वाणिज्य ब्यांककाे शाखा नपुगेका यी हुन् चार स्थानीय तह
देशका ७५३ स्थानीय तहमध्ये ७४९ तहमा वाणिज्य ब्यांकका शाखा विस्तार भएका छन्। नेपाल राष्ट्र ब्यांकको पुससम्मको तथ्यांकअनुसार, देशका चार स्थानीय तहमा मात्रै वाणिज्य ब्यांकका शाखा पुगेका छैनन्।
वाणिज्य ब्यांकका शाखा पुग्न बाँकी चार स्थानीय तहमा ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवी भ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउँपालिका छन्। नेपाल सरकारले हरेक स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने घोषणा गर्दै आए पनि अझै चार गाउँपालिका वित्तीय पहुँचबाहिरै रहेका छन्।
राष्ट्र ब्यांकका अनुसार, १४४ ब्यांक तथा वित्तीय संस्थाका देशभरिमा १० हजार १७८ शाखा विस्तार भएका छन्। ब्यांक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै खाता खोल्नेको संख्या पनि बढेको छ।
गत मंसीरसम्म देशमा २ करोड ९४ लाख वटा बचत खाता खुलेका छन्। यसमध्ये सबैभन्दा धेरै बाग्मतीमा १ करोड १२ लाख बचत खाता छन्। एकै व्यक्तिको धेरै ब्यांकमा बचत खाता हुने कारणले समग्रमा बचत खाताको संख्या धेरै देखिएको हो।
जिल्लागत आधारमा सबैभन्दा धेरै काठमाडौंमा ६२ लाख ५९ हजार र सबैभन्दा थोरै मनाङमा ९ हजार २४९ वटा बचत खाता खोलिएका छन्। गाउँपालिकाकाे कुल जनसंख्याको चारमध्ये एक जनाको मात्रै बचत खाता छ।
राष्ट्र ब्यांकका अनुसार, खोलिएका बचत खातामध्ये २ करोड २४ लाख वटा सक्रिय छन्। जसमध्ये ४२ प्रतिशत महिलाका हुन्। प्रतिबचत खाता औसतमा रु. ४६ हजार रकम जम्मा गरिएकाे छ।
ब्यांकमा बचत गर्नका लागि खाता धेरै खोलिए पनि ऋण लिने खाता तुलनात्मक रूपमा थोरै छन्। राष्ट्र ब्यांकका अनुसार, पुस महीनासम्म ब्यांक तथा वित्तीय संस्थाबाट १६ लाखले कर्जा लिएका छन्।
कुल ऋण रकममध्ये ६० प्रतिशत महानगरका बासिन्दा छन्। गाउँपालिकाका बासिन्दाले कुल ऋणको ३ प्रतिशत मात्रै उपभोग गरेका छन्।
कार्डमार्फत ब्यांकिङ सेवा उपभोग गर्नेको संख्या पनि बढ्दो छ। राष्ट्र ब्यांकका अनुसार, ८० लाख ४९ हजार वटा डेबिट कार्ड र १ लाख ७६ हजार क्रेडिट कार्ड जारी गरिएका छन्।
त्यस्तै, १ लाख १३ हजारले मोबाइल ब्यांकिङ र १० हजार ५६ हजारले इन्टरनेट ब्यांकिङ सेवा लिएका छन्।