सुशन भारी, साहब आलम, हरिकृष्ण झा, जितेन्द्र मुखिया र लोकेश बम।
एपीएफ : शरद भेषवाकर (कप्तान), वसन्त रेग्मी, सुवास खकुरेल, सन्दीप जोरा, कमलसिंह ऐरी, भुवन कार्की, अभिनास बोहरा, शंकर राना, प्रदीप ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सूर्य तामाङ।
नेपाल प्रहरी : मन्जित श्रेष्ठ (कप्तान), दिलिप नाथ, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आरिफ शेख, कुशल भुर्तेल, प्रेम तामाङ, ललित राजवंशी, सुनिल धमला, अनिल शाह, योगेन्द्र कार्की, रसिद खान, पवन सर्राफ र सागर ढकाल।
बागमती प्रदेश : ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा, पारस खड्का, इशान पाण्डे, रामनरेश गिरी, दीपेश श्रेष्ठ, आकाश थापा, आदिल खान, विभत्सु थापा, अरियो पौडेल, तिलकराज भण्डारी, विपिन आचार्य, नन्दन यादव।
काठमाडौँ महानरको संभावित टीम : कृष्ण कार्की, सौरभ खनाल, विक्रम भुषाल, सन्दीप सुनार, सन्दीप रजाली, सन्तोष भट्ट, खड्कबहादुर बोहोरा, सन्जु दमाई, हरिशंकर साह, राहुलप्रताप सिंह, विवेक यादव, अनुज चुनारा, रवीन्द्रजंग शाही, अर्जुन कुमाल, सुरज कुर्मी।