लौठसल्लाको नाममा के छ हजुर?
लौठसल्लाको ‘ट्याक्सस माइरेई’ प्रजाति नेपालमा रहे–नरहेको बारे विज्ञहरूको विवादले सर्वसाधारण किसानको जीविकोपार्जनमा असर पारेको त छ नै, यो प्रजातिकै भविष्यमा पनि प्रश्नचिह्न लागेको छ।
हामी अफ्रिकी जिराफ परैबाट चिन्छौं। धेरै समुद्री जीवहरूको समेत नाम आकलन गर्न सक्छौं। तर, हरेक दिन देखिने आफ्नै घरवरिपरिका वनस्पतिहरूसँग भने अपरिचित छौं।
मलाई पनि घरको गमलामा रहेका धेरै वनस्पतिको नाम केही वर्षअघिसम्म थाहा थिएन। अहिले पनि कतिपय वनस्पतिको नाम थाहा पाउन मोबाइल एप्सको सहायता लिनुपर्छ। हामी धेरैमा यस्तै वनस्पति अन्धता (प्लान्ट ब्लाइन्डनेस) रहेको कुरामा सायद दुईमत नहोला।
हामीलाई लाग्न पनि सक्छ, आम मानिसलाई सबै वनस्पति चिन्नैपर्छ भन्ने के छ र? नचिन्दा खासै के पो फरक पर्ला र? विषालु वा हानिकारक वनस्पति चिने भइहाल्छ नि जस्तो लाग्न पनि सक्छ। तर, सरकार र सरकारी नीतिनियमलाई भने यो छुट छैन।
वनस्पति विभाग अन्तर्गतको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाले २०७३ सालमा प्रकाशन गरेको ‘नेपालका लौठसल्ला’ पुस्तकका अनुसार, नेपालका वानस्पतिक स्रोतको संरक्षण, संवर्धन र दिगो उपयोग मार्फत देशको आर्थिक विकास गर्ने उद्देश्यका साथ सरकारले ३३ औषधोपयोगी वनस्पति प्रजातिलाई अनुसन्धान तथा खेती प्रविधि विकासको लागि प्राथमिकतामा राखेको छ ।
‘यिनै महत्त्वपूर्ण औषधीय वनस्पतिहरू मध्येको एक लौठसल्ला नेपालमा परम्परागत रूपमा ओखतीमूलोदेखि काष्ठ एवं गैह्रकाष्ठ प्रयोजनमा प्रयोग हुँदै आइरहेको छ। आधुनिक चिकित्सा पद्धतिमा लौठसल्लाको सारतत्त्व (ट्याक्सोल) पाठेघर, स्तन, फोक्सो, अन्ननली, छाला र टाउकोको क्यान्सर निको पार्न प्रयोग गरिन्छ,’ पुस्तकमा भनिएको छ, ‘लौठसल्लाको परम्परागत प्रयोगसँगै विगत केही दशकदेखि अकस्मात् आकासिएको यसको व्यवसायीकरणले यस वनस्पतिको प्राकृतिक बासस्थानमा रहेको मौज्दातमा प्रतिदिन ह्रास आउनाका साथै अव्यवस्थित संकलनका कारण कतिपय क्षेत्रबाट यो प्रजाति लोप हुने स्थितिमा रहेको समेत स्थानीयले महसुस गरेका छन् ।’
हालै नेपालमा पाइने लौठसल्लाका प्रजाति पहिचानको बहस पुनः सतहमा आएको छ। नेपालका लौठसल्लाहरूलाई सन् २०११ सम्म ट्याक्सस बकाटा भनेर चिनिन्थ्यो, जुन गलत रहेछ भन्ने सन् २०११ को आधुनिक आनुवंशिक प्रविधिको अध्ययनले देखायो। त्यसैलाई पछ्याउँदै सरकारले २०७३ सालमा सोही पुस्तकमा नेपालमा ट्याक्ससका तीन प्रजाति– ट्याक्सस कोन्टोर्टा, ट्याक्सस माइरेई र ट्याक्सस वालिचियाना रहेको बतायो।
तर, पछिल्लो समय केही वनस्पतिविद्ले नेपालमा ट्याक्सस वालिचियाना र ट्याक्सस कोन्टोर्टा मात्र पाइन्छन् भनी दाबी गरिररहेका छन्। उनीहरूको भनाइमा ट्याक्सस माइरेई कुनै नयाँ प्रजाति नभई वालिचियानाकै एक भेराइटी हो।
यो तर्कलाई सरकारको वनस्पति विभाग मातहतको राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीले समेत सन् २०२० अक्टोबरमा प्रकाशित गरेको ‘अ ह्यान्डबूक अफ द जिम्नोस्पर्मस् अफ नेपाल’ पुस्तकले समेत स्वीकार गरेको छ।
प्राकृतिक अवस्थामा सीमित जिल्लामा मात्र पाइने ट्याक्सस माइरेईको संख्या नेपालमा ज्यादै न्यून छ। विश्वमा नै घट्दै गएको यो प्रजातिलाई विश्व संरक्षण संघको संकटापन्न सूचीमा समेत राखिएको छ।
महत्त्वपूर्ण त के भने, आधुनिक आनुवंशिक प्रविधिको अध्ययनबाट स्थापित तथ्यलाई केही वनस्पतिविद् र राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाले के कस्तो नयाँ तथ्य र प्रमाणको आधारमा अस्वीकार गरेको हो भन्ने अनूत्तरित छ । यो अस्पष्ट र भ्रम छर्ने खालको छ।
वनस्पतिहरू पहिचान गर्नु आफैंमा कठिन काम भएकाले वैज्ञानिक नामकरणमा मतभिन्नता हुनु अस्वाभाविक होइन। नेपालमा पाइने लौठसल्लाका हकमा पनि द्विविधा नयाँ होइन। काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसको वनस्पति विभाग परिसरमा ट्याक्सस माइरेईलाई नेपालीमा ठिङ्ग्रे सल्ला र वैज्ञानिक नाम ट्याक्सस बकाटा हो भनेर लेखिनुले पनि यही अन्योल जनाउँछ।
माइरेईमा विज्ञ–विवाद
सन् २००० मा केन्यामा भएको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण सन्धि (साइटिस) सदस्य राष्ट्रहरूको बैठकमा विज्ञ अधिकारीहरूलाई नै अगरउडको अक्विलारिया मालासेन्सिस र अन्य अक्विलारिया स्पेसिसबीच फरक छुट्याउन हम्मेहम्मे परेको कुरा चर्चाको विषय बनेको थियो। अहिले पनि साइटिस कार्यान्वयनका प्रमुख चुनौती प्रजातिहरूको सही पहिचान हुन नसक्नुलाई नै मानिन्छ।
एकातिर प्राकृतिक वासस्थानमा संख्या कम हुने, चोरी निकासी बढ्ने, प्रजाति पहिचानमै द्विविधा हुँदा अर्को प्रजातिको नाममा निर्यात हुनुले माइरेई प्रजातिको भविष्य अन्योलमा परेको छ।
नेपालका लौठसल्लाहरू ट्याक्सस वालिचियानाकै नामबाट विदेश निर्यात हुँदै आएका छन्। माइरेईको पहिचान निश्चित भएसँगै नेपालबाट नयाँ प्रजातिको लौठसल्लाको निर्यात हुने थियो, किसानलाई यसको खेती गर्न हौस्याउने थियो।
साइटिस ट्रेड डेटाबेसलगायत विभिन्न अध्ययनका अनुसार, नेपालबाट वर्षेनी सात हजारदेखि २७ हजार टन जडीबुटी निर्यात हुने गरेको छ, जसले थुप्रै किसानको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याएको छ । निर्यात हुने जडीबुटीमा लौठसल्लाको योगदानलाई नकार्न सकिँदैन ।
तर यो डेटाबेसले पनि नेपालभित्र लौठसल्लाका कुन प्रजाति कति संकलन भएको भन्ने रेकर्ड देखाउँदैन, जसले गर्दा प्राकृतिक वासस्थानमा कम सङ्ख्यामा रहेका प्रजातिहरूमाथि प्रभाव पर्ने देखिन्छ।
राजधानी काठमाडौंमा वनस्पतिविद्हरूबीच प्रजातिका नाममा भएको बहस र विवाद देख्दा मलाई गाउँका लौठसल्ला किसानको सम्झना आयो। देशभर हजारौं किसान लौठसल्ला खेती र संकलनमा आश्रित छन्। धेरैले आफ्नो निजी कृषियोग्य जमिनमा यो वनस्पति रोपेका छन्। स्थानीयस्तरमा लौठसल्लालाई परम्परागत रूपमा औषधिमूलो, काष्ठ एवं गैरकाष्ठ अनि विभिन्न पूजाआजामा प्रयोग गरिएको पाइन्छ।
औषधीय तत्त्व पाइने भएसँगै लौठसल्लाको माग बढे पनि बिक्रीदरमा एकरूपता छैन, बजार व्यवस्थापन हुनसकेको छैन। ट्याक्सस माइरेई प्रजातिको नाम व्यापारको नियमसँग पनि सम्बन्धित भएकाले विज्ञहरूबीचको खिचातानीले किसानहरू थप मारमा पर्ने निश्चित छ। उचित पहिचान नहुँदा माइरेई प्रजातिको संरक्षण र भविष्य अनिश्चित बनेको छ।
सन् २००७ मा अमेरिकामा उस्तै देखिने तर लोप भइसकेको आइभोरी बिल्ड उडपेकर (काम्पेफिलस प्रिन्सिपालिसो) र धेरै पाइने पाइलिटेड उडपेकर (ड्रायोकोपस पिलियाटस) बीच पहिचान विवादका कारण २७ करोड डलर बराबरको संरक्षण परियोजना नै ओझेलमा परेको थियो। यही कुरा मध्यनजर गर्दै अमेरिकामा अहिले कतिपय स्थानमा शिकार अनुमति लिनुपूर्व प्रजाति चिन्ने जाँचपास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
घातक अन्योल
कुनै पनि वनस्पतिको व्यवसायीकरण गर्न आधारभूत सूचना संकलनमा जोड दिनुपर्ने हुन्छ। वनस्पति संरक्षण, आधारभूत सूचना संकलन, व्यवस्थापन, व्यापार र प्रयोग वनस्पतिको वैज्ञानिक पहिचानबाटै शुरू हुन्छ।
कुन वनस्पति कहाँ पाइन्छ, के–केमा प्रयोग हुन्छ, वनस्पतिको दिगो संकलन कसरी गर्न सकिन्छ लगायतका जानकारीले नै यसबारे निर्णय लिन सघाउँछ। नेपालमा पाइएका १२ हजार भन्दा बढी वनस्पतिमध्ये ८१९ भन्दा बढी प्रजाति जडीबुटीका रूपमा प्रयोग हुन्छन्। तर, न यी सबैको पहिचान हुन सकेको छ न प्रभावकारी प्रयोग नै।
आधुनिक प्रविधिको प्रयोगमार्फत वनस्पति विविधताको अध्ययन–अनुसन्धान र प्रजातिहरूको सही पहिचान गर्नु नै आजको आवश्यकता हो। यसो गर्दै प्राकृतिक वन संरक्षण, व्यवस्थापन अनि दिगो प्रयोग गर्न सकियो भने मात्र देश र स्थानीयहरूको सामाजिक तथा आर्थिक विकासमा टेवा पुग्दछ। नेपाल जस्तो औद्योगिक अवसर कम भएको मुलुकका लागि वनस्पतिको विविधता आर्थिक विकासको गतिलो अवसर बन्न सक्छ।
औषधीय प्रयोगका कारण अन्य लौठसल्लाका प्रजातिभन्दा बढी मूल्य पर्ने, चोरी निकासी पनि बढ्ने हुनाले यसको विशेष संरक्षण आवश्यक छ। त्यसैले पनि अहिले भइरहेको नाम र पहिचानसम्बन्धी द्विविधा जतिसक्दो चाँडै निराकरण गर्नुपर्छ। विज्ञहरू विवादमै अल्झिरहने हो भने यसले वनस्पति विज्ञानलाई मात्र होइन, किसान र समग्र देशकै आर्थिक विकासमा अवरोध पुर्याउने जोखिम देखिन्छ।
(लौठसल्लाको संरक्षण र अनुसन्धानमा संलग्न बस्याल ‘ग्रीनहुड नेपाल’मा कार्यरत छिन्।)