विदेशी पर्यटकले क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउन पर्यटनका ३१ संस्थाको माग
कोभिड-१९ कारण थलिएको मुलुकको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन सरकारले सहजीकरण गरिदिनुपर्ने पर्यटन व्यवसायीहरूले माग गरेका छन्।
पर्यटन सम्बद्ध ३१ वटा छाता संस्थाले सोमबार (१० फागुनमा) संयुक्त विज्ञप्ति जारी गरेर पर्यटक आवागमन सहज बनाउन आग्रह गर्दै १० बुँदे मागपत्र अगाडि सारेका छन्। व्यवसायीहरूले ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकले सात दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने हालको प्रावधान हटाउनुपर्ने माग गरेका छन्। यस्तो झन्झटिलो प्रावधानले पर्यटकलाई विकर्षित गरेको व्यवसायीको चिन्ता छन्। कोभिड-१९ विरुद्धको खोपको मात्रा पूरा भएका पर्यटकलाई निर्बाध रूपमा घुमघाम गर्ने व्यवस्था मिलाउनुपर्ने पनि उनीहरूको माग छ।
यस्तै, पर्यटन व्यवसायीहरूले अनलाइन र अराइभल भीसाका साथै विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगहरूबाट भीसा पाउने व्यवस्था हुनुपर्ने, खुल्न बाँकी अन्तर्राष्ट्रिय हवाई उडानहरू यथाशीघ्र खोल्न पहल गर्नुपर्ने, त्रिभुवन विमानस्थलमा कोभिड–१९ परीक्षणको मेसिन राख्नुपर्ने, कोरोना विरुद्धको भ्याक्सिन पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरूलाई उपलब्ध गराउनुपर्ने लगायत माग राखेका छन्।
कोभिड-१९ को संक्रमणका कारण मुलुकको समग्र पर्यटन उद्योग नै धराशायी भएकाले सरकारले पर्यटक आगमन बढाउने गरी सहजीकरण गर्नुपर्ने माग पर्यटन व्यवसायीले गरेका छन्।
सरकारसँग माग गर्ने संस्थाहरूमा ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल, नेपाल एसाेसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स, होटल संघ नेपाल, नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, नेपाल एसाेसिएसन अफ राफ्टिङ एजेन्सिज, टुरिस्ट बस एसाेसिएसन अफ नेपाल लगायत ३१ संस्था छन्।