इन्धनको मूल्य २ रुपैयाँ बढ्दा हवाई भाडा ९० रुपैयाँसम्मले बढ्यो
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य रु.२ ले बढाउँदा वायुसेवा कम्पनीले भने रु.९० सम्मले हवाई भाडा बढाएका छन्।
वायुसेवा कम्पनीहरूले विभिन्न गन्तव्यको उडानमा तय गरेको भाडा साबिकको तुलनामा रु.१५ देखि रु.९० सम्मले बढेको एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। बढेको भाडादार आइतबारदेखि लागू हुने भएको छ।
वायुसेवा सञ्चालक संघका अनुसार सबैभन्दा बढी काठमाडौंबाट धनगढी जाने गन्तव्यमा बढाइएको छ। काठमाडौंबाट धनगढीका लागि रु.९० बढेको संघले जनाएकाे छ।
संघका अनुसार सबैभन्दा कम रु.१५ मात्रै बढेको गन्तव्यमा काठमाडौं–सिमरा, नेपालगन्ज–दाङ, विराटनगर–राजविराज, दाङ–चौरजहारी, दाङ–रुकुम, धनगढी–डोटी, डोल्पा–रुकुम (सल्ले), महेन्द्रनगर–डोटी, नेपालगन्ज–दाङ, नेपालगन्ज–सुर्खेत, पोखरा–विराटगनर, पोखरा–जोमसोम र सुर्खेत–चौरजहारी छ।
हवाई इन्धनको मूल्य रु.२ ले बढ्दा वायुसवा कम्पनीले भने रु.९० सम्मले हवाई भाडा बढाएका छन्। वायुसेवा कम्पनीहरूले विभिन्न गन्तव्यको उडानमा तय गरेको भाडा साबिकको तुलनामा रु.१५ देखि रु.९० सम्मले बढेको छ।
माउन्टेन फ्लाइटका लागि रु.७० बढेको छ। काठमाडौंबाट हुने उडानमा आइतबारदेखि नेपालगन्जकाे रु.६५, भद्रपुरकाे रु.६०, विराटनगरकाे रु.४५, भैरहवाकाे रु.४५, तुम्लिङटारकाे रु.४०, पोखराकाे रु.३०, जनकपुरकाे रु.२५ र भरतपुरकाे रु.२० थप भाडा तिर्नुपर्नेछ।
वायुसेवा सञ्चालक संघले काठमाडौंबाट बाहिरिने र भित्रिने तथा काठमाडौबाहिरका १०२ गन्तव्यमा हुने वायुसेवाका उडानको लागि थप हुने इन्धनको शुल्क सार्वजनिक गरेको छ। संघले नियमित उडान हुने र नहुने सबै गन्तव्यका लागि बढेकाे इन्धन शुल्क सार्वजनिक गरेको हो।
संघले हवाई इन्धनको मूल्य बढेपछि इन्धन शुल्कका नाममा हवाई भाडा बढाएका छन्। आयल निगमले ४ फागुनदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर रु.२ बढाएको थियो। सोही मूल्यको अनुपातमा हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ त्यसैको अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने २७ जेठ २०७५ को निर्णय भएको संघले जनाएको छ।
त्यहीअनुसार संघमा आबद्ध वायुसेवा कम्पनीले ८ फागुनदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरेका छन्। वायुसेवा कम्पनीले इन्धनको मूल्य बढेका कारण सोही अनुपातमा इन्धन शुल्क बढाउने गरी हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति समेत लिएको संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए।