माओवादी द्वन्द्वमा छोरा गुमाएका बुबा भन्छन्, “सास नजाँदा गोली हानेर मारे”
माओवादी र राज्यबीच चलेको हत्याको शृंखला अन्त्य भएको १५ वर्ष बितिसकेको छ। १ फागुन, २०५२ देखि चलेको माओवादी सशस्त्र द्वन्द्वको १० वर्षमा १३ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए, एक हजारभन्दा बढी बेपत्ता पारिए र लाखौँलाखले पीडा भोगे। त्यो समय अझै बिझाउन छोडेको छैन।
संक्रमणकालीन न्याय अपूरै रहेको अहिलेको समयमा त्यो द्वन्द्व स्मरण गर्दा कस्तो लाग्छ? अझ द्वन्द्वको समयमा गाउँगाउँमा पुगेर रिपोर्टिङ गरेको पत्रकारलाई त्यो स्मरण गर्दा कस्तो लाग्छ?
त्यति वेला द्वन्द्वबाट सबैभन्दा बढी प्रभावितमध्ये पर्ने बाजुराको पाण्डुसेन पुगेका पत्रकार मोहन मैनालीलाई अझै पनि झझल्को आइराख्छ। अहिले पनि बिझाइरहने पाण्डुसेनको त्यो यात्राः
आजभन्दा १८ वर्षअगाडि २०५९ साल कात्तिक १३ गते बाजुराको पाण्डुसेन पुगेका थियौँ। त्यहाँ मानिसले धान काटिरहेको खिच्यौँ। त्यसपछि हामी हिँड्दै जाँदा एकजना मान्छेले गहुँ छरिरहेको देख्यौँ। त्यो खिच्नुपर्यो भनेर क्यामेरा र क्यामेरा राख्ने ट्राइपोड निकाल्यौँ। गहुँ छरिरहेका मान्छे त भागे।
क्यामेरा र ट्राइपोड बन्द गरेर उनलाई खेतमै बोलायौँ र सोध्यौँ, ‘‘नडराउनुस्, किन डराउनुभएको?’’
‘‘बाटोभरि हान्दाहान्दै, चुट्दाचुट्दै लगे। हान्दाहान्दा सबै लुगा खसालिदिए,’’ सेनाले छोराको ज्यान लिँदाको क्षण सुनाउँदै गोरखले भने, ‘‘अन्त्यमा सास नजाँदा गोली हानेर मारे।’’
क्यामेरा र ट्राइपोड निकाल्दा भाग्ने मान्छे जुल्फे सार्की थिए। उनले भने, ‘‘नौला मान्छे आउँदा डर लाग्छ, हजुर ! तपाईंहरू आउँदा सेना आयो कि भन्ने डर भयो हजुर ! (यसो भन्दा उनको बोली सानो भएको थियो।) जिउ डरायो। हड (शरीर) काम्यो। तब भागेको हुँ।’’
छेउमा हलो जोतिरहेका उनका छोरालाई जुल्फेले ‘डर लाग्यो’ भनेको कुरासँग चित्त बुझेनछ। उनले भने, ‘‘बिउ लिन गएको हुँ भनेको भए हुँदैनथ्यो!’’
हो त ‘म डराएँ’ भनेर किन देखाउनु अरू मान्छेलाई? आफू डराएको कुरा अरूलाई देखाउँदा कमजोर भइन्छ। कुरा ठीकै पनि हो, तर जुल्फेलाई डर लागेको कुरा शरीरले देखाइरहेको थियो। उनी कामिरहेका थिए।
अघिल्लो दिन त्यस गाउँमा सेना र प्रहरीले मान्छे मारेका थिए। उनले भने, ‘‘बेलि (हिजो) सेनाले मान्छे मारेर गयो। त्यसैले डर लाग्छ।’’ छिमेकी गाउँ अंगउपानीमा मारिएका ६ जनालाई उनले चिनेका थिएनन्। आफ्नै गाउँका पदमबहादुर शाहीलाई उनले चिनेका थिए।
जुल्फेसँग कुराकानी गरेपछि पदमको घर गएका थियौँ। पदमको आँगनमा गाउँले बसिरहेका थिए। उनकी आमा कोइली शाही रोइरहेकी थिइन्। आफन्तजन सम्झाउने कोशिश गरिरहेका थिए। ‘‘धान काट्न गएको थियो। सेनाले लात्तीले हाने। मुखमा लात्ती हाने। उः पर तल फाले,’’ कोइलीले सुनाइन्।
त्यतिबेलै उनले नाति खोजिन्। तीन–चार वर्षका उनी पनि यताउताबाट नजिकै आएर बसे। ‘‘यसलाई पनि लात्ती हाने। लात्तीले हानेर तल फाले,’’ कोइली रुँदै बोलिन्।
ती बालकको पिठ्युँमा नीलडाम थियो। उही उमेरका स–साना बालबालिकाले टी-सर्ट माथि गरेर उनको कम्मरमा भएको नीलडाम देखाए। उनी पनि घोप्टो परे, नीलडाम देखाउन।
छोरा मारिएकाले उनीहरू आत्तिएका थिए। त्यसैले उनको काजकिरिया शुरू गर्न सकेका थिएनन्। पदमका बुवा गोरख घरको भित्तामा अडेस लागेर बसेका थिए। ‘‘हान्दैहान्दै अगाडिका सबै दाँत खसाले। लुगा केही बाँकी राखेनन्, कट्टु मात्रै थियो,’’ गोरखले भने। धान काट्न गएको छोरालाई सेनाले समातेर लगेपछि उनी पनि पछिपछि गएका थिए, छोड्छन् कि भन्ने आशामा। ‘‘बाटोभरि हान्दाहान्दै, चुट्दाचुट्दै लगे। हान्दाहान्दा सबै लुगा खसालिदिए,’’ सेनाले छोराको ज्यान लिँदाको क्षण सुनाउँदै गोरखले भने, ‘‘अन्त्यमा सास नजाँदा गोली हानेर मारे।’’
पदमको घरमा दुई घन्टाजति बसेर हामी बाजुराको सदरमुकाम मार्तडी जान उकालो लाग्यौँ। आधा घन्टा हिँडी नसक्दै रामलाल दमाईको घरमा पुग्यौँ। हामी पुगेका बेलामा रामलालको लाश निकालिँदै थियो। आफन्तजन डाँको छोडेर रोइरहेका थिए। उनका स-साना बालबालिकाका आँखामा पनि आँशु टलपलाइरहेका थिए।
गस्तीमा आएको सेना र प्रहरीको टाेलीले टाउकाे गाेली हानेका रामलालको ढुकढुकी मात्र बाँकी थियो। तर, रेडियो नेपालले १९ घन्टाअगाडि नै अथवा नमर्दै उनी मरिसकेको खबर दिएको थियो।
रामलाललाई पनि अघिल्लो दिन बिहान गाउँमा गस्तीमा आएको सेना र प्रहरीको टोलीले टाउकोमा गोली हानेको थियो। उनलाई उपचारका लागि लगिएको थिएन, बरु घरभित्रै राखिएको थियो। त्यहाँदेखि अहिलेसम्म उनको ढुकढुकी मात्र बाँकी थियो। तर, रेडियो नेपालले १९ घन्टाअगाडि नै अथवा नमर्दै उनी मरिसकेको खबर दिएको थियो।
उनी बितेपछि हिजो यहाँ सेना र प्रहरीबाट मारिने आठ जना पुगेका थिए।
पदमका आफन्तको शोक देख्दा हामी गलेका थियौँ। यहाँ रामलालका परिवारको रुवाइले हामीलाई थप गलाएको थियो। त्यसपछि हामी अप्ठेरो मान्दामान्दै उकालो लाग्यौँ र अंगउपानी गाउँ पुग्यौँ जहाँ हिजो बिहान ६ जना मानिस मारिएका थिए। मारिनेका आफन्त एकै ठाउँमा भेला भएका थिए। विलाप गर्दै थिए। लालजना बोहोरा यीमध्येकी थिइन्। २०-२२ वर्षकी हुँदीहुन् उनी। घरीघरी बेहोस हुन्थिन्। होसमा ल्याउन आफन्तजनले अनुहारमा पानी छर्किन्थे, फेरि रुँदै बेहोस हुन्थिन्। सम्हाल्न खोजिरहेकी उनकी आमा पर्नेले भनिन्, ‘‘छोरी यही हो हजुर।’’
त्यहाँको अवस्था देख्दा मैले त्यहाँबाट २ घन्टा तलसम्मको बाटोमा लडाइँका निहुँमा मारिएका मानिस सम्झिएँ। अघिल्लो दिन हामी कोल्टी विमानस्थल पुगेका थियौँ। त्यसको डिलमा पनि १२ जना मानिस मारिएका थिए।
त्योभन्दा तल दैया भन्ने ठाउँमा १०–१२ जना मानिस मारिएका थिए। उनीहरूलाई माओवादी भनेर सेना र प्रहरीले मारेका थिए। यी मानिस मारिएको छेउको कोल्टी बजारका ताराचन्द्र रेग्मीलाई माओवादीले घरबाट धपाएका थिए।
हतियारमा विवेक हुँदैन। यसलाई मार्नुपर्छ र त्यसलाई मार्नु हुन्न भन्ने ज्ञान हुँदैन। लडाइँ थाल्दा, हतियार निकाल्दा शुरूमा मान्छेले हतियार चलाउँदो रहेछ, पछि हतियारले मान्छे चलाउँदो रहेछ।
हिजो हामीले कोल्टीको वारिपट्टि बस्ने एउटा परिवारलाई भेटेका थियौँ। आँगनमा गाउँले बसिरहेका थिए। सबैको अनुहार मलिन थियो। यो परिवारका दुई सन्तान पोहोर घाँस काट्न गएका थिए। खेलौना भेटेछन्, खेल्न खोज्दा पड्किएर ठाउँको ठाउँ मरे। त्यो माओवादीले छोडेको बम रहेछ। ‘‘स्कुल जान्थ्यो। त्यस दिन पनि परीक्षा दिएर आएको थियो,’’ उनकी आमाले भनिन्।
मलाई त्यति बेला लाग्यो- हतियारमा विवेक हुँदैन। यसलाई मार्नुपर्छ र त्यसलाई मार्नु हुन्न भन्ने ज्ञान हुँदैन। लडाइँ थाल्दा, हतियार निकाल्दा शुरूमा मान्छेले हतियार चलाउँदो रहेछ, पछि हतियारले मान्छे चलाउँदो रहेछ।
बमले दुईजना बालक उडाएको ठाउँभन्दा अलि मास्तिर पाण्डुसेन प्रहरी चौकीमा २०५८ साउनमा माओवादीले आक्रमण गरेका थिए। त्यतिबेला १८ जना प्रहरीको ज्यान गयो। यो माओवादीले युद्धविराम गर्नुभन्दा १९ घन्टा पहिलेको घटना थियो।
अंगउपानी गाउँमा दुई वर्षअघि गाउँलेले माओवादीविरुद्ध आवाज उठाएका थिए। तीमध्ये दुई जनालाई माओवादीले मारेका थिए। यी सबै घटनाले मलाई अघिल्लो दिन भेटेका सूर्यप्रसाद गिरीले भनेको कुरा सम्झायो। उनले भनेका थिए, कोही महिलाको गर्भपात भएपछि हामी ‘के भयो? कस्तो भयो? के पीरमर्का पर्यो?’ भन्थ्यौँ। कोही मानिस झुन्डियो भने ‘किन झुन्डियो? कसो गरी मर्यो? कसको कर्तव्यले झुन्डियो?’ भनेर खोज्थौँ। सूर्यप्रसादले भनेका थिए, ‘‘आज ड्याङड्याङ उसले उसलाई मार्या छ, तपाईंले मलाई मार्नुभएको छ, मैले तपाईंलाई मार्या छु। केही सुनुवाइ छैन।’’
ooo ooo ooo
बाजुरा गएको डेढ वर्षपछि २०६१ साल जेठमा म कैलाली गएँ। सेनामा जागिर खाएका, तर निहत्था माघी मनाउन घर गएका मान्छे रामप्रसाद चौधरीलाई पनि माओवादीले मारेको भेटेँ। राति सुतिरहेका बेला उठाएर घरबाहिर लगेर कुटीकुटी मारेको उनको परिवारले सुनायो।
‘‘हात समातेर बेस्सरी पिट्यो। लोहा (फलाम)ले ड्याङड्याङ पिटेर मार्यो। सुँगुर मारेजस्तै गरी मार्यो।’’
राजनीति गरेका मान्छेलाई पनि माओवादीले मारेको भेटेँ। कैलालीका विष्णु चौधरीलाई पनि राति घरबाट निकालेर मारेका थिए। ‘‘राति विष्णु भित्रबाट उठेर निस्केपछि पछाडि पछाडि म पनि आएँ। मलाई घरभित्र धकेलेर ढोका लगाइदिए,’’ विष्णुकी पत्नी चुलिया चौधरीले भनिन्, ‘‘अनि हात समातेर बेस्सरी पिट्यो। लोहा (फलाम)ले ड्याङड्याङ पिटेर मार्यो। सुँगुर मारेजस्तै गरी मार्यो।’’
कैलाली र बर्दियामा धेरै मानिस लडाइँमा मारिएका थिए। धेरैलाई बेपत्ता बनाइएको थियो। गाउँघरतिर कोही मान्छेसँग साह्रै रिस उठ्यो भने धम्क्याएर भन्ने गरेको सानैमा सुनेको थिएँ, ‘तँलाई मारेर तेरो लाश गायब पारिदिन्छु।’ त्यति बेला मलाई के लाग्थ्यो भने मारी नै सकेपछि लाश गायब गर्नु र नगर्नुको के अर्थ हुन्छ ! तर, बेपत्ता मानिस र तिनका परिवारलाई भेटेपछि लाश गायब गर्नु कति ठूलो अपराध रहेछ भन्ने थाहा भयो।
मरेको मान्छे त मर्छ। उसका परिवारलाई पनि ‘ए मान्छे मर्यो’ भन्ने हुन्छ। एक किसिमले उसको माया मार्छन्। तर, बेपत्ता मान्छे आफ्नो आँखाले मारिएको देखिएको छैन, सशरीर उपस्थित पनि छैन। बेपत्ता छ अर्थात जीवनमा छैन। आफन्तलाई सधैँ धुकचुक हुँदोरहेछ, कहिले आउँछ भनेर। त्यसैले बेपत्ताका आफन्तहरू सधैँभरि, जिउँदै मरिरहेका हुँदारहेछन्।
युद्धको असर पछिसम्म पर्दोरहेछ। यो कुरा मैले डेढ वर्षपछि बाजुराको पाण्डुसेन जाँदा थाहा पाएँ। त्यति बेलासम्म पनि मान्छेहरू शोकमै डुबेका थिए। छोरा गुमाएकी एक आमाले रुँदै सोधिन्, ‘‘मेरो छोरो कहाँ गयो?’’ उनी हिकहिकाएर रोइरहँदा उनकी बुहारीले सम्झाइन्, ‘‘नरुनुस्। रोए बासी गर्दा उनी फर्कँदैनन्।’’
लोग्ने गुमाएकाे १८ महीनापछि पनि उस्तै पीडामा रहेकी रिउली दमाईंले भनिन्, ‘‘मन त कठै, कसो छ कसो भनौँ। मन बुझाइदिने पनि कोही नाइँ। मारेर उहाँ पुर्याउने पनि कोही नाइँ।’’
साढे ६ वर्षपछि म फेरि त्यहाँ गएँ र मारिएका मानिसका परिवारलाई भेटेँ। त्यति बेला द्वन्द्वमा मारिएकाहरूका छोराछोरी सरकारी स्कुलको एकदमै थोरै शुल्क पनि तिर्न नसकेर स्कूल जान पाएका रहेनछन्। प्यान्ट फाटेकाले स्कूल जान पाएका रहेनछन्। यो गरिबीमाथि लडाइँले पारेको मार हो भन्ने लाग्यो।
मैले रामलाल दमाईंकी पत्नी रिउली दमाईंलाई पनि भेटेको थिएँ। १८ महिनापछि पनि उनी एकदमै अलमलिएकी थिइन्, शोकमा डुबेकी थिइन्। लोग्ने गुमाएपछिको पीडा सुनाउँदै उनले भनिन्, ‘‘मन त कठै, कसो छ कसो भनौँ। मन बुझाइदिने पनि कोही नाइँ। मारेर उहाँ पुर्याउने पनि कोही नाइँ।’’
साढे ६ वर्षपछि तेस्रो पटक म पाण्डुसेन पुगेँ। त्यतिवेला भने उनको घरमा कोही पनि थिएन, ढोकामा ताला लागेको थियो।
२०६५ चैतमा मैले फेरि जुल्फे सार्कीलाई भेटेँ। उनले भने केही सजिलो महसुस गरिरहेको बताए। ‘‘त्यतिबेला तपाईंहरूलाई देख्दा डर लागेको थियो। जिउ डगडगी कामेको थियो। हात कामेको थियो, म भागेको थिएँ,’’ उनले त्यो समय सम्झिए। शान्ति सम्झौता गरेर माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेको थियो। यो उनले यसरी भने, ‘‘अहिले शान्त छ किनभने राजनीति उसै भइगयो।’’
उनको कुरा सुनेपछि मलाई लाग्यो- हो त, राजनीति उसै भइगयो। २००७ साल पछाडि हामीले जे हुन्छ भनेका थियौँ, त्यो भएन। २०४७ सालको परिवर्तनपछि जे हुनुपर्ने हो, त्यो पनि भएन। त्यसपछिको लडाइँमा यतिका मान्छे मारिए, यतिका मान्छेले दुःख पाए, यतिका मान्छे बेपत्ता भए। त्यसपछि गणतन्त्र आयो। त्यसपछि पनि हामीले जे चाहेका थियो त्यो भएन अथवा राजनीति उसै भइगयो !
राजनीति त उसै भइगयो नै, देश र जनताको मुहार फेर्ने भनेर २५ वर्षअघि सशस्त्र द्वन्द्व जन्माउने रोल्पा पनि उसै भइगयो। त्यतिवेला भने उसै थिएन। पत्रकार ध्रुव बस्नेतले रोल्पाको यात्रा गरेका थिए। अहिले पनि बिझाइरहने त्यो यात्राः
७ फागुन, २०५७ मा हामी काठमाडौंबाट रोल्पा हिँड्यौँ। भोलिपल्ट ८-९ बजेतिर प्युठानको भिंग्री पुग्यौँ। त्यहाँ पुगेर बसबाट बाहिर हेर्दा नै डर लागेको थियो। प्रहरीको पोस्ट छेउको रूखमा मचान थियो, त्यहाँ प्रहरी ड्युटी गरिरहेका थिए। तलतिर क्यारम बोर्ड खेलिरहेका प्रहरीले पनि बन्दुक भिरेका थिए।
त्यसपछि रोल्पाको लिवाङमा पुग्यौँ। नजिकै रहेको जिल्ला कारागारमा माओवादीको आरोपमा जेलमा राखिएका मान्छेका दुःखसुख बुझ्यौँ। उनीहरूले प्रहरी र प्रशासनबाट पाएको यातना सुनाए। कतिपयले निर्दोष हुँदाहुँदै पनि जेलमा बस्नुपरिरहेको बताए। प्रहरीले जबर्जस्ती तथा यातना दिएर ‘अपराध गरेको हुँ’ भन्ने बयान गर्न लगाएको उनीहरूले बताए। पक्राउ गर्दा बेस्सरी कुटेको बताए। ‘‘डोरीले झुन्ड्याएर पैतालामा पिटे। त्यो पिटाइले पिसाब गर्दा पनि रगत बग्थ्यो,’’ कारागारमा रहेका एक जनाले भने।
केही दिनको यात्रापछि हामी सात जना पत्रकार अमृता लम्साल, शोभा गौतम, रम्यता लिम्बू, प्रमिला शेरचन, टंक पन्त र म रोल्पा छोडेर रुकुम प्रवेश गर्यौँ। रुकुम सदरमुकाम खलंगामा पनि रोल्पाको जस्तै डरत्रास थियो। मान्छेहरू माओवादीबाट यातना पाएर, गाउँबाट विस्थापित भएर शरणार्थीजस्तै सदरमुकाम र विमानस्थल वरिपरि बसेका थिए।
रुकुम कारागारमा माओवादी नेता लोकेन्द्र विष्टलाई भेट्यौँ। उनले राजनीतिक समस्या भएकाले राजनीतिक रूपमा समाधान गर्नुपर्ने र बल प्रयोगले नसुल्झिने बताए। ‘‘माओवादी जनयुद्ध भनेको वास्तवमा सरकारद्वारा सिर्जित समस्या हो। यो समस्याको हल मुडे बलबाट हुँदैन। यो समस्याको हल राजनीतिक रूपले हुनुपर्छ,’’ विष्टले भने। (यो समस्या राजनीतिक रूपले समाधान भएपछि लोकेन्द्र विष्ट अहिले दाङमा खेती गरेर बसेका छन्।)
त्यसपछि खलंगाभन्दा टाढा सिप्ली गाउँमा पुग्यौँ। त्यहाँको एउटा घरमा स–साना बच्चाबच्ची आफैँ खाना पकाएर खाइरहेका थिए। चारदेखि सात वर्ष जतिका उनीहरूले आमाबुवा गुमाएका थिए। प्रहरीले आमाबुवालाई मारेपछि तीन भाइबहिनी सकसमा थिए। राम्ररी खाना पकाउन सक्ने उमेरका पनि थिएनन्। कुराकानी गर्ने बित्तिकै ठूलोले आँशु बगाइहाले। ‘‘त्यसको मुटुको रगत खाउँ जस्तो लाग्छ,’’ उनले रुँदै भने, ‘‘त्यसले मेरा आमाबुवा मारिदियो।’’
हामी रोल्पा, रुकुम र जाजरकोट जिल्लामा २६ दिन घुम्यौँ। सरकार र माओवादी दुवै पक्षबाट ज्यादती भएको पायौँ। बालबालिका उस्तै पीडामा देख्यौँ।
छोरा हिँडेपछि पनि वृद्ध भुइँमा पल्टिएर रोइरहे। उनको बिलौना सुनिरहेका गाउँलेले पनि सम्हाल्न सकिराखेका थिएनन्। किरणकी हजुरआमा तुलसा विष्टले किरणका बाबुलाई सम्झाइन्, ‘‘तेरो सृष्टि पनि उसले सम्झिएन, माया पनि गरेन। नरो, बुढो मान्छे भएर चित्त पो बुझाउनुपर्छ !’’
त्यसको लगभग चार वर्षपछि सशस्त्र द्वन्द्वले स्कुलमा पारेको असरबारे डकुमेन्ट्री बनाउन भोजपुर, खोटाङ हुँदै डोटीसम्म घुमेँ। यतिबेलासम्म माओवादीको प्रभाव देशभर फैलिएको थियो। त्यो बेला घुम्दा मेरो मनमा गढेको एउटा घटना एकजना स्कुले बच्चासँग सम्बन्धित थियो।
खोटाङको चिसापानीका कक्षा ९ का विद्यार्थी किरण माओवादीमा सामेल भएका रहेछन्। उनी घरबाट निस्कँदै थिए, माओवादी कार्यकर्तासँगै। तर, उनका बुवा ‘नजाऊ’ भनेर रोइकराइ गरिरहेका थिए। छोराको खुट्टा समातेर बिन्ती गर्दै थिए। जति गर्दा पनि नमानेपछि डाँको छोडेर रुँदै भुइँमै पल्टिए। किरण बाबुलाई सम्झाउँदै थिए, ‘‘यस्तो गर्नुहुन्न नि बुवा। हामी एउटा लडाइँमा हिडेको, त्यस्तो गर्नु हुँदैन।’’
वृद्धले जति रोइकराइ गरे पनि उनको मन पग्लिएन। उनकै उमेरका माओवादी कमान्डरले किरणका बुवालाई सम्झाउन गए। उनका बुबाले भने, ‘मेरो छोरो पागलजस्तो छ।’ माओवादी कमान्डरले भने ‘‘पागल मान्छे लडाइँमा हिँड्नु नै हुन्नथ्यो नि।’’
किरण देशका लागि लड्न जान लागेको भन्दै थिए। उनले थपे, ‘‘साथीहरू पनि गएका छन्। म आफ्नो विचार, भावनाले यो देशका लागि लड्नुपर्ने रहेछ भन्ने बुझेर जान लागेको हुँ।’’
छोरा हिँडेपछि पनि वृद्ध भुइँमा पल्टिएर रोइरहे। उनको बिलौना सुनिरहेका गाउँलेले पनि सम्हाल्न सकिराखेका थिएनन्। किरणकी हजुरआमा तुलसा विष्टले किरणका बाबुलाई सम्झाइन्, ‘‘तेरो सृष्टि पनि उसले सम्झिएन, माया पनि गरेन। नरो, बुढो मान्छे भएर चित्त पो बुझाउनुपर्छ !’’
त्यसपछि हामी मुगुको सुकाढिक पुगेका थियौँ। सुकाढिकस्थित स्कुलको अवस्था बुझी नसक्दै हामीलाई माओवादीले थुने। उनीहरूले २२ घन्टापछि मात्र मुक्त गरे।
लडाइँले स्कुलमा कतिसम्म असर पारेको छ भन्ने डोटीको मुडभरामा देख्यौँ। २०६० कात्तिकमा सांस्कृतिक कार्यक्रमका लागि माओवादी टोली स्कुलमा आएको थियो। त्यसपछि स्कुल रणभूमिमा परिणत भयो। घाइते विद्यार्थी धर्मा भुर्तेलले भनिन्, ‘‘गोली लागेको पनि केही पत्ता भएन। सरले समातिराखेका थिए। त्यसपछि अस्पताल लगे। अस्पताल लगेपछि के भयो मलाई थाहा छैन। बेहोस भएँ।’’ यति बोल्दा उनका आँखाबाट बरर आँशु झरे। उनको दाहिने हात कुहिना उँधो चल्दैन।
उनकी आमा कृष्णमाया भुर्तेलका त आँशु रोकिएका थिएनन्। श्रीमान् पहिले नै गुमाएकी उनले रुँदै भनिन्, ‘‘एउटै त छोरी हो। कोले ततर्दे हो मेरी छोरीलाई !’’
माओवादी सांस्कृतिक कार्यक्रम रोक्न गएको सेनाको टोलीले हानेको गोलीले ६ जना माओवादी मारिएका थिए। चार जना विद्यार्थीको पनि ज्यान गयो। कक्षाकोठामै रहेका विद्यार्थी विष्णुप्रसाद शर्माको ज्यान त बच्यो, तर जीवन भने बर्बाद भयो। ‘‘सेनाले झ्याल फोडेर भित्र गोली हान्यो। गोली लागेर म त्यहीँ लडेँ,’’ उनले भने, ‘‘स्कुल जान त मन लाग्छ, तर खुट्टाले हिँड्न सक्दैन। यो खुट्टा दुख्छ।’’ उनको कम्मर उँधोको भाग चल्दैन।
त्यतिबेला शिक्षकहरू पनि दुवै पक्षको तारो बनेका थिए। खोटाङका शिक्षक रामबहादुर राउतले भने, ‘‘द्वन्द्वको दुइटा गोलीको बीचमा छौँ हामी। जसको पनि गोली शिक्षकलाई लाग्छ। सेनाको पनि, विद्रोहीको पनि।’’ हुन पनि दुवै पक्षबाट गरेर दुई सय १६ जना शिक्षकको ज्यान गएको थियो।
मुक्तिनाथ अधिकारीको हत्या शिक्षकको जीवन कति अनिश्चित थियो भने उदाहरण हो। २०५८ माघमा उनी लमजुङको आफ्नै घर नजिकको दुराडाँडास्थित पाणिनि संस्कृत माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्त भए। त्यसको भोलिपल्ट एकाबिहानै माओवादी विद्यालयमा आए। ‘‘उहाँलाई एक जनाले हात पछाडि लगेर बाँधिदिनुभो, अर्काले पेस्तोल निकाल्नुभो र कन्चटमा लगाउनुभो। त्यति गरेपछि विद्यार्थी रुन थाले,’’ निमित्त प्रधानाध्यापक सुभाकर खतिवडाले सुनाए।
त्यसपछि माओवादीले शिक्षक अधिकारीलाई झन्डै आधा घन्टा उकालो हिँडाएर लगे। उनलाई एउटा रूखमा बाँधे। छुरी र गोली हानेर मारे।
लमजुङमा शिक्षक अधिकारीलाई मारेकै दिन खोटाङको चिसापानी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हर्कबहादुर राईलाई माओवादी निकटस्थ एउटा जातीय समूहले अपहरणपछि हत्या ग¥यो। ‘‘दुई गोली हानेका थिए। एउटा गोली कोखामा छिरेको थियो, अर्को छातीमा। रगतको भलमा हुनुहुन्थ्यो,’’ उनकी पत्नीले भनिन्।
त्यो घटनामा एक जना माओवादी नेताको प्रतिक्रिया थियो, ‘‘हाम्रो न्यायपूर्ण आन्दोलनको विरुद्धमा देखा परेर, सीआईडी सुराकी गर्ने र हामीलाई सिध्याउने दुष्प्रयत्न गरिरहेको छ भने हामी निर्मम बनेर जान्छौँ।’’
प्रधानाध्यापक राईको हत्याको दुई वर्षपछि शिक्षक हरिप्रसाद भट्टराईलाई सुरक्षा फौजले मध्यरातमा घरबाट निकाल्यो, र घर छेउमा मार्यो। यी दुईवटा यात्रा गरिसक्दा मैले लडाइँको कुरूप अनुहार राम्रोसँग देखेँ।
लडाइँको कुरूप अनुहार पत्रकार अमृता लम्सालले पनि देखेकी थिइन्। उनले द्वन्द्वका क्रममा माओवादी कार्यकर्तासँगै सर्वसाधारणले देखेका सपना पनि बुझ्ने कोशिश गरेकी थिइन्। याद आइरहने ती सपनाः
२०५७ फागुनमा रुकुम र रोल्पा गएका थियौँ। रोल्पाका बच्चाहरू हाम्रो पछिपछि लागेर ‘कहाँ के गर्छन्?’ भनेर चियो गर्थे। सबै जना माओवादीका भक्त थिए। १० वर्षका बच्चाले पनि ‘हाम्रो सत्ता आएपछि हामीसँग पैसा हुन्छ, हामीसँग शक्ति हुन्छ, हामीसँग सबथोक हुन्छ’ भन्ने गरेका थिए।
त्यहाँ जुलुस हुन्थ्यो। हामीलाई पनि ‘हिँडहिँड’ भन्थे। केही ठाउँमा गयौँ, सुन्यौँ पनि। हरेक घरबाट एक जना आउनुपर्छ भन्ने उर्दी हुन्थ्यो। सबै सर्वसाधारण भाषण सुन्न जाने गरेका थिए।
त्यतिबेला माओवादीका महिला कार्यकर्ता पनि एकदमै सशक्त जस्ता लाग्थे। बन्दुक बोकेर हिँड्थे। मैले केहीलाई सोधेकी पनि थिएँ, ‘‘बन्दुक बोकेपछि कस्तो लाग्छ?’’ उनीहरूले एकदमै शक्तिशाली भएको महसूस गर्ने बताएका थिए। उनीहरूले भनेका थिए, ‘‘बन्दुक बोक्दा एकदमै शक्तिशाली भएको महसुस गर्छु। मलाई कसैले केही गर्न सक्दैन जस्तो लाग्छ।’’
कालीकोटदेखि जुम्लासम्म हिँडेर द्वन्द्वको रिपोर्टिङ गरेका पत्रकार कुन्द दीक्षितलाई पनि माओवादीमा संलग्न महिला सशक्त भएको लागेको थियो। बाटोमा भेटिएका माओवादीको महिला दस्ताले पालैपालो कसेर हात मिलाउँदा उनको हात दुखेको थियो। उनले त्यही यात्रामा त्रासको गन्ध कस्तो हुन्छ भन्ने थाहा पाएका थिए। गाउँमा पाइएको त्रासको त्यो गन्धः
दैलेखसम्म हेलिकोप्टरमा गएका थियौँ। लडाइँका बेला युद्धभूमितिर हेलिकोप्टरमा जाँदा एक किसिमको त्रास, डर थियो। किनभने त्यसअघि कर्णाली एयरको हेलिकोप्टरलाई गोली हानेका थिए। हेलिकोप्टरमा प्वाल परेको थियो। त्यो थाहा थियो, हामीलाई।
सुर्खेतबाट उडेर दैलेखका डाँडा काट्दै कर्णाली माथि-माथिबाट उड्दै जाँदा बायाँपट्टि झ्यालबाट मैले कोटबाडाको विमानस्थल देखेँ, जुन निर्माणाधीन थियो। २०५८ फागुनमा त्यहाँ ३७ जना मजदुरको हत्या भएको थियो। सेनाले माओवादी ठानेर विमानस्थलमा काम गर्न आएका कामदारलाई मारेको थियो। त्यो देख्दा युद्ध प्रत्यक्ष देखेको जस्तो महसूस भयो।
कोटबाडाको अर्को सम्झना, त्यहाँ मारिएका ३७ जनामध्ये १७ जना धादिङको जोगिमाराका रहेछन्। त्यसबारे पत्रकार मोहन मैनालीले डकुमेन्ट्री बनाएका थिए। त्यो घटनापछि जोगीमारा विधवा र टुहुराहरूको गाउँ बनेको थियो। १८ जना बालबालिका टुहुरा र १० जना महिला विधवा भए। विधवा हुनेहरूमा १५ वर्षका केटीहरू पनि थिए।
कोटबाडा घटनापछि जोगीमारा विधवा र टुहुराहरूको गाउँ बनेको थियो। १८ जना बालबालिका टुहुरा र १० जना महिला विधवा भए। विधवा हुनेहरूमा १५ वर्षका केटीहरू पनि थिए।
कोटबाडामा सेनाले मारेकामध्ये एक जना कुम्ले प्रजा थिए। कुम्लेबारे सोध्दा उनकी पत्नी कमनमायाले केही बताउनै सकिनन्, रुन थालिन्। ‘‘हामीलाई थाहा छैन, मर्यो भन्छ,’’ यति बोलिसक्दा उनको गला अवरुद्ध भयो।
मजदुरी गर्न गएका डिल्ला प्रजाको पनि कोटबाडामा ज्यान गयो। अघिल्लो वर्ष आगलागी हुँदा उनको घर जलेको थियो। उनकी पत्नी लोग्नेले कमाएर ल्याएको पैसाले झुप्रो छाउन सकिएला कि भन्ने आशामा बसेकी थिइन्। डिल्ला मारिएको खबर सुनेदेखि उनी ज्ञानशून्य भएकी थिइन्। कतिसम्म भने आफ्नै नाम पनि सम्झिन सकिराखेकी थिइनन्। ‘‘मेरो नाम ! के पो हो ? मैले बिर्सिइहालेँ,’’ उनले भनिन्। केहीबेर गमेपछि मात्रै उनले आफ्नो नाम सम्झिइन्।
कालीकोट साँच्चिकै विकट रहेछ। मैले अलिअलि देश त घुमेको हुँ, तर त्यस्तो ठाउँ देखेको थिइनँ। पहाडको धारमाथि घरहरू थिए। त्यतिबेलासम्म मोटर बाटो पुगेको थिएन। कर्णाली राजमार्ग तयार भएको थिएन, अलिअलि खन्दै थिए। त्यो धारमै हेलिकोप्टर ‘ल्यान्ड’ गरेको थियो।
त्यो रात जिल्ला सदरमुकाम बसेर हामी अर्को दिन हिँड्यौँ। ठाउँ–ठाउँमा बाटो खनिरहेका थिए। कहीँकहीँ मात्रै गोरेटो थियो। यस यात्रामा कालीकोटका कान्तिपुर संवाददाता तुलाराम पाण्डे, प्रतीक भण्डारी, मीनबहादुर शाही र हाम्रा क्यामेरा पर्सन नारायण प्रसार्इं थियौँ। हामी माओवादीको प्रभाव भएको क्षेत्र प्रवेश गर्यौँ। कालीकोटबाट जुम्ला पुग्न स्थानीय बासिन्दालाई त दुई दिन मात्रै लाग्छ रे। हामीलाई चार–पाँच दिनै लाग्यो। त्यति समय लाग्नुको कारण थियो- हामीले बीचबीचमा रोकिनुपरेको थियो, माओवादीले गर्दा।
कालीकोटको पिली पुग्दा घाम अस्ताइसकेको थियो। त्यहाँ रूखका टुप्पोमा ८–९ वर्षका बच्चाहरू थिए। हामी नजिक पुगेपछि खुर्र रूखबाट तल झरेर दौडँदै जान्थे गाउँतिर। तिनीहरू त माओवादीका ‘होल टाइमर’ कार्यकर्ता रहेछन्। ‘को-को आयो?’ भनेर निगरानी गर्न बसेका रहेछन्। उनीहरूले गाउँमा गएर कमान्डरहरूलाई ‘तीन जना नेपाली र एउटा विदेशी आउँदै छन्’ भनेछन्।
अनि त्यहाँ पुगेपछि माओवादीले केरकार गर्न थाले। विदेशी मलाई भनेका रहेछन्। म अग्लो, सेतो कपाल भएकाले बच्चाहरूले विदेशी ठानेछन्। उनीहरू ‘फ्रेन्ड्ली’ थिएनन्। उनीहरूले ‘के गर्न आएको हो? कुन काममा आएको? हामीलाई नभनीकन किन आएको? खोइ त कागज?’ भनेर सोधखोज गरे।
त्यसपछि गाउँसभा गरे, हामीलाई अगाडि उभ्याएर माला लगाइदिए। त्यहाँ उपस्थित सबैले गडगड ताली बजाइरहे। एक जना माओवादी नेताले भाषण गरे, ‘हामी रातो सत्ताका सिपाही मान्छेहरू २१औँ शताब्दीको जनवाद ल्याउन लडिरहेका छौँ।’
जनसभामा त माला लगाइदिए, तर पछि ‘सेनाको जासूस गर्न आएको’ भन्ने आरोप लगाए। अझ साँझ त ‘यस्ता शाही कुत्ताहरू’ भन्ने खालको कुरा गरे। राम्रैसँग केरकार गरे।
त्यतिबेला मैले भर्खर ‘ब्रदर नम्बर वान’ नामक पुस्तक पढेको थिएँ। त्यसमा क्याम्बोडियाको खमेर रुजबारे अनुभव थियो। त्यसमा जे लेखेको थियो, त्यस्तै अनुभव भयो, कालीकोटदेखि जुम्लाको यात्रामा। जसरी १३–१४ वर्षका छापामार, होल टाइमर, कमान्डरले कुरा गर्थे, जुन शैलीमा धम्कीपूर्ण शब्दहरू प्रयोग गर्थे, त्यो ठ्याक्कै क्याम्बोडियाकै झझल्को आउने खालको थियो।
धेरैले हाम्रो जुत्ता हेर्थे। त्यहाँ त गोल्डस्टार जुत्ता महिनाको एउटा पनि टिक्दैनथ्यो, डाँडाकाँडा हिँड्नुपर्ने। उनीहरूको जुत्ता त फाटी हाल्ने। अनि हाम्रा बलिया–बलिया जुत्ता देखेपछि रिसाइहाल्थे। उनीहरू सोध्थे, ‘यस्तो जुत्ता लगाएर आउन कसले भन्यो? चस्मा लाउँदैमा बुद्धिजीवी भइन्छ ?’ त्यो ठ्याक्कै खमेर रुजको भाषा थियो।
जुम्लाको त्यो उपत्यका, रमाइलो र ‘सिनिक’। लडाइँ नभइदिएको भए त्यो स्वर्गजस्तै ठाउँ। हामी ठ्याक्क दशैँ अगाडि गएका थियौँ। सुनौलो धानका खेत, तिलाको निलो पानी, पर सेतो कान्जिरोवा हिमाल। त्यतिखेर स्वर्ग पुगे जस्तो हुन्थ्यो। तर, एक–दुई पाइला अगाडि बड्यो, अनि फेरि लडाइँले ध्वस्त बिल्डिङ, मान्छेमा त्रास। त्रास धेरै किसिमले देखिन्थ्यो। ढोकासोका सबै बन्द। हिँड्दाखेरि बालबालिका आउँछन्, खेल्छन्, हाहु गर्छन्, चकलेट माग्छन्, हाँस्छन्। त्यो पटक्कै थिएन। बरु घरभित्र बसेर झ्यालको सानो छिद्रबाट चियाउँथे। १२ वर्ष जतिका एकजना बालकले भने, ‘‘युद्धले यस्तै हो त। सबै फौजीकृत भइराखेका छन्।’’
ध्वस्त बिल्डिङहरू, जलेका सरकारी कार्यालयहरू जताततै। खलंगा बजारमा पनि धेरै मान्छेहरू बाहिर निस्केको देखिँदैनथे, पसलको भित्रबाट चियाउँथे।
त्रासको गन्ध हुँदोरहेछ भन्ने त्यो वेला अनुभव गरेँ। माहोल नै त्यस्तो। सबै जना सबै जनासँग डराउने। के हुन्छ, को आउँछ ? भन्ने त्रास। बाहिरबाट आएका मान्छेसँग त संगतै नगर्ने, बोल्दै नबोल्ने। गाल पर्छ अथवा फसाद पर्छ भनेर होला।
कालीकोटकै जुबिथामा हो, बच्चा छापामारहरूले केरकार गरे। त्यहाँबाट अगाडि बढेपछि तिला नदीको अलिमाथि साँघुरो बाटो छ। त्योे बाटोमा महिला छापामारहरूको दस्ता आउँदै थियो, सबै बन्दुकधारी। अचम्म लाग्थ्यो, पश्चिम नेपालको जुम्ला जस्तो ठाउँमा जुन अहिलेसम्म पनि एक किसिमले अरू ठाउँभन्दा पितृसत्तात्मक ‘भ्यालु’ भएको।
महिलाहरू लालसलाम गर्दै हामीसँग हात मिलाउँदै जान्थे। हात मामूली पाराले मिलाउने होइन, साँच्चिकै हात मिलाउने, कसेर हात मिलाउने। मेरो हातै दुखेको थियो। त्यो देख्दा मलाई साँच्चिकै ‘नेपालमा परिवर्तन आएछ, एक किसिमले महिला सशक्तिकरण भनेको यो पो रहेछ’ भन्ने लाग्यो।
जुम्लाको जतिजति नजिक पुग्यो, उतिउति आक्रमण भएका झझल्कोहरू देखिन्थे। त्यतिवेलासम्म खलंगामा आक्रमण भइसकेको थियो। त्यसैले ध्वस्त बिल्डिङहरू, जलेका सरकारी कार्यालयहरू जताततै थिए। खलंगा बजारमा पनि धेरै मान्छेहरू बाहिर निस्केको देखिँदैनथे, पसलको भित्रबाट चियाउँथे।
त्यो बेला पत्रकार कनक दीक्षित भने माओवादी चियाउँदै पुगेका थिए, रामेछापको दोरम्बा जहाँ सेनाले १८ जना माओवादी कार्यकर्ता मारेको थियो, त्यो पनि युद्धविरामका वेला। निधारमा गोली हानी मारेर बाटो किनार फालिएका शवलाई माओवादीले नै गाडेका थिए। चिहान खोतल्दा निस्कने कम्युनिष्ट झण्डा, कात्रो र मान्छेका अनुहारहरूले उनलाई झस्काएको थियो। पत्रकार दीक्षितको सम्झनामा आइरहने ती अनुहारः
रामेछापको उत्तर–पश्चिम कुनामा पर्दछ, दोरम्बा गाउँ। दोरम्बा गाउँमाथि जंगलमा डाँडाकटेरी भन्ने एउटा पाखो छ। त्यहाँ १८ वटा चिहानमा माओवादी कार्यकर्ताका शव गाडिएका थिए। हत्याको भएको १७ अगस्ट, २००३ अर्थात् ३२ साउन, २०६० मा।
त्यतिबेला मानवअधिकार आयोगमा आयुक्त थिए, सुशील प्याकुरेल। उनले मलाई फोन गरेर सोधेका थिए, ‘सेनाबाट हत्या भएको रिपोर्ट छ। आयोगलाई विश्वसनीय रिपोर्ट चाहिएको छ। तपाईं पनि आयोगको टोलीमा सामेल हुनुहुन्छ कि ?’ उनलाई मैले चिनेको थिइनँ, तैपनि भनेँ, ‘‘राम्रो टोली भयो भने म जान्छु।’’
राम्रो टोली तयार भयो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझी, पूर्वन्यायाधिवक्ता प्रेमबहादुर विष्ट, फोरेन्सिक चिकित्सक हरिहर वस्ती र आयोगका तर्फबाट अधिवक्ता हरि फुँयाल (अहिले सर्वोच्च अदालतका न्यायाधीश)। यो टोलीमा म पनि सामेल भएँ।
हत्याको ११ दिनपछि हामी दोरम्बा पुग्यौँ। हेलिकोप्टर ल्यान्ड गर्दा दोरम्बा गाउँभन्दा माथिको पूरै भाग हुस्सुले ढाकेको थियो। भोलिपल्ट बिहान उकालो लाग्यौँ, डाँडाकटेरीतर्फ। त्यहाँ आलो अवस्थामा १८ वटा चिहान फेला पार्यौँ।
त्यो दिन माओवादी कार्यकर्ता दोरम्बाका युवराज मोक्तानको घरमा भेला भएका थिए। सेनाले एक्कासि घेरा हाल्यो भन्ने खबर आयो। त्यसपछि भाग्नसक्ने भागे, नसक्नेलाई सेनाले घेराबन्दीमा पार्यो। सेनाले खास्टो टुक्राटुक्रा पारी सबैका हात पछाडि बाँधेर माथि उकालोतर्फ लग्यो। माथि शैलुङको जंगल थियो। पारिपट्टिबाट वाकिटकीमा फाइरिङ भएको खबर आयो। त्यसपछि सेनाको टुकडी जंगलभित्र नपसेर डाँडाकटेरीको माओवादीलाई गोरेटोमै लिएर गयो। त्यसको नेतृत्व गरेका थिए, मेजर राममणि पोखरेलले।
केहीबेरमै तल गाउँमा रहेका मान्छेहरूले ‘बचाउ बचाउ’ भन्दै जोरजोरले कराएको आवाज सुने। त्यही कोलाहलबीच फाइरिङको आवाज आयो, ड्याङ ड्याङ ड्याङ ड्याङ। त्यही ड्याङड्याङपछि बनेका थिए, १८ चिहान।
गाउँलेहरूले चिहान खनेर सघाए। डा. वस्ती खाल्टोमै छिरे किनभने त्यतिबेला एकएक शवलाई माथि ल्याएर टेबुलमा राखेर जाँच गर्न सक्ने अवस्था थिएन। म खाडलको डिलमै बसेँ। डा. वस्ती मलाई बताउँथे। म नोट लेख्थेँ र कराएर हरि फुँयाललाई बताउने गर्थें। उनले पनि नोट लेख्थे। त्यसबेला मैले तस्वीर पनि खिचेँ।
खन्दै जाँदा माओवादीले आफ्नो झण्डाले बेरेको शव फेला पर्थ्यो। त्यो झण्डा झिकेपछि लाश बेरेको सेतो कपडा आउँथ्यो। त्यसभित्र हामीले पाउँथ्यौँ शव। एउटा शव निकाल्ने बित्तिकै गाउँलेले भने, ‘उः विष्णु विष्णु।’ उनी विष्णुमाया थापामगर थिइन्। अरू शव निकाल्दा पनि गाउँलेले यसैगरी नाम पुकार्ने गर्थे, कति व्यक्ति उनीहरूका चिनजानकै थिए।
गाउँलेले त्यो रातको घटना सुनाएका थिए, ‘ए आमा, ए आमा’ भनेर माथि जंगलमा कोही रोइरहेको, कराइरहेको, गुहार मागिरहेको थियो। तर, त्यो राति माथि जान कसैको पनि आँट आएन। रातभरि चिच्याइरहेको, गुहार मागिरहेको, आमा-आमा भनिरहेको त्यो स्वर बाबुराम तामाङकै थियो।
डा. वस्तीले ठूलो दुःख गरे। खाडलमा गएपछि उनको सामु एउटा मुहार हुन्थ्यो। त्यो मुहारलाई केलाउने, कताबाट गोली छिरेको छ, कतातिर गोली निक्ल्यो, शरीरका अन्य भागमा गोली छिरेको छ कि छैन, सबै उनले हेर्थे।
त्यतिबेला हामीले थाहा पायौँ, गोली मृत्युदण्ड दिने शैलीमा हानिएको रहेछ। यति नजिकैबाट गोली हानिएको थियो कि बन्दुकको नालबाट निक्लिने गोलीसँगै बारुदको फोहोरा पनि डामको रूपमा अधिकांशको निधारमा थियो। सबै गोली कि त बीच निधार, नभए त्यसको यताउताबाट छिरेको थियो।
शवको जाँच गरेर हामी तल दोरम्बा गाउँमा फर्क्यौं। एकजना ठिटो आएर ‘रोल फिल्म’ हातमा थमाएर हिँडे। त्यतिबेला ३५ एमएमको ‘रोल फिल्म’को चलन थियो।
काठमाडौं फर्केर त्यो रोललाई धुलाएर हेर्यौँ। त्यसबाट थाहा भयो, सैनिकले हत्या गरेको केही दिनपछि माओवादी त्यहाँ पुगेका रहेछन्। उनीहरूले त्यहाँ जे देखे, त्यसको तस्वीर रहेछन्, त्यो रोलमा। माओवादीले खिचेको तस्वीरबाट थाहा पायौँ, सेनाले सबैलाई मारेर लाश गोरेटोभन्दा तल जंगलतिरको पाखोमा फ्याँकेर हिँडेका रहेछन्।
तस्वीरमा एउटा शव देखिन्छ। त्यो शव स्थानीय अगुवा बाबुराम तामाङको थियो। उनको मात्रै निधारमा गोली थिएन। उनको कुहिनोमा गोली लागेको रहेछ र रक्तश्रावबाट मृत्यु भएछ।
गाउँलेले त्यो रातको घटना सुनाएका थिए, ‘ए आमा, ए आमा’ भनेर माथि जंगलमा कोही रोइरहेको, कराइरहेको, गुहार मागिरहेको थियो। तर, त्यो राति माथि जान कसैको पनि आँट आएन। हाम्रो अनुमानमा रातभरि चिच्याइरहेको, गुहार मागिरहेको, आमा–आमा भनिरहेको त्यो स्वर बाबुराम तामाङकै थियो।
दोरम्बा घटनाको बिर्सनै नसक्ने थप एउटा कुरा पनि छ। शव गाडेको त्यो जंगल कटेपछि एउटा चौर थियो। त्यहाँ सेनाले आफूले मारेका माओवादी कार्यकर्ताका चस्मा, काइँयो, कापी, कलम, ब्याग एकरास पारेर जलाइदिएको थियो। त्यो ठाउँमा एउटा नोटप्याड फेला पर्यो। अलिअलि मात्र जलेको, पल्टाएर हेर्दा त्यो विष्णुमाया थापा मगरको रहेछ।
माओवादी विद्रोह, सशस्त्र द्वन्द्व, व्यक्ति हत्याका शृंखलासँग म कुनै पनि हिसाबले सहमत हुन सक्दिनँ, तर एउटा दर्शन बोकेर, एउटा कामका लागि भनेर माओवादी कार्यकर्ता भएर जो-जो अगाडि बढे, उनीहरूलाई त मैले कदर गर्नैपर्छ। नेतृत्वको कदर नगरौँला, तर कार्यकर्ताको म कदर गर्दछु। त्यसका लागि प्रतीक बनेकी छिन्, माओवादी कार्यकर्ता विष्णुमाया थापा मगर।
त्यो नोट फेला परेपछि मैले अघि शव उत्खनन गर्दाको एउटा क्षण सम्झिएँ। गाउँलेले ‘उः विष्णु, विष्णु’ भनेका थिए। उनलाई निधारमा गोली हानेर हत्या गरेको रहेछ। उनी माओवादीकी रामेछापको महिला कमिटीकी सदस्य सचिव थिइन्।
माओवादी विद्रोह, सशस्त्र द्वन्द्व, व्यक्ति हत्याका शृंखलासँग म कुनै पनि हिसाबले सहमत हुन सक्दिनँ, तर एउटा दर्शन बोकेर, एउटा कामका लागि भनेर माओवादी कार्यकर्ता भएर जो-जो अगाडि बढे, उनीहरूलाई त मैले कदर गर्नैपर्छ। नेतृत्वको कदर नगरौँला, तर कार्यकर्ताको म कदर गर्दछु। त्यसका लागि प्रतीक बनेकी छिन्, माओवादी कार्यकर्ता विष्णुमाया थापा मगर।
शव उत्खनन गर्दा सबैभन्दा पहिले कम्युनिष्ट झण्डा, त्यसपछि कात्रो र त्यो पन्छाइसकेपछि मुहार आउँथे। ती मुहारले हामी कुन कालखण्ड पार गरेर आएका छौँ भन्ने कुरा आजसम्म पनि घरीघरी सम्झाउँछन्। जसले ज्यादती गरेको थियो, युद्धअपराध गरेको थियो, मानवताविरुद्ध अपराध गरेको थियो, उसलाई संक्रमणकालीन न्यायअन्तर्गत र नेपालका अदालतअन्तर्गत कठघरामा ल्याउनैपर्छ भन्ने मेरो बुझाइलाई दोरम्बाको अनुभवले बलियो बनाएको छ।
(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०)बाट प्रत्येक साता सोमबार राति ८:३० बजे प्रसारण भइरहेको भिडियो म्यागाजिन 'सग्लो समाज'को साताैं अंक ‘डरै डरको जुग’मा आधारित सामग्री।)