पाँच दशक पुरानो कारागारमा कैदीबन्दीलाई कन्तबिजोग !
लमजुङ जिल्ला कारागारको जीर्ण संरचनामा क्षमताभन्दा बढी कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ। जाडो मौसममा चिसोले राति निदाउन नसक्ने कैदीबन्दी गर्मीयाममा उडुसले टोक्दा हैरान हुन्छन्।
जीर्ण भवनको साना र अँध्यारा कोठा। कोठामा अटेसमटेस बिस्तरा र झिटीगुन्टा। खचाखच मानिस। नजिकै शौचालयबाट आइरहेको ह्वास्स गन्ध। यो अत्यासलाग्दो अवस्था हो– जिल्ला कारागार लमजुङको।
बेंसीशहर नगरपालिका-८ मा रहेको कारागारको संरचना तोकिएको मापदण्ड अनुसारको छैन। एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफल हुनुपर्ने कानूनी प्रावधान छ। तर, जीर्ण संरचनामा क्षमताभन्दा बढी कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ। कारागार २५ पुरुष र १० महिला गरी ३५ जनाको क्षमताको हो। तर, अहिले यहाँ ४७ कैदी र पुर्पक्षका लागि राखिएका ४४ थुनुवा गरी ९१ जना छन्। तीमध्ये पुरुष ८० जना र महिला ११ जना छन्। कैदीमध्ये जबर्जस्ती करणी उद्योग, कर्तव्य ज्यान मुद्दाका बढी छन्।
साँघुरो संरचनामा कष्टकर अवस्थामा बस्नुपर्ने सधैँको समस्या रहेको र अहिले चिसो मौसममा थप कठिनाइ भएको उनीहरूको गुनासो छ।
चार वर्षदेखि कैद भुक्तान गर्दै आएका सुवास रानाभाटले सिमेन्टको चिसो भुइँमा जाडोयाममा सुत्न-बस्न समस्या भइरहेको बताए। “बढी कैदीबन्दी भएकाले भुइँमा ढोकादेखि शौचालय जाने बाटोसम्म नै म्याट ओछ्याएर सुत्ने गरेका छौँ। राति शौचालय जाने ठाउँ पनि पाइँदैन,” उनले भने, "कति बेला बिहान होला र घाम ताप्न पाइएला भनेर रात कटाउने गर्छौं। धेरै जना भएकाले बिहान शौचालय जान पालो कुर्दा पनि घण्टौँ बित्छ।"
सात वर्षदेखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तानी गर्दै आएका जीवन अधिकारीले चिसोका कारण रुघाखोकीको बिरामी कहिल्यै नटुट्ने बताए। कोभिड-१९ को बढी जोखिमको बेला कोचिएर एउटै ठाउँमा खानुपर्दा संक्रमणको धेरै त्रासमा रहेको पनि उनको भनाइ छ।
“बढी कैदीबन्दी भएकाले भुइँमा ढोकादेखि शौचालय जाने बाटोसम्म नै म्याट ओछ्याएर सुत्ने गरेका छौँ। राति शौचालय जाने ठाउँ पनि पाइँदैन। कति बेला बिहान होला र घाम ताप्न पाइएला भनेर रात कटाउने गर्छौं। धेरै जना भएकाले बिहान शौचालय जान पालो कुर्दा पनि घण्टौँ बित्छ।"
चिसो मौसम सकिएर गर्मी मौसम शुरू हुने बेला अब उकुसमुकुसले पिरोल्ने समय आउन लागेको भन्दै उनी चिन्तित छन्। अधिकारीले भने, “गर्मीका बेला खुला हावा आउने हुनुपर्छ। सबै एउटै ठाउँमा कोचिएर बस्नुपर्दा श्वास फेर्न समेत कठिन हुन्छ।"
तीन वर्षदेखि कैद सजाय काट्दै आएका मंगलबहादुर गुरुङले भने, “हामी बस्ने ठाउँ राणाकालको आँखीझ्याल जस्तो छ। धेरै जना खाँदिएर बस्दा एकअर्काको रोग सर्ने सम्भावना पनि उच्च छ।" बर्सेनि गर्मीयाममा ओछ्यानमा उडुस पर्ने र टोकेर सुत्नै मुस्किल हुने पीडा पनि उनले सुनाए। गुरुङले भने, "राति १२ बजेसम्म उडुस मार्नमै व्यस्त हुँदा राम्रोसँग सुत्न समेत पाइँदैन, यसैले गर्मी शुरू हुन लाग्दा थप चिन्तामा छौँ।"
गर्मीयाममा कारागारमा पानीको आपूर्ति घट्दा राम्ररी सरसफाइ गर्न नपाउने समस्या यहाँका कैदीबन्दीले विगतदेखि नै भोग्दै आएका छन्।
भवन निर्माणको काम अलपत्र
यो कारागार २०२८ सालमा कुन्छाबाट बेँसीशहरमा सदरमुकाम सरेसँगै निर्माण गरिएको थियो। कारागारको कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना गरी चार रोपनी क्षेत्रफलमा फैलिएको छ। सङ्ख्याका आधारमा कारागारका लागि आठ रोपनी क्षेत्रफल आवश्यक पर्ने कारागारका सूचना अधिकृत रमेश विक बताउँछन्।
"कारागार पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको छ," विकले भने, "यसबारे सम्बन्धित ठाउँमा कुरा पुर्याएर समाधानका लागि पहल गरेका छौँ।" सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ/हुँदैन भनेर अघिल्लो गत वर्ष माटो परीक्षण गरिएको थियो, जसबाट भवन बनाउन सकिने ठहर प्राविधिक टोलीले गरेको थियो। तर, अहिलेसम्म कुनै काम अगाडि बढ्न नसकेको जिल्ला कारागारले जनाएको छ।
लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले लमजुङ कारागार नेपालकै पुरानो कारागारमध्ये एक भएको जनाउँदै कैदीबन्दी थपिँदै जाँदा नयाँ भवन बनाउनुपर्ने भए पनि नयाँ भवन उपलब्ध हुन नसक्दा समस्या भइरहेको बताए।
"कैदीबन्दीका कारागारको संरचना मापदण्ड अनुसारको छैन, अहिलेको अवस्थामा उनीहरूलाई राख्दा नकारात्मक असर पर्ने भएकाले सुधारका लागि कारागार व्यवस्थापन विभागमा आवश्यक पहल गर्न अनुरोध गरिएको छ, तर कार्यान्वयन हुन सकेको छैन," शाहीले भने।
झन्डै ४९ वर्षअघि निर्माण भएको यस कारागार अहिलेसम्म मर्मत पनि खासै नगरिएको कारागार व्यवस्थापनले जनाएको छ।
(राससबाट)