निम्ता दिने मान्छे नै नरहेपछि...
ह्यारिसर्वको जेसीएच जिगल फ्युनरियल होमबाट फर्किंदा मेरो दिमाग पनि शून्य र स्थिर भयो, किनकि शरीरमा रोगले बास गरे पनि हरेस खानुहुन्न भनेर अर्ती दिइरहने दिलदार जमुना आमालाई त्यहिँ छाेडेकाे थिएँ।
भुटान छोडेको २९ वर्षपछि जमुना प्रधानले भन्नुभएको थियो, “पुराना दिन सम्झिँदा मन हुँडलिन्छ।” उहाँले मधुरो स्वरमा थप्नुभयो, “आँसु थामिन थालेको धेरै भएको छैन।”
अमेरिकाको इस्टकोस्टअन्तर्गत पेन्सिलभेनिया राज्यको सानो शहर कारलायस्थित निवासको दोस्रो तलामा उहाँसँग कुराकानी भएको थियो। वर्ष दिन पुग्दै गरेका नाति प्रयानप्रजिन राईलाई काखमा खेलाइरहँदा उहाँका आँखा भने चौडा टेलिभिजन सेटमा अडिएका थिए।
नेपाली लोक दोहोरी गीत सुन्नु उहाँको लत जस्तै थियो। पाँच वर्षयता कैयौँ भेटमा रिट्ठो नबिराई शरणार्थी शिविरको कष्टसाध्य १८ वर्षे बास, त्यसअघि भुटानमा खेतीपातीसँगै बिताएको दैनिकी, विवाह र सन्तानको रेखदेखमा बितेका कैयौँ हिउँद-बर्खाबारे गरेको वर्णन कहिल्यै भुल्दिनँ। अभावको भुमरीबाट उठेर आएको अनुभवलाई उहाँको चेतनाले भाग्यको लेखान्त मात्र मान्थ्यो।
म उहाँलाई ‘जमुना आमा’ सम्बोधन गर्थें, उहाँ मलाई ‘गोपाल नानी’ भन्नुहुन्थ्यो।
कोभिड-१९ को महामारीबीच उहाँ अस्वस्थ भएर अस्पताल पुग्नुभयो। कारलायको युपीएमसी अस्पतालले उहाँलाई त्यति अस्वस्थ हालतमा घर पठाउन नसकिने भन्यो। बिमारी भएर अस्पताल जानुभन्दा चार दिनअघि मात्रै उहाँले पस्केको खाना खाएको थिएँ।
मृत्युसँग आमनेसामने भएर अस्पतालको सघन उपचार कक्षमा ८० दिन बिताएपछि पनि घर फर्किन पाउनुभएन। केही वर्षयता परदेशको यो भूमिमा कैयौँपटक खानाका लागि पर्खिएर बस्नुहुने जमुना आमाको पार्थिव शरीरलाई फेब्रुअरी १७, २०२१ को बिहान अन्तिम पटक हेरें, मुर्दाघरमा।
६४ वर्ष बाँचेर प्रकृतिमा विलीन हुनुभएकी जमुना आमा अर्थात् जमुना प्रधान पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास हुनुभयो। नेपालमा शरणार्थी बन्नुअघि उहाँको बसोबास दक्षिण भुटानको चिराङ डम्फुमा थियो। सामान्य रूपमा चलिरहेको गृहस्थीमा भुइँचालो आयो। सरकारले हजारौं नेपाली भाषीलाई खेद्याे। त्यही क्रममा शरणार्थी बन्न बाध्य हजारौंमध्येकी एकजना उहाँ कोसौँ टाढा अमेरिका पुगेर अस्ताउनुभयो।
अमेरिका बसाइमा पनि गाउँघर ‘मिस’ गर्नुहुन्थ्यो। एक-अर्काको काम मेला–पर्म गरेर उकास्ने चलन अमेरिकामा निर्वाह गर्न नसकिएको बताउनुहुन्थ्यो। अमेरिका पुनर्वास भएका केही वृद्धवृद्धालाई गत मे महीनामा भेटेर हिमाल खबरका लागि तयार पारेको रिपोर्टमा पनि उहाँले भुटानमा छुटेका घरबारी, खेत-खलियान, नाता–सम्बन्ध, गाईवस्तु, ढिकी-जाँतो, जुठेल्नो-पँधेरो सबैथोक सम्झिँदै भन्नुभएको थियो, “यो शरीर मात्र यहाँ छ, मन-मुटु सबै उतै छ नि, नानी!” यति बोलेर केही बेर चुपचाप लागेपछि उहाँको मुखबाट अर्काे वाक्य निस्किएको थियो, “धेरै वर्ष रोएर आँखाको पानी सिध्याएछु।”
सामान्य जीवन बिताइरहेका मानिसको इमान निर्वाह भने उच्च हुन्छ। उनीहरूसँग न ठूलो सपना हुन्छ, न ठूलो चाहना हुन्छ। मैले नजिकबाट चिनेकी जमुना आमा पनि यस्तै हुनुहुन्थ्यो।
संयोग पनि कस्तो भने, गत २८ मे महीनामा मेरो जन्मोत्सवमा पहिलोपटक केक काटियो। त्यसअघि कसैले पनि मेरो कानको छेउमा टीका लगाइदिएका थिएनन्। नेवार समुदायमा निधारसँगै कन्चटमा पनि टीका लगाउने गरिन्छ। उहाँले दुईपटक निधारसँगै मेरो दायाँ कानको छेउमा पनि रातो अक्षता लगाइदिनुभयो।
पहिलोपटक गत २८ मेमा जन्मोत्सवमा र दोस्रोपटक गत सेप्टेम्बरमा दशैंको अवसरमा। उन्नतिको आशीर्वचन दिँदै भन्नुभएको थियो, “यसपटकको यो टीका लगाएको भनेको अर्काेपटकका लागि पनि यसैगरी टीका लगाउने निम्ता हो नि गोपाल नानी!” यसरी निम्ता दिने मान्छे नै नरहेको पीडाले पिरोल्ने नै भयो।
फेब्रुअरी १७ अपराह्न ५ बजेतिर अचानक मेरो मोबाइलमा एउटा मेसेज आयो। उहाँका ज्वाइँ वरिष्ठ कलाकार मनोज राईले उहाँ परलोक भएको छोटो खबर पठाएका रहेछन्। त्यो मेसेजपछि बितेका पाँच वर्षयता भएका पटक–पटकका भेट र प्रकट हुने आत्मीयताले बेस्कन लपेटिरहे।
गत वर्षको २८ नोभेम्बरमा नर्थ क्यारोलेनाको सार्लटमा पुस्तकाकारको रूपमा मेरो समाचार संग्रह 'बद्लिएको गन्तव्य' विमोचनकर्तामध्येकी एक हुनुहुन्थ्यो, जमुना आमा। “अक्षर खुट्याउन त सक्दिनँ,” त्यो साँझ सँगै बसेको बेला उहाँले मलाई पहिलोपटक पुस्तक विमोचन गरेको बताउँदै भन्नुभएको थियो, “छोरीहरूले पढ्न पाउने युगभन्दा पहिले जन्मिनु नै अभाग रहेछ।”
छरिएका आफन्तहरूलाई सम्झिँदै समय कटाउनु कष्टको कहर नै हो। सामान्य मान्छेबारे हम्मेसि लेखिँदैन, पढिँदैन । एउटा आयु बाँच्न उनीहरूले पूरा गरेको संघर्षको हिसाब कसैले राखिदिँदैन । हाम्रो समाजमा ठूलाबडाका कुरा लेखिन्छन् र तिनैलाई आदर्शका रूपमा उभ्याइन्छ । औसत र भुइँमान्छेहरू आउने-जाने न हुन् भन्ने सोचिन्छ।
शरीरमा रोगले बास गरे पनि हरेस खानुहुन्न भनेर अरूलाई अर्ती दिइरहने दिलदार जमुना आमालाई श्रद्धाका फूल चढाएर क्लान्त मन र भिजेका गह लिएर ह्यारिसर्वको जेसी एच जिगल फ्युनरियल होमबाट फर्किंदा मेरो दिमाग पनि शून्य र स्थिर भयो।