संसद् पुनःस्थापना भए देश अस्थिरतामा जान्छ : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए देश अस्थिरतामा जाने बताएका छन्।
शनिबार विराटनगरमा नेकपा (ओली) समूहको प्रदेश १ स्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी १७ र २७ वैशाखमा निर्वाचन हुने दाबी गरे। केही गरी संसद् पुन:स्थापना भए बहुमतको सरकार नहुने र सांसद किनबेचको फोहोरी खेल शुरू हुने उनको भनाइ थियो। “यदि त्यसो भए अझ देश दुई वर्ष अस्थिरतामा जान्छ,” ओलीले भने।
दाहाल–नेपाल समूहलाई निर्वाचन नचाहिए पनि चुनाव चिह्न सूर्य चाहिएकोमा उनले आश्चर्य प्रकट गरे। उनले भने, “२०४७ सालमा निर्वाचन आयोगमा मैले सूर्य चिह्न दर्ता गरेंँ। र, लगातार त्यही चिह्नबाट चुनाव लड्दै छु। तर, प्रचण्ड कहिल्यै यो चिह्नबाट चुनाव नलडे पनि अहिले सूर्य चिह्न हाम्रो हो भन्दैछन्।”
गोठालाले जंगलमा बाटो बिराएजस्तै नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष दाहालको बाटो सिद्धिँदै गएको उनकाे भनाइ थियाे। “प्रचण्डसँग पहिले वैद्य थिए, वैद्यले छाडे। डाक्टर ल्याए, उनले पनि छाडे। अहिले झाँक्री ल्याएका छन्,” प्रधानमन्त्री ओलीले भने। झाँक्रीले पनि उनलाई बचाउन नसक्ने उनको दाबी थियाे।
माधव नेपालतर्फ लक्षित गर्दै ओलीले आफूसँग महाधिवेशनमा हारेका मानिस अहिले ‘पार्टीको अध्यक्ष हुँ’ भन्दै आसन ग्रहण गरेर हिँडेको टिप्पणी गरे। “काठमाडौंको कार्की बेङ्क्वेटमा पार्टी खाएकै भरमा अध्यक्ष भएको भन्दै हिँड्छन्,” ओलीले भने, “पहिले पनि मलाई अध्यक्ष चाहियो भन्थे, केटाकेटीले खेलौना मागे जस्तो, अध्यक्ष पद खेलौना हैन।”
प्रधानमन्त्री ओलीले भूमि आयोग गठन गर्दा गत २२ माघमा दाहाल–नेपाल समूहले नेपाल बन्द गरेर देशलाई अझ अस्थिर बनाउने प्रयास गरेको बताए। “उहाँहरू छाडेर नभागुन्जेल संवैधानिक अंगमा नियुक्ति हुन सकेन,” उनले भने, “काग कराउँंदै गर्छ, पिना सुक्दै गर्छ। कराउँदै गर्छन्, हामी काम गर्दै जान्छौं।”
सरकारको नेतृत्व गरेपछि अल्पविकसितबाट नेपाल विकासशील मुलुकमा उन्नति हुँदै गएको जिकिर गरे। उनले सन् २०२२ सम्ममा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने दाबी गरे।
विकासको क्रममा पूर्व–पश्चिम राजमार्गलाई वन भएको क्षेत्रमा चार र अन्यत्र ६ लेनको बनाउने तयारी भएको उनले बताए। हुलाकी राजमार्ग र पूर्व–पश्चिम रेलमार्गको काम थालिसकेको उनको भनाइ थियो।
सभामा गृहमन्त्री रामबहादुर थापाले दाहाल–नेपाल समूहलाई कम्युनिष्ट आन्दोलनकाे अवसरवादी र गुटवादी भएको आरोप लगाए। “नेकपाभित्रका पदलोलुप अवसरवादीहरूले देश अस्थिरतामा ल्याएका हुन्। उनीहरूका कारण जनता आक्रोशित छन्,” थापाले भने।
नेकपाका नेता सुवासचन्द्र नेम्वाङले जनताले निर्वाचन चाहेको बताए। उनले प्रधानमन्त्रीमा संसद् विघटन गर्ने अधिकार रहेको जिकिर गरे।