धान धेरै फलेको सरकारको तथ्यांक, तर ६१ प्रतिशत बढ्यो चामल आयात
रासायनिक मल युरियाको चर्को अभावका बावजुद यो वर्ष धान उत्पादन बढेको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत पुसमा सार्वजनिक गर्यो। तथ्यांक अनुसार, यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो, जुन गत वर्षभन्दा ७० हजार ८३१ टन धेरै हो। मन्त्रालयका अनुसार, यो वर्ष फलेको धान अहिलेसम्मकै उच्च हो।
धान धेरै फल्दा विदेशबाट आयात हुने धान-चामलको परिमाण घट्नुपर्ने हो। तर, यसको उल्टो धान-चामलको आयात चुलिएको चुलियै छ। चालू आर्थिक वर्षको माघसम्म रु.३० अर्ब ७० करोड बराबरको धान-चामल आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिकाे तुलनामा ६१ प्रतिशत धेरै हो। गत वर्षको माघ महीनासम्म रु.१९ अर्ब ५ करोडको मात्रै धान-चामल आयात भएको थियो।
पछिल्ला हरेक वर्षमा धान चामलको आयात उल्लेख्य मात्रामा बढिरहेको छ। त्यसको निरन्तरता यो वर्ष पनि भएको छ। गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै रु.३३ अर्ब ६५ करोड मूल्यको धान-चामल आयात भएको थियो।
भन्सार विभागको तथ्यांक अनुसार, माघसम्म रु.१ खर्ब ७३ अर्ब बराबरको कृषि वस्तु आयात भएको छ। तर, कृषि वस्तुको निर्यात करीब रु.३७ अर्बको मात्रै छ। विभागका अनुसार, रु.४९ अर्बको अन्न, रु.२२ अर्ब ४० करोडको तरकारी, रु. १० अर्ब १५ करोडको फलफूल र काजु-बदाम आयात भएको छ।
नेपाललाई कृषिप्रधान देश भन्न नछोडिए पनि देशभित्र कृषि वस्तुको उत्पादन माग अनुसार हुन नसक्दा हरेक साल कृषि वस्तुको आयात बढ्दै आएको छ।
आश्चर्यलाग्दो निर्यात !
यो आर्थिक वर्षको माघ महीनासम्म नेपालले निर्यात गरेको वस्तुमध्ये सबैभन्दा धेरै भटमासको तेल देखियो। माघसम्म रु.१९ अर्ब ५९ करोडको भटमासको तेल निर्यात गरेको तथ्यांक छ। भटमासको व्यावसायिक खेती नहुने नेपालले यो परिमाणमा तेल निर्यात गर्न सम्भव थिएन। तेस्रो मुलुकबाट भटमासको तेल भित्र्याउँदै निर्यात गर्ने खेलका कारण नेपालले भटमासको तेल निर्यात गरेको तथ्यांकमा देखिएको हो।
विभागको तथ्यांक अनुसार, माघसम्म नेपालले रु.२० अर्ब १ करोडको भटमासको तेल आयात गरेको छ। अर्थात, विदेशबाट आयात गर्दै फेरि निर्यात गरी नाफा कमाउने धन्दाका कारण यो सम्भव भएको हो।
यसअघि पाम आयलको यसैगरी तेस्रो मुलुकबाट आयात गरी भारत पठाउने धन्दा चलेको थियो। तर, अहिले पाम आयलको आयात र निर्यात दुवै रोकिइसकेको छ।