‘नेकपाको विभाजनमा दाहाल–नेपाल जिम्मेवार, ओलीको कदम असंवैधानिक’
तत्कालीन नेकपा एमालेदेखि नै माधव नेपाल पक्षमा रहेका नेता लालबाबु पण्डित नेकपा विभाजनपछि तटस्थ छन्। पार्टी विभाजन हुनुमा पुष्पकमल दाहाल र माधव नेपाल दोषी रहेको बताउने उनी प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई पनि असंवैधानिक मान्छन्। प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने मान्यता राख्ने उनी दाहाल–नेपाल समूहमा नलाग्नुको कारण के हो त? मुकेश पोखरेलले पण्डितसँग गरेको कुराकानीः
नेकपा विभाजन भएर प्रायः सबै नेताले आफ्नो कित्ता स्पष्ट गरिसके, तपाईं अहिलेसम्म किन चुपचाप ?
मलाई पार्टी विभाजन हुन लागेकोमा पीडा छ। अहिले संविधान कार्यान्वयनको प्रारम्भिक काल हो। उपलब्धिहरू संस्थागत गर्दै अघि बढ्ने बेला प्रतिनिधि सभा विघटन भयो। मैले १५ महीनाअघि नै पार्टीमा संकट आउँदै छ भनेको थिएँ। जे भए पनि प्रतिनिधि सभा विघटन संवैधानिक हो भन्ने मलाई लागेन। त्यसैले संसद् पुनःस्थापना हुनुपर्छ। पुनःस्थापना भयो भने मात्र पार्टीलाई एकता गराउन सहज हुन्छ भन्ने मेरो विश्वास छ। अब गत वर्ष माघमा भएको केन्द्रीय कमिटी बैठक र भदौमा भएको स्थायी समिति बैठकको निर्णयलाई आधार मानेर अघि बढ्नुपर्छ। त्यसबाहेक अरू अतिरिक्त जे जे गरिएको छ, त्यसलाई समाप्त गर्नुपर्छ।
तपाईंले १५ महीनाअघि नै पार्टीमा संकट आउँदै छ भनेर कसरी पूर्वानुमान गर्नुभयो ?
दुईवटा फरक विचार बोकेका पार्टीबीच एकता भएको थियो। तर, पार्टी पार्टीभित्र दुईवटा ध्रुव कायम थिए। ती ध्रुवबीच मिलन र टकरावको स्थिति थियो। मैले सरकारमा रहँदा त्यस्तो अनुभूति गरेँ। जस्तो कि, संसद्मा पठाइएका विधेयक र सरकारले गरेका निर्णयमा जुन खालका प्रतिक्रिया आइरहेका थिए, त्यसले पूर्वानुमान गर्न सजिलो भयो। जस्तो, राज्य व्यवस्था समितिमा पार्टीको बहुमत छ, तर पार्टीका प्रस्ताव र निर्णय अल्पमतमा परे। पूर्वमाओवादी र कम्युनिष्ट पार्टी इतर पक्ष एक ठाउँमा हुने, पूर्वएमालेहरू सरकारको पक्षमा हुने। पूर्वमाओवादीका सांसदहरूको भूमिकाकै कारण सरकारले लगेको विधेयक रोकिने स्थिति आयो।
तपाईंले सम्हाल्नुभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको काममा पनि अवरोध भयो ?
राज्य व्यवस्था समितिमा पार्टीको बहुमत भए पनि संघीय निजामती सेवा ऐन पास हुन सकेन। उक्त ऐन पास नभएसम्म प्रदेश निजामती सेवा ऐनका आधार र मापदण्ड बन्दैनथ्यो। स्थानीय तहमा सेवाको मापदण्ड र आधार तय हुँदैनथ्यो। यो ऐन रोकिएपछि त्यसको असर प्रदेश र स्थानीय तहमा प¥यो। त्यहीकारण संघ र प्रदेशको द्वन्द्व बढ्यो। तीन तहका सरकारबीच संघीयता कार्यान्वयनका लागि गरिएका काममा पनि भाँजो हालियो। स्थानीय तहमा भएको कर्मचारी अभावलाई लिएर कानून अनुसार विज्ञापन आह्वान गर्दा लोकसेवा आयोग र मन्त्रालयलाई विवादित बनाइयो। विज्ञापन संवैधानिक र कानूनी रूपमा ठीक भन्ने प्रमाणित भएपछि देशभर मेरो पुत्ला जलाइयो। राज्य व्यवस्था समितिमा जसले विधेयक र कर्मचारी भर्ना रोक्न निर्देशन दिएका थिए उनीहरूकै बलमा यी काम भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘काम गर्न दिइएन, खुट्टा तानियो’ भन्नुहुन्छ, काम गर्न नदिएको त साँचो रहेछ नि, होइन ?
प्रधानमन्त्रीको कुरा उहाँले जान्ने हो। उहाँले कति छलफल गर्नुभयो, निकासका लागि कति पहल गर्नुभयो, उहाँसँग सम्बन्धित कुरा हो। मेरो अनुभूति उहाँसँग नमिल्न सक्छ। पूर्वमाओवादीका साथीहरूले पनि त्यस्तो असहज अनुभूति गरेका हुनसक्छन्। जस्तो, हामीलाई ४ मंसीरमा मन्त्री पदबाट बिदा गरियो। कार्य सम्पादनका हिसाबले त मैले सम्हालेको मन्त्रालय उत्कृष्ट थियो। ८६ प्रतिशत कार्यसम्पादन भएको थियो। कुनै मन्त्रालयको कार्यसम्पादन ३० प्रतिशत मात्र पनि थियो। उनीहरू मन्त्री रहिरहे। कामको मूल्यांकन भएन। प्रधानमन्त्रीले त्यति वेला ‘यो मन्त्रिमण्डलले गति लिन सकेन भने फागुनमा गति लिने गरी कदम चाल्छु’ भन्नुभयो। त्यतिवेलै मैले संकट देखेर भनेको थिएँ।
नेकपामा अहिलेको परिस्थिति सिर्जना गर्ने मुख्य कारक तत्त्व के–के हुन् ?
तत्कालीन एमाले र माओवादीबीचको पार्टी एकीकरण पद र अवसरमा केन्द्रित थियो। त्यसैले एकीकरणका बाँकी कामले गति लिन सकेनन्। अवसर प्राप्त गरेकाहरू रक्षात्मक देखिए, अवसर नपाएकाहरू अप्ठ्यारोमा पारेर खोस्नतिर लागे। त्यसपछि स्वार्थहरूको झुन्ड तयार भयो। यसले सरकारको स्थायित्व र पार्टी एकतामा असर पर्दा अहिलेको अवस्था सिर्जना भयो।
एकीकरण गर्दा गरिएका कतिपय लिखित र अलिखित कुरा पहिला सुइरो र पछि फाली भए। अनि भताभुंग भयो। नेकपाभित्रको अहिलेको झगडा पार्टीमा मात्र सीमित रहेन, त्यसको असर शासन सत्ता र संविधानमै परेको छ। यो समस्या जनता र कार्यकर्ताको तहबाट आएको होइन, नेताको महत्त्वाकांक्षाले जन्माएको हो।
त्यसो भए पार्टी एकता गलत थियो ?
गलत थियो त भन्दिनँ। तर, एकीकरण गर्दा गरिएका कतिपय लिखित र अलिखित कुरा पहिला सुइरो र पछि फाली भए। अनि भताभुंग भयो। नेकपाभित्रको अहिलेको झगडा पार्टीमा मात्र सीमित रहेन, त्यसको असर शासन सत्ता र संविधानमै परेको छ। यो समस्या जनता र कार्यकर्ताको तहबाट आएको होइन, नेताको महत्त्वाकांक्षाले जन्माएको हो। नेताहरू आफैँले निम्त्याएको संकट आफैँलाई सिध्याउन प्रयोग भइरहेको छ। यो समस्या समाधान नभए नेकपाको एउटा नेतृत्वपंक्ति पलायन हुने स्थितिमा पुग्छ।
तपाईं पार्टी एकताको कुरा गर्दैहुनुहुन्छ। अहिले त्यो सम्भावना छ र ?
नेताहरू सबैले विभाजनको स्वाद चाखिसकेका छन्। नेतृत्वसँग विभिन्न आरोह–अवरोहको लामो अनुभव छ। त्यसकारण एकता असम्भव छैन।
प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिसकेपछि तपाईं दाहाल–नेपाल समूहमा लाग्नुपर्ने हो। किन नलाग्नुभएको ?
पार्टीलाई विभाजनतिर लैजान पुष्पकमल दाहाल र माधव नेपाल समूह मुख्य जिम्मेवार छ। यसमा मलाई दुःख लागेकैले त्यो समूहमा गइनँ। आफ्नो सरकारको विरोधमा आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव राखिनु हुँदैनथ्यो। इतिहासमा पहिलोपटक स्थायी सरकार बनेको थियो। हामीले राजनीतिक स्थायित्व र विकास, सुशासन सहित समृद्धि दिन्छौँ भनेर मत मागेका थियौँ। राणा शासनपछि कुनै पनि सरकारले एक पटक पनि पूरा अवधि काम गर्न नपाएकाले नेकपालाई अहिले इतिहास नै ‘ब्रेक’ गर्ने अवसर थियो। त्यसैले म सरकारको स्थायित्वको पक्षमा थिएँ। तर, प्रधानमन्त्री केपी ओलीले पनि केही अप्ठ्यारो अवस्था देख्नासाथ हतासमा प्रतिनिधि सभा विघटन गरिदिनुभयो। त्यो असंवैधानिक छ।। म अझै प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा भएकाले ओली समूहमा गइनँ।
तपाईं पार्टी एकता भनिरहनुभएको छ, उता, वामदेव गौतम पार्टी एकता अभियानमा हुनुहुन्छ। त्यता किन नजानुभएको ?
वामदेव गौतमको एकता अभियान पवित्र उद्देश्यका निम्ति होइन। उहाँलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष चाहिएको छ। भाग खोज्न पार्टी एकता भन्ने र त्यो नपाए तेस्रो पार्टी निर्माण गर्ने उद्देश्यका साथ उहाँले काम गरिरहनुभएको छ। म आफू तेस्रो पार्टी निर्माण गर्ने पक्षमा छैन। मेरो कुनै पदीय बार्गेनिङ पनि होइन। अहिलेको स्थितिमा पुग्नुको मुख्य कारक वामदेव गौतम पनि हो। संविधान र पार्टी विधानले नदिए पनि प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षाले पार्टीमा झनै धाँजा फाट्यो।
उसो भए पार्टी एकता भनेर कहिलेसम्म बस्नुहुन्छ ?
राजनीतिबाट भाग्दिनँ। अहिले पार्टी विभाजन भइसकेको छैन। यदि विभाजन भइहाल्यो भने तुलनात्मक रूपमा आफूले विगतदेखि जुन अभियानलाई सुदृढ बनाउनका निम्ति लागिरहेको छु, त्यसलाई आधार मानेर निर्णय गर्छु। लागेपछि सक्रियतापूर्वक लाग्छु।
पार्टी विभाजनतिर गएपछि तपाईंले को–को नेतासँग संवाद गर्नुभयो ?
प्रधानमन्त्रीसँग दुई पटक कुरा गरेँ। माधव नेपालसँग १०/१२ पटक कुरा भयो। झलनाथ खनालसँग पनि पाँच पटक जति कुरा भयो। वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेलसँग लामै कुरा भएको छ। ती सबै भेट पार्टी रक्षाकै लागि हुन् र मैले एकताकै पक्षमा कुरा गरेको हुँ।