जाने होइन त मुन्धुम पदमार्ग ?
मुन्धुम संस्कृतिबारे बुझ्न पूर्वी नेपालका डाँडाकाँडा र थुम्काहरू चहार्नुभन्दा राम्रो उपाय अरू केही हुन सक्दैन। मुन्धुम पदमार्गमा पूर्वी नेपालका राई, लिम्बू, सुनुवार र कुलुङ आदिवासी समुदायका विभिन्न ऐतिहासिक स्मारकहरू भेटिन्छन्। धामीझाँक्री मन्छिनु, जीववादमा विश्वास राख्नु र शिवको आराधना गर्नु यी समुदायका जीवनशैलीको महत्त्वपूर्ण पाटो हो।
सन् २०१८ मा पदयात्रीहरूमाझ उद्घाटन गरिएको मन्धुम पदमार्ग चखेवा भञ्ज्याङका किराँत समुदायको विशेष गन्तव्य मानिने खोटाङ–भोजपुर सीमाछेउका मेहरुङ, मैयुङ, लाउरी, सिलिचुङ डाँडा हुँदै अघि बढ्छ। त्यसपछि साल्पा पोखरीबाट भोजपुर हुँदै मैयुङ र सुन्तले डाँडोमा पुगेर समाप्त हुन्छ।
यो पदमार्ग थोरै अप्ठ्यारो खालको छ। यहाँ हिँडिरहँदा ४,१६५ मिटर अग्लो चुचुराेदेखि निर्जन उकाली–ओराली छिचाेल्नुपर्छ। बीच–बीचमा चिया–नास्ता खानलाई खासै व्यवस्था छैन। भोजपुर, दिक्तेल र साल्पा पोखरीमा बस्नका लागि केही होटल त छन् तथापि यात्रीले टेन्ट बोकेरै गएको राम्रो हुन्छ।
मुन्धुम पदमार्ग पछ्याउँदा पूर्वी नेपालका हिमाली दृश्यलहर आँखामा टक्क उभिन्छन्। सगरमाथा (८,८४८.८६ मिटर), ल्होत्से (८,५१६ मिटर), ल्होत्से शार (८,३८२ मिटर), मकालु (८,४६३ मिटर), चोयु (८,१८८ मिटर) र कञ्चनजंघा (८,५८६ मिटर) जस्ता आठ हजारभन्दा माथि उचाइका हिमाल अवलोकन गर्न सकिन्छ।
अन्य प्रतिष्ठित हिमालमा कर्योलुङ, नुम्बर, अमा दम्ब्लम, थामसेर्कु, कांङतेग, चम्लङ, बरुत्से, जन्नु मात्रै नभएर पश्चिमी क्षितिजतिर गौरीशंकर र लाङटाङ समेत मुस्कुराएको देख्न सकिन्छ।
हिमालहरू त भइगए, यो पदमार्गले मन्धुम संस्कृति, रीतिरिवाज, विश्वास पद्धति र जीवनशैली बुझ्न पनि निकै सघाउँछ। यस क्षेत्रमा १० प्रकारका भाषा बोल्ने किराँतीहरू बसोबास गर्छन्। गाउँ नै पिच्छे अलग–अलग लवज सुनिन्छ। यहाँ शेर्पा र तामाङ समुदायका पनि केही बस्ती छन्।
साल्पा पोखरी र सिलिचुङ पर्वत मुन्धुम संस्कृतिका दुई प्रमुख स्थल हुन्। राई र लिम्बूहरूको तीर्थस्थल हुन् यी। स्थानीय बुज्रुगहरू साल्पा पोखरीलाई देवीहरूले बसोबास गरेको ठाउँ मान्छन्। किराँत मिथकका मुख्य दुई पात्र सुम्निमा र पारुहाङका कथा साल्पा पोखरीसँग जोडिएका छन्।
किराँती बासस्थानबाट गुज्रिँदै गर्दै उनीहरू आफूले पुज्ने प्रकृतिसँग कसरी मिलेर बसेका छन् भन्ने अनुभूति गर्न सकिन्छ। उनीहरूको जनजीवन आफू वरिपरिको जैविक विविधतासँग नजिक रहेको महसुस हुन्छ।
भारी वर्षा हुने भएकाले मुन्धुम पदमार्ग पर्यावरणीय-जैविक विविधताले पनि भरिपूर्ण छ। यहाँका हरिया पाखा, पानीढल र सीमसारमा वन्यजन्तु, चराचुरुङ्गी र वनस्पतिका अनेक प्रजाति प्रशस्त संख्यामा पाइन्छन्।
गुराँस, सल्ला र बाँसका जंगलमा रातो पान्डा, घोरल, डाँफे, मयूर, हरिण, चितुवा, हिमाली कालो भालु भेटिन्छन् भने बाँस र गुराँसका पोथ्रा प्रशस्त हुने भइगए।
किराँती बासस्थानबाट गुज्रिँदै गर्दा उनीहरू आफूले पुज्ने प्रकृतिसँग कसरी मिलेर बसेका छन् भन्ने अनुभूति गर्न सकिन्छ। उनीहरूको जनजीवन आफू वरिपरिको जैविक विविधतासँग नजिक रहेको महसुस हुन्छ।
कोभिड–१९ पछिको यात्राका लागि मुन्धुम पदमार्ग निकै उपयुक्त छ। यहाँ यात्रीले प्रकृतिसँग आफूलाई जोड्न सक्छन्। पर्यावरणीय सन्तुलन कायम राख्नुको महत्त्व र दिगो विकासका लागि यो यात्राले नयाँ उपाय उजागर गरिदिन सक्छ।
साथै, मुन्धुम पदमार्ग छिचोल्नु भनेको नेपाली समाजको विगत नियाल्नु सरह पनि हुन्छ। यो किनभने यस भेगको यात्रामा हिजाेआजको उच्च–विकासले नछोइसकेको समाज अवलोकन गर्न सकिन्छ र यसले पदयात्राको चलन ‘पत्ता लाग्नु’अघिको पूरानो र कच्चा नेपालको झल्को दिन्छ।
पर्यटन विकासको ७० वर्षे इतिहासमा नेपालले कोरोना महामारीजत्तिको विपत्ति यसअघि अनुभूत गर्नुपरेको थिएन। पर्यटन व्यवसायीहरू सन् १९९६ देखि २००६ सम्मको सशस्त्र द्वन्द्वकाल र सन् २०१५ को महाभूकम्पका बेला समेत पर्यटन क्षेत्रले यतिविघ्न खराब अवस्था भाेग्नु नपरेको बताउँछन्।
हाल विदेशी पर्यटकलाई नेपाल आउन अझै केही समय लाग्ला। तर, आन्तरिक पर्यटकले भने प्राकृत नेपाल र यहाँको समृद्ध जातीय विविधता एवं प्राकृतिक छटा अवलोकन गर्न चाहेमा मुन्धुम पदमार्ग रोज्न सक्छन्।
(अच्युत तिवारी त्रिभुवन विश्वविद्यालयका लेक्चरर हुन् भने रमेशकुमार राई पर्यटन व्यवसायी हुन्। )
के हो मुन्धुम ?
मुन्धुमप्रति मेरो चासो आरम्भमा साहित्यकारको हैसियतमा बढ्यो। बढ्दै जाँदा निकैपछि मात्र मैले मुन्धुभित्रको लिम्बू जीवनदर्शनलाई हेर्न थालेको भन्दा हुन्छ। तर अझै पनि मलाई के लाग्दछ भने मुन्धुमप्रतिको मेरो झुकाउ मानवशास्त्रतथा समाजशास्त्रझैँ ज्ञानका अनुशासनमा आधारित नभएर मुन्धुमभित्रको सुन्दर र प्रभावशाली काव्यात्मकताले वशीभूत भएर तथा लोपोन्मुख मुन्धुमको संरक्षण र संबर्द्धनका हेतुले हो। यिनै कुराले मैले आफ्नो जीवनका महत्वपूर्ण वर्षहरू मुन्धुमको सङ्कलन, सम्पादन र नेपाली भाषामा अनुवाद गर्नमा खर्च गरेको छु।
वि.स. २०१२ सालमा लन्डन युनिभर्सिटीको स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजका प्राध्यापक आर. के. स्प्रिग तत्कालीन इन्डिया अफिस लाइब्रेरीमा बी. एच्. हज्सनले सङ्गृहित गराएका (१८६४ तिर) लिम्बू लिपि, भाषा, मुन्धुम, संस्कृति, इतिहाससम्बन्धी लिम्बू लिपिमा लिपिबद्ध हस्तलिखित पाण्डुलिपिको छायाप्रति लिएर नेपाल आउँदा पाँचथर, सारतापस्थित हाम्रै घरमा महिना दिनजति श्रीमतीसहित बसेका थिए। उनीहरूलाई भेटेपनि लिम्बू लिपि र भाषाबाहेक मुन्धुमको मूल विषयमा मेरो रूची नबढेको अवस्था रहेछ, उसबेला।
ईमानसिंह चेम्जोङले सङ्कलन, सम्पादन र अनुवाद गरेका किरात मुन्धुम(किरातको वेद, वि.स.२०१८) पुस्तक प्रकाशित भएर पढ्न पाएपछि लिम्बू भाषा, लिपि, साहित्य, संस्कृति र इतिहासका खोजीमा र संबर्द्धनमा लागेका ऋषितुल्य चेम्जोङबाट उत्प्रेरित भएर लागेको हुँ भन्दा अतिशयोक्ति हुँदैन।
लिम्बू दैनिक जीवनमा मुन्धुम र अनुष्ठान
हामी लिम्बूजातिले घरमा पालेका सुँगुर वा कुखुरा खान परे फेदाङ्मा बोलाएर पूजा गरेपछि मात्र बलि दिएर खान्छौँ। उँधौली उँभौलीका छेकामा वर्षमा घटिमा एकपटक शिर उठाउने पूजा(माङ्गेन्ना) पनि गर्दछौँ। घरमा कुनै छोरीबुहारी दुईजीउकी भएमा दुःखकष्टविना जायजन्म होस् भनेर कोखपूजा गर्दछौँ। तीन वर्षमा एकपटक कुलदेवताको पूजा भव्यताका साथ गर्छौँ। त्यसरी नै पुर्खाहरूसँगको सायुज्य मिलनका लागि तीनवर्षमा एक पटक तङिसङ मुन्धुमको वाचन र अनुष्ठान पनि भव्यताका साथ गर्दछौँ। शुभ्यफाप्यका लागि घरभित्रका मङ्गलकारी देवीदेवताहरू (थेबा साम्माङ, नाहाङ्मा तथा दुङ्दुङ्गेतथा युमा साम्माङ)को नियमित पूजा र अनुष्ठान तथा नराम्रा वनका अनिष्टकारी देवीदेवताहरूका कोपभाजनबाट मुक्त रहनका लागि तिनलाई मन्साउने पूजाहरू गरिरहन्छौँ। एकै कुलवंशका लिम्बूपरिवार मिलेर वर्षमा एकपटक घरबाट शुरु गरेर खोलासम्म पुगी आपसी वैरभाव र द्वेषजन्य व्यवहार सदाका लागि हटाउन गालीसराप बगाउने पूजा सामाजिक सद्भावको उत्सवका रूपमा गर्दछौँ। खेतीपातीमा आधारित जीवन यापन गर्न थालेका लिम्बू पुर्खाहरूले उहिलेदेखि गरिल्याएका ऋतुअनुसारका उँधौलीका अवसरमा चासोक (खेती उठाउने बेला, न्वाँगी पूजा) र उँभौलीका बेला यकवा (खेती लाउने बेला, धूलपूजा) पूजाहरू गरिल्याएका छौँ।
माथि वर्णित यामअनुसारका तथा अन्य विविध पूजाअनुष्ठान गर्दाका बेला वाचन गरिने मौखिक पाठ, तिनका विषयवस्तु र अनुष्ठानका विधि अलग-अलग हुन्छन्।
हाम्रा फेदाङ्माले पूजा गर्दाकण्ठाग्र फलाकेका वा गाएर ल्याएका विविध मुन्धुमको मौखिक पाठभित्र पाइने विविधता, भाषा, बिम्ब, प्रतीक र तिनमा विद्यमान काव्यात्मक साहित्यबाट म वशीभूत भएको छु।
मुन्धुम शब्द र अनेक अर्थहरू
दैनिक व्यवहारमा मुन्धुम शब्दलाई कथा, कुथुङ्ग्री,आख्यान, मिथक,पुराण, गाथा तथा शास्त्र बुझाउने अर्थमाप्रयोग गरिएको पाइन्छ। सामान्यतः सांस्कृतिक मूल्य र मान्यता मात्र नभएर उच्च धार्मिक महत्व पनि हुनाले मुन्धुम शब्दलाई विशेष गरेर श्रुतिपरम्परागत शास्त्रको अर्थमा लिइन्छ।
मुन्धुम र मिथक
मुन्धुमलाई मिथक (कल्पनामा आधारित) पनि भनिन्छ। लोकवार्ताविद्हरूका अनुसार मिथक सुदूर अतीतमा घटेका घटनावलीको विवरण हो। समय, तिथिमिति आज हाम्रा स्मरणमा नरहे तापनि ती घटनाहरू यथार्थ थिए भन्ने मानिन्छ। यसरी मिथकलाई मिथ्या भनेर अविश्वास गरिए पनि हामीले हाम्रा ती सुदूर अतीतमा घटेका घटनावलीलाई तीभित्र निहित व्यञ्जना र लाक्षणिक अर्थहरूका आधारमा विश्वास गरिआएका छौँ।
मुन्धुमः श्रुतिपरम्परा कि श्रुतिशास्त्र
प्राचीन समयदेखि गुरुपरम्पराले पुस्तान्तरण भइआएकाले मुन्धुमलाई लोकवार्ताविदहरू श्रुतिपरम्परा भन्दछन्। मुखमुखै भनिँदै आएकाले मुन्धुमलाई चलनचल्तीको भाषामा थुत्थुरे (थुतुनो मात्र चलाएर पाठ गरिने) शास्त्र भन्ने लोकोक्ति प्रचलित छ। लिम्बू जातीय पूरोहितहरू (फेदाङ्मा, साम्बा, येबा, येमाहरू)ले मुन्धुम मुखमुखै भनेर आजसम्म नै ल्याएका छन्। लिम्बू भाषामा मौखिकरूपमा भनिने थुत्थुरे मुन्धुमलाईथुङ्साप मुन्धुम (मौखिक शास्त्र) भनिन्छ।
ब्रह्माण्डको उत्पित्तदेखि चराचर जगतको सृष्टिको विकासक्रममा मान्छेको सृष्टिपछि मानव कुल, वंश र परिवारको विकाससँगै मानव बसाइँ सराई वा स्थानपरिवर्तनका साथै मानवसमाजको उत्थान र पतनको विवरण विविध गाथा, किंवदन्तीमा जीवित राखेरविगतका गौरवसम्झाउनेश्रुतिपरम्पराका रूपमा जीवित मुन्धुमको पाठ प्राचीन र अलिखित इतिहास पनि हो।
मुन्धुमको संरचना र काव्यात्मक तत्व
मुन्धुमको आफ्नै प्रकारको संरचनाको शैली छ। यसमा वर्णित आख्यानको विकास क्रमबद्ध र विशदरूपमा अर्थात् क्रमविकासको सिद्धान्तमा विकसित भएको भान हुन्छ।
सुदूर अतीतदेखि श्रुतिपरम्परामा जीवितमुन्धुमगेयात्मक वा पद्यात्मक हुन्छ। मुन्धुमभित्र वर्णित सृष्टिको कथा, मान्छेको उत्थान र पतनका आख्यान(मिथक), कल्याणकारी र अनिष्टकारी पारलौकिक शक्ति (देवीदेवता, भूतप्रेतादि)हरूको आख्यान गायन र वाचन गर्ने अलगअलग परिपाटी, शैली, छन्द र लय हुन्छन्। गायन गरिने मुन्धुममा विषयवस्तु तथा प्रसङ्गअनुसार उठानदेखि बैठानसम्म भिन्न-भिन्न शैली र छन्दका प्रयोग हुन्छन्। अर्थलाई गम्भीरता दिनु र मिठास प्रदान गर्नु गायनवाचनकोबीचबीचमा पदहरूको उचित पुनरावृत्ति, अलङ्कार र उपमाको सार्थक प्रयोगले मुन्धुमलाई उच्चकोटीको काव्य साहित्य बनाएको छ। त्यति मात्र नभएर प्रसङ्ग र विषयअनुसार कतै हास्यरसले पूर्ण अभिनयसहित गद्यात्मक शैली, कतै काव्यात्मक संवादको शैली, कतै सुन्दर अभिनयसहितको नृत्य, गायन र वाचनले युक्त मुन्धुमी साहित्य लोकनाटकीय तत्वले भरिपूर्ण हुन्छ।
मुन्धुम र प्रकृतिसँगको घनिष्टता
लिम्बूका पुर्खाको प्रकृति र वातावरणसँगको तादात्म्य र घनिष्टता मुन्धुमले देखाउँछ। मानवपुर्खाहरूको विभिन्न दिशामा बसाइँ सराइका क्रममा तिनले पार गरेकामार्गका चित्र, चर्चेका र भोगेका भूमिको भौगोलिक प्रकृति आदिको मनोरम विवरण मुन्धुममा गरिन्छ। मानवजातिले आर्जेको वनजङ्गल, पशुपन्छी,वनस्पति, फलफूल, कन्दमूलसम्बन्धी अद्भूत ज्ञानको विवरणले भरिएको हुन्छ मुन्धुम।
मानवको उत्तरजीवन (सर्वाइवल) का लागि वनस्पति,जलचर, कीटपतंग,पशुपन्छी र वातावरण महत्वपूर्ण हुन्छन्। तिनका मानवमैत्री र मानवविरोधीस्वभाव,विशेषता, सीप र गुणहरूकाबारे मानवजातिले आफ्नो 'सर्वाइवल'का लागि आर्जेको अत्यन्त उपयोगी अनुभवजन्य ज्ञानको सारसङ्ग्रह मुन्धुममा पाइन्छ।
मानिसको दुखान्त रमुक्तिको युक्ति
मुन्धुमअनुसार सृष्टिको क्रमविकासको अन्तिम कडी मानिसको सृष्टि हो। तर मानिस नश्वरचोलाको हुनपुगेको दुखद् घटनापछि मानिसलई धरती नामको विशेष स्थितिमा एक्लो छोडेर असन्तुष्ट सृष्टिकर्ता (ईश्वर) स्वयम् कालको चक्र (इनुनु इमिलुङ् इनुनु इलुङ्सुम्) मा अदृश्य हुन बाध्य भयो। त्यसपछि केही नजान्ने (थेमेन्निमा सा),केही नदेख्ने (थेमेन्धा सा) र नबुझ्ने (थेमेल्ले सा) असहाय भएको एक्लो मानिसका लागि सृष्टिकर्ता ईश्वर अज्ञात,जानेर नजानिने (मेन्निमाङ) र आँखाले देख्न नसकिने (मेन्धामाङ)सत्ता भयो। मानव हुनुको दुःखान्त यहीँबाट शुरू भयो।
मानव जीवनको त्रासदी
यसरी आइलागेको त्रासदीको चपेटामामानिसले अनेक आरोह-अवरोह बेहोर्नु परेको छ। अज्ञानता र प्राकृतिक विपदासँगसँगै मानवसमाज, जाति, कुलवंश र पारिवारिक सम्बन्धको उद्भव र विकासक्रममा भएका समीकरणमा फेरबदलले 'सर्वाइबल'का लागि मान्छेले गरेको प्रयत्न र संघर्षको क्रममापारिवारिक र सामाजिक अस्वस्थ प्रतिद्वन्द्विता, आँखी, डाही,ईर्ष्या,लोभलालच,व्यभिचार,रिस र क्रोधजस्ता भावनाले समाज, कुलवंश तथा परिवार असुरक्षित र अशान्त भयो। नकारात्मक गुणहरूको समुद्रमा आकण्ठ डुब्नपुग्यो मानवजीवन। तर अब यी सबै मानिसको आफ्नै कर्मका फल हुनाले यसका लागि उत्तरदायी मानिस नै हुने भयो।
मानवको अस्तित्वमा आइलागेकोत्रासद् सङ्कटहरूबाट मानव अस्तित्व सुरक्षित राख्न मान्छे आफैले नै प्रयत्न गर्नुपर्ने भयो। सङ्कटहरूबाट उन्मुक्तिको उपायको खोजीमा मान्छेले पाएको मार्ग भनेको सकारात्मक मूल्य र मान्यतामा आधारित सदाचारको समष्टि ज्ञानको सङ्ग्रह मुन्धुमको निर्माण भयो। त्यतिमात्र नभएर ईश्वर तथा जीवन र जगत्सँग सम्बन्धित रहस्यबारेमा मान्छेको कौतूहलपूर्ण जिज्ञासाबाट जन्मेका कठिनतर प्रश्नहरूका उत्तरको खोजीमा आदिम कालदेखि लिम्बूजातिले मार्गदर्शन बनाएर ल्याएको आस्था र विश्वासहरूको प्रणाली र जीवनदर्शन नै मुन्धुम हो।
मुन्धुममा चोत्लुङ (सिद्धिप्राप्ति) अथवा मोक्ष
मुन्धुमअनुसार ईश्वर स्वयंले पनि टार्न नसकेको जीवनको सत्य भनेको कालको चक्र (इनुनु इलुङ्सुम) अथवा मृत्यु हो। तर मृत्युलाई असल कर्म (good/right) ले पराजित गर्न सक्दछन्। मान्छेको जीवनमा आइलागेको यही दु:खान्त वात्रासदी (ट्रेजेडी) जस्तो सङ्कटबाट मुक्त भएर मान्छे हुनुको गौरव र अर्थ बचाउनअसल कर्मको दिशामा उसको प्रयत्नको आख्याननै आजको मान्छेको यथार्थ हो।
सत् छ सुन्दरै, सुन्दरै छ सत्
सृष्टिको प्रारम्भ गर्दाकै क्षणदेखि ईश्वरले सृष्टिको परिपूर्णता नै सुन्दरता हो भनेर भाव व्यक्त गरेका छन्। केही नभएको महाशून्यबाट सृष्टिकार्य जारी गरिरहँदा “सृष्टि सुहाएन नि, सुहाएन नि। राम्रो देखिएन नि,राम्रो देखिएन नि” भन्दै ईश्वर स्वयं विरह र वेदनाले व्याकुलभएको वर्णन लिम्बू मुन्धुममा मात्र पाइन्छ। मान्छेको सृष्टिपछि सृष्टिकार्यले पूर्णता पाएर सुन्दर देखिएको अनुभूतिले ईश्वर सन्तुष्ट भए। हुन पनि अपूर्णता सधैँ असुन्दर हुन्छ र परिपूर्णता सदा सुन्दर हुन्छ। त्यसैले सम्पूर्ण हुन सकेको सृष्टिस्थिति मात्र सुन्दर हुनाले सत्य पनि हुन्छ। अर्को शब्दमा सुन्दर नै पूर्ण हो र सत्य हो। हुन पनि कविहरू (जोन किट्स, महाकवि लक्ष्मीप्रसाद देवकोटा) का अनुसार “सत् छ सुन्दरै, सुन्दरै छ सत्” (truth is beauty, beauty is truth)।
मुन्धुम र अमूर्त सम्पदा
मानव उत्तरजीवन (Survival) का लागि हाम्रा पुर्खाहरूले अलौकिक, आधिदैविक शक्ति र प्राकृतिक प्रतिकूलतासँग गरेका संघर्ष, तिनका शूरवीरता र मानवोचित कर्तव्याकर्तव्यका गाथा, देवी-देवताका प्रकल्पना र धार्मिक आस्थाका मिथकहरू,इतिहासको जन्मभन्दा सुदूर अतीतमा घटित घटनाका श्रुतिपरम्परागत दस्तावेज, पुर्खाले आर्जेको ज्ञानले समृद्धमुन्धुमको अमूर्त सम्पदाका रूपमा ठूलो महत्व छ।
लिम्बूजातिको साझा जातीय अनुभवजन्य ज्ञानको पुञ्ज श्रुतिपरम्परागत मुन्धुम हो।मानिस (लिम्बू) जातिले समयक्रममा सभ्यता रसंस्कृतिको क्षेत्रमा उपलब्ध गरेका उच्चतम उपलब्धिहरू श्रुतिपरम्परा वा मुन्धुमभित्रका लोककथा, लोकगीत, मिथक र तिनले व्यवस्थित र निर्देशित गरेको थिति, नीति र चालचलन जस्ता धार्मिक, आध्यात्मिक र नैतिक मूल्यमान्यता र जीवनदर्शन हाम्रा सांस्कृतिक सम्पदा हुन्।
मानिसले अन्तरमनबाट कलह, झगडा, युद्ध र विनाश निम्त्याउने रिस र इबी, आँखी र डाही, लोभ र लालच अनि छलकपटजस्ता मानवताविरोधी गुणहरूको समूल विनास गर्नुपर्छ। हाम्रा विश्वास र आस्थाहरू मात्र असल भएर हुँदैन, व्यावहारिक जीवनमा तिनको पालना हुनुपर्छ। सम्पूर्ण स्थावर र जङ्गम,वनस्पति,पशुपन्छी र मानिसको सृष्टिपछि मात्र परिपूर्ण भएर सुन्दर हुनसकेको हो,यो पृथ्वी। यो जगत् मानिसको मात्र पेवा सम्पत्ति होइन। पृथ्वी सम्पूर्ण चराचरजगत् र प्रकृतिकै साझा सम्पत्ति हो। सबैको उत्तरजीवन (सर्वाइबल)भनेको नै मानिसको उत्तरजीवन (सर्वाइबल) हो।त्यसैले पृथ्वीको वातावरण, र प्रकृतिको संरक्षणमानिसको उत्तरजीवनका लागि अनिवार्य शर्त हुन्छ। सुन्दर र परिपूर्ण संसारको निर्माणका लागि मानिसले जुनी पाएको हो भन्ने हाम्रा पूर्खाहरूको सामूहिक अनुभवजन्य ज्ञान नै हाम्रो जीवनदर्शन हो। मुन्धुमबाट हामीले पाएको यही ज्ञानलाई मानिस लगायत यो जगत्को भलाईका लागि उपयोग गरौँ। यसरी हामी चोतलुङ (सिद्धिस्थल)को आरोहणमा सफलता पाएर पुर्खाहरूसँग सायुज्यमा पुग्दछौँ।
अन्तमा,
एक व्यक्तिले देखेको बुझेको संसार र सामूहिक रूपमा बुझिएको संसारमा विराट् अन्तर हुन्छ। सुदूर अतीतदेखिका हाम्रा मानव पुर्खाका सामूहिक अनुभव र ज्ञानको सारसङ्ग्रह मुन्धुम आजको एकजना स्रष्टाव्यक्तिको काव्य सृजना–कर्मभन्दा महान् हुन्छ। साझाअनुभव र बुझाइले आर्जित सामूहिक ज्ञान नै मुन्धुम हुनाले लिम्बूसमुदायलाई यसले एकापसमा बलियोसँग आबद्ध राखेको छ।
आधुनिक समयमा शिक्षा, विज्ञान, प्रविधि, बसाइसराइ, मिश्रित बसोबास, आधुनिकता र भूमण्डलीकरणको निरन्तर आक्रमणले अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको सामूहिक बुझाइ र ज्ञानको स्रोत मुन्धुम सङ्कटग्रस्त छ।
युगानुयुगदेखि श्रुतिपरम्परामा जीवित अमूर्त सम्पदा मुन्धुम सबैका दृष्टिमा पुगोस्, संरक्षण र सम्बर्द्धनमा आंशिक टेवा पुगोस् भनेर यस दिशामा सानो प्रयाससम्म गरेको हुँ। यसो गर्दा लिम्बूजातिको मुन्धुमलाई लिम्बू भाषा लेखिने सिरिजङ्गा लिपि र देवनागरी लिपिमा लिम्बू भाषाको लिपिवद्ध गर्ने काम र नेपाली भाषामा अनुवाद गरेर लिम्बू भाषाभाषीका साथै नेपाली लेख्नेपढ्ने र बुझ्ने जुनै भाषाभाषी पाठकहरूमा पुगोस् भनेर अग्रजहरूले प्रारम्भ गरेका कामलाई मैले पनि निरन्तरता दिएको मात्र हुँ।
(मदन पुरस्कार गुठीद्वारा २०७५ सालको जगदम्बा–श्रीबाट पुरस्कारबाट सम्मानित बैरागी काइँलाले पुरस्कार वितरण समारोहमा दिनुभएको मन्तव्यको सम्पादित अंश)